Sunday, October 20, 2013

एमालेको समानुपातिक उम्मेदवारको एक नम्बरमा पासवान, ३३५ मा गौतम

काठमाडौं, ३ कात्तिक
नेकपा एमालेले समानुपातिकतर्फका ३ सय ३५ उम्मेदवारको टुंगो लगाएको छ । स्थायी समितिले छुट्टै मापदण्ड पारित गरेर विभिन्न वर्ग, क्षेत्र, लिंग, समूदायलगायत सबै पक्षलाई समेटेर समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको हो । स्थायी समितिबाट उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, भरतमोहन अधिकारी, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष सिद्धिलाल सिंह समानुपातिकतर्फका उम्मेदवार बनेका छन् ।
त्यस्तै, पोलिटब्युरो सदस्यहरू प्रदीप नेपाल, मुकुन्द न्यौपाने, केशव बडाल, वेदुराम भुसाल, महेन्द्रबहादुर पाण्डे, पशुपति चौलागार्इं, गंगालाल तुलाधर, अष्टलक्ष्मी शाक्य, खगराज अधिकारी, नागेन्द्र चौधरी, धर्मनाथप्रसाद शाह, काशीनाथ अधिकारी, श्रीमाया थकाली उम्मेदवार बनेका छन् । उम्मेदवार सूचीको पहिलो नम्बरमा रामअवतार पासवान र अन्तिम ३ सय ३५  नम्बरमा तीर्था गौतमको नाम समावेश गरिएको छ ।
स्थायी समितिले समानुपातिकतर्फबाट अघिल्लो पटक सभासद् बनेका, प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिसमा परेका श्रीमान्÷श्रीमतीमध्ये एकलाई मात्र उम्मेदवार बनाउनेलगायतको कडा मापदण्ड पारित गरेपछि पोलिटब्युरो र केन्द्रीय कमिटीकै कतिपय नेता र शीर्ष नेताहरूकै श्रीमतीसमेत उम्मेदवार बन्नबाट वञ्चित भए । जसमध्ये पोलिटब्युरो सदस्य विष्णु रिमाल, थममाया थापामगर सिफारिसमा परेर उम्मेदवार बन्नबाट वञ्चित भए । त्यस्तै, श्रीमती प्रत्यक्षको उम्मेदवार बनेका कारण पोलिटब्युरो सदस्य नरेश खरेल पनि समानुपातिकको उम्मेदवार बन्नबाट वञ्चित भए ।
त्यस्तै, शीर्ष नेताहरू उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापामगर, महासचिव ईश्वर पोखरेल पत्नी मीरा ध्वजू, सचिव शंकर पोखरेल पत्नी सुजिता शाक्य समानुपातिकतर्फ उम्मेदवार बन्नबाट वञ्चित भए । पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेकी पत्नी पूर्णशोभा चित्रकार, केन्द्रीय सदस्य कल्याणी खड्का उम्मेदवार बन्नबाट वञ्चित भएका छन् । पाण्डे चितवन क्षेत्र १ बाट प्रत्यक्षका उम्मेदवार छन् भने खड्काकी श्रीमान रामकुमार भट्टराई रौतहट क्षेत्र ६ बाट प्रत्यक्षका उम्मेदवार छन् । दबाब थेग्न नसकेपछि एमाले नेतृत्वले पनि समानुपातिकतर्फका उम्मेदवारको सूची ‘गुपचुप’ राखेको छ । सूचीमा नपर्नेहरूले चर्को दबाब दिने देखिएपछि सूची अहिल्यै सार्वजनिक नगरिएको एक नेताले बताए ।
केन्द्रीय कमिटीबाट तुलबहादुर गुरुङ, किरण गुरुङ, ठाकुर गैरे, ललित बस्नेत, रामचन्द्र शाह तेली, गंगाप्रसाद यादव, सत्यनारायण मण्डल, दलबहादुर राना, भानुभक्त जैसी, भानुभक्त ढकाल, राजेन्द्र राई, सानु श्रेष्ठ, जितु गौतम, चुडामणि जंगली, जगत विश्वकर्मा, सुशीला नेपाल, जयन्ती राई, गरिमा शाह, ममता गिरी, कमला सुवेदी (घिमिरे), कमलादेवी महतो, कल्पना चापागाईं, विनोद श्रेष्ठलगायत उम्मेदवार सिफारिसमा परेका छन् । अघिल्लो पटक सभासद् बनेका कोही पनि केन्द्रीय सदस्य सिफारिसमा परेका छैनन् । अघिल्लो पटक सभासद् रहेकै कारण संविधानका ज्ञाता मानिने केन्द्रीय सदस्य अग्नि खरेल उम्मेदवार बन्नबाट वञ्चित भएका छन् ।
एमालेले विभिन्न क्षेत्रलाई समेटेर उम्मेदवार बनाएको छ । जनसंगठनहरूमध्ये अखिल नेपाल किसान महासंघबाट बलराम बाँस्कोटा, शारदा सुवेदी, अनेरास्ववियुबाट सुधीर शाह र रचना खड्का, युवा संघबाट दिलु पन्त र निरु पाल, जिफन्टबाट पेम्बा लामा, बेलीमाया घले, सीता लामा, बुद्धिजीवी परिषद्बाट डा. दिनेशचन्द्र देवकोटा, पेसागत संगठनबाट विश्वनाथ प्याकुरेल र केदार सञ्जेल, केन्द्रीय सम्पर्क समन्वय कमिटीबाट डा. भीष्म अधिकारी, धनकुमारी सुनुवार, बालिका गिरी, केन्द्रीय प्रचार विभागबाट कमला पराजुली र रेवन्त झा, दलितबाट पार्टी केन्द्रीय स्कुल विभागका सचिव ईश्वरी रिजाल, केन्द्रीय सल्लाहकार रामऔतार पासवान र टेकु नेपाली सभासद्को उम्मेदवार बनेका छन् ।
त्यस्तै, पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य गोरखबहादुर बोगटी, चन्द्रबहादुर शाही, बलबहादुर महत, दलबहादुर रोकाया, हिक्मतबहादुर शाही, बसुन्धरा रोकाया, शान्ता शाही, मेनका पछाईं, कलबहादुर हमाललगायत परेका छन् भने सहिद परिवारबाट अधिवक्ता जानकी तुलाधर पाण्डे, विष्णु शर्मा, शकुन्तला राजभण्डारी कार्की, जीवन घिमिरेलगायत सभासद्को उम्मेदवार बनेका छन् । अल्पसंख्यकबाट ठूला थामी, शंखलाल लोहा गुरुङ, रामदुलारी नेस्तर गोसाईंलगायत छन् भने मुक्त कमलरी सुन्तली चौधरी, मुस्लिम महिला सविया प्रवीण, मारवाडी समुदायबाट बीना शर्मा, थारू समुदायबाट नरुलाल चौधरी, मेटमणि चौधरी, रामदास थारू, कविराम थारू, कृपाराम थारू, चुलुराम थारू, सुनकुमारी चौधरीलगायत छन् । त्यस्तै, जनजाति तथा उपत्यकाबाट रूपनारायण श्रेष्ठ, इच्छाराज तामाङ, सरस्वती बाटी, अष्टनारायण डंगोल, मैना अछामी, अजय क्रान्ति, देवकी श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, सरिता न्यौपाने, रञ्जना मास्केलगायत छन् ।
स्रोतका अनुसार उपत्यकामा काठमाडौं ६ बाहेक सबै क्षेत्रबाट समेटिएका छन् ।
त्यस्तै, प्रत्यक्षमा सिफारिसमा परेका उम्मेदवारमध्ये बागलुङकी मनकुमारी केसी, रूपन्देहीका लीला गिरी समानुपातिकका उम्मेदवार बनेका छन् । त्यस्तै, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, दुर्गा थापालगायत उम्मेदवार बनेका छन् । यस्तै, वरिष्ठ कलाकार भुवन केसी र पूर्वविद्यार्थी नेतृ रामकुमारी झाँक्री पनि समानुपातिकमा परेका छन् ।

1 comment: