Sunday, August 23, 2015

तोडिदै गुण्डाराजको चक्रब्यूँह

उपत्यकालाई अपराधमुक्त शहर बनाउने प्रहरी अठोट

काठमाडौं, ५ भदौ

उपत्यकालाई अपराधमुक्त शहर बनाउने स्पष्ट खाकासहित अघि बढेको महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाराजको चक्रब्यूँह तोडने अभियान तीब्र बनाएको छ । पहिलो पटक चेतावनीसहित पक्राउ गर्ने योजना बनाएको प्रहरीले राजनीतिक आडमा समाजमा आतंक फैलाउने जो कोही गुण्डालाई नछाडने गरी अभियान अघि बढाएको हो ।
राजधानीमा असुली धन्दा चर्काएका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टरसँगै महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाराजबिरुद्धको अभियान तीब्र बनेको संकेत दिएको छ । एक महिना लामो अनुसन्धानपछि घैंटेलाई पक्राउ गर्न निस्किएको प्रहरीमाथि नै गोली प्रहार गर्दाको प्रतिकारमा बिहीवार घैैंटे मारिएका थिए । घैंटेको अपराधमा पिसिएका निर्दाेष जनताको आवाजलाई माथि उठन नदिन गुण्डाकै बचाउमा उत्रिएका एकाध कांग्रेस नेताले प्रहरीप्रति औला ठड्याए पनि एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको महानगरीय अपराध महाशाखाका कामयावी प्रहरी गुण्डाराजको चक्रब्युँह तोडेरै छाडने अठोटमा छ । यस क्रममा महाशाखाले मोष्टवान्टेड सूचीमा रहेका गुण्डाहरू काठमाडौं बाहिर जानसक्ने भन्दै कडा निगरानी थालेको छ ।
कुमार घैंटे मारिएपछि राजधानीलगायत देशका मुख्य शहरमा गुण्डाराज चलाउदै आएका समाज बिरोधी तत्वहरू देश छोडेर भाग्ने तयारी गरेकाले पनि प्रहरीले थप निगरानी बढाएको छ । केही समय बिदेशमा लुक्ने, फर्केर पुनः अपराध धन्दा अघि बढाउने गरेको कारण प्रहरीले यस पटक सवै गुण्डाको सूची तयार पारी सुधार्ने वा जेल पठाउने अभियान चलाएको हो । आफूलाई दादा देखाउन प्रहरीमाथि आइलागे भने घैंटेको जस्तै अवस्था पु¥याउने गरी योजना बनेको एक प्रहरी अधिकारी बताउँछन । ‘अव नसुध्रिने गुण्डा नाइकेमाथि प्रहरी निर्ममतापुर्वक प्रस्तुत हुन्छ,’ ती अधिकृतले भने ।
हाम्रो अभियान कसैले पनि समाजमा आतंक नमच्चाओस भन्ने हो, 
जसले अपराधकर्म गर्छ, उसले त्यसको प्रतिफल भोग्छ
सर्वेन्द्र खनाल, एसएसपी 
बिभिन्न पेशा, ब्यवसायमा रहेका ब्यक्तिलाई तर्साएर आफ्नो धन्दा चलाउदै आएका गुण्डाहरू प्रहरीले खोजी गरिरहेको जानकारी पाएपछि नेपाल छोड्ने तयारी गरेका छन । सोही कारण प्हरीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलसहित नेपाल बाहिरिने मुलुकभरका मुख्य नाकामा निगरानी बढाएको छ । राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्दै आएका गुण्डाहरू समेत घैंटेको घटनापछि आफुलाई असुरक्षित महशुस गरी देशै छोड्ने तयारी गरिरहेकोले भाग्नसक्ने संभावित नाकामा निगरानी थालिएको अपराध महाशाखाले जनाएको छ । प्रहरीले कुमार घैटेलगायत अन्य गुण्डा नाइकेका व्यावसायिक साझेदारहरुमाथि पनि अनुसन्धान गर्ने भएको छ । देशभर उनीसँग सँगतमा रहेका गुण्डा र व्यावसायिक साझेदारहरूको बारेमा निगरानी र अनुसन्धान थालेपछि अन्य गुण्डासमेत देशै छाडेर हिड्नसक्ने भन्दै उच्च निगरानी बढाइएको हो ।
महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल अपराधमा संलग्न गुण्डा नाइकेको कनेक्सनमा रहेका गुण्डाहरू पनि निगरानीमा रहेको बताउँछन । त्यसो त धादिङका गुण्डा नाइके दिनेश अधिकारी (चरी) र कुमार घैटेको इन्काउण्टरपछि राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्दै आएकाहरू समेत आफ्नो अनुकुल नभएको निश्कर्ष निकाली भाग्ने तयारीमा रहेका हुन । चरीका सहयोगीहरु कोही विदेश गइसकेको र कोही यही  ‘साइलेन्स’ बसेको प्रहरीको निष्कर्ष छ ।
‘प्रहरीले जुनसुकै पार्टीको संरक्षणमा रहेको भएपनि समाजमा आतंक मच्चाउने गुण्डाहरू पालैपालो इन्काउन्टर गर्ने रणनीति बनाएपछि उनीहरू पलायन हुने अवस्थामा पुगेका हुन,’ महाशाखाका एक प्रहरी अधिकृत भन्छन । गुण्डाहरूको सम्वन्ध नेतासंग मात्र होइन, प्रहरीका उच्च अधिकारीसम्म पनि रहेको छ । घैटेको ईन्काउन्टरपछि उनीसंग सम्वन्ध भएका प्रहरी पनि झस्कन थालेका छन । केही प्रहरीका उच्च अधिकृतहरूले घंैटेलाई ब्यापारिक साझेदार बनाएर मिटर ब्याजमा पैसा लगानी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
गुण्डागर्दीको आडमा घैंटेले देशैभरका ठुला ठेक्का लिएको र सो ठेक्कामा नेपाली कांग्रेस निकट केही नेता र प्रहरी उच्च अधिकारीको समेत हिस्सा रहेको पनि खुल्न थालेको छ । समान्य परिवारमा जन्मिएका घैंटेले गुण्डागर्दीकै आडमा ४० करोड भन्दा बढी सम्पति जोडेको प्रहरीको प्रारम्भिक अनुमान छ । त्यसो त गुण्डागर्दी गर्ने ब्यक्ति प्रहरी ईन्काउन्टरमा मारिदा नेताहरूले प्रहरीलाई तथानाम आरोप लगाएर उसको बचाउ गर्न खोजे सर्वत्र आलोचना मात्र होईन, घैटेको बचाउ गर्ने नेतालाई समेत पक्राउ गरेर कारवाही गर्नुपर्ने माग उठेको छ । घंैटेको ईन्काउन्टरपछि कांग्रेस सभासद जगदिशनरसिंह केसी, धनराज गुरुङ र भीमसेनदास प्रधानले चर्को रुपमा सरकार र प्रहरीको बिरोध गरेपछि सर्वसाधारणले उनीहरुलाई नै कारवाहीको दायरामा ल्याउन माग गरेका हुन । एक बर्ष अघि चरी मारिदा पनि धादिङका एमाले नेताहरूले प्रहरीको चर्को आलोचना गर्दै छानविन हुनुपर्ने कुरा उठाएका थिए । ‘समाजमा आतंक मच्चाउनेहरूको पक्षमा केही मानिस हुनु नौलो होईन, जसलाई गुण्डाहरूले राम्रोसंग पालेका हुन्छन, घैंटे काण्डपछि उसको समर्थनमा जुन अभिब्यक्ति आएका छन, त्यो त्यसैको परिणाम हो,’  महाशाखा प्रमुख एसएसपी खनालले भने, ‘हाम्रो अभियान भनेको कसैले पनि आतंक नमच्चाओस भन्ने हो, जसले अपराधकर्म गर्छ, उसले त्यसको प्रतिफल भोग्छ ।’
३० करोड असुली
प्रहरी अधिकारीका अनुसार घैंटेले झण्डै ३० करोड अवैध रकम गजुरमूखी निमाण सेवाको नामबाट असुली सकेका छन । पैसाकै आडमा उनी अनुसन्धानमा खटिएका केही प्रहरी उच्च अधिकारीलाई मिलाई सम्पत्ति शुद्धिकरणबाट उम्कन सफल भएका थिए ।  कुनै समय चरीलाई आपराधिक क्रियाकलापतर्फ उन्मुख गराउने घंैटेले प्रयोग गर्ने गजुरमूखी कम्पनी कांग्रेस नेता जगदीश्वर नरसिंह केसी, उनकी श्रीमती, सामाखुसीका शान्ताराम महर्जन, हेटौडाका सन्तोष श्रेष्ठलगायत ७ जनाको नाममा भएपनि पर्दा पछाडिबाट खेल्ने घंैटे नै भएको प्रहरीले दावी गरेको छ ।
यस्तै बबइ सिंचाई आयोजनाका प्रमुख महेश्वर नरसिंह केसीस“ग मिलेर जगदीश र घैंटेले झन्डै ९ करोडको ठेक्का हात पारेपछि घैंटेलाई राम्रो राजनीतिक संरक्षण मिलेको स्रोतको दावी छ । त्यसैगरी तराईको धनुषा, महोत्तरी खण्डको रेलमार्गको काममा घैंटेले ६० करोडको टेन्डर हात पार्न लागेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै पशुपति क्याम्पसको भवन निर्माणमा पनि घैंटेको जोडबलमा सो कम्पनीले टेन्डर हात पारेको थियो ।