Thursday, December 25, 2014

सहमतिको नाममा राष्ट्रघात असंभव : ओली







राजधानी समाचारदाता
काठमाडौं, ८ पुस
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले संबिधान जारी गर्न अवरोध गरिरहे पनि तोकिएको ८ माघमै नयाँ संबिधान आउने उदघोष गरेका छन । मुलुक संबिधानबिहीन अवस्थामा रहन नसक्ने भन्दै ओलीले संबिधानसभाले तय गरेको कार्यतालिका अनुसार नै आगामी ८ माघमा नयाँ संबिधान आउने ठोकुवा गरेका हुन ।
‘ढुक्क हुनुहोस, तोकिएको ८ माघमै संबिधान आउँछ, त्यसैका लागि एमाले प्रतिवद्ध छ, संबिधान ल्याउन लागेका हाम्रा अन्य सहयात्री दलहरू पनि त्यसै दिशामा केन्द्रित छन,’ प्रेस चौतारी नेपालले मंगलवार आयोजना गरेको अन्तर सम्वादमा एमाले अध्यक्ष ओलीले भने । उनले एकीकृत नेकपा माओवादी जसरी पनि संबिधान आउन नदिने षडयन्त्रमा लागे पनि अव कामयावी नहुने जिकिर गरे । ‘सहमतिका साथ ८ माघमा संबिधान बनाऔं भन्दा बुरुक्क उफ्रेर फेरि संबिधान बनाउने कुरा गर्ने भन्दै भाग्ने एमाओवादीको शैली रहे पनि ८ माघमै संबिधान आउँछ, उनीहरू सुध्रिएर मुलुकको हित अनुकुलको सहमतिमा आउछन,’ ओलीले भने ।
ओलीले सहमतिको आधार राष्ट्रघात भने हुनै नसक्ने बटमलाइन समेत सुनाए । राष्ट्रको अहित हुने गरी कुनै पनि सम्झौता हुन नसक्ने भन्दै ओलीले सहमतिका नाममा राष्ट्रघाती काम आफूहरूले नगर्ने प्रष्ट पारे । ‘देश, जनता, लोकतन्त्र, राष्ट्रिय एकता, विकास र लोकतान्त्रिक सपना बिरुद्ध कुनै पनि सहमति हुँदैन, सहमतिका लागि उचित कुरा ल्याउनु पर्छ,’ ओलीले भने । ओलीले ८ माघमै संविधान जारी हुने स्पष्ट पार्दै आफुहरुले सहमतिको अधिकतम प्रयाश गर्ने जानकारी पनि दिए । ‘सहमति भएन भने अन्तरिम संविधानले ब्यबस्था गरे बमोजिम प्रक्रियामा गएर भएपनि संविधान जारी हुन्छ,’ ओलीले भने ।
सहमति र प्रक्रिया दुवैमा नआए एमाओवादी लगायतका दलहरुको गम्भीर भुल हुने चेतावनी पनि उनले दिए । ‘समय र ज्वालामुखीले कसैलाई पनि पर्खदैन, संबिधान निर्माणको सवालमा पनि यस्तै हो, जो आउँदैनन, उनीहरु छुटछन,’ ओलीले भने । उनले एमालेले सहमतिको प्रयाश गरिरहेको भएपनि एमाओवादीले आन्दोलनकारी मोर्चा बनाएर संविधान जारी गर्ने प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाए । आफु मुलुकको असली पहरेदार भएकोले सदैव मुलुकको हितमा काम गर्ने भन्दै ओलीले आफूलाई राष्ट्रघात गर्न कसैले पनि बाध्य पार्न नसक्ने चेतावनी दिए । आफु मुलुकको पहरेदार भएकै कारण सहमति गरेर जाउँ, मिलेर जाउँ भन्ने कुरा पटक पटक गरेको भन्दै उनले भने ‘ल मिलेर जाऊँ भनेको त बाहिर गएर भनेछन ‘केपी ओली राजा महाराजा हो र ?’
राजा महाराजाहरूबिरुद्ध बिगतमा लड्दै आएको भन्दै ओलीले आफुले राजा महाराजा हुने सपना नदेखेको प्रष्ट पारे । ‘राजा महाराजाबिरुद्ध लडियो, राजा महाराजा बन्न खोज्नेहरूको सपना पनि कहिल्यै पूरा हुन दिंदैनौ,’ ओलीले भने । बालुवाटार बैठकमा सहमतिका साथ ८ माघमै संबिधान जारी गरौं भन्दा एमाओवादी त्यो हुन सक्दैन, फेरि संबिधान जारी गर्ने कुरा कहाँबाट आयो भन्दै हिडेको जिकिर पनि ओलीले गरे । ‘पाउरोटी पनि खस्रो हुन्छ भनेर बटर लगाइ लगाई मैले कुरा राखें, तर सहमतिका साथ ८ माघमा संबिधान जारी गर्नूपर्छ भन्न साथ यो कसरी हुन्छ, फेरि उही ८ माघमै संबिधान जारी गरौं भन्ने ? भन्दै उफ्रिएर हिडे,’ ओलीले भने, बाहिर गएर त नाटक नै देखाएछन, यस्तो नाटक मन्डली त अहिलेसम्म देखेकै थिईंन ।’
भौगोलिक अखण्डता र जातीय बिद्वेश फैलाउने खालका कुनै पनि विषयमा सहमति नहुने पनि प्रष्ट अडान थियो । ‘संविधान नबन्दै त केही केहीले बिखण्डनकै कुरा गरेका छन् भने संविधानमै त्यो कुरा लेखिदिएपछि के होला ?’ उनले प्रश्न गरे । जातको आधारमा राज्य निर्माण नहुने स्पष्ट पार्दै ओलीले जातकै आधारमा राज्य बनाउन खोज्दा रुवाण्डा ध्वस्त भएको उदहारण दिए । केही ब्यक्तिहरूले तराइमा पहाड छुवाउनै नहुने कुरा गरिरहेको भन्दै ओलीले आम तराइवासी नागरिकको चाहना त्यसो नभएको स्पष्ट पारे ।
राजनितीमा सहमतिको प्रयाश पहिलो भएपनि सहमति सम्भव नभएमा प्रकृयावाटै सबै कुरा हुने भन्दै संविधान जारी गर्दा पनि कसैलाइ कुर्न नसकिने ओलीको भनाई थियो । ‘संविधान निर्माणमा कोही छुट्यो भने कुर्न सकिदैन,’ ओलीले भने । ओलीले मुलुकलाई फेरि हिंसातर्फको यात्रामा लाने गरी कुनै सहमति नहुने अडान पनि राखे । 

Thursday, December 18, 2014

एसएसपीको अनुगमनमा डीएसपी

एसएसपीको अनुगमनमा डीएसपी

जवानका लागि स्नातक पासको आवेदन

काठमाडौं, २ पुस
नेपाल प्रहरीको भर्ना छनोटका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै अनुगमन टोली खटाएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भर्नामा अनियमितता हुन नदिनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुगमन टोली खटाएको हो ।
रिक्त प्रहरी जवान पदमा आवेदन दिएका युवायुवतीको बाधापार तथा शारीरिक तन्दुरुस्ती परीक्षाका लागि प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई अनुगमनका लागि खटाएको हो । आइतबारदेखि सुरु भर्ना छनोटमा प्रधान कार्यालयको प्रतिनिधित्व गर्दै उनीहरूले अनुगमन गर्नेछन् । प्रहरी महानिरीक्षकबाट विशेष अधिकार दिएर अनुगमनका लागि खटाइएको हो ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रमुख रहेको पाँचओटै तालिम केन्द्रमा विशेष अधिकार दिएर केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको प्रधान कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार एसएसपी मिलन बस्नेत प्रमुख रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा डीएसपी परशुराम तिवारी र एसएसपी रमेश खरेल प्रमुख रहेको मध्य क्षेत्र तालिम केन्द्र भरतपुरमा प्रवीणलाल श्रेष्ठलाई खटाइएको छ ।
यस्तै, एसएसपी योगेश्वर रोमखामी प्रमुख रहेको बुटवल तालिम केन्द्रमा डीएसपी अर्ज‘न श्रेष्ठ, एसएसपी श्याम खत्री प्रमुख रहेको नेपालगन्ज तालिम केन्द्रमा रामबहादुर केसी र एसएसपी शरद चन्द प्रमुख रहेको दिपायल तालिम केन्द्रमा डीएसपी हरिहरनाथ योगी खटिएका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव जोशीका अनुसार प्रधान कार्यालयबाट खटिएका डीएसपीहरू आइतबारदेखि नै तालिम केन्द्रमा पुगिसकेका छन् । प्रहरी जवानका लागि १ हजार १ सय १२ जनाको मागका लागि देशभरबाट ३७ हजार युवायुवतीले आवेदन दिएका छन् । कुल आवेदकमध्ये ५६.७९ प्रतिशत प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका, ७.४५ प्रतिशत प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेका व्यक्तिहरूले जवानमा आवेदन दिएका छन् भने स्नातक तह उत्तीर्ण गरेका ०.०२ प्रतिशत युवाहरूले पनि जवानका लागि आवदेन दिएको नेपाल प्रहरीले जनाएको छ ।
त्यसैगरी, ८ कक्षा पास गरेका ३५.७४ प्रतिशत रहेका छन् । प्रहरी नियमावलीअनुसार प्रहरी जवान पदका लागि न्यूनतम योग्यता ८ कक्षा पास गरेको हुनुपर्नेछ ।
सो पदमा प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पूर्ति गर्न गत २४ असोजमा सूचना प्रकाशन गरिएकोमा पाँचओटै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरूमा गरी ३७ हजार ५ सय १३ जनाको दरखास्त परेको थियो । सोअनुसार पाँचै क्षेत्रीय तालिम केन्द्रमा आइतबारबाट दरखास्तउपर छनोट प्रक्रिया सुरु भएको छ । कुल दरखास्तमध्ये पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा ७ हजार ७ सय २३, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा ९ हजार ४ सय ४६, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा ६ हजार ३ सय ५, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्जमा ९ हजार ३ सय ७२ र सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा ४ हजार ६ सय ६७ जनाको दरखास्त परेको हो । नेपाल प्रहरीले खुलातर्फ ६ सय, अमर÷अशक्त प्रहरी परिवारतर्फ २२, महिलातर्फ ९८, आदिवासी जनजातितर्फ १ सय ५६, मधेसीतर्फ १ सय ३८, दलिततर्फ ७३ र पिछडिएको क्षेत्रतर्फ २५ जनाको छुट्टाछुट्टै कोटा निर्धारण गरी कुल १ हजार १ सय १२ पदका लागि दरखास्त आह्वान गरेको थियो ।

छनोट परीक्षाअन्तर्गत प्रारम्भिक स्वास्थ्य परीक्षण÷शारीरिक तन्दुरुस्ती

(बाधापार) परीक्षा, स्वास्थ्य परीक्षण परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा लिइने र हरेक चरणको परीक्षा समाप्तिपछि नतिजा प्रकाशन गरी उत्तीर्ण उम्मेदवारलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइनेछ । नेपाल प्रहरीप्रति आकर्षण बढेकै कारण शैक्षिक योग्यता बढी भएका युवाहरूले आवेदन दिएको प्रहरी प्रवक्ता डीआईजी जोशीले बताए । ‘यसले प्रहरीमा साधारण लेखपढ गर्नेहरूको संख्या क्रमशः घट्दै छ भन्ने पुष्टि हुन्छ,’ डीआईजी जोशीले राजधानीसँग भने ।

Tuesday, November 4, 2014

संबिधान निर्माणका लागि साझा अवधारणा

संविधानसभाबाट ०७१ साल ८ माघभित्र नेपालको संविधान जारी गरिने सर्वसम्मत निर्णय एवं कार्यतालिकाअनुरूप संविधान निर्माणको प्रक्रिया अघि बढाउने आशय र लक्ष्यका साथ चालू संविधान निर्माणको प्रक्रियालाई गति दिन र मतभेदका विषयमा सहमति निर्माण गर्ने प्रयोजनका लागि देहायबमोजिमको प्रस्ताव प्रस्तुत गरिएको छ ।
समितिका आवश्यक छलफल गरी सहमतिमा पुग्न तथा सहमतिमा पुग्न नसेको अवस्थामा संविधानका अन्तर्वस्तुसम्बन्धी संलग्न धारणाहरू संविधानसभाको पूर्ण बैठकसमक्ष छलफल र निर्णयका निम्ति संविधानसभा नियमावली, ०७० को नियम ६५ को उपनियम (१२) अनुसार पेस गरिदिनुहुन अनुरोध गर्छाैं ।

१. संघीय नेपालको तहगत संरचना
नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाको माध्यमबाट देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक सामाजिक स्वरूप र यो विविधताभित्र रही आएको पारस्परिक सद्भाव र अन्तरनिर्भरतालाई सुदृढ बनाउँदै, समाजमा विद्यमान वर्गीय, जातीय, भाषिक, क्षेत्रीय र लैंगिकलगायत सबै किसिमका विभेदको अन्त्य गरी देशमा लोकतन्त्र, समानता र सामाजिक न्यायसहितको आर्थिक, सामाजिक र सांस्कृतिक विकास सुनिश्चित गर्न शासन व्यवस्थालाई यो संविधानबमोजिम संघ, पहिचान र सामथ्र्यमा आधारित प्रदेश, स्थानीय तह र आवश्यकताअनुसार विशेष संरचना रहने गरी बाँडफाँट गरिएको छ ।
१.१. संघीय नेपालको मूल संरचनामा संघ, प्रदेश र स्थानीय तह एवं आवश्यकताअनुसार विशेष संरचना रहनेछन् ।
१.२. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजधानी काठमाडौं हुनेछ ।
१.३. राज्यले बहुभाषिक नीति लिनेछ । नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा हुनेछन् । संघीय सरकारी कामकाजको भाषा देवनागरी लिपिको नेपाली हुनेछ । केन्द्र र प्रदेश तथा प्रदेश–प्रदेशबीचको माध्यम भाषा नेपाली हुनेछ ।
१.४. प्रदेशमा सरकारी कामकाजको भाषा नेपाली र प्रदेशसभाले आवश्यक ठानेमा सो प्रदेशमा बोलिने कुनै दुई प्रमुख भाषासमेत हुन सक्नेछन् ।
१.५. भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको अध्ययन प्रतिवेदनको सिफारिसअनुरूप हुनेछ ।
१.६. राज्यशक्तिको प्रयोग
नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहद्वारा यस संविधानमा उल्लेख गरिएबमोजिम हुनेछ ।
१.७. प्रदेश निर्माण
यस संविधानबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाअनुरूप नेपालमा पहिचान र सामथ्र्यका आधारमा सातओटा प्रदेश निर्माण गरिनेछन् ।
१.८. प्रदेशहरूको सीमांकनसम्बन्धी प्रश्नहरूको निरूपण गर्न संघीय आयोग गठन गरिनेछ । आयोगको सिफारिसमा संघीय सरकारले आवश्यक निर्णय गर्नेछ ।
१.९. प्रदेश निर्माण गर्दा पहिचान र सामथ्र्यका आधारमा जातीय, भाषिक र सांस्कृतिक स्थिति, समुदायको बसोबास तथा भौगोलिक र ऐतिहासिक निरन्तरतालाई ध्यानमा राखिएको छ ।
१.१०. प्राकृतिक स्रोत र साधनको उपलब्धता, प्रशासनिक सुगमता, आर्थिक सामथ्र्य र भौतिक पूर्वाधारको पक्षलाई समेत विचार गरिएको छ ।
१.११. प्रदेशको नाम पहिलो पटक प्रादेशिक सरकारको सिफारिसमा प्रदेशसभाले परिवर्तन गर्न सक्नेछ ।
१.१२. प्रदेशहरूको भौगोलिक क्षेत्र तल उल्लेख गरिएको छ ः
१.१३. प्रदेशको राजधानी प्रदेश सरकारको सिफारिसमा प्रदेशसभाले तोक्नेछ । संविधान आरम्भ हुँदाका बखत सो निर्णय नभएसम्मका लागि केन्द्र सरकारले प्रदेशको राजधानी तोक्नेछ ।
१.१४. प्रदेशको नाम पुनः परिवर्तन गर्नुपरेमा प्रादेशिक सरकारले केन्द्र सरकारको अनुमति प्राप्त गरी प्रादेशिक संसद्को दुई तिहाइ बहुमतले पारित गर्नु पर्नेछ ।
१.१५. प्रदेशको राजधानी पुनः हेरफेर गर्नु परेमा प्रादेशिक सरकारको सिफारिसमा प्रदेशसभाको दुई तिहाइ मतले निर्णय गरेबमोजिम हुनेछ ।
१.१६. प्रदेशमा सरकारी कामकाजको भाषा नेपाली र प्रदेशसभाको निर्णयबमोजिम प्रदेशमा बोलिने कुनै दुई प्रमुख भाषासमेत हुनेछन् ।

१.
कोसी प्रदेश
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर ।


जनकपुर प्रदेश
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा

३.
बागमती प्रदेश
सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, मकवानपुर, धादिङ, रसुवा र नुवाकोट ।


गण्डकी प्रदेश
गोरखा, लमजुङ, तनहुँ, स्याङजा, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भाग ।

५.
लुम्बिनी प्रदेश
नवलपरासी जिल्लाको दाउन्ने पश्चिमको भाग, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया ।

६.
कर्णाली प्रदेश
प्युठान, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला ।


सुुदूरपश्चिम
बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला ।



२. स्थानीय तह
२.१. यस संविधानबमोजिम निर्माण भएका प्रदेशअन्तर्गत स्थानीय तहको रूपमा गाउँपालिका, नगरपालिका तथा जिल्ला रहनेछन् । यी सबै तहको अधिकार र कार्य क्षेत्र संविधान तथा कानुनमा तोकिएबमोजिम हुनेछ । यसरी अधिकार क्षेत्र तोकिँदा कार्यकारी, विधायिकी र न्यायिक अधिकारको समेत व्यवस्था हुनेछ । जिल्ला तहमा विकास, सेवा र सुरक्षाका संरचना रहनेछन् । राजनीतिक समन्वयका लागि नगरपालिका र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यहरू रहने गरी समन्वय परिषद् रहनेछ ।
२.२. स्थानीय तहको संख्या र क्षेत्र निर्धारणका लागि केन्द्र सरकारले मापदण्ड तोक्नेछ ।
२.३. तोकिएको मापदण्डका आधारमा स्थानीय तहको नाम, संख्या र क्षेत्र निर्धाण गर्न प्रादेशिक सरकारले उच्चस्तरीय आयोग गठन गरी त्यसको सिफारिसमा निर्णय गर्नेछ ।
२.४. प्रदेश सरकार गठन भएको एक वर्षभित्र स्थानीय तहको नाम, संख्या र क्षेत्र निर्धारण गरिनेछ ।
२.५. नयाँ संविधानअनुसार स्थानीय तहको गठन नभएसम्म विद्यमान स्थानीय निकायहरू कायम रहनेछन् ।

३. विशेष संरचना
३.१. प्रदेशभित्र आवश्यकताअनुसार नाम र क्षेत्राधिकारसहित कानुनबमोजिम विशेष संरचना क्षेत्र घोषणा गर्न सकिनेछ । विशेष संरचनाले विभिन्न जाति समुदायको भाषा र संस्कृतिको विकास एवं संवद्र्धनका लागि काम गर्नेछ ।
३.२. सो प्रकारको संरचना केन्द्रीय सरकारको अनुमति लिई प्रदेश सरकारको सिफारिसमा प्रादेशिक सभाले तय गर्नेछ ।
४. विवाद समाधानसम्बन्धी व्यवस्था
४.१. संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको विवाद समाधान गर्न राजनीतिक तहमा प्रधानमन्त्रीको अध्यक्षतामा गृहमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री, संघीय मामिलामन्त्री र सम्बन्धित प्रदेशको मुख्यमन्त्री सम्मिलित संयन्त्र रहनेछ ।
४.२. संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको कानुनी र संवैधानिक विवादको निरूपण सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्नेछ ।
५. शासकीय स्वरूप
५.१. देशको शासन सत्तामा सबै जातीय, भाषिक र सांस्कृतिक समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तथा देशमा क्रियाशील राजनीतिक दलसमेतको समावेशी प्रतिनिधित्वका लागि बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ । यसअनुसार कार्यकारी प्रमुखका रूपमा प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य दलको समर्थनमा बहुमत प्राप्त दलका नेता वा यी दुवै अवस्था नभएमा प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको नेता प्रधानमन्त्री हुनेछन् । स्पष्ट बहुमत प्राप्त  दलको नेता प्रधानमन्त्री भएको अवस्थाबाहेकको स्थितिमा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ ।

५.२. संघीय संसद् एवं प्रादेशिक संसद्सहितको निर्वाचक मण्डलबाट निर्वाचित संवैधानिक राष्ट्रपति रहनेछन् । उपराष्ट्रपति पदको निर्वाचनसमेत यसै निर्वाचक मण्डलबाट हुनेछ ।
५.३. नयाँ संविधान जारी भएपछि आमनिर्वाचनपश्चात् हुने प्रधानमन्त्रीका विरुद्ध निर्वाचित भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइने छैन । प्रधानमन्त्रीले बहुमत गुमाएको प्रश्न उठेमा ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुपर्नेछ । वर्तमान व्यवस्थापिका–संसद् कायम रहेसम्म अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था नेपालको अन्तरिम संविधान ०६३ बमोजिम नै हुनेछ ।
५.४. अविश्वासको प्रस्ताव प्रस्तुत गर्दाको अवस्थामा बहुमत सदस्यको हस्ताक्षरसहित वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ ।
५.५ प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव एकपटक प्रस्तुत भइसकेपछि उही प्रधानमन्त्रीका विरुद्ध एव वर्ष ननाघी पुनः अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन ।
५.६ नयाँ संधिवानअन्तर्गत आमनिर्वाचन नभएसम्म हालको व्यवस्थापिका–संसद् विघटन हुने छैन ।
५.७ मन्त्रिपरिषद्को संख्या सघीय संसद्को संख्याको १० प्रतिशतभन्दा बढी हुने छैन ।
५.८ मन्त्रीहरू संसद् सदस्य मध्येबाट र अत्यावश्यक भएमा संसद् सदस्य नरहेका व्यक्तिमध्येबाट नियुक्त गर्न सकिनेछ । संसद् सदस्य
नरहेका व्यक्ति मन्त्री पदमा नियुक्त भए निजले मन्त्री भएको ६ महिनामा संसद् सदस्यता प्राप्त नगरेमा मन्त्री पदबाट स्वतः मुक्त हुनुपर्नेछ ।
५.९ संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुनेछ । प्रादेशिक सभा एक सदनात्मक हुनेछ ।

६. निर्वाचन प्रणाली
६.१ प्रतिनिधिसभाको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिनेछ । प्रतिनिधिसभामा १ सय ६५ सदस्यीय रहेनछ । दलहरूले प्रतिनिधिसभामा उमेदवार समावेशी सिद्धान्तका आधारमा दिनुपर्नेछ । महिला दलित र अल्पसंख्यकको उचित प्रतिनिधित्वका लागि विशेष व्यवस्था गरिनेछ ।
६.२ राष्ट्रियसभाको सदस्य संख्या ७५ हुनेछ । प्रत्येक प्रदेशबाट पूर्ण समानुपातिक सिद्धान्तका आधारमा १०÷१० जना सदस्यहरू निर्वाचित हुनेछन् र पाँचजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
६.३ प्रदेश सभाको संख्या प्रत्येक प्रदेशमा रहने संघीय प्रतिनिधीसभाका एकजना सदस्य बराबर दुईजना सदस्य रहने गरी २० देखि बढीमा ५० सदस्यसम्म हुनेछ ।
६.४ प्रदेशमा प्रदेश सभाका कुल सदस्य संख्याको बढीमा २० प्रतिशतमा नबढ्ने गरी मन्त्रिपरिषद्को गठन हुनेछ ।

७. न्याय प्रणाली
७.१  स्वतन्त्र न्यायप्रणालीको अवधारणाअनुरूप स्वतन्त्र र सक्षम न्यायपालिकको व्यवस्था गरिनेछ ।
७.२ सर्वाेच्च अदालत अभिलेख अदालत हुनेछ । संविधानको अन्तिम व्याख्या गर्नै अधिकार सर्वाेच्च अदालतमा रहनेछ ।
७.३ केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह, स्थानीय तह र स्थानीय तहको अधिकार क्षेत्रबारे तथा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको निर्वाचनसम्बन्धी विवादमा अबिलम्ब न्याय निरूपण गर्न सर्वाेच्च अदालतको संवैधानिक इजलास रहनेछ । यो इजलास सर्वाेच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षतामा अन्य चा™जना वरिष्ठतम् न्यायाधीशहरू रहने गरी गठन हुनेछ ।
७.४ सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछन् । सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्ति देहायबमोजिम न्यायपरिषद्ले गर्नेछ ।

१ प्रधानन्यायाधीश–अध्यक्ष
२ सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशहरू दुईजना, कानुनमन्त्री एक र नेपाल बार एसोसिएसनका प्रतिनिधि एकजना समेत गरी जम्मा चारजना सदस्य रहनेछन् ।
७.५ जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्ति कानुनमा व्यवस्था भएबमोजिम न्याय परिषद्ले खुला प्रतियोगिता र परीक्षा प्रणालीका आधारमा गर्नेछ ।
७.६ सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसमेत १५ जना रहनेछन् ।
७.७ उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूले इमानदारीपूर्वक काम नगरेको, आचारसंहिताको गम्भीर उल्लंघन गरेको, खराब आचरण वा कार्यक्षमताको अभाव वा अनुशासन पालन नगरेको वा शारीरिक र मानसिक अशक्त भएको भन्ने अवस्थामा छानबिन र अनुसन्धान गरी पदमुक्त गर्न वा अदालतका पूर्वन्यायाधीशबाट एकजना र सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको कानुनविद्मध्येबाट तीनजना सदस्य रहने गरी संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट न्यायिक जवाफदेहिता तथा अनुसन्धान आयोग गठन गरिनेछ ।
७.८ सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश शारीरिक र मानसिक रूपमा अशक्त अक्षम प्रमाणित भएको अवस्थामा स्वतः पदमुक्त हुनेछ ।
७.९ नेपालमा एक महान्यायाधिवक्ता रहनेछ । निजको मातहतमा एकजना महाअभियोजनाकर्ता रहनेछन् ।

८ महाअभियोग
प्रधानन्यायाधीश वा सर्वाेच्च अदालतका न्यायाधीशलगायत संवैधानिक अंगका प्रमुख र सदस्यहरूमा कार्य क्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालना इमानदारीपूर्वक नगरेको र अनुशासनको पालना गरेको अवस्थामा प्रतिनिधिसभाबाट महाअभियोग लगाउन सिफारिस गर्न सक्ने ११ सदस्यीय संसदीय न्यायिक समिति गठन गरिनेछ । यस समितिले कानुनबमोजिम महाअभियोगको सिफारिस गर्न सक्नेछ ।
९. सम्पत्ति विवरण
सरकारी कोषबाट पारिश्रमिक लिने सार्वजनिक पद धारण गर्न सम्पूर्ण निकायका सबै व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्नेछ र यसको हरेक वर्ष अद्यावधिक गर्नुपर्नेछ ।
१. सुशील कोइराला नेपाली कांग्रेस
२. के.पी शर्मा ओली नेकपा (एमाले)
३. सूर्यबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी
४. विश्वेन्द्र पासवान बहुजन शक्ति पार्टी
५. अतहर कमाल मुसलमान स्वतन्त्र
६. चन्द्रेश्वर झा स्वतन्त्र
(संविधानका विवादित मुद्दामा कांग्रेस–एमालेसहित सत्तारूढ दलले संवाद समितिमा २०७१ कात्तिक १७ गते सोमबार प्रस्तुत गरेको साझा अवधारणा)

Saturday, October 18, 2014

दाहालको चक्रब्युहमा संबिधान

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संबिधान निर्माणमा सहमति जुटाउने उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्वसंगै चुनावबाट जनताले समाप्त पारिदिएका एकल ‘पहिचान पक्षधर’को नाममा खोलिएको मोर्चाको नेता बनेर संबिधान निर्माणलाई नै चक्रब्युँहमा पारेका छन । एक आपसमा ठीकबिपरित उदेश्य बोकेका दुवै मोर्चाको नेतृत्व गरी दाहाल संबिधान बन्नै नदिने मार्गचित्रमा अघि बढेपछि संबिधानसभाका दुई प्रमुख दल कांग्रेस र एमाले नेताहरूले संबिधान बनाउने र बन्नै नदिने मोर्चामध्ये एक रोज्न अल्टिमेटमसमेत दिएका छन । 

गणेश बस्नेत/काठमाडौं

‘संबिधान निर्माणमा सहमति जुटाउन खडा गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक तपाई नै हुनुहुन्छ । फेरि संबिधान बन्नै नदिन थालिएको आन्दोलनकारी दलको पनि तपाई नै नेता बन्नुभएको छ, यो के पारा हो प्रचण्ड जी,’ संबिधानको बिवादित बिषयमा सहमति जुटाउन संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले शुक्रवार राती गोकर्ण रिशोर्टमा आयोजना गरेको तीन दलको शीर्ष बैठकमा एमाले अध्यक्ष केपी ओलीको यो भनाईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक आक्रोशित बने । दाहालले आफू ठुलै संघर्ष गरेर मात्रै संयन्त्रको संयोजक बनेको भन्दै दुवै मोर्चामा खरो उत्रने संकेत पनि दिए । तर बैठकमा सहभागी बरिष्ठ नेता माधवकुमार नेपाल तथा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले ओलीकै भनाई दोहो¥याउँदै एक बिकल्प रोज्न भनेपछि केही नरम देखिए । बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँग प्रतिवाद गर्न आवेगमा आएका दाहाल आफ्नै पार्टीका बरिष्ठ नेता रहेका समिति सभापति भट्टराईले समेत संयोजकको हैसियतमा भुमिका नखेलेको संकेत गरेपछि केही नरम देखिए ।
यद्यपी दाहालले आफूलाई संयोजक बन्न नदिन कांग्रेस र एमालेले ठूलै षडयन्त्र गरेको भन्दै हटाए फरक नपर्ने बताए । ‘तपाईहरूले मलाई संयोजक बनाउनै चाहनु भएको थिएन, ठूलै संघर्षपछि मात्रै संयोजक बनेको हुँ, हटाउन चाहे हटाउनुस,’ संबिधान निर्माणमा लाग्न ओलीले दिएको सुझावप्रति आपत्ति जनाउँदै बैठकमा दाहालले भने । उनको सो भनाईपछि भट्टराईले जिम्मेवार ढंगले प्रस्तुत हुन दाहाललाई सचेत गराएका हुन । जवाफमा ओलीले भुमिका ठीक नभए हटाउन कुनै समय नलाग्ने चेतावनी दिएका थिए । ‘तपाई संबिधान निर्माणका लागि सहमति जुटाउने भन्दा बिथोल्ने काममा हुनुहुन्छ, अव हामीसंग यसो सहमति हुनेहुने कुरा गर्ने, बाहिर गएर बितण्डा मच्चाउने काम नगर्नु होला, यसो भयो भने तपाईको संयोजक पद जान्छ,’ एमाओवादी र कांग्रेस नेताहरूको बीचमा रहेका एमाले अध्यक्ष ओलीको भनाई थियो । तीन दलका ६ जना नेता मात्रै सहभागी सो बैठकमा नेताहरूबीच नियत र नैतिकताको बिषयलाई लिएर ठुलै चर्काचर्कीसमेत परेको थियो ।
संबिधानका बिवादित बिषयमा सहमति जुटाउन गोकर्ण रिशोर्टमा बसेको प्रमुख तीन दलको शीर्ष बैठक नेताहरूबीच नियतकै बिषयमा चर्काचर्कीपछि स्थगित भएको एक सदस्यले बताए । संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले रातभर बसेर सहमति जुटाउने भन्दै गोप्य छलफलका लागि गोकर्ण रिशोर्टमा शीर्ष नेताको बैठक राखेका थिए । सो बैठकमा सभापतिको हैसियतले सहमति जुटाउनु पर्ने बिषयमा भट्टराईले बिषय प्रवेश गराएलगत्तै नेताहरूबीच चर्काे बादबिवाद भएको थियो । बैठकको सुरुमै संबिधान बनाउने कि नबनाउने भन्ने बिषयमै चर्काचर्की परेपछि बिना कुनै निश्कर्ष छलफल सकाएर नेताहरू फर्किएका हुन ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु हुना साथ एमाले अध्यक्ष ओलीले एमाओवादी अध्यक्ष दाहालको भुमिकालाई लिएर गम्भीर प्रश्न उठाएका थिए । ओलीले आफूहरूसँगको बार्तामा संबिधान बनाउने र सहमतिमा आउने प्रतिवद्धता जनाउने गरेको तर संबिधान बन्नै नदिन गठन गरिएको आन्दोलनकारी मोर्चामा कसरी बन्छ संबिधान भन्दै जसरी पनि बन्न नदिने भनाई राख्ने गरेको बिषयलाई गम्भीरताका साथ बैठकमा उठाएका थिए । ‘पहिला यो बिषयमै प्रष्ट हुनुप¥यो, हामीसमेत रहेको उच्चस्तरीय समितिको नेता संबिधान बन्न नदिने मोर्चाको पनि कसरी नेता हुनसक्छ ?’ ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो । उनले इमान्दारिताका साथ संबिधान निर्माणको प्रस्ताव राखी सहमति जुटाउनसमेत प्रस्ताव गरेका थिए । तर नियतकै प्रश्नमा अल्झिएर बैठक सकिएको थियो । ‘दाहालको दोहोरो भुमिकालाई लिएर बैठकमा मैले निकै गम्भीर ढंगले कुरा राखें, दुई मध्ये एक बिकल्प रोख्न पनि भनिएको छ,’ ओलीको भनाई उधृत गर्दै एमाले नेता भानुभक्त ढकालले राजधानीसंग भने ।
प्रमुख दलहरूबीच सहमतिका लागि तोकिएको दोस्रो समयसीमा तोडिदासम्म पनि राज्य पुनःसंरचना, सासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बिषयमा सहमति हुन सकेको छैन । तोकिएको समयभित्र सहमति जुटाउन असफल बनेको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई संबिधानसभाले दोस्रो पटक दिएको समय शुक्रवार नै सकिएको छ । तर भदौं मसान्त भन्दा पछि कुनै सहमति हुन सकेको छैन ।
बैठकमा कांग्रेस र एमाले नेताहरूले सम्वादसँगै आन्दोलन र षडयन्त्रमार्फत संबिधान बन्न नदिने खेलमा दाहाल लागेको र संबिधान निर्माणमा जालझेल गरेको आरोपसमेत लगाएका थिए । बैठकमा कांग्रेस बरिष्ठ नेता देउवाले पनि दाहालको भुमिका संबिधान बनाउने भन्दा बन्न नदिनेतर्फ नै रहेको भन्दै सच्चिन सुझाएका छन । ‘यत्रो ठक्कर खाइसक्नु भयो, अझै चेत्नुभएको छैन, अव संबिधान बनाउनेतिर लाग्नोस, दोहोरो भुमिका नखेल्नोस,’ स्रोतका अनुसार बैठकमा देउवाको भनाई थियो । दाहालले राज्य पुनःसंरचना, सासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बिषयमा यसअघि भएको सहमतिबाट समेत कांग्रेस र एमाले पछाडि हटेको आरोप लगाएपछि दुवै दलका नेता उनीमाथि खनिएका हुन । बैठकमा दुवै दलका नेताहरूले आफू संबिधान बन्न नदिने षडयन्त्रमा लागी अरुलाई दोष थोपर्न खोजेको भन्दै अव यस्तो काम नगर्न सचेत समेत गराएका छन । दाहालले भने आन्दोलनकारी दलहरूलाई समेत तीन दलको सहमतिमा आउन बाध्य पार्नका लागि आफू आन्दोलनकारी मोर्चाको समेत नेता बनेको प्रष्टिकरण दिएका थिए । तर शुक्रवार खुलामञ्चमा आयोजित सभामा भने दाहालले आफू आन्दोलनकारी मोर्चाकै नेतृत्व गर्ने बताउँदै दुईमध्ये एक रोज्दा संयन्त्रको नेतृत्व छाडने घोषणा गरे । एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै लामो समय संसद अवरोध गरेपछि कांग्रेस र एमालेले सहमति जनाई दाहाललाई नै पहिलो कार्यकाल संयोजक छानेका थिए ।


Thursday, September 25, 2014

साहनालाई संस्थापक नेतृ बनाउन चाहन्थे पुष्पलाल


कमल कोइराला
नेपालबाट भारत गएपछि पुष्पलालको नेतृत्वमा २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो । पार्टी गठन गर्नुअघि संस्थापक बनाउने योजनासहित पुष्पलाल साहनालाई भेटन जानुभएको थियो । उहाँ साहनाको जोश, जाँगर र परिवर्तनप्रतिको लगाव देखेर नेपाल कम्युनिस्ट पार्टीको संस्थापक नेता बनाउन चाहनुहुन्थ्यो । तर त्यसबेला साहना प्रधान नेपाल आउनु भएको रहेछ, त्यसै कारण पुष्पलालको भेट हुनै सकेन । र उहाँ कम्युनिस्ट पार्टीको संस्थापक नेता बन्ने अवसरबाट बञ्चित हुनुभयो । साहनालाई नभेटिएपछि पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणबिलाश जोशी, मोतीदेवी सिंह र निरञ्जन गोबिन्द बैद्य संस्थापक रही नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो । 

नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोललन, त्यसमा पनि खासगरी महिला आन्दोलन कि अगुवा कमरेड साहना प्रधानले यस धर्तिबाट बिदा हुनुभएको छ । मंगलवार आर्यघाटमा अन्तिम संस्कार गरेसगै उहाँको भौतिक सरीर अव हामी सामु रहेन । बास्तवमा साहना प्रधान एक निडर महिला नेतृ हुनुहुथ्यो । पछिल्लो कालमा मात्रै होइन, सानो उमेरदेखि नै बिभेदको बिरुद्धमा संघर्ष गर्नुभएको हो । नेपालमा महिलालाई पढन दिनु हुँदैन भन्ने राणा शासनको निर्णयबिरुद्ध आन्दोलनको थालनी गर्ने नै साहना र साधना प्रधान (दिदी) हुनुहुन्थ्यो । जतिबेला नेपालमा आम महिलालाई बिद्यालय जानबाटै बञ्चित गरिएको थियो, त्यस्को बिरुद्धमा उहाँले काठमाडौंमा आन्दोलन गर्नुभएको हो । यसकारण उहाँ नेपाली महिला आन्दोलनको संस्थापक नेता हुनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठसंग साहनाको भेट पहिलो पटक बिसं २००४ सालमा काठमाडौंमा भएको थियो । त्यसबेला पदम शमशेर सत्तामा थिए । त्यसबेला काठमाडौंमा राणाबिरोधी आन्दोलन शुरु भइसकेको थियो । त्यही आन्दोलनको दौराना फुर्तिली साहना र पुष्पलालबीच भेट भयो । पहिलो भेटबाटै पुष्पलालले उहाँलाई मन पराउन थाल्नुभयो । सहाना प्रधान र साधना प्रधान दिदी–बहिनी हुन । उहाँहरु दुवै नेपाली महिला आन्दोलनका अग्रणी हुनुहुन्छ । असनका शंकरलाल प्रधान प्रतिष्ठित परिवारका व्यापारी थिए । उनी व्यापारका सिलसिलामा बर्मा गए । सहाना पनि बर्मामै जन्मनु भएको हो । दोस्रो विश्व युद्धमा हजारौं भारतीयसँगै नेपालीको पनि वर्माबाट भागाभाग भयो । त्यही क्रममा काठमाडौंका खातापिता ब्यापारी शंकरलाल पनि नेपाल फकर्नुभयो । साहना प्रधान बर्मामा ७ कÔासम्म पढ्नुभयो । नेपालमा त्यतिबेलासम्म छोरीले स्कुल जान पाउ“दैनन थिए । उहा“ले छोरीले पढ्न किन नपाउने भनेर आन्दोलन थाल्नुभयो । १७ वैशाख विसं २००४ सालमा नेपालमा पहिलो पटक संगठित रुपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिलामध्ये साधना र साहना दिदी बहिनी प्रमुख दुई पात्र थिए । सोही आन्दोलनको क्रममा १५ दिन आमरण अनसन बसेपछि महिलालाई शिÔा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले आश्वासन दिएका थिए ।
त्यसबेलासम्म राणा शासनविरोधी आन्दोलन पनि शुरु भइरहेको थियो । सत्याग्रह र महिला आन्दोलन एकसाथ चलिरहेको थियो । त्यही आन्दोलनको क्रममा पुष्पलाल र साहनालाई पक्राउ गरी सँगै तत्कालीन श्री ३ पद्म समशेर समÔ लगियो । पद्म समशेर अलि उदार भएकोले कठोर सजाय“ सुनाएनन । त्यही हिरासतमा पुष्पलाल र साहनाको घनिष्ठता बढाउने काम भयो । आन्दोलन चर्किएको र छोरीलाई पढन कठिनाई भएपछि साहनालाई पढनका लागि भारत पठाइयो । भारतमा पनि पुष्पलाल साहनालाई भेटन बेलाबेलामा जाने गर्नुहुन्थ्यो भन्ने जानकारी पाएको थिएँ । नेपालबाट भारत गएपछि पुष्पलालको नेतृत्वमा २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो । पार्टी गठन गर्नुअघि संस्थापक बनाउने योजनासहित पुष्पलाल साहनालाई भेटन जानुभएको थियो । उहाँ साहनाको जोश, जाँगर र परिवर्तनप्रतिको लगाव देखेर नेपाल कम्युनिस्ट पार्टीको संस्थापक नेता बनाउन चाहनुहुन्थ्यो । तर त्यसबेला साहना प्रधान नेपाल आउनु भएको रहेछ, त्यसै कारण पुष्पलालको भेट हुनै सकेन । र उहाँ कम्युनिस्ट पार्टीको संस्थापक नेता बन्ने अवसरबाट बञ्चित हुनुभयो । साहनालाई नभेटिएपछि पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणबिलाश जोशी, मोतीदेवी सिंह र निरञ्जन गोबिन्द बैद्य संस्थापक रही नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो ।
मैले आङ्खनो राजनीतिक यात्रा पुष्पलालको सानिध्यमा रहेर शुरु गरे“ । कोइराला परिवारबाट विद्रोह नै गरेर कम्युनिस्ट भए“ । मेरो संगत शुरुदेखि नै मनमोहन अधिकारी, भरतमोहन अधिकारीहरुस“ग भयो । त्यसैले हामी कम्युनिस्ट भयौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालस“ग बनारसमा सात वर्È स“गै बसे“ । मैले पार्टी हेडक्वार्टरमै बसेर एसएलएमसम्मको अध्ययन पुरा गरे । त्यसबेला प्रचार बिभागमा रहेको थिएँ, पार्टीले निकाल्ने बुलेटिनको जिम्मा मलाई नै दिइएको थियो । अन्य नेताहरुले नभ्याएपछि पुष्पलालले बुलेटिन निकाल्ने काम मलाई दिनुभएको थियो । त्यसैले मैले ७ बर्ष उहाँसँगै बस्ने मौका पाएको थिए ।
साहना र पुष्पलालबीच २०१० साल माघ १० गते बिवाह भयो । बिवाहपछि आफ्नो सिंगो जिवन कमरेड पुष्पलालको राजनीतिक सहयात्रीका रुपमा ब्यतित गर्नुभयो । बिवाहपछि पनि पनि पुष्पलाल भारतमै बस्नुहुन्थ्यो । पुष्पलाल होलटाइमर (पुर्णकालिन) पार्टीमा काम गर्ने भएपछि आर्थिक रुपमा निकै समस्या आइलाग्यो । त्यसैले साहनाले काठमाडौंमै शिक्षण पेशा शुरु गर्नुभयो । सहाना प्रधान पुष्पलाललाई भेट्न काठमाडौंबाट बेला बेलामा बनारस आउनुहुन्थ्यो । उहा“स“ग छोरा उमेश र छोरी उÈा पनि आउथे । बिदाको समय पारेर कहिले १५÷२० दिन त कहिले एक महिना बसेर नेपाल फर्कनु हुन्थ्यो । तर पञ्चायतको बिरोधमा लागेको भनेर उहाँको जागिर खोसियो ।
पञ्चायती शासनले साहना, हिरण्यलाल श्रेष्ठलगायतका प्राध्यापकहरुको जागिर खोसेपछि उहा“ बेरोजगार हुनुभयो । यहीबीचमा ०३५ सालमा कमरेड पुष्पलाल निकै थलिनु भयो । नयाँ दिल्लीमा भारतीय नेता चन्द्रशेखरले उपचारको लागि पुष्पलाललाई राम्रो अस्पतालमा भर्ना गरेपनि बचाउन सकेनन । २०३५ साल साउन ७ गते उहाँको निधन भयो । पुष्पलालको निधनपछि साहना पुनः पार्टीको सक्रिय राजनीतिमा आउनुभयो । उहाँलाई पार्टीका तत्कालीन नेताहरु बलराम उपाध्याय, लोकनारायण सुवेदी, लोककृष्ण भट्टराई, शरणविक्रम मल्ल, बोर्णबहादुर कार्की (हाल प्रेस काउन्सिलका अध्यक्ष) रघु नारायणहरुले पुष्पलालको निधनपछि पार्टी चलाउनुप¥यो भनेर साहनालाई आग्रह गरे । त्यही आग्रह अनुसार उहाँ पार्टी नेतृत्वमा आउनुभयो । ०४२ सालमा मनमोहन र पुष्पलालले नेतृत्व गरेको साहनाको पार्टी एकीकरण भएर नेकपा माक्र्सवादी गठन भयो । ०४३ सालमा भारतको सारनाथमा भएको महाधिवेशनले मनमोहनलाई महासचिव बनायो र साहना त्यो पार्टीको शीर्È नेतृत्वमा रहनुभयो । यसबीचमा जनआन्दोलनको तयारी शुरु भयो । बिभिन्न घटकमा छरिएका कम्युनिस्ट पार्टीहरुलाई एक ठाउ“मा ल्याएर बाममोर्चा बनाउने काम सहज थिएन । साहना प्रधानले नै त्यस्को नेतृत्वदायी भुमिका खेल्नुभयो । उहाँको व्यक्तित्वले गर्दा नै बाममोर्चा गठन सम्भव भएको हो । नेतृत्व क्षमताकै कारण बाममोर्चाको संयोजकमा साहना सर्वसम्मतिले चयन हुनुभयो ।
पञ्चायत बिरोधी आन्दोलन चर्काउन कम्युनिस्ट र कांग्रेस पार्टीबीच सहकार्य जरुरी थियो । तर लामो प्रयाशपछि पनि संभव भइरहेको थिएन । तत्कालीन मालेको संगठन भुमिगत थियो, त्यसैले अलिक सहज पनि भयो । त्यसबेला सबैले स्वीकार गर्ने र संघर्Èको लामो अनुभव भएकी निडर महिला नेतृका हिसाबले साहनाको नेतृत्वमा सबै कम्युनिस्टहरु आन्दोलनमा एक भए । एकातिर कांग्रेसका गणेशमान सिंह, अर्कोतिर बाममोर्चाबाट साहना प्रधान चयन हुनुभयो । उहाँहरु दुवै जनआन्दोलनका कमाण्डर र सह कमाण्डर हुनुभयो । वास्तवमा जनआन्दोलनको उभार त्यही“बाट शुरु भइ पञ्चायत ढल्यो । जनआन्दोलन उत्कर्समा पुगेको बेला तत्कालीन राजा बीरेन्द्रसँग बार्ताका लागि पनि साहना प्रधान र राधाकृष्ण मैनाली र कृष्णप्रसद भट्टराईलाई पठाइएको थियो । जन आन्दोलनको सफलतापछि कांग्रेस र कम्युनिस्टको अन्तरिम सरकार गठन हुँदा बाममोर्चाबाट साहना मन्त्री बन्नुभयो । त्यसपछि नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण भई नेकपा एमाले बनेपछि उहाँ स्थायी समितिमा रहनु भयो । एकताको लागि पनि उहा“ले अगुवाई गर्नुभएको थियो ।
नेकपा एमाले बनेपछि उहा“ निरन्तर स्थायी कमिटी सदस्य हु“दै २०५४ सालमा पार्टी बिभाजन भएर नेकपा माले बनेपछि अध्यÔ समेत बन्नुभयो । ०४८ र ०५१ को निर्वाचनमा उहा“ काठमाडौंबाट निर्वाचित हुनुभयो । ०५६ मा पार्टी विभाजनका कारण एमालेकै नेतृ अष्टलक्ष्मी शाक्यसँग पराजित हुनुभयो । २०६२÷०६३ को जनक्रान्तिपछि गठित सरकारमा साहना उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुभयो । उहाँले २०६३ चैतदेखि २०६५ बैशाखसम्म सो जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले नै मलाई दक्षिण कोरियाको राजदुत बनाउनु भएको हो । सदैव नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलन र बिभेटको बिरुद्ध लाग्ने साहना अव हामीबीच हुनुहुन्न । तर पनि उहाँले अघि सारेको मान्यतालाई सवैले अनुसरण गर्नैपर्छ । नेपाल महिला संघको संस्थापक महासचिव रहेर उहाँले महिला आन्दोलनको सुरुवात गर्नुभएको हो । साहना, साधना दिदी बहिनी र जनआन्दोलनका कमाण्डर गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंह नेपाली महिला आन्दोलनका संस्थापक हुन् । वास्तवमा अब साहनाको अवसानस“गै नेपाली महिला आन्दोलनका पहिलो पुस्ताका अगुवा सकिएका छन । नेपाली महिलाहरु आज जुन ठाउ“मा आएका छन्, यसको जग बसाउने साहना–साधनाहरु नै हुन । हामीबीचबाट बिदा भएकी ओजिलो नेतृ कमरेड साहनालाई सलाम
राजधानी दैनिकमा २०७१ असोज ६ गते प्रकाशित लेख 

Sunday, September 21, 2014

अपराध नियन्त्रणमा पलाएको बिश्वास

‘इफ यू स्यालुट योर ड्यूटी, यू निड नट स्यालुट एभ्रीबडी, बट इफ यू पोल्यूट योर ड्यूटी, यू हयाब तय स्यालुट एभ्रीबडी ।’ कर्तब्यबोधको सन्दर्भमा भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले अघि सारेको यस मान्यतालाई आत्मसाथ गर्नेहरूले सदैव सम्मान नै पाएका छन । डिआइजी नवराज सिलवाल, जयबहादुर चन्ददेखि एसएसपी सर्वेन्द्र खनाल र पुष्कर कार्कीहरूले काम गरेर नै आम नागरिकको मनमा डेरा जमाएका छन । सरुवा भएर फर्कने बेला एसएसपी सर्वेन्द्र खनाललाई बीरगञ्जबासीले लगाइ दिएको सय किलोको माला त्यसैको प्रमाण हो भन्न अलिकत्ति पनि हिच्किचाउन पर्दैन । 

गणेश बस्नेत

मुलुकमा यतिबेला संबिधान निर्माणको तातो हावाले सवैलाई उकुसमुकुस बनाएको छ । संबिधान निर्माण गर्ने सभासददेखि राजनीतिक दलका नेतृत्वलाई मात्र नभई आम सर्वसाधरणसम्म संबिधान निर्माणको चासो र चिन्ता छ । त्यसैले यतिबेला संबिधान निर्माणमा सहमति हुन नसकेका बिषयहरूलाई कसरी मुलुकको हितमा निर्णय गराई आगामी माघ ८ गते नयाँ संबिधान जारी गर्ने भन्ने बिषयले सवैको दिमागलाई सोच्न बाध्य पारिरहेको छ । संबिधान निर्माणका बेला बिभिन्न बिषयमा छलफल चलिरहँदा राजनीतिक दलहरूबीच अपराधीलाई संरक्षण नदिने बिषयमा एक हदसम्म सहमति जुटेको अवस्था छ । भ्रष्टाचारी ठहर भएका नेतालाई चुनावमा उठन नपाउनेदेखि अपराध नियन्त्रणलाई कडाईका साथ नियन्त्रणको बाटोतर्फ दलहरू अघि बढेको अनुभुति भइरहेको छ । यही बीचमा नेपाल प्रहरीका केही अब्बल अधिकृतहरूले आफ्नो कार्य क्षेत्रमा सञ्चालन गरेको जनताको मन जित्ने कामले सवैलाई अपराध नियन्त्रणमा सफलताको अनुभुति दिलाइरहेको छ ।
उपत्यकामा सञ्चालन गरिएको गुण्डाराज समाप्तीको अभियानदेखि मुलुकभर चालिएका केही उदाहरणीय कदममा आम नागरिकको बिश्वास पलाएकै कारण राजनीतिक दलका नेताहरू पछिल्लो समय अपराधी छाडन सोधै दवाव दिने काम बन्द गरेका छन । यहीबेला पूर्वदेखि पश्चिमसम्मका क्षेत्रमा प्रहरीले चालेको अभियानले पनि अपराध नियन्त्रण हुन्छ भन्ने आसा नागरिकमा पलाएको छ । पछिल्लो समयमा पूर्वाञ्चलको नेतृत्व गरेका डिआइजी नवराज सिलवाल, सुदरपश्चिमाञ्चलको नेतृत्व गरेका डिआइजी जयबहादुर चन्द, नारायणी अञ्चलका नेतृत्व गरेका एसएसपी सर्वेन्द्र खनाल (केही दिन अघि आइजीपीको सचिवालयमा सरुवा), महानगरीय अपराध महाशाखाका नेतृत्व गरेका एसएसपी पुष्कर कार्की, दिपायल तालिम केन्द्रका नेतृत्वकर्ता (हाल सरुवा) एसएसपी धीरु बस्नेतसम्मले आफ्नो कामबाटै नागरिकमा अपराध नियन्त्रण हुन्छ भन्ने आशा जगाएका छन । सदैव गलत आँखाले हेर्ने गरिएको पूर्वाञ्चल र नारायणी अञ्चलमा सिलवाल र खनालले देखाएको जाँदुलाई जोकोहीले प्रसंशा नै गर्छन ।
हुन पनि यतिबेला उपत्यकादेखि पूर्वाञ्चल र नारायणीका हरेक गुन्डा नाइकेको मन काप्न थालेको छ । सिलवाल, कार्की र खनालले चलाएको अपराधको न्यूनिकरण र अपराधी नियन्त्रणको अभियानले अपराधीको मनोवल निकै खस्किएको र नागरिकको मनोवल माथि पुगेको छ । यस्तै प्रहरी देख्खसाथ भाग्ने सुदुरपश्चिमका नागरिकको मन जितेर डिआइजी  जयबहादुर चन्दले पनि आफ्नो कामको परिचय दिएका छन भने नागरिकमा बिश्वास पनि जगाएका छन । अहिलेसम्म कारवाही स्वरुप सुदुर पश्चिम पठाउने प्रचलन र जाने अधिकृत पनि कमजोर मनोवलका कारण त्यस क्षेत्रका जनताले प्रहरीसँग सहयोगको हात बढाउन सकिरहेका थिएनन । चन्दले उच्च मनोवलका साथ काम गरेर जनतासँगको मित्रता र गुन्डासँगको दुस्मनी मोलेर आम नागरिकमा आसाको किरण जगाएका छन । यी अधिकृतहरूले गरेको कामले सवैले इमान्दारिपुर्वक आफ्नो कर्तब्य पूरा गरेको भए नेपाल २० बर्ष अघि नै स्वर्ग बिनसकेको हुन्थ्यो भन्ने स्पष्ट सन्देश दिएको छ ।
भारतका निवर्तमान राष्ट्रपति एपीजे अब्दुल कलामले भनेका थिए, ‘इफ यू स्यालुट योर ड्यूटी, यू निड नट स्यालुट एभ्रीबडी, बट इफ यू पोल्यूट योर ड्यूटी, यू हयाब तय स्यालुट एभ्रीबडी ।’ कर्तब्यबोधको सन्दर्भमा भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले अघि सारेको यस मान्यतालाई आत्मसाथ गर्न नसक्नेहरु समाजमा कलंकित भएका छन । राजनीतिमा हुन कि समाजका अन्य कुनै पनि पेशा ब्यवसाय अंगालेका किन नहुने आफ्नो काममा लगाव नराख्नेहरु जनताको नजरमा घृणाका पात्र नै बनेका छन । तर जस्ले कर्तब्यलाई आफ्नो जिवन पद्धतीसँग ढालेका छन, उनीहरूले सदैव सम्मान नै पाएका छन । पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी नवराज सिलवाल, सुदुरपश्चिमाञ्चल प्रहरी प्रमुख डिआइजी जयबहादुर चन्ददेखि एसएसपी सर्वेन्द्र खनाल र पुष्कर कार्कीहरूले काम गरेर नै आम नागरिकको मनमा डेरा जमाएका छन । बीरगञ्ज छाडने बेलामा नारायणी अञ्चल प्रमुख रहेका एसएसपी सर्वेन्द्र खनाललाई नागरिकले लगाइ दिएको सय किलोको सयपत्री फुलको माला त्यसैको प्रमाण हो भन्न अलिकत्ति पनि हिच्किचाउन पर्दैन । भारतीय पूर्वराष्ट्रपतिको भनाईलाई नेपाल प्रहरीका केही बरिष्ठ अधिकृतहरूले भने ब्यवहारमै लागू गरिदिएका छन । २० महिना अघिसम्म वीरगञ्जको नाम सुन्नसाथ तर्सनेहरू यतिबेला गर्भका साथ आफ्नो परिचय दिन थालेका छन ।
बीरगञ्जबासी भन्दा सवैको इज्जत, मान प्रतिष्ठा बढेको छ । कुनैबेला बीरगञ्ज भन्सार लुटको सन्सार भन्ने भनाईमा पनि बदलाव आएको छ यतिबेला । नक्कली नोटदेखि लागुऔÈध तस्करीसम्म, झोले गुण्डादेखि पेसेवर हत्यारासम्मका लागि कुख्यात नाका थियो वीरगञ्ज अढाई बर्ष अघिसम्म । हत्या, अपहरण, लुटपाटमा पनि अब्बल नै मानिन्थ्यो । नेपाली अपराधीका लागि मात्रै नभएर भारतीय अपराधीहरूको पनि क्रिडास्थल थियो बीरगञ्ज । नारायणी अञ्चलमा जाने प्रहरी जोकोहीलाई कमाउन गएको भ्रष्टाचारीको रुपमा हेर्ने बिगतको तितो अनुभवलाई एक जना एसएसपीले फेरिदिएका छन । फोहोरको डगुंर र अव्यवस्थित सहरले विरगञ्जलाई सा“च्चिकै कुरुप बनाएको थियो । तर अब भने विरगञ्जको स्वरुपसँगै परिचय पनि फेरिएको छ । नारायणी अञ्चल प्रहरीको नेतृत्व गरिरहँदा एसएस्पी सर्वेन्द्र खनालले वीरगञ्जको स्वरुपसंगै पहिचान पनि बदलेका हुन । त्यसैले अहिले जोकोही वीरगञ्जबासी ढुक्कका साथ भन्छन, बीरगञ्ज अब पहिले जस्तो छैन ।
अपराध नियन्त्रणसँगै प्रहरीको ड्यूटी के हो ? र कसरी नागरिकको प्रतिष्ठा उठाउन सकिन्छ भन्ने पाठ एसएसपी सर्वेन्द्रले सिकाएका छन । हुनपनि बीरगञ्जले पुरानो सवै कुख्यातीबाट मुक्ति पाएको महसुस गरेका छन आम नागरिकले यतिबेला । खनालको लगातारको मेहनत र अठोटका कारण वीरगञ्ज बदिलएको हो । तस्करी नियन्त्रण, शान्ति सुरÔा कायम र सरसफाइका लागि उनले चालेको कदम एक हदसम्म सफल भएको वीरगञ्ज पुग्ने जो कोहीले प्रत्यÔ अनुभव गर्न सक्छ आजभोलि । उच्च राजनीतिक तहसम्म जोडिएको तस्करीलाई पनि नियन्त्रणमा ल्याएका सर्वेन्द्रको हिम्मतले भारतीय पूर्वराष्ट्रपतिकै भनाईलाई ब्यवहारमा चरितार्थ गरिरहेको छ । कतिसम्म भने सर्वेन्द्रले चुपचाप बाटोमा निस्केर फोहोर सोर्नेदेखि बाटो मिचेर राखेका ट्याङकी पसल हटाउने अभियान चलाए । तस्करी नियन्त्रण र अपरहणकारीलाई पक्राउका लागि आफै कमाण्ड सम्हालेर फिल्डमा पुगे । तर उनले आफ्नो प्रचार बिल्कुलै गराएनन । बालकलाई अपरहणकारीको पञ्जाबाट मुक्त गराउन मध्यरातमा आफै घटनास्थल पुगेर सुरु गरेको खनालको अभियानले नागरिकको मन जित्यो ।
काम गर, प्रचार नगर भन्ने शैली अपनाउदा आम नागरिकले उनको काममा साथ दिए । परिणाम प्रचारबाजी होइन, काम गरेर देखाउने स्वभाव रहेका सर्वेन्द्रले वीरगञ्जको स्वरुप र परिचय दुवै बदलिदिए । उनले राजस्व चुहावट र तस्करी नियन्त्रणमा समेत सफलता हासिल गरे । बीरगञ्ज भन्सारका कर्मचारीले राजस्वमा ब्रम्हलुट मच्चाउदै आएको यथार्थलाई रोकथाम गर्दै राजस्वमा पनि बृद्धि गराए, कर्मचारीलाई कर्तब्य के हो भन्ने सिकाउन राजस्व छलेर भित्र्याउने हरेक सवारीमा नजर लगाए । एसएसपी सर्वेन्द्रको पहलमा राजश्व चुहावट र तस्करी नियन्त्रणका लागि अञ्चल प्रहरी कार्यालय नारायणीबाट चालिएको विशेÈ अभियान अन्तरगत गाडीहरू भटाभट समातिन थालेपछि भन्सार कर्मचारी पनि सुध्रन बाध्य हुनैप¥यो । राजस्व छलेर नेपाल छिर्नेहरूलाई अञ्चल प्रहरी कार्यालय नारायणीले भटाभट समातेर भन्सार कार्यालयमै नै फिर्ता पठाउन थालेपछिको परिणाम हो यो । सुरÔा निकायको पहलमा मात्रै २३ करोड ३३ लाख २२ हजारको सुनचा“दी बरामद गरिएकाले राजस्वमा पा“च गुणा बढी रकम थपिएको तथ्यले पनि यही बताइरहेको छ । यद्यपी राजस्व बढ्नुमा सशस्त्र प्रहरी बलको भुमिका पनि निकै सकारात्मक नै रहेको बुझाई बीरगञ्जबासीमा छ ।
यस्तै पूर्व क्षेत्र पनि यतिबेला नारायणी अञ्चल जस्तै अपराध नियन्त्रणको सफल छ । बिगत एक बर्षमा पूर्वाञ्चलमा चलाइएको पुलिस अफ दि मन्थ, आन्तरिक सुद्धिकरण, नागरिकसंगो सात्क्षात्कार, गुन्डागर्दी नियन्त्रण जस्ता कामले पूर्व क्षेत्र यतिबेला शान्त बनेको छ । प्रहरीप्रति जनताको बिश्वासमा पनि निकै बढोत्तरी भएको अनुभुति पनि भइरहेको छ । पूर्वक्षेत्रका १६ वटै जिल्लाहरूमा नागरिक मतसर्वेक्षण गरी डिआइजी नवराज सिलवालले चालेको कदमकै कारण यो सफलता प्राप्त भएको हो । त्यसैको परिणाम पूर्व क्षेत्रमा हुने गरेको अपहरण, फिरौती असुली, हत्या जस्ता जघन्य अपराध लगभग सून्यमा पुगेको छ । घरेलु हिंसाका घटनामा पनि क्रमशः नियन्त्रण भइरहेको छ । सरुवा भएर छाडने बेलासम्म सिलवाल नेतृत्वको प्रहरीले पूर्वका १६ वटै जिल्लाका नागरिकमा एक ढंगको सकारात्मक सोच र अपराध नियन्त्रणमा जागरण पैदा गर्ने निश्चित छ । यस्तै सुदुर पश्चिम क्षेत्रमा पनि डिआइजी चन्दको नागरिकको मन जित्ने र अपराध नियन्त्रणको काम जारी रहे नेपाल प्रहरीकै प्रतिष्ठा बढने छ । यस्ता काम गर्नेलाई समाजले पक्कै पनि उच्च मुल्यांकण गर्ने नै छ । प्रहरी संगठन र सरकारले पनि उचित मुल्यांकण गर्न चुक्नु हुँदैन ।
एक अधिकृतले सिंगो प्रहरी संगठनलाई हेर्ने धारणामा परिवर्तन ल्याउन सक्दारहेछन भन्ने प्रमाणका रुपमा डिआइजीद्वय नवराज सिलवाल र जयबहादुर चन्द अनि एसएसपीद्वय सर्वेन्द्र खनाल र पुस्कर कार्कीले प्रमाण दिएका छन । बीरगञ्जको परिचय बदल्ने खनालजस्तै कार्की पनि उपत्यकालाई ६ महिनाभित्र गुण्डामुक्त क्षेत्र बनाउने स्पष्ट मार्गचित्र सहित अघि बढेका छन । उनको उपत्यका बदल्ने योजनाले केही हदसम्म आकार ्रहण गरिसकेको छ । यति छोटो अवधीमा नै कार्कीले चलाएको गुण्डाराजमाथिको सल्यक्रियाले समाजलाई थोरै भएपनि शान्ति दिएको छ । अव यस बाटोमा अन्य अधिकृत पनि हिडन सके नागरिकको मनबाटै प्रहरी सदैव मित्र र रक्षकको कोटीमा पर्नेछ ।
राजधानी दैनिकमा मिति २०७२ असोज ५ गते प्रकाशित लेख

Thursday, September 11, 2014

काठमाडौंदेखि खासासम्मै सुन तस्करीको जालो .. ठमेलका मनिचेञ्जरसमेत संलग्न, प्रहरी सुराकी पनि तस्करकै प्रभावमा


गणेश बस्नेत /
राजधानी
काठमाडौं, २५ भदौं
बिमानस्थलको नाकामा कडाई हुन थालेपछि पछिल्लो समय सुन तस्करहरूले काठमाडौं–खासा रुटलाई आफ्नो अबैध ब्यापारको केन्द्र बनाएको पाइएको छ । चिनिया ब्यापारीलाई समेत साथमा लिई ठमेललाई केन्द्र बनाएर ब्यापार गरिरहेका केही ब्यापारीहरूले अबैध विदेशी मुद्रा र सुनको कारोवार अघि बढाएका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान बिभागको संयुक्त टोलीले अबैध कारोवार भइरहेको आशंकामा गत १६ भदौंमा ठमेलमा सञ्चालित सात मनिचेञ्जरमा छापा मारी बिदेसी मुद्रा बरामद गरेपछि सुन तस्करहरूको पछिल्लो कारोवारको तथ्य बाहिर आएको हो । यद्यपी राजस्व अनुसन्धान बिभागले यस बिषयमा अनुसन्धान जारी रहेको जानकारी गराएको छ ।
अख्तियार र राजस्व टोलीले बिशेष सूचनाको आधारमा ठमेलस्थित बाबुराम अर्याल सञ्चालक रहेको न्यू अन्नपुर्ण मनि एक्सचेञ्ज, रोशन श्रेष्ठ सञ्चालक रहेको माउन्ट एभरेष्ट मनि एक्सचेञ्ज र ट्राभलएक्स मनि एक्सचेञ्ज, मनिकुमार श्रेष्ठ सञ्चालक रहेको अन्नपुर्ण मनि एक्सचेञ्ज र हरि धरेल तथा बलराम सापकोटा सञ्चालक रहेको अल्पाइन मनि एक्सचेञ्ज, जनक पौडेल सञ्चालक रहेको वेलकम मनि एक्सचेञ्ज र माउन्टेन मनि एक्सचेञ्जमा छापा मारेको थियो । उक्त मनि एक्सचेञ्जरहरूबाट १ करोड २६ लाख नेपाली रुपैया बरावरको बिदेसी मुद्रा र ८४ लाख नेपाली रुपैया पनि बरामद गरिएको छ ।
राजस्व अनुसन्धान विभागमा उपमहानिर्देशक बालकृष्ण घिमिरेले राजस्व चुहावटको आशंकामा ठमेलका मनी चेञ्जरमा छापा मारिएको जानकारी दिए । ‘राजस्व चुहावटको आशंकामा छापा मारिएको हो, सात मनी चेन्जरमा भएको स्वदेशी र विदेशी मुद्राको स्रोत के हो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ,’ घिमिरेले राजधानीसँग भने । सो छापा अख्तियार र राजस्वको संयुक्त टोलीले मारेको थियो । उपमहानिर्देशक घिमिरेले सवै मनी चेन्जरका संचालकहरू विभागको सम्पर्कमा आएको उनको भनाइ छ ।
त्यत्ति ठुलो मात्रामा बिदेसी मुद्रा बरामद भएपनि मनि एक्सचेञ्जका सञ्चालकहरूलाई भने अनुसन्धान गर्ने भएकै कारण पक्राउ नगरिएको दुवै निकायले जनाएका छन । राजस्वले अनुसन्धानको लागि मनि एक्सचेञ्जका कम्युटरलगायत फेला परेका बिदेसी मुद्रा र नेपाली रुपैया भने नियन्त्रणमा लिएको छ । नक्कली रसिद काटेको पाइएको र तोकिएको भन्दा धेरै गुणा बढी बिदेसी मुद्रा फेला परेपछि राजस्वले आफ्नो नियन्त्रणमा लिएको हो । यसअघि नेपाल राष्ट्र बैंकको छडकेमा ८ हजार डलर फेला परेपछि एउटा मनि एक्सचेञ्जको लाइसेन्स नै रद्द गरिएको थियो । यस पटक भने सो रकम बैध हो कि अबैध भन्ने छुट्टयाउन नसकी सञ्चालकलाई पक्राउ नगरिएको हो ।
ठमेलका बिभिन्न मनि एक्सचेञ्जबाट अबैध रुपमा डलर खरिद गरी चीन पु¥याउने र चीनबाट तातोपानी नाका हुँदै पुन काठमाडौंसम्म सुन भित्र्याउने गरिएको छ । यस कार्यका लागि पछिल्लो समय ठमेलस्थित थाइसान होटल, फोनेक्स होटल, कुवेरिया महल होटल र छेन्दु होटलमा चिनिया तस्करहरूको निकै भिड लाग्ने गरेको छ । यसैगरी मनि एक्सचेञ्जहरू अबैध बिदेसी मुद्रा सटही गरी सुन तस्करीको सुत्रपातका रुपमा देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले ठमेलस्थित इको मनि एक्सचेञ्ज, डेस्को मनि एक्सचेञ्ज, ठमेल मनि एक्सचेञ्ज, सनराइज मनि एक्सचेञ्ज, लोटस मनि एक्सचेञ्ज, त्रिदेव मनि एक्सचेञ्जले सुन लिएर आउने चिनिया नागरिकलाई बिदेसी मुद्रा सटही गर्ने गरेको सूचना पाएको बताएको छ । मनि एक्सचेञ्जका सञ्चालकहरू ती होटलमा बस्ने चिनिया नागरिकलाई मात्रै डलर बेच्ने गरेका स्रोतले जानकारी दिएको छ । त्यो डलर लिएर चिनिया नागरिक गाडी नै रिजर्भ गरी तातोपानी नाकाबाट चीन प्रवेश गरी अबैध सुन लिएर नेपाल फर्कन्छन । चिनिया नागरिकले ल्याएको अबैध सुन बांगेमुढास्थित एक मनि एक्सचेञ्जका सञ्चालकलाई बिक्रि गर्न गरेको सूचना पनि प्रहरीसम्म पुगेको छ । महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतका अनुसार मनि एक्सचेञ्ज आफ्नै घरमा भएको कारण बांगेमुडास्थित मनि एक्सचेञ्ज सञ्चालकको घरको सुन पु¥याउने गरिएको हो । अनुसन्धानको क्रममा रहेको भन्दै ती अधिकृतले मनि चेञ्जरका सञ्चालकको नाम भने बताउन नमिल्ने जानकारी दिए । प्रहरीले यस बिषयमा निगरानी बढाए पनि प्रमाण भने पाइसकेको छैन । स्रोतका अनुसार प्रहरीको सुराकीसमेत तस्करसँग मिलेपछि प्रहरीले ठोश प्रमाण पाउन सकेको छैन । ठमेलकै दरवार स्क्वायर मनि एक्सचेञ्ज, डाँफे मनि एक्सचेञ्ज, काठमाडौं मनि एक्सचेञ्जले पनि चिनिया नागरिकलाई अबैध रुपमा डलर बिक्रि गरिरहेको प्रहरीको भनाई छ ।
प्रहरीले डलरसहित पक्राउ गर्न थालेपछि चिनिया तस्करहरूले चिनेको भन्दा अर्काे गाडिसमेत प्रयोग गर्न छाडेका छन । ‘पानी खाने थर्मस, फर्सीदेखि जुत्ताको भित्रि भागमा समेत डलर पोको पारेर चिनिया नागरिक काठमाडौंबाट खासातर्फ जान्छन,’ ठमलेबाट तातोपानी नाकासम्म चिनिया नागरिक छाडने गरेका एक सवारी चालकले भने । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की सुन र डलर तस्करहरूको नेक्सस (जालो) काठमाडौंदेखि खासासम्मै रहेको स्वीकार गर्छन । अनुसन्धानको पाटोमै रहेको कारण नेक्ससमा रहेका ब्यापारी र बिचौलियाहरूको नाम भने प्रहरीले अहिलेसम्म गोप्य रुपमै अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार अरनिको राजमार्गबाट हुने यो तस्करीमा गुण्डा नाइके गणेश लामा, बलराम सापकोटा, दावा लामालगायतको बिशेष संलग्नता रहेको छ । ‘सुन तस्करीबाट आउने पैसाले गुण्डालाई नै फाइदा भइरहेकोले हामी यसतर्फ बिशेष सचेत भएर हेरिरहेका छौं,’ एसएसपी कार्कीले भने, ‘चाँडो पैसा कमाउने बाटोले गुण्डागर्दी मौलाउने गरेको छ, त्यसो हुन नदिन डलरको अबैध कारोवारदेखि सुन तस्करीसम्मलाई हामी मिहिन ढंगबाट अनुसन्धान गरिरहका छौं ।’ स्रोतका अनुसार खासादेखि काठमाडौंसम्म सुन तस्करी गरेर ल्याउँदा प्रतितोला २ देखि ३ हजार रुपैया नाफा हुने गरेको कारण पनि यसमा तस्करहरूले जोकोहीलाई प्रयोग गरिरहेका छन । यस्तै बिदेशबाट रेमिट्यान्समार्फत नेपाल भित्रने रकम सोझै नआई हंङकङहुँदै चीन पुग्ने र त्यहाबाट सुन खरिद गरी नेपाल ल्याउने गरेको पनि पाइएको छ । ‘छिटो पैसा कमाउने बाटो रोज्नेहरूमाथि निगरानी बढाइएको छ, परिणाम चाँडै आउँछ,’ एसएसपी कार्कीले भने ।

Tuesday, September 2, 2014

मिसन फिनिस गुण्डाराज

गणेश बस्नेत

चरीको नामले उपत्यकामा आतंक मच्चाइरहेको गुन्डा नाइके दिनेश अधिकारीको इन्काउन्टरलाई लिएर सदन र सडक दुवैतिरबाट प्रहरीमाथि आक्रमण भइरहँदा कारबाहीको नेतृत्व गर्दै अघि बढेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की अलिकत्ति पनि विचलित देखिएनन् । राजधानीमा मौलाएको गुन्डाराजलाई जरैदेखि समाप्त पार्ने अठोटका साथ अघि बढेका एसएसपी कार्की चरीको मत्युलाई लिएर आफूमाथि आक्षेपको वर्षा हुँदा पनि गुन्डा नियन्त्रणकै योजना बनाउन ब्यस्त रहे । परिणाम केही दिनभित्रै अर्का गुन्डा समूहका नाइकेलाई पक्राउ गर्दै राजधानीवासीको मन जित्न सफल भए ।
उपत्यकालाई गुन्डामुक्त क्षेत्र बनाएरै छाड्ने अठोट लिएर हिँडेका कार्कीले आफू मातहतका सबै प्रहरी अधिकृत र जवानलाई राजनीतिज्ञले जस्तो जवाफ होइन, गुन्डागर्दीको जालो तोड्ने काममा लाग्न निर्देशन दिएर परिचालन पनि गरे । त्यसैको परिणाम काभ्रेली समूहका एक नाइके दावा लामा अवैध लागूऔषधसहित पक्राउ गर्न प्रहरी सफल भयो । चरीको विषयलाई लिएर आक्रमण भएपछि प्रहरीको गुन्डागर्दीविरुद्धको काममा शिथिलता आयो कि भन्दै लागूऔषधको व्यापारमा लागेका लामालाई सुइँकोसम्म नदिई पक्राउ गरेर कार्कीले कसैको दबाबसामु गुन्डाराजविरुद्धको अभियान रोकिँदैन भन्ने प्रस्ट जवाफ दिए ।
पहिलाजस्तै दोस्रोमा पनि राजनीतिक दबाब आयो, छुटाउनका लागि संविधान बनाउने जिम्मेवारी बोकेका सभासद् स्वयं हनमानढोका पुगे, तर प्रहरीले आफ्नो अभियानमा साथ दिन नसके चुप बस्न सुझाएर गुन्डा छुटाउने दबाब लिएर नआउन भन्दै फिर्ता पठाइदियो । लामापछि प्रहरीको नजर अर्का समूहमाथि परेको छ, त्यसैको परिणाम थप समूहको नाइकेलाई पक्राउ गरी कानुनी दायरामा ल्याएर व्यापारी र आम उपत्यकाबासीलाई गुन्डाराजबाट मुक्ति दिलाउने योजना प्रहरीले बनाइरहेको छ । यही अभियानका क्रममा चार बर्ष अघि न्यूरोडमा ब्यापारीको हत्या गरी फरार रहेको अर्काे समुहका नाइकेलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । ब्यापारी अञ्जनीकुमार चाचनलाई २०६७ सालमा गोली हानी हत्या गरेर फरार रहेका सुनिल महर्जनलाई एसएसपी कार्की नेतृत्वकै अपराध महाशाखाले पक्राउ गरेको छ । एकपछि अर्काे गुण्डागर्दीको नाइके पक्राउ गर्ने अभियान गुण्डामुक्त क्षेत्रमा परिणत गरेपछि मात्रै रोक्ने प्रहरीको यो अभियान यतिबेला एकपछि अर्काे सफलताको सिढी चढिरहेको छ । ‘६ महिनाभित्र उपत्यकालगायत आसपासका क्षेत्रमा चलाइएको गुन्डाराजको जालो तोडेरै छाडिन्छ, यो अभियान कसैको दबाबमा रोकिन्न,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी कार्कीले आफ्नो योजना सुनाए ।
उपत्यका प्रहरीले यतिबेलासम्म राजधानीलगायत आसपासका जिल्लामा गुन्डागर्दी चलाउने समूहको पहिचान गरिसकेको छ । काठमाडौं परिसरमा यसअघि नै नेतृत्व गरिसकेका एसएसपी कार्कीलाई अब गुन्डा समूहको पहिचानका लागि थप समय खर्चिरहन पर्दैन । उनी गुन्डा समूह चलाउने नाइके र त्यसमा आबद्ध सदस्यको पहिचानपछि पक्राउका लागि प्रहरी परिचालन गरिसकेका छन् । गुण्डागर्दी नियन्त्रणका लागि ‘सम्झाउने, बुझाउने, सच्चिन मौका दिने, नसच्चिएर आइलागे जुनसुकै हदसम्मको जवाफ दिने रणनीति अबलम्बन गरेको देखिन्छ ।
उपत्यकामा ठूला व्यापारीदेखि सर्वसाधारण नागरिकसम्म पहुँच पु¥याइसकेको प्रहरीले पछिल्लो समय गुन्डालाई सहयोग गर्ने बिचौलिया समूहको समेत पहिचान गरिसकेको छ । राजनीतिक दबाबविरुद्ध नडग्ने अडानसँगै अब प्रहरीले गुन्डालाई सहयोग गर्ने बिचौलियामाथि पनि निगरानी निकै बढाएको छ ।
‘राजनीतिक दबाबभन्दा पनि डरलाग्दो बिचौलियाको समूह छ, जसको राजनीतिक नेतृत्व, नागरिक अगुवा र प्रहरी वरिष्ठ अधिकृतसँग पनि रामो सम्बन्ध छ, तिनीहरू नै व्यापारीको सूचना दिएर फिरौतीका लागि गुन्डालाई सहयोग गरिरहका छन्, गुन्डाभन्दा पनि यो समूह निकै खतरनाक छ,’ गुन्डागर्दीविरुद्धको अभियानमा लागेका अपराध महाशाखाका एक अधिकृत भन्छन् ।
ती अधिकृतका अनुसार उपत्यकालगायत आसपासका क्षेत्रमा गुन्डाराज चलाउने
समूहसँग बिचौलियाको समेत पहिचान भइसकेको छ । प्रहरीले पछिल्लो समयमा प्रहरी वरिष्ठ अधिकारीसँग पनि रामो सम्बन्ध भएका बिचौलियामाथि निगरानी बढाएको उनको भनाइ छ ।
निगरानीमा वीरेन्द्रलाल श्रेष्ठ, महेश सिंह, प्रशान्त शर्मालगायत एक दर्जनको सूची तयार पारिएको ती अधिकृतले बताए । रमेश बाहुनको नामले परिचित रामेछापका सुजन पौडेलको पक्राउपछि चरी प्रकरण हुँदै काभ्रेली समूहका दावा लामा र ब्यापारी हत्याका महर्जनसम्म आइपुग्दा उपत्यकामा मौलाएको गुन्डागर्दीको जालो तोड्न आवश्यक सूचना संकलनमा निकै हदसम्म प्रहरी सफल भएको छ ।
उपत्यकामा गुण्डागर्दी गर्दै आएका भनेर चिनिएका काजी शेर्पा, दीपक मनाङे, चक्रे मिलन, कुमार घैंटेमाथि पनि प्रहरीले निगरानी बढाएको छ । कुनै व्यापारीलाई धम्की दिएर रकम उठाउन गएकै बेला पक्राउ गर्ने गरी प्रहरीले आङ्खनो जालो बिछ्याएर राखेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।
प्रहरीका अनुसार गुन्डाराज चलाउने अहिले काभ्रेली समूहको नाममा गणेश लामा, बलराम सापकोटा र दावा लामाको एउटा समूह छ । मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्यसमेत रहेका गणेशसँगै एमालेनिकट रहेका सापकोटा र कांग्रेसनिकट विष्णु र दावा लामा मिलेर यो समूहलाई सञ्चालन गरिरहेका छन् । यो समूह काठमाडौंदेखि ल्हासासम्मलाई केन्द्र बनाएर हुने व्यापारीसँग हप्ता, महिनावारी असुलीसँगै ठेक्कापट्टा र टेन्डरमा समेत संलग्न छ ।
प्रहरीको सूचनाअनुसार अर्का गुन्डा नाइके कुमार घैंटे समूह काठमाडौं वरपर व्यापार व्यवसायमाथि आँखा लगाइरहेको छ । नुवाकोटे कांग्रेस नेताको साथ पाएर सामाखुसीतिर हप्ता असुली पनि गरिरहेको छ, कुमार घैंटे समूह । चरीको नामले चिनिएको समुह भने यतिखेर उनको मृत्युपछि केही गर्न सक्ने अवस्थामा पुगेको प्रहरीको ठम्याइ छ । रमेश बाहुन र चरीको दुवै समूह अहिले केही गर्न सक्ने अवस्थामा नभएको निष्कर्षका साथ प्रहरीको ध्यान अन्य समूहतिर केन्द्रित भएको हो । यस्तै, सगुन श्रेष्ठको समूह पनि व्यापारी धम्क्याएर फिरौती असुलीमा लागेको सूचना प्रहरीसम्म पुगेको छ ।
राजधानीमा गुन्डाराज चलाउनेमध्ये पछिल्लो समयमा दीपक मनाङे भने चुपचाप आङ्खनै व्यवसाय गरेर बसिरहेको प्रहरीको भनाइ छ । चक्रे मिलनदेखि अन्य सबै समूह केही न केही गरी नै रहेको सूचनाका आधारमा पक्राउका लागि प्रहरी परिचालित भएको छ ।
‘गुन्डाराज चलाउन विभिन्न समीकरण भइरहेको छ, एक अर्कामा थ्रेट पनि छ, एक आपसमै भिड्न लागेका छन्, त्यस्तो घटना हुन नदिएर हामी कानुनको दायरामा ल्याई उपत्यकालाई गुन्डामुक्त बनाएरै छाड्छौं,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी कार्की भन्छन् ।
प्रहरीले गुन्डाविरुद्धको अभियान चलाउने क्रममा पीडित व्यापारीको सूचीसमेत तयार पारेको छ । अहिलेसम्म सैयौं व्यापारी गुन्डाको धम्कीकै कारण व्यापार छाडेर विदेश पलायन भएको सूचना पनि पाएको छ । व्यापारीको पीडा र सर्वसाधरणमा छाएको आतंक कम गर्नकै लागि ६ महिनाभित्र गुन्डाराज सकाएरै छाड्ने अभियान बनेको प्रहरीको भनाइ छ ।
- See more at: http://dainiknepal.com/2014/08/18654.html#sthash.VdaAuJOV.dpuf

Sunday, May 11, 2014

नामभन्दा बदनाम बढी


गणेश बस्नेत
कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीका रूपमा निर्वाचित भएको तीन महिना पूरा भएको छ । व्यवस्थापिका संसद्मा दुई तिहाइभन्दा बढी मत ल्याएर प्रधानमन्त्री बनेका कोइरालाले यो तीन महिनामा काम भने केही गर्न सकेका छैनन् । यतिसम्म कि सरकारको एउटा मात्रै राम्रो काम देखाउन पनि सकिरहेको अवस्था छैन । चरम असन्तुष्टि, बेथिति, भ्रष्टाचारमै रमाइरहेको देखिन्छ । सरकारका हरेक मन्त्री मुलुक र जनताका लागिभन्दा आफ्ना लागि मात्रै काम गरिरहेका छन् । कसरी आम्दानी गर्न सकिन्छ भन्नेमै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको ध्यान जान थालेको छ । प्रधानमन्त्रीको उठतीपुठती कानुनमन्त्री नरहरि आचार्य र अर्थमन्त्री रामशरण महत अनि पार्टीको तर्फबाट प्रवक्ता दिलेन्द्र बडू र दीपकुमार उपाध्यायले गरिरहेको चर्चा बालुवाटारतिरै सुनिन्छ । न्यायाधीश सिफारिसमै उठतीपुठती भएको कुरा नेपाल बारका पदाधिकारीले बताउँदै आएका छन् । छानबिनपछि यथार्थ बाहिर आउला । अरू मन्त्री पनि क्रमशः यस्तै बदनामीमा मुछिँदै छन् । यसबीचमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले कुनै उल्लेख्य काम गर्न सकेका छैनन् ।
प्रधानमन्त्रीका रूपमा बालुवाटार पुगेपछि सुशील कोइरालाको चर्चा राम्रो काममा भन्दा नराम्रो काममै हुने गरेको छ । बालुवाटारमै प्रधानमन्त्रीका सुरक्षा गार्डमाथि कांग्रेस कार्यकर्ताले हातपात गर्नेसम्मको काम भएको छ । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कांग्रेसका सदस्य भएकै कारण उन्मुक्ति पाएका छन् । कानुनी राजमा योभन्दा अरू मजाक हुनै सक्दैन । सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी निर्वाह गर्दा आक्रमण गर्ने प्रधानमन्त्रीको दलको सदस्य भएकैले छुट पाएपछि अपराधीहरूको मनोबल बढ्ने निश्चित छ । यस अर्थमा प्रधानमन्त्री कोइराला कानुनी राज र विधिको शासनको खिलाफमा उभिएका खलनायकका रूपमा देखिएका छन् । यसले पक्कै पनि मुलुकमा बढ्दै गएको अपराध नियन्त्रणमा सहयोग गर्दैन । प्रधानमन्त्री भेट्न बालुवाटार गएका व्यक्तिलाई प्रहरी कार्यालयमा पठाउने र एक रात राखेर छाडिदिने दुवै कार्य गलगत हो । प्रधानमन्त्री सुस्त छन्, काम गर्ने शैली पनि छैन । आफ्नो कोटरीमा निर्णय नभएसम्म सामान्यभन्दा सामान्य काम पनि गर्दैनन् भन्ने आक्षेप लागेकै थियो । यो तीन महिनाको व्यवहारले त्यसैको पुष्टि गरेको छ । एमालेबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पनि तीन महिना पुग्नलाग्दा सिन्कोसम्म भाँच्न सकेका छैनन् । उनी पुरानै गन्हाएको टिम बोकेर गृह मन्त्रालयलाई उठतीपुठतीहरूको अखडा बनाइरहेका छन् । तीन महिनासम्म एआईजीमा बढुवा गर्न नसके पनि उनका सहयोगी भनिएकाहरू उठतीपुठतीमा लागेको राम्रै चर्चा छ, सहरमा । पदबहाली गर्दा अब फेरि गृहमा नआउने घोषणा गर्दै जनताको नजरमा राम्रो हुने मात्रै काम गर्ने उनको प्रतिबद्धतालाई यस अवधिमा भएको चलखेलले गिज्याइरहेको छ । उनका सहयोगी भनिएकाहरू बदनाम डीआईजीबाट रकम लिएर एआईजी बनाउने धुन्धुकारी खेलमा लागेकै छन् । डीआईजी यादव अधिकारीलाई जसरी पनि बढुवा गरेरै छाड्ने गौतमका सहयोगीका अडानले लेनदेनबाटै भएको भन्न कुनै हिच्किचाउनुपर्दैन । सात एआईजी बढुवा गर्दा कुनै पनि हिसाबले अधिकारी बढुवामा पर्दैनन् । कार्यक्षमता, योग्यता, नम्रता, इमानदारिता सबै कुराले उनलाई बढुवामा साथ दिँदैन । तर, गृहमन्त्रीका सहयोगीले पाएको माल नै बढुवाका लागि योग्य बन्ने देखिन थालेको छ । यसो भयो भने गृहमन्त्री नै बदनाम हुनेछन् । उनीमाथि आर्थिक लेनदेनबाट एआईजी बढुवा भएको आरोप प्रमाणित हुनेछ । आफ्ना सहयोगीले गरेको त्यस्ता कामको जिम्मेवारी गृहमन्त्री गौतमले नै लिनुपर्छ । गौतमले अहिले पनि सरकारका गृहमन्त्रीभन्दा २०५४ सालमा पार्टी विभाजन हुँदादेखि असुलीमा गन्हाएकाहरूलाई नै गृहको तालाचाबी दिएर राखेको कुरा बाहिर आएको छ । त्यसै कारण उनी पनि यस अवधिमा बदनाम नै छन् । काम गर्न नसकेकै कारण उनले एउटा एसएसपी भेट्न आएन भनेर जनताको ध्यान अन्तै मोड्न खोजेको जोकोहीले बुझेकै छन् ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्रीदेखि कृषिमन्त्रीसम्मको चर्तिकलाले यतिबेला कोइराला सरकारले जनताका लागि सिन्कोसम्म भाँच्ने काम गर्दैन भन्ने तथ्यलाई बाहिर ल्याइरहेको छ । स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको त कुरा गरिसाध्यै छैन । उनले यही अवधिमा जनआन्दोलनका सर्वाेच्च कमान्डर गणेशमान सिंहको सबै इतिहासमाथि कालो पोत्ने काम गरेका छन् । आफ्नो साँढुभाइलाई डोलिडार प्रमुख बनाउन सिंहले निकै ठूलो ताण्डव देखाए । काननबाहिर काम गर्ने मन्त्री सिंहको हुकुमी शैलीलाई अदालतले बदर गरिदिएको छ । तर, उनले गरेको काम लोकले पचाउन सक्ने छैन । क्षम्य पनि छैन । आफ्नालाई मालदार ठाउँमा ल्याउनका लागि इमानदारलाई कानुनविपरीत मन्त्रालय काज सरुवा गर्ने काम लोकतन्त्रकै खोल ओढेर गरिएको छ ।
कृषिमन्त्री हरि पराजुलीलाई अख्तियारले तीन पटक पत्र काटिसकेको छ । दुग्ध विकास संस्थानमा नियमविपरीत सरुवा गरी पराजुलीले आफू कानुनभन्दा माथि रहेको प्रमाण दिएका छन् । आफंैले कल्पना नगरेको मन्त्री पद चिट्ठा परेपछि पराजुलीको भुइँमा खुट्टा नै छैन । उनी एमाले कार्यालय बल्खुमा रहेका सबैलाई अर्कै नजरले हेर्ने गरेका छन् । बामदेव गौतमले पुरस्कार दिएपछि पराजुलीले अरूलाई टेर्ने कुरै भएन । एमालेका इमानदार नेता, कार्यकर्ता उनको मन्त्रालय पुग्यो भने अपमान गरेरै फिर्ता पठाइदिने गरेका छन् । उनलाई ज–जसले भेटे, ती सबै अपमानकै विष पिएर फर्कने गरेका छन् । तर, माल दिने हैसियतमा रहेकाहरू भने मन्त्री पराजुलीका नजिक बनिरहेका छन् । मन्त्री पराजुलीले रूपन्देहीमा सुरु गरिएको अस्ट्रिज पालनका लागि राज्यकोषबाट ७ करोड दिने योजना त्यसैको नमुना हो भन्दा फरक पर्दैन । कृषि मन्त्रालयमा यो प्रक्रिया अघि बढिसकेको छ । निजी व्यवसाय गर्नेलाई राज्यकोषबाट रकम दिने र आफूले पनि त्यसैबाट लिने उनको शैली कृषि मन्त्रालयभित्र चर्चाको विषय बनेको छ ।
तीन महिनामा प्रधानमन्त्री सुशील कोइरालाले एउटै राम्रो काम गर्न नसकी बदनामी नै कमाएका छन् । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम पनि काम होइन, बदनामकै सूचीमा परेका छन् । एआईजी बढुवामा सहयोगीले गरेको आर्थिक चलखेलबाट दिनप्रतिदिन गृहमन्त्री नै बदनाम भइरहेका छन् । अर्का उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको त डोलिडार प्रकरणबाटै सबै इमानदारिता पोखिएको छ । उनले ओढेको लोकतन्त्रको खोल पनि हावाले उडाइदिएको छ । मन्त्री नरहरि आचार्य पनि कमाउ धन्दामै लागेको तथ्य न्यायाधीश सिफारिसमा देखिसकेको छ । अरू मन्त्रीको काम गर्ने शैली पनि ठीक देखिएको छैन । केही गर्न खोजे पनि स्वास्थ्यमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री कर्ण थापा, ऊर्जामन्त्री राधा ज्ञवाली, खेलकुदमन्त्री पुरुषोत्तम पौडेल सबै कुहिरोको काग बनेका छन् । विनाअध्ययन भाषण गर्दा ऊर्जामन्त्री ज्ञवाली आफंै पासोमा परेकी छन् ।
अध्ययनशील भनिएका एमालेका अरू मन्त्री पनि जनताले अनुभूति हुने गरी काम गर्न सकिरहेका छैनन् । विदेशी ग्रिनकार्ड र पीआर लिएका सरकारी कर्मचारीलाई कारबाही गर्छु भनेर चर्चामा आएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आफैं कसरी उम्कने भनेर सोचिरहेका छन् । त्यसैले उनले कुनै दिन एमालेकै एउटा समूहले काम गर्न दिएन भनेर भन्न बेर छैन । विराटनगर पुगेर उनले एक पक्ष आफ्नो कामको विरोधमा छ भनेर बोलिसकेका छन् । उम्कनका लागि उनले यी सब काम गरेको जोकोहीले बुझ्न सक्छ । कर्मचारीहरू मन्त्रीको आदेश तामेली गर्ने मात्रै होइनन्, हरेक कुरामा अपमान गर्न थालेपछि प्रतिवाद हुन्छ नै । मन्त्री लालबाबु डीभी, पीआर र ग्रिनकार्ड प्रकरणबाट उम्कन अब कर्मचारीमाथि अपमानको वर्षा गर्न थालेका छन् । अपमान गर्दा कर्मचारीहरूले प्रतिवाद गर्छन् र यिनीहरूले नै यो काम गर्न दिएनन् भनेर उम्कने दाउमा उनी रहेको सहजै बुझ्न सकिन्छ । त्यसैले यति धेरै समय व्यतीत हुँदासम्म उनले एउटा पनि ग्रिनकार्ड र पीआर लिएका सरकारी कर्मचारीको नाम सार्वजनिक गरेका छैनन् ।
तीन महिनाको यो मूल्यांकनलाई सरकारले अब कामबाटै रूपान्तरण भएको प्रमाणित गर्नुपर्छ । एक वर्षभित्र नयाँ संविधान जारी गराउने उद्देश्य बोकेको सरकारले अब यस अवधिमा भएको गल्ती दोहोरिन दिनुहुन्न । ठूलो जिम्मेवारी बोकेको सरकार ढिलासुस्ती र मूल्य बढाउनेजस्ता जनविरोधी काम मात्रै गरेर बस्नुहुँदैन । छिटो–छिटो काम गर्न जरुरी छ । अन्यथा एमाओवादीले भनेजस्तो इतिहासकै सबैभन्दा असफल सरकारको रूपमा दर्ज हुने पक्का छ । यसतर्फ सरकारमा रहेका र सत्तारूढ दलका नेताले समेत ध्यान दिन जरुरी छ ।

Saturday, May 10, 2014

चाकडीमै बित्यो १३ डीआईजीको ६ महिना





गणेश बस्नेत,टपेन्द्र कार्की/काठमाडौं
नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले बढुवाको दिन कुरेर बसेको ६ महिना बित्नै लागेको छ । बढुवा नहुँदा प्रहरी महानिरीक्षक
(आईजीपी) उपेन्द्रकान्त अर्यालका ब्याजी रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रधानमन्त्रीदेखि गृहमन्त्री र सत्तारूढ दलका नेताको चाकडी गरेर दिन बिताउन बाध्य छन् ।
आईजीपीमा अर्याल बढुवा भएदेखि नै सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी खाली छ । चुनावी सरकारले गत १ मंसिरबाट लागू हुने गरी अर्याललाई आईजीपीमा नियुक्त गरेको थियो । उनले काम सम्हालेको ६ महिना बित्न लागेको छ । तर, अहिलेसम्म प्रहरीको दोस्रो ठूलो दर्जा एआईजीमा एकजना पनि बढुवा हुन सकेका छैनन् । त्यसैको परिणाम आईजीपी अर्यालकै ब्याजी रहेका सबै डीआईजी अब त बढुवा होला कि भन्दै विगत ६ महिनादेखि दिन गन्दै बसिरहेका हुन् ।
बढुवामा अर्यालका ब्याजी रहेको डीआईजीहरू राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदार साउद, रमेशशेखर बज्राचार्य, विज्ञानराज शर्मा, गणेशराज राई, वीरेन्द्रबाबु श्रेष्ठ, यादव अधिकारी, परशुराम खत्री, प्रतापसिंह थापा, विश्वराज शाही र सुशीलवरसिंह थापा प्रतिस्पर्धी छन् ।
आईजीपीको सहयोगी बनेर नीति निर्माणमा जुट्दै जनतालाई अनुभूति हुने गरी प्रहरीको पहँुच विस्तार गर्न लाग्नुपर्ने यी अधिकृतहरूले ६ महिनाको समय त्यत्तिकै खेर फालेका छन् ।
विगतमा आफूलाई निकै क्षमतावान् प्रमाणित गरिसकेको भए पनि सरकारले बढुवामा बेवास्ता गर्दा उनीहरूको मनोबल निकै तल पुगेको छ । तर, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र गृहमन्त्री भने बढुवाभन्दा उनीहरूलाई सकेसम्म डीआईजीबाटै घर पठाउने भित्री योजना बनाइरहेको स्रोतले बतायो । सरकारको यो कार्यशैली प्रहरी प्रधान कार्यालयसम्म पुगिसकेको छ ।
त्यसैले, हरेक दिनजसो आईजीपी अर्याललाई बढुवाका लागि दबाब दिन्छन् । प्रहरी प्रधान कार्यालयभित्र खुम्चिएर बसेका एआईजीका आकांक्षी डीआईजीहरूले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमदेखि सत्तारूढ दलका प्रभावशाली नेतालाई भेटेरै बढुवा गर्न दबाब दिइरहेका छन् । तर, ६ महिनासम्म परिणाम शून्यमै सीमित भएको छ । बढुवाको लाइनमा रहेका डीआईजीकै शब्दमा भन्दा शान्ति सुरक्षाको सबैभन्दा महŒवपूर्ण भूमिकामा रहेको र जनतासँग सबैभन्दा बढी जोडिएको प्रहरी संगठनको मनोबल गिराउन यी सब काम भइरहेका छन् ।
चुनावी सरकारदेखि जननिर्वाचित सरकार दुवैले प्रहरी संगठनमाथि अन्याय नै गरेको छ । त्यसैले, एआईजीको सबै दरबन्दी खाली हुँदा पनि ६ महिनासम्म बढुवा नगरी मनोबल गिराउने काम भइरहेको छ ।  ‘आफ्नै ब्याजी आईजीपीमा बढुवा भएको ६ महिना बित्न लाग्यो, तर आफू भने अझै बढुवा हुन सकिएको छैन, बढुवा गर्ने छाँटकाँट पनि देखिँदैन,’ एक डीआईजी भन्छन्, ‘चुनावी सरकारले अब बढुवा भइहाल्छ भन्दै तीन महिना झुलाएर राख्यो, त्यसपछि जननिर्वाचित सरकार बनेको पनि तीन महिना पुग्न लागेको छ, तर अझै एआईजीमा बढुवा गर्ने छाँटकाँट देखिँदैन, चुनावी सरकारजस्तै यो सरकारले पनि हामीलाई झुलाएरै राखेको छ ।’
प्रहरी प्रधान कार्यालयमा रहेका ती डीआईजीकै शब्दमा भन्ने हो भने बढुवा नहुँदा प्रहरीको चेन अफ कमान्डमा निकै असर परिसकेको छ । आईजीपीबाहेक अरूले आदेश दिने वा काम लगाउने अवस्था नै छैन । एउटै विभागमा तीनजनासम्म प्रतिस्पर्धी डीआईजी रहेको र अन्य विभागमा पनि प्रतिस्पर्धी नै रहेकाले आदेश दिने अवस्था छैन । ‘कसले भनेको मान्ने ? सबै एउटै ब्याजीका छन्, एउटाको आदेश अर्काेले मान्दै मान्दैनन्,’ अर्का डीआईजी भन्छन्, ‘सरकारले हामीलाई मार हान्दा प्रहरी संगठन नै सबैभन्दा ठूलो मारमा परेको छ ।’ प्रहरी संगठनमा फैलँदै गएको यही रोगले कार्यसम्पादनमा पनि निकै ठूलो गिरावट आइसकेको छ । ‘६ महिनादेखि आज बढुवा होला कि भोलि भन्दै नेताको दैलो चहार्न लगाएपछि कसरी हुन्छ त राम्रो काम ?’ एक प्रहरी अधिकृत भन्छन् । आईजीपी अर्यालले यो विषयमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, गृह सचिव सूर्य सिलवाल, तत्कालीन गृह सचिव जनार्दन नेपालदेखि सत्तारूढ दलका सबैजसो नेतालाई बढुवाका लागि पटकपटक हारगुहार गरिसकेका छन् । तर, सरकारमा रहेका जिम्मेवार व्यक्ति भने प्रहरी उच्च अधिकारीलाई आफ्नो चाकडी गराउने अभियानमा अझै रहेका छन् । ‘राम्रो काम गरौं भन्दा दिमाग नै नजाने रहेछ, यो ६ महिना सरकारमा रहेका व्यक्ति, गृहका अधिकारी र नेताको चाकडीमै बितेको छ,’ प्रतिस्पर्धी एक डीआईजीले राजधानीसँग भने ‘बढुवामा पर्नु छ, कामभन्दा चाकडी नै खोज्दा रहेछन्, मन नमान्दा पनि धाउनै पर्ने रहेछ ।’
गृह मन्त्रालयकै केही अधिकारी भने गृहमन्त्री गौतम र आईजीपी अर्यालको टसलका कारण एआईजी बढुवामा ढिलाइ भइरहेको बताउँछन् । ‘आईजीपीलाई असफल बनाउन एआईजीको बढुवालाई थाती राखिएको हो,’ गृहका एक अधिकारीले भने, ‘बढुवा नगर्दा सबै आकांक्षी आईजीपीविरुद्ध जान्छन् भन्ने गृह नेतृत्वको बुझाइ छ, त्यसैले एक सातामै गर्ने भनिएको बढुवा तीन महिनासम्म हुन नसकेको हो ।’ स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम आईजीपी उपेन्द्रकान्त अर्याललाई तर्साउन एआईजीको बढुवामा बाधक बन्न थालेका छन् । पदभार ग्रहणपछि एक साताभित्रै एआईजीको बढुवा गर्ने प्रतिबद्धता जनाएका गृहमन्त्री गौतमले आईजीपीबाट आफूअनुकुलको सिफारिस नआउने देखेपछि बढुवामै ढिलाइ गरिरहेका हुन् । गृहमन्त्री र आईजीपीबीचको टसलले पनि एआईजीको बढुवा हुन नसकेको कतिपय प्रहरी अधिकृतको बुझाइ छ । अघिल्लो सरकारले नियमावली परिवर्तन गरी बढुवा गर्न लाग्दा कांग्रेस र एमालेकै नेताहरूले रोकेका थिए ।

Tuesday, April 22, 2014

यसकारण सर्वसम्मत हुन्छ एमाले नेतृत्व




ईश्वर पोखरेल
यतिबेला मुलुकमा एमालेको आसन्न नवौं महाधिवेशनको चर्चा छ । त्यसैले भइरहेको बहसको यथार्थबीच विगतको समीक्षा र वर्तमानमा एमालेको विश्लेषणका बारेमा जान्न÷बुझ्न खोज्नु स्वाभाविक हो । हामीले बितेका वर्षहरूमा राम्रा कामहरू गरेका छौं, साथै केही नराम्रा कामहरू पनि हामीबाट भएका छन् । बितेका वर्षहरूमा हामीले थुप्रै चुनौतीमाथि विजय प्राप्त गरेका छौं, केही–केही कुरामा हामीलाई हार्नु पनि परेको छ । थुप्रै उपलब्धि भएका छन्, केही गुमाउनु पनि परेको छ, हामीले । बितेका वर्षमा हामीलाई जनताले प्रशंसा पनि गरेका छन्, कतिपय सवालमा हाम्रो आलोचना पनि भएको छ । यसकारण विगतको समीक्षा गर्दा हामीले पाएका उपलब्धि र प्रशंसाहरू प्रेरणा बन्नुपर्छ, हामीले भोग्नुपरेको पराजय र आलोचनाहरू शिक्षा बन्नुपर्छ । यी दुवै कुराप्रति ध्यान पुग्नुपर्छ । अनि मात्रै हामी नयाँ ढंगबाट अघि बढ्न सक्नेछौं ।
महाधिवेशनको प्रसंग चलिरहेको बेला अधिकांश साथीहरूको एउटै चाहना छ, ‘आगामी जेठमा हुने एमालेको नवौं महाधिवेशन एकताको महाधिवेशन बन्न सकोस् ।’ यो कुरालाई नेतृत्वमा बस्ने हामी सबैले मनन गरेका छौं । हामीले योग्यतापूर्वक काम गर्दाखेरी सफलता प्राप्त गरेको अनुभव हामीसँगै छ, योग्यता प्रदर्शन गर्न नसक्दाको चोटको पीडा अनुभूति पनि साथै छ । त्यही अनुभवका आधारमा आगामी महाधिवेशनमा हामी एकताबद्ध भएर निस्कनेछौं । एकताबद्ध होस् भन्ने जनताको चाहना र भावनालाई मनन गरेरै हामी एकताबद्ध भएर अघि बढ्नेछौं ।
यसबीच एकता कसरी हुन्छ भन्ने मूल प्रश्न सबैका सामु रहेको छ । हामीले विचारमा लोकतान्त्रीकरणको कुरा ग¥यौं, त्यसलाई आत्मसात् ग¥यौं । सांगठनिक जीवनमा लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन चाह्यौं र त्यसअनुरूप नै अभ्यास ग¥यौं पनि । यसै आधारमा हामीले हाम्रो आङ्खना व्यवहारलाई थप समृद्ध बनाउँदै पनि छौं । हाम्रो अभ्यास देखरे दुनियाँ चकित भए, धेरैले अनुसरणसमेत गरे । हाम्रो यो अभ्यास निरन्तर जारी रहन्छ । विचारमा लोकतान्त्रीकरण सँगसँगै सांगठनिक जीवनमा पनि लोकतान्त्रीकरणलाई अघि बढाउँछौं, यसलाई अझै समुन्नत बनाउँदै लैजाने हाम्रो संकल्प छ । यो हाम्रो एक–दुई नेताको मात्र नभई सिंगो पार्टीको सर्वसम्मत नीति हो, साझा प्रतिबद्धता पनि हो । त्यसैले नेतृत्वमा रहने कुरा पनि लोकतान्त्रिक अभ्यासको बाटोमा अगाडि जाने संकल्प–उद्घोषको अभिव्यक्ति हो ।
नेकपा (एमाले) २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेको कम्युनिस्ट आन्दोलनकोे पुनःगठित धार हो । यो पुनःगठित धार केन्द्रीय तहमा संगठित भएको ०३२ साल जेठ २५ देखि हो । अहिले हामी ०७१ सालमा प्रवेश गरेका छौं । यसको अर्थ, ३९÷४० वर्षदेखि एउटा सबल केन्द्रीय नेतृत्वअन्तर्गत छौं । नेपाल कम्युनिस्ट पार्टीको यो पुनःगठित धारले केन्द्रीय नेतृत्वअन्तर्गत सशक्त आन्दोलन सञ्चालन गर्दै आएको पनि ३९÷४० वर्ष भइसकेको छ । यो अवधिमा हाम्रा नेताहरूले योग्यतापूर्वक यो धारको नेतृत्व गर्नुभएको छ । सुरुका ६ वर्ष सीपी मैनालीले यो धारको नेतृत्व गर्नुभयो । जननेता मदन भण्डारीले तीन वर्षभन्दा केही बढी यो धारको नेतृत्व गर्नुभयो । यो नौ वर्षबाहेक बाँकी ३० वर्षभन्दा बढी समयको नेतृत्व आदरणीय नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले गर्नुभयो । उहाँहरूले यो पार्टीको सिंगो ३० वर्ष प्रथम पंक्तिमा उभिएर नेतृत्व गर्नुभयो । यो गर्वको विषय पनि हो ।
एमालेभित्र सुखद संयोग के छ भने नेतृत्वमा रहने प्रायः सबै नेताहरू एकै उमेर समूहका हुनुहुन्छ । लगभग एकैै किसिमका अनुभव, एकै किसिमका त्याग, बलिदान र योगदानहरू छन् । यो हाम्रो नेतृत्वको सबल पक्ष पनि हो । दुई नेता, झलनाथ खनाल र माधव नेपालले ३० वर्ष नेतृत्व गर्नुभयो । अब हिजो योग्यतापूर्वक नेतृत्व गर्ने आदरणीय नेताहरूबाट पुनः नेतृत्वका लागि दाबी हुँदैन भन्ने विश्वास आमकार्यकर्ताले गरेका छन् । बाँकी नेतृत्वपंक्तिमा रहेका उपाध्यक्षद्वय वामदेव गौतम, विद्या भण्डारी र म महासचिवले नेतृत्वमा दाबी गरिरहेका छैनौं । अरू साथीहरूको पनि त्यस्तो दाबी सुनिएको छैन । त्यसो हुँदा नवौं महाधिवेशनमा एमालेको नेतृत्व सर्वसम्मतका साथ हुन्छ । कहीँ–कतै विवाद हुँदैन । एकताबद्ध भएर नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न हुन्छ । यही नै एमालेको वास्तविकता हो, उचित बाटो पनि यही नै हो । केही बहस हुँदैमा यसमा कसैले शंका नगर्दा हुन्छ । सर्वसम्मत नेतृत्वको सवाल र एकताबद्ध महाधिवेशनको सवालमा, अब शंका गरिरहनुपर्ने आवश्यकता छैन ।
विचारमा छलफल गर्दै आपूmलाई समुन्नत बनाउँदै आएको पार्टी हो, एमाले । एमालेमा विचार छलफल नामको केही चिज छैन भन्नेजस्ता कुरा ठीक होइनन् । सिद्धान्तको छलफल गर्न रुचाउने पार्टी एमाले हो । ‘एमालेमा विचार नामको केही चिजै थिएन, विचारको अनुसन्धान गर्नुपर्छ’ भन्नेजस्ता तर्कहरू पनि आएका छन् । तर, त्यो सत्य होइन, एमाले आङ्खनो विचारको जगमा उभिएर, त्यसबाट निर्देशित भएर यो ठाउँमा आएको पार्टी हो । यसको अर्थ एमालेको विचारमा छलफल गर्नुपर्दैन भन्ने होइन । विचारमा जरुर पनि छलफल हुन्छ । यो अहिलेको छलफल हाम्रो विचारलाई थप समृद्ध बनाउनका लागि नै हो । ‘हिजो विचार थिएन, विचार शून्यमा रहेको थियो, सिद्धान्तविहीन थियो, अब सिद्धान्तको खोजी गर्नुपर्छ’ भन्छन् भने त्यो एमालेलाई नबुझ्नेहरूको तर्क मात्र हो । अहिलेको परिवर्तित सन्दर्भमा हाम्रो विचारलाई थप समृद्ध बनाउनुपर्छ । हामीले लिएको जुन विचार हो, हिजो जे व्याख्या–विश्लेषण ग¥यौं, अहिले त्यो पर्याप्त नहुन सक्छ । यसको अर्थ हामीले हाम्रो विचारलाई थप समृद्ध बनाउने संकल्प गर्नुपर्छ । अहिले हामीले लिएका विचारहरूलाई थप समृद्ध बनाउने उद्देश्यबाट अभिप्रेरित भएर छलफल भइरहेको छ । फेरि एमालेजस्तो पार्टीको महाधिवेशन बा–आमाको ‘चौरासी पूजा’ गरेजस्तो एक पटक मात्रै गर्ने कर्मकाण्ड होइन । यो नियमित प्रक्रिया हो । यसमा एमालेले सापेक्षित हिसाबले अधिकतम छलफल गरेर अघि बढ्छ । चुनौतीहरूलाई आजको चेतनाको आधारमा सम्बोधन गर्ने प्रयास हामी गर्छाैं ।
महाधिवेशनको बहस चलिरहँदा केही मुद्दाहरू छन् जसका बारेमा भ्रमहरू पनि देखिएका छन् । जनताको बहुदलीय जनवादलाई ‘कमा’ र ‘फुलस्टप’ पनि बदल्नु हुँदैन भन्ने कमजोर बुद्धि र मानसिकता भएका मानिस एमालेमा छैनन् । एमालेले जनताको बहुदलीय जनवादलाई एउटा ‘वैज्ञानिक विचार’ मान्छ, र ‘गतिमा नै यसको जीवन हुन्छ’ भन्ने विश्वास राख्दछ । त्यो भनेको परिवर्तित सन्दर्भमा जबज अद्यावधिक हुँदै जानुपर्छ, समृद्ध बन्दै जानुपर्छ । समृद्ध विचारले मात्रै परिवर्तित सन्दर्भमा जटिलतम बन्दै गएको हाम्रो जीवनलाई बाटो देखाउन सक्छ । तर, कोही–कोही ‘जबज’लाई ‘पुनरावलोकन’ गर्नुपर्छ भनिरहेका छन् । योचाहिँ गलत सोच र विचार हो । जबजको पुनरावलोकन होइन, जबजका आधारमा हामीले गरेका अभ्यासलाई फर्केर हेर्नुपर्छ । हामीले ‘जबज’लाई सही तरिकाले प्रयोग ग¥यौं कि गरेनौं भन्नेबारे चाहिँ छलफल हुन सक्छ । जबजको अभ्यास गर्दाको समीक्षा हुन सक्छ । हामीले जबजका आधारमा पार्टी निर्माण ठीक ग¥यौं कि गरेनौं ? सरकार ठीक ढंगले चलायौं कि चलाएनौं ? हामीले प्रगतिशील परिवर्तनका मुद्दाहरूलाई ठीक ढंगले अघि बढायौं कि बढाएनौं ? वा अघि बढाउने प्रयत्न ग¥यौं कि गरेनौं ? पार्टीभित्र योग्यता र क्षमताका आधारमा श्रेष्ठता कायम गर्ने कुरालाई ठीकसित स्थापित ग¥यौं कि गरेनौं ? समीक्षा यी विषयमा हुन सक्छ । जबजको ‘पुनरावलोकन’ भन्नु भन्दा यसको अभ्यासको समीक्षामा हुन सक्छ । यसप्रति सबै सचेत बन्नैपर्छ । कालातीत बनेका कुराहरूले एमालेको वर्तमान जीवनलाई बाटो देखाउन सक्दैनन् ।
माक्र्स र एंगेल्सले निष्कर्ष निकालेका थिए, ‘जहाँ विकसित पँुजीवाद हुन्छ, त्यहाँ समाजवादी क्रान्ति सफल हुन्छ ।’ त्यो भनिरहँदा फ्रान्स, बेलायत र जर्मनीको दृष्टान्त दिएका थिए । दुनियाँभरका कम्युनिस्टले त्यो कुरालाई सिद्धान्तका रूपमा स्वीकार गरे । तर, जब पहिलो विश्वयुद्धको सेरोफेरोमा ती देशहरू होइन, रुसमा क्रान्तिको सम्भावना प्रबल बनेर आयो, त्यसबेला केही माक्र्सवादी पण्डितहरूले भने, ‘माक्र्स र एंगेल्सले विकसित पुँजीवादमा मात्रै क्रान्ति हुन्छ भनेका थिए, यहाँ त सामन्ती सैन्य साम्राज्यवादी मुलुकमा पो क्रान्ति हुन थाल्यो † त्यसैले अब माक्र्सवाद असफल भयो ।’ लेनिनले त्यसको जवाफ दिनुभयो, ‘माक्र्सवाद जड विचार होइन, गतिशील वैज्ञानिक विचार हो । पुँजीवादले एकाधिकार स्वरूप ग्रहण गरेपछि, साम्राज्यवादमा पतन भएपछि, साम्राज्यवादी शोषण, उत्पीडनका साङलाहरू चुँडाउने जहाँको ताकत बलशाली हुन्छ त्यही क्रान्ति हुन्छ ।’ लेनिनको यो विश्लेषणपछि त्यस्ता माक्र्सवादको मीमांसा लेख्न उद्यत माक्र्सवादी पण्डितहरू चुप लागेका थिए ।
हामीले हाम्रो विचार जबजलाई पनि गतिमा बुझ्नुपर्छ । एमालेका बारेमा छलफल गरिरहँदा शान्त तलाउको सानो डुंगामा तैरिएर आएको पार्टी होइन, एमाले । चुनौतीको टाउकोमा टेकेर एमालेहरू यहाँसम्म आइपुगेका छौं । त्यसैले नवांै महाधिवेशनले झनै एकताबद्ध बनाउने विश्वास गर्न सकिन्छ । सबैको चाहना पनि त्यही छ, यतिबेला ।
(पोखरेल एमाले महासचिव हुन् ।)

Saturday, April 19, 2014

सगरमाथाको हिमपहिरोमा परी १५ जनाको मृत्यु हिमपहिरोको भिडियोसहित

सगरमाथाको आधार शिविर नजिकै शुक्रबार बिहान गएको हिमपहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १५ पुगेको छ । ७ जनालाई घाइते अबस्थामा उद्धार गरिएको छ । अझै केहि पुरिएको अनुमानका आधारमा खोजी कार्यलाई जारी नै राखिएको छ ।
मृतक १५ मध्ये १२ जनाको सनाखत भएको छ । सोलुखुम्बु प्रहरीका अनुसार हिम पहिरोमा परी दोर्जी शेर्पा, आङछिरिङ शेर्पा, मिङमा शेर्पा, ङिमा शेर्पा, आङकाजी शेर्पा, पासाङ कर्मा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, छिरिङ वाङचु शेर्पा, वाङगेले शेर्पा, खेमदोर्जे तामाङ, फूर्वातेम्बा शेर्पा, आसमान तामाङको मृत्यु भएको हो । मृतक सबैको शव लुक्ला ल्याइएको छ भने घाइते भएका सोलु वाकु चारका २४ वर्षिय फुरी शेर्पालाई थप उपचारका लागी काठमाडौ ल्याइएको छ । यस्तै, घाइते अन्य सात जनाको स्थानिय अस्पतालमा उपचार भईरहेको हाम्रा सहकर्मीले जनाएका छन् । सगरमाथा आधार शिविरबाट पहिलो क्याम्पतर्फ उक्लदै गरेका बेला विहान सवेरै एक टोली हिमपहिरोमा पुरिएको हो । २५÷२६ जनाको टोली पहिरोमा पुरिएको अनुमानका आधारमा खोजी कार्य अघि बढाएको सोलुखुम्वु स्थित एक प्रहरीले जनाकारी दिएका छन् । हराईरहेका भनिएको खोजीकार्यका लागी नेपाली आर्मीको एम आई सेभिन्टिन सहित विभिन्न निजी क्षेत्रका विमान खटिएका छन् । तर, खराव मौषमका कारण खोजी कार्य शुक्रबार अपरान्हदेखी बन्द भएको छ । उनिहरु सबै हिमालयन गाइड नेपाल, शेर्पा अलपाइन गाइड, एसियन टे«किङ र समित नेपालको टे«किङ एजेन्सीमार्फत गएको प्रहरीले जनाएको छ ।

Friday, April 18, 2014

यो जिन्दगी फेरि थपिएको छ

केपी ओली
डेढ महिनाको अन्तरालको उपचारपछि स्वदेश फर्किएको छु । यस पटक सामान्य बिरामी, रोग सानो तर दुःखचाहिँ धेरै नै दियो । कीटाणु पत्ता लगाउन गाह्रो भयो । छालामा संक्रमण गर्ने एउटा मामुली कमजोर ब्याक्टेरिया पत्ता लगाउन पनि बहुतै गाह्रो हुँदो रहेछ । जेहोस्, डाइग्नोसिसबाट पत्ता लागेपछि उपचार गरेर पूर्ण स्वस्थ भएर स्वदेश फर्किएको छु ।
यसबीचमा मेरो स्वास्थ्यलाई लिएर सुस्वास्थ्यको कामना गर्ने, उपचारमा सहयोग पु¥याउने, स्वदेश, विदेशमा रहेका सबै संघ÷संस्था र सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । प्रधानमन्त्रीले पटक–पटक फोनमा कुराकानी गरेर मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो, उपप्रधानमन्त्री बामदेव गौतम आफैं दिल्ली जानुभयो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवालीलगायतका थुप्र्रै नेता साथीहरूले भेटेरै स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । आवश्यकता पर्दा थप उपचार गराउन सकिने जानकारी पनि भेटेरै गराउनुभयो ।
मैले उपचारका क्रममा धेरै शुभकामना, शुभेच्छा प्राप्त गरें, जसले गर्दा उपचारमासमेत कठिनाइ भएन । म्याक्स अस्पतालमा डा. अनन्तकुमार नेतृत्वमा रहेको चिकित्सकको ‘टिम’ले धेरै मेहनतका साथ उपचार गर्नुभयो र म फर्किएर आएँ । यस अवसरमा उपचारमा संलग्न चिकित्सक, सरकार, पार्टी नेताहरू, सञ्चारकर्मी मित्रहरू, समर्थक, शुभेच्छुक सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
मैले धेरै पटक जीवनको अन्तिम घडी हो कि भन्ने बेहोरेको छु । यस पटक पनि अन्तिम घडी हो कि भन्ने त मलाई लागेन । तर, आममानिसमा त्यस्तो प्रभाव परेछ । जे होस्, यो जिन्दगी फेरि थपिएको छ । फर्किएको यो जीवन नेपाल राष्ट्र, नेपाली जनता र मानवजातिको सर्वोत्तम हितका निम्ति प्रयोग गर्नेछु । मेरो निजी जिन्दगी हुँदैन, यसलाई मैले राष्ट्रको, जनताको जीवनका रूपमा लिएको हुँदा त्यसैगरी खर्च गर्नेछु । बिरामी हुँदाहुँदै पनि एउटा राजनीतिक प्राणी भएको हुनाले साथीहरूले धेरै चिन्ता नगर्नुस्, विचारमा केन्द्रित नहुनुस्, चिन्तामुक्त भएर उपचारमा ध्यान दिनुस् भन्नेजस्ता थुप्रै सुझाव दिनुभयो । तर, उपचारमा ध्यान दिँदादिँदै पनि मैले नेपाली समाजको चिन्तै नगर्ने भन्ने कुरा थिएन । मेरो स्वास्थ्यलाभका निम्ति पनि नेपाली समाज र पछिल्लो परिस्थितिबारे सूचना र जानकारी लिन जरुरी थियो । त्यसकारण अस्पतालको बिस्तारा(बेड)मा हुँदा पनि र बाहिर रहँदा आजसम्म पनि मैले जानकारी लिने कोसिस गरें । सामान्य अवस्थामा देशभित्रै रहेर जे जानकारी लिएर भूमिका खेल्न सकिन्छ, त्यस्तो सकिने कुरा त भएन । तर, जानकारी लिनु पनि महŒवपूर्ण नै थियो ।
हामी संक्रमणकालीन अवस्थामा छौं । संविधान नबनिसकेकाले केही मतभेद छन्, फरक–फरक उद्देश्य छन्, भिन्नताहरू पनि होलान् । यी सबै हेर्दा परिस्थिति अलि जटिलै छ भन्ने पनि थाहा छ । यी सबै कारणले देशको राजनीतिलाई जुन तीव्रता दिनुपथ्र्यो, दिन नसकिएको मलाई पनि महसुस भएको छ । म फर्किसकेको छु, त्यसैले तीव्रता दिने प्रयासका लागि आफूलाई केन्द्रित गर्नेछु । मैले नेतृत्व गरेको संसदीय दलले उद्देश्यअनुसार तीव्रता लिनेछ । म सहभागी रहेको पार्टीमा पनि साथीहरूसँग मिलेर आफ्नो भूमिकालाई तीव्रता दिने प्रयास गर्नेछु ।
हामीले एक वर्षभित्र संविधान जारी गर्ने भनेका छौं । सभामुखले गरेको रुलिङअनुसार अर्थात् ८ माघबाट संविधानसभाको गणना हुने भनिएको छ, त्यस अवधिभित्रै हामीले नयाँ संविधान जारी गर्नुपर्छ । जनताको अपेक्षा र हाम्रो प्रतिबद्धतालाई पूरा गरेर जनताको विश्वास तलमाथि पर्न दिनुहुँदैन भन्ने मलाई लाग्छ । सबैले त्यतातर्फ ध्यान दिनुपर्छ ।
अहिलेको सरकारका दुईओटा प्रमुख काम छन् । संविधान निर्माण गर्ने काममा आफूलाई संयोजनकारी रूपमा प्रस्तुत गर्ने । अर्को, शान्ति, सुरक्षासहित सुशासन कानुनी राजको प्रत्याभूति दिलाउने । बजेटको तर्जुमा तदनुरूप गर्नुपर्छ, सरकारलाई लोकतान्त्रिक ढंगले सञ्चालन गर्दै विकासको गतिलाई तीव्रता दिनुपर्छ । अहिलेको संविधानसभा, त हुँदै हो, त्यसभित्र व्यवस्थापिका पनि भएकाले संविधानको कुरा गरिरहँदा संविधान निर्माण प्रमुख अभिभारा हो र सँगसँगै
व्यवस्थापिका संसद्ले निर्वाह गर्ने भूमिका पनि खेल्नुपर्ने जरुरी छ । त्यस पाटोमा सरकार निर्माण गर्ने, सञ्चालन गर्ने पनि भएकाले यसमा पनि ध्यान दिएर अघि बढ्नुपर्छ ।
हाम्रो पार्टीको महाधिवेशन २४ जेठबाट सुरु हुँदै छ । त्यस मितिमै सम्पन्न हुनेछ । अहिले नै भन्दा तपाईंहरूले विश्वास नगर्नुहोला तर यथार्थ भन्नैपर्छ । हामी एकताका साथ महाधिवेशनलाई लिएर जानेछौं, महाधिवेशन एकताबद्ध भएरै जानेछ । एमाले जस्तो विशाल पार्टीमा बहस हुन्छन् नै तर त्यसलाई हामी एकताबद्ध रूपमा अघि बढाउँछौं । म सबैलाई ढुक्क रहन अनुरोध गर्दछु । यत्रो इतिहास, धेरै ठूलो कार्यकर्तापंक्ति भएको यति ठूलो पार्टीमा अलिअलि छलफल हुनु स्वाभाविक छ । अन्तिममा हामी यी सबै कुरालाई समुचित ढंगले टुंग्याएर सहमतिका साथ नेतृत्व चुन्दै पार्टीलाई अघि बढाउनेछौं । यसमा कुनै शंका नगर्न म आग्रह पनि गर्छु ।
अर्को कुरा, ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धतता लगभग असफल भइसक्यो । हामीले के कुरामा ध्यान दिनुपर्छ भने एक वर्षभित्र संविधान जारी गर्छौं भनेकाले त्यस अवधिभित्रै संविधान जारी गर्नुपर्छ । तर, एक वर्ष भनेको म्यादको अन्तिमतिर, अर्थात् ८ माघको अन्तिमतिर, माघको पहिलो हप्तातिर मात्रै संविधान जारी गर्छौं भने कात्तिक, मंसिरको पहिलो हप्तातिरै स्थानीय निकायको निर्वाचन गर्न सकिन्छ । यदि निर्वाचन भएको ४ मंसिर आसपासमै संविधान जारी गर्न सक्यौं भने त्यसलगत्तै स्थानीय निकायको चुनाव गर्ने गरी तयारी गर्न पनि सक्छौं । तर, यदि पुसको अन्तिम या माघको पहिलो सातातिर संविधान जारी गर्छौं भने त्यसअघि स्थानीय निकाय निर्वाचन गर्नु नपर्ने कुनै कारण छैन । मंसिर पहिलो हप्तातिर गाविस र नगरपालिकाको चुनाव ग¥यौं भने जिविसको चुनावमा मौसमको असर पर्दैन । पहिले पनि हामीले जिविसको निर्वाचन साउन ४ मा गरेका थियौं ।
अहिले पनि मुलुक संक्रमणको अवस्थामा छ । द्वन्द्वकालका घटनालाई सहजताका साथ व्यवस्थापन गर्ने र सबै पक्षलाई समेट्नका लागि विशेष पहल हुनुपर्छ । यसमा दुईओटा कुरामा ध्यान दिनुपर्छ । द्वन्द्वका क्रममा भएका घटनाहरूमा जघन्य मानवताविरुद्धका अपराधबाहेक अरू सहमतिमा क्षम्य हुन सक्छन् । तर, कुनै पार्टी विशेषबाट भएको गम्भीर जघन्य अपराध, फौजदारी कानुन आकर्षित हुने, द्वन्द्व नभएको वा द्वन्द्वकालका द्वन्द्वका सिरानी हालिएका अदालती कारबाहीका विषय हुन्छन् । यो ठूलो कुरा होइन, हामी छलफलबाटै निष्कर्षमा पुग्न सक्छौं ।
(स्वास्थ्य उपचारपछि फर्किएका एमाले संसदीय दलका नेता ओलीले बुधबार अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्त विचार)  

Thursday, April 17, 2014

प्रहरीभित्र मौलाएको चेन अफ कमान्ड समस्या


गणेश बस्नेत
गृह मन्त्रालय र पुल्चोक काठमाडौंबाट त्यति टाढाको दूरीमा छैन, तर काठमाडौंका एसएसपी रमेश खरेल अझैसम्म मलाई भेट्न आएका छैनन् । मलाई भेट्दा आफ्नो स्वाभिमान गिर्ने महसुस गरेका होलान् सायद ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम


नेपाल प्रहरीमा चेन अफ कमान्डको कुनै समस्या छैन । प्रहरी संगठन चेन अफ कमान्डअनुसार नै चलेको छ । संगठन प्रमुखको हैसियतले भन्दा रमेश खरेल पनि चेन अफ कमान्डमै चलेका छन् । यसमा कुनै शंका नगर्नाेस् ।
आईजीपी उपेन्द्रकान्त अर्याल

फोर्समा चेन अफ कमान्ड हुन्छ, त्यसको मेन्टेन भएन भने प्रहरी बिग्रन्छ भन्ने मैले बुझेको छु, त्यसैले वामदेव गौतमज्यूलगायत कुनै पनि गृहमन्त्री भेट्न गएको छैन, जाँदा पनि जान्न, भेट्न आवश्यकता पनि छैन ।
एसएसपी रमेश खरेल
माथिका यी तीन भनाइले नेपाल प्रहरीभित्रको समस्या बुझ्न केही हदसम्म सहयोग पु¥याएको छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र काठमाडौंका एसएसपी रमेश खरेलले दिएको यी अभिव्यक्तिले मुलुकको गृहप्रशासन कसरी चलिरहेको छ भन्ने सहज अनुमान गर्न सकिन्छ । प्रहरी प्रमुख अर्याल र काठमाडौं जिल्लाको नेतृत्व गरेका एसएसपी खरेलको भनाइ गृहमन्त्री बामदेव गौतमका लागि त्यति सहज र सहयोगी पक्कै देखिँदैन । प्रहरी प्रमुख विदेश भ्रमणमा गएका बेला गृहमन्त्री गौतमले पार्टीको सशक्त भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा रमेश खरेल भेट्न आएनन् भन्ने भनाइपछि यी प्रतिक्रिया आएका हुन् । गौतमको भनाइपछि ‘हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ’ भन्ने चालको नियमलाई पनि तोडिएको अवस्था छ । बराबर होइन अधिक प्रतिक्रिया आइरहेको छ, गृहमन्त्री बामदेव गौतमका विरुद्धमा । नेपाल प्रहरीको इतिहास हेर्दा गृहमन्त्रीविरुद्ध सम्भवतः पहिलो पटक प्रहरी अधिकारीहरू सार्वजनिक रूपमा प्रतिवादमा उत्रिएका छन् । गृहमन्त्री बन्न नदिने अभियानमा लागेर प्रधानमन्त्री सुशील कोइरालासँग नै भेटेको र लबिङ गरेको आरोप लागिसकेको अवस्थामा गौतम झस्किएका थिए । तर, कसैले आक्षेप लगाउँदैमा विश्वास गरिहाल्ने अवस्था थिएन । अर्याल र खरेल मन्त्री हुन नदिने खेलमा लागेको भरपर्दाे प्रमाण गौतमसँग थिएन । त्यसैले उनी त्यसको परीक्षण गर्न चाहिरहेका थिए ।
आईजीपी अर्याल र खरेल दुवैले आफूलाई गृह मन्त्रालयको नेतृत्व गर्न नदिन प्रधानमन्त्रीदेखि कांग्रेस र एमालेकै नेतालाई भेटेरै दबाब दिएको भन्ने सूचनाको भेरिफाइ गर्न गौतमले जानाजान खरेल भेट्न आएनन् भन्ने शब्दजाल फालेको अनुमान एमाले वृतमा  थियो । उनलाई थाह थियो, त्यसपछि आउने प्रतिक्रिया र घटनाक्रमले विगतमा पाएको त्यो सूचनाको यथार्थसम्म पुग्न सकिन्छ । आफ्नो भनाइलगत्तै आएको एसएसपी खरेलको अभिव्यक्ति र विदेशबाट फर्किएपछि आईजीपी अर्यालको टिप्पणीपछि गौतम एउटा निष्कर्षमा पुगेका छन् । उनको त्यो निष्कर्ष हो, प्रहरी प्रमुख र खरेलसहितको एउटा टिम असहयोगी भूमिकामा ज्यान फालेर लागिरहेका छन् । खरेलबारे बोलेको विषयमा आपत्ति जनाउन पुगेका एमाले सभासद्सँगै गृहमन्त्री गौतमले त्यो संकेत दिइसकेका छन् । आईजीपी र एउटा एसएसपीले गृहमन्त्री चलाउन खोज्ने होइन, हैसियत हेर्न जरुरी छ, त्यसमाथि पनि मन्त्रीको शपथ लिनु अघि उनीहरूले आफ्नो पदीय मर्यादाविपरीत गएर मविरुद्ध खेलेको भूमिकाबारे जानकार छु भन्ने गौतमको टिप्पणीको अर्थ बुभ्mन अब कुनै जोतिषीलाई सोधिरहनु नपर्ला ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सुदूरपश्चिम पुगेर प्रहरीका सबै अधिकारी चेन अफ कमान्डमै रहेको उद्घोष गरे । प्रहरी प्रधान कार्यालयभित्रै देखिएको चेन अफ कमान्डको गम्भीर समस्यासँग जुधिरहेका महानिरीक्षक अर्यालले यथार्थ ढाकछोप गर्दै काठमाडौंका एसएसपी रमेश खरेलको प्रसंग उठाएर बाहिर जेसुकै चर्चा भए पनि प्रहरी संगठनभित्र चेन अफ कमान्डको समस्या नरहेको प्रस्टीकरण गरेका छन् । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एसएसपी खरेलले आफूसँग भेट्नसमेत नआएको अभिव्यक्ति दिएपछि आएका यी क्रिया र प्रतिक्रियाले आगामी दिनमा प्रहरी संगठनले भोग्नुपर्ने धेरै यथार्थलाई संकेत गरिसकेको छ ।
प्रहरीभित्र चेन अफ कमान्डमा गम्भीर समस्या रहेको विषयमा आईजीपी उपेन्द्रकान्त राम्रैसँग जानकार छन् । उनका ब्याजी डीआईजीबीच को वरिष्ठ भन्ने होडले दैनिक काममै समस्या आइरहेको छ । तर, पनि आईजीपी चेन अफ कमान्डमा कुनै समस्या छैन भन्न बाध्य छन् । चेन अफ कमान्डको समस्या बुझेकै कारण गृहमन्त्री बामदेव गौतमले एसएसपी रमेश खरेल भेट्न आएनन् भन्दै हैसियत मापन गर्न खोजे । तर, त्यसपछि जे क्रिया प्रतिक्रिया आए, त्यसले प्रहरी र गृह नेतृत्वबीच गम्भीर समस्या रहेको यथार्थ उजागर गरेको छ । यथार्थ पनि के हो भने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगै सेवा प्रवेश गरेका ब्याजी डीआईजीहरू बढुवा हुन नसक्दा बिगत लामो समयदेखि कुनै काम नगरी बसेका छन् । अनि, एआईजी हुँदाहुँदै प्रशासनतर्फको नभएको भन्दै डीआईजीलाई कार्यवाहक आईजीपीको जिम्मेवारी दिनु परिरहेको छ । चेन अफ कमान्डमा कतिसम्म समस्या छ भन्ने कुराको एउटा उदाहरण विमानस्थलमा रहेका डीआईजी यादव अधिकारी हुन् । आईजीपीबाहेक कसैको कुरा मानिन्न भन्दै उनले दिएको उर्दीबारे गृहमन्त्रीदेखि नेतासम्मलाई विमानस्थलमै कार्यरत एसएसपी रमेश फुँयालले गराएको कुरा बाहिर आएको छ । इमानदारिता र कार्यक्षमतामा शून्य रहे पनि एसएसपी फुँयाल हाल डीआईजी अधिकारीकै मातहतमा छन् । सोही कारण अधिकारीले गरेको चलखेलबारे उनी जानकार नहुने कुरै भएन । कतिपय सवालमा अधिकारीले आईजीपीकै विरुद्धमा गृह नेतृत्वलाई पोल लगाएको तथ्य पनि फुँयालले नै खोलिदिएका छन् ।
प्रहरीभित्र चेन अफ कमान्ड रहेको भए एउटा डीआईजी र एसएसपीले कसरी गृह नेतृत्वलाई आईजीपीको पोल लगाउने आँट ग¥यो ? अनि एउटा एसएसपीले कसरी फलानो हाकिम राम्रा छन्, फलानो ठीक छन् भन्ने आँट गरे ? यसको जवाफ सायद आईजीपी अर्यालसँगै पनि छैन । छ त केवल चेन अफ कमान्डमै चलेको भन्ने सुगा रटाइ मात्रै । योभन्दा बढी भए आईजीपीले तत्कालै डीआईजी अधिकारी र एसएसपी फुँयालमाथि कारबाही गर्नुपर्छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्कने क्रममा बुधबार विमानस्थलमा एसएसपी फुँयालले दिएको जवाफ सुन्नेहरूलाई पनि प्रहरीको चेन अफ कमान्ड कस्तो रहेछ भन्ने जिज्ञासा बढेको छ । ‘आईजीपीले भनेको त टेरिन्न, अरूको के कुरा, मैले मान्ने पर्ने भए गृहमन्त्रीको आदेश गराउनोस्,’ एसएसपी फुँयालले एमाले कार्यकर्तालाई दिएको यो जवाफ प्रहरीको चेन अफ कमान्डमा कतै पनि भेटिँदैन । आईजीपी अर्यालले यस्ता अधिकृतको विषयमा जानकारी भएर पनि चेन अफ कमान्डमै छ भन्नु गृहमन्त्रीले खरेल भेट्न आएनन् भन्नुजस्तै हो ।
पछिल्लो समयमा आईजीपीले जति राम्रो काम गर्न खोजे, त्यसलाई रोक्नका लागि प्रहरी अधिकारी नै लागेको यथार्थलाई सबैले बुझिसकेका छन् । त्यसैले अब संगठन प्रमुखविरुद्ध पोल लगाउने र आफ्नो स्वार्थपूर्ति गर्ने खेल पनि रोक्न जरुरी छ । यो समस्या समाधानमा तत्कालै ध्यान नदिने हो भने सबैभन्दा पहिलो सिकार आईजीपी हुनेछन् । त्यसबेला रमेश खरेलको पनि हैसियत रहनेछैन । तर, अधिकारी र फुँयाल प्रवृत्ति भने मौलाइरहनेछ । गृह मन्त्रालयको नेतृत्व गरिरहेका वामदेव गौतमको इतिहास बुझेकाहरू यतिबेला प्रहरी संगठनभित्र आइपर्ने त्यो गम्भीर समस्याको पूर्वानुमान गरिरहेका छन् । त्यसैले उनीहरू त्रसित पनि छन् । प्रहरी अधिकृत र गृहमन्त्री वामदेव गौतमबीच बढिरहेको टसलको सन्दर्भमा एउटा घटना नै काफी होला, २०५४ सालमा एमाले विभाजनताका आफ्नै निवासमा आफूनिकट नेता कार्यकर्तालाई खान दिइएको सेबई खोसेर गौतमले फालेका थिए । त्यो तीतो सत्यको सामना गरेकाहरू अब प्रहरीमा गम्भीर संकट आउने भयो भन्न थालिसकेका छन् । बामदेवको इतिहासले पनि त्यही भन्छ । एउटा कार्यक्रममा बोलेको विषयलाई सप्रसंग नबुझी आईजीपी अर्याल र एसएसपी खरेलको गरेको सार्वजनिक प्रतिवादले बामदेवलाई बुझ्नेहरू नराम्रोसँग झस्किएका छन् । चेन अफ कमान्डको माला जपेर विभागीयमन्त्रीविरुद्ध खनिने घटनाले निम्त्याउने समस्याप्रति प्रहरी नेतृत्व पनि गम्भीर बन्न सकेको देखिँदैन । यसतर्फ प्रहरी नेतृत्वले तत्कालै ध्यान दिन जरुरी छ । आईजीपीविरुद्ध गृहमन्त्रीसमक्ष दर्जनभन्दा बढी पोल पुगिसकेको छ । प्रहरी प्रधान कार्यालयभित्रै रहेका वरिष्ठ अधिकारीले दिएको त्यो सूचनाले गृहमन्त्री झस्किरहेका छन् । पछिल्लो घटनाले कतै प्रहरी नेतृत्व आफूविरुद्ध योजनाबद्ध ढंगबाट परिचालित त भएको छैन भन्ने गम्भीर द्विविधामा गृहमन्त्रीलाई पु¥याएको छ । यसलाई चिर्न जरुरी छ । गृहमन्त्रीले पनि अर्यालाई फालेर आफू नेतृत्वमा पुग्न सक्छु कि भन्ने एकाध अधिकृतको पोललाई नै प्रहरी नेतृत्व आफूविरुद्ध लागेको अर्थमा बुझ्न हुन्न । विगतमा कसले के भन्यो भन्ने आधारमा प्रहरी नेतृत्वप्रति नकारात्मक हुने काम बन्द गर्नुपर्छ । नत्र प्रहरी प्रमुख र खरेलसँगै गृहमन्त्री बामदेव गौतम पनि पासोमा पर्ने निश्चित छ ।
यतिबेला बामदेव र चर्चामा आएका प्रहरीको इतिहास हेर्ने हो भने दुवै एक–अर्काको कमजोरीप्रति जानकार छन् । गृहमन्त्री कानुन होइन, आफ्नो कुरा नमान्दा जे पनि गर्छन् भन्ने इतिहास तत्कालीन प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेललाई ३६ दिनमै फालेर ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएको घटना नै काफी छ । साथसाथै गृहमन्त्री गौतम तीन महिनाको तालिम लिएर जागिरका लागि विदेश जान लागेका निर्दाेष युवतीलाई मानव बेचविखन मुद्दा लगाएर फसाउने प्रहरीका काविल अधिकृत को हुन् भन्ने विषयमा पनि राम्रै जानकार छन् । २०५६ सालको आमनिर्वाचनमा  बुथ क्याप्चर गर्ने अधिकृतबारे पनि गौतम जानकार छन् । जुवाखालबाट पक्राउ परेका १० भाइमध्ये एकजना नातेदार परेपछि तिनलाई मध्यरातमा छाडिदिने अधिकृतबारे पनि गौतम बेखबर रहने कुरै भएन । त्यसैले उनले आपूmसँग सुझाव दिन आउनेलाई भनिसकेका छन्, प्रहरी नियमावलीमा कहाँ छ बुथक्याप्चर गर्ने प्रावधान ? अनि कहाँ छ गृहमन्त्री खराब हुन् भन्दै अभिव्यक्ति दिने छुट ? अघिल्ला गृहमन्त्रीलाई भेट्न कति पटक पुग्थे, निवासमा ? त्यसको डाटा मसँग छ ।’ उनको यो भनाइले पनि प्रहरीमा आइपर्ने संकटको संकेत गर्दछ ।
राजनधानी दैनिकमा २०७१ बैशाख  ४ मा प्रकाशित लेख