Saturday, October 18, 2014

दाहालको चक्रब्युहमा संबिधान

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संबिधान निर्माणमा सहमति जुटाउने उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्वसंगै चुनावबाट जनताले समाप्त पारिदिएका एकल ‘पहिचान पक्षधर’को नाममा खोलिएको मोर्चाको नेता बनेर संबिधान निर्माणलाई नै चक्रब्युँहमा पारेका छन । एक आपसमा ठीकबिपरित उदेश्य बोकेका दुवै मोर्चाको नेतृत्व गरी दाहाल संबिधान बन्नै नदिने मार्गचित्रमा अघि बढेपछि संबिधानसभाका दुई प्रमुख दल कांग्रेस र एमाले नेताहरूले संबिधान बनाउने र बन्नै नदिने मोर्चामध्ये एक रोज्न अल्टिमेटमसमेत दिएका छन । 

गणेश बस्नेत/काठमाडौं

‘संबिधान निर्माणमा सहमति जुटाउन खडा गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक तपाई नै हुनुहुन्छ । फेरि संबिधान बन्नै नदिन थालिएको आन्दोलनकारी दलको पनि तपाई नै नेता बन्नुभएको छ, यो के पारा हो प्रचण्ड जी,’ संबिधानको बिवादित बिषयमा सहमति जुटाउन संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले शुक्रवार राती गोकर्ण रिशोर्टमा आयोजना गरेको तीन दलको शीर्ष बैठकमा एमाले अध्यक्ष केपी ओलीको यो भनाईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक आक्रोशित बने । दाहालले आफू ठुलै संघर्ष गरेर मात्रै संयन्त्रको संयोजक बनेको भन्दै दुवै मोर्चामा खरो उत्रने संकेत पनि दिए । तर बैठकमा सहभागी बरिष्ठ नेता माधवकुमार नेपाल तथा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले ओलीकै भनाई दोहो¥याउँदै एक बिकल्प रोज्न भनेपछि केही नरम देखिए । बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँग प्रतिवाद गर्न आवेगमा आएका दाहाल आफ्नै पार्टीका बरिष्ठ नेता रहेका समिति सभापति भट्टराईले समेत संयोजकको हैसियतमा भुमिका नखेलेको संकेत गरेपछि केही नरम देखिए ।
यद्यपी दाहालले आफूलाई संयोजक बन्न नदिन कांग्रेस र एमालेले ठूलै षडयन्त्र गरेको भन्दै हटाए फरक नपर्ने बताए । ‘तपाईहरूले मलाई संयोजक बनाउनै चाहनु भएको थिएन, ठूलै संघर्षपछि मात्रै संयोजक बनेको हुँ, हटाउन चाहे हटाउनुस,’ संबिधान निर्माणमा लाग्न ओलीले दिएको सुझावप्रति आपत्ति जनाउँदै बैठकमा दाहालले भने । उनको सो भनाईपछि भट्टराईले जिम्मेवार ढंगले प्रस्तुत हुन दाहाललाई सचेत गराएका हुन । जवाफमा ओलीले भुमिका ठीक नभए हटाउन कुनै समय नलाग्ने चेतावनी दिएका थिए । ‘तपाई संबिधान निर्माणका लागि सहमति जुटाउने भन्दा बिथोल्ने काममा हुनुहुन्छ, अव हामीसंग यसो सहमति हुनेहुने कुरा गर्ने, बाहिर गएर बितण्डा मच्चाउने काम नगर्नु होला, यसो भयो भने तपाईको संयोजक पद जान्छ,’ एमाओवादी र कांग्रेस नेताहरूको बीचमा रहेका एमाले अध्यक्ष ओलीको भनाई थियो । तीन दलका ६ जना नेता मात्रै सहभागी सो बैठकमा नेताहरूबीच नियत र नैतिकताको बिषयलाई लिएर ठुलै चर्काचर्कीसमेत परेको थियो ।
संबिधानका बिवादित बिषयमा सहमति जुटाउन गोकर्ण रिशोर्टमा बसेको प्रमुख तीन दलको शीर्ष बैठक नेताहरूबीच नियतकै बिषयमा चर्काचर्कीपछि स्थगित भएको एक सदस्यले बताए । संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले रातभर बसेर सहमति जुटाउने भन्दै गोप्य छलफलका लागि गोकर्ण रिशोर्टमा शीर्ष नेताको बैठक राखेका थिए । सो बैठकमा सभापतिको हैसियतले सहमति जुटाउनु पर्ने बिषयमा भट्टराईले बिषय प्रवेश गराएलगत्तै नेताहरूबीच चर्काे बादबिवाद भएको थियो । बैठकको सुरुमै संबिधान बनाउने कि नबनाउने भन्ने बिषयमै चर्काचर्की परेपछि बिना कुनै निश्कर्ष छलफल सकाएर नेताहरू फर्किएका हुन ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु हुना साथ एमाले अध्यक्ष ओलीले एमाओवादी अध्यक्ष दाहालको भुमिकालाई लिएर गम्भीर प्रश्न उठाएका थिए । ओलीले आफूहरूसँगको बार्तामा संबिधान बनाउने र सहमतिमा आउने प्रतिवद्धता जनाउने गरेको तर संबिधान बन्नै नदिन गठन गरिएको आन्दोलनकारी मोर्चामा कसरी बन्छ संबिधान भन्दै जसरी पनि बन्न नदिने भनाई राख्ने गरेको बिषयलाई गम्भीरताका साथ बैठकमा उठाएका थिए । ‘पहिला यो बिषयमै प्रष्ट हुनुप¥यो, हामीसमेत रहेको उच्चस्तरीय समितिको नेता संबिधान बन्न नदिने मोर्चाको पनि कसरी नेता हुनसक्छ ?’ ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो । उनले इमान्दारिताका साथ संबिधान निर्माणको प्रस्ताव राखी सहमति जुटाउनसमेत प्रस्ताव गरेका थिए । तर नियतकै प्रश्नमा अल्झिएर बैठक सकिएको थियो । ‘दाहालको दोहोरो भुमिकालाई लिएर बैठकमा मैले निकै गम्भीर ढंगले कुरा राखें, दुई मध्ये एक बिकल्प रोख्न पनि भनिएको छ,’ ओलीको भनाई उधृत गर्दै एमाले नेता भानुभक्त ढकालले राजधानीसंग भने ।
प्रमुख दलहरूबीच सहमतिका लागि तोकिएको दोस्रो समयसीमा तोडिदासम्म पनि राज्य पुनःसंरचना, सासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बिषयमा सहमति हुन सकेको छैन । तोकिएको समयभित्र सहमति जुटाउन असफल बनेको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई संबिधानसभाले दोस्रो पटक दिएको समय शुक्रवार नै सकिएको छ । तर भदौं मसान्त भन्दा पछि कुनै सहमति हुन सकेको छैन ।
बैठकमा कांग्रेस र एमाले नेताहरूले सम्वादसँगै आन्दोलन र षडयन्त्रमार्फत संबिधान बन्न नदिने खेलमा दाहाल लागेको र संबिधान निर्माणमा जालझेल गरेको आरोपसमेत लगाएका थिए । बैठकमा कांग्रेस बरिष्ठ नेता देउवाले पनि दाहालको भुमिका संबिधान बनाउने भन्दा बन्न नदिनेतर्फ नै रहेको भन्दै सच्चिन सुझाएका छन । ‘यत्रो ठक्कर खाइसक्नु भयो, अझै चेत्नुभएको छैन, अव संबिधान बनाउनेतिर लाग्नोस, दोहोरो भुमिका नखेल्नोस,’ स्रोतका अनुसार बैठकमा देउवाको भनाई थियो । दाहालले राज्य पुनःसंरचना, सासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बिषयमा यसअघि भएको सहमतिबाट समेत कांग्रेस र एमाले पछाडि हटेको आरोप लगाएपछि दुवै दलका नेता उनीमाथि खनिएका हुन । बैठकमा दुवै दलका नेताहरूले आफू संबिधान बन्न नदिने षडयन्त्रमा लागी अरुलाई दोष थोपर्न खोजेको भन्दै अव यस्तो काम नगर्न सचेत समेत गराएका छन । दाहालले भने आन्दोलनकारी दलहरूलाई समेत तीन दलको सहमतिमा आउन बाध्य पार्नका लागि आफू आन्दोलनकारी मोर्चाको समेत नेता बनेको प्रष्टिकरण दिएका थिए । तर शुक्रवार खुलामञ्चमा आयोजित सभामा भने दाहालले आफू आन्दोलनकारी मोर्चाकै नेतृत्व गर्ने बताउँदै दुईमध्ये एक रोज्दा संयन्त्रको नेतृत्व छाडने घोषणा गरे । एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै लामो समय संसद अवरोध गरेपछि कांग्रेस र एमालेले सहमति जनाई दाहाललाई नै पहिलो कार्यकाल संयोजक छानेका थिए ।