Thursday, December 25, 2014

सहमतिको नाममा राष्ट्रघात असंभव : ओली







राजधानी समाचारदाता
काठमाडौं, ८ पुस
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले संबिधान जारी गर्न अवरोध गरिरहे पनि तोकिएको ८ माघमै नयाँ संबिधान आउने उदघोष गरेका छन । मुलुक संबिधानबिहीन अवस्थामा रहन नसक्ने भन्दै ओलीले संबिधानसभाले तय गरेको कार्यतालिका अनुसार नै आगामी ८ माघमा नयाँ संबिधान आउने ठोकुवा गरेका हुन ।
‘ढुक्क हुनुहोस, तोकिएको ८ माघमै संबिधान आउँछ, त्यसैका लागि एमाले प्रतिवद्ध छ, संबिधान ल्याउन लागेका हाम्रा अन्य सहयात्री दलहरू पनि त्यसै दिशामा केन्द्रित छन,’ प्रेस चौतारी नेपालले मंगलवार आयोजना गरेको अन्तर सम्वादमा एमाले अध्यक्ष ओलीले भने । उनले एकीकृत नेकपा माओवादी जसरी पनि संबिधान आउन नदिने षडयन्त्रमा लागे पनि अव कामयावी नहुने जिकिर गरे । ‘सहमतिका साथ ८ माघमा संबिधान बनाऔं भन्दा बुरुक्क उफ्रेर फेरि संबिधान बनाउने कुरा गर्ने भन्दै भाग्ने एमाओवादीको शैली रहे पनि ८ माघमै संबिधान आउँछ, उनीहरू सुध्रिएर मुलुकको हित अनुकुलको सहमतिमा आउछन,’ ओलीले भने ।
ओलीले सहमतिको आधार राष्ट्रघात भने हुनै नसक्ने बटमलाइन समेत सुनाए । राष्ट्रको अहित हुने गरी कुनै पनि सम्झौता हुन नसक्ने भन्दै ओलीले सहमतिका नाममा राष्ट्रघाती काम आफूहरूले नगर्ने प्रष्ट पारे । ‘देश, जनता, लोकतन्त्र, राष्ट्रिय एकता, विकास र लोकतान्त्रिक सपना बिरुद्ध कुनै पनि सहमति हुँदैन, सहमतिका लागि उचित कुरा ल्याउनु पर्छ,’ ओलीले भने । ओलीले ८ माघमै संविधान जारी हुने स्पष्ट पार्दै आफुहरुले सहमतिको अधिकतम प्रयाश गर्ने जानकारी पनि दिए । ‘सहमति भएन भने अन्तरिम संविधानले ब्यबस्था गरे बमोजिम प्रक्रियामा गएर भएपनि संविधान जारी हुन्छ,’ ओलीले भने ।
सहमति र प्रक्रिया दुवैमा नआए एमाओवादी लगायतका दलहरुको गम्भीर भुल हुने चेतावनी पनि उनले दिए । ‘समय र ज्वालामुखीले कसैलाई पनि पर्खदैन, संबिधान निर्माणको सवालमा पनि यस्तै हो, जो आउँदैनन, उनीहरु छुटछन,’ ओलीले भने । उनले एमालेले सहमतिको प्रयाश गरिरहेको भएपनि एमाओवादीले आन्दोलनकारी मोर्चा बनाएर संविधान जारी गर्ने प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाए । आफु मुलुकको असली पहरेदार भएकोले सदैव मुलुकको हितमा काम गर्ने भन्दै ओलीले आफूलाई राष्ट्रघात गर्न कसैले पनि बाध्य पार्न नसक्ने चेतावनी दिए । आफु मुलुकको पहरेदार भएकै कारण सहमति गरेर जाउँ, मिलेर जाउँ भन्ने कुरा पटक पटक गरेको भन्दै उनले भने ‘ल मिलेर जाऊँ भनेको त बाहिर गएर भनेछन ‘केपी ओली राजा महाराजा हो र ?’
राजा महाराजाहरूबिरुद्ध बिगतमा लड्दै आएको भन्दै ओलीले आफुले राजा महाराजा हुने सपना नदेखेको प्रष्ट पारे । ‘राजा महाराजाबिरुद्ध लडियो, राजा महाराजा बन्न खोज्नेहरूको सपना पनि कहिल्यै पूरा हुन दिंदैनौ,’ ओलीले भने । बालुवाटार बैठकमा सहमतिका साथ ८ माघमै संबिधान जारी गरौं भन्दा एमाओवादी त्यो हुन सक्दैन, फेरि संबिधान जारी गर्ने कुरा कहाँबाट आयो भन्दै हिडेको जिकिर पनि ओलीले गरे । ‘पाउरोटी पनि खस्रो हुन्छ भनेर बटर लगाइ लगाई मैले कुरा राखें, तर सहमतिका साथ ८ माघमा संबिधान जारी गर्नूपर्छ भन्न साथ यो कसरी हुन्छ, फेरि उही ८ माघमै संबिधान जारी गरौं भन्ने ? भन्दै उफ्रिएर हिडे,’ ओलीले भने, बाहिर गएर त नाटक नै देखाएछन, यस्तो नाटक मन्डली त अहिलेसम्म देखेकै थिईंन ।’
भौगोलिक अखण्डता र जातीय बिद्वेश फैलाउने खालका कुनै पनि विषयमा सहमति नहुने पनि प्रष्ट अडान थियो । ‘संविधान नबन्दै त केही केहीले बिखण्डनकै कुरा गरेका छन् भने संविधानमै त्यो कुरा लेखिदिएपछि के होला ?’ उनले प्रश्न गरे । जातको आधारमा राज्य निर्माण नहुने स्पष्ट पार्दै ओलीले जातकै आधारमा राज्य बनाउन खोज्दा रुवाण्डा ध्वस्त भएको उदहारण दिए । केही ब्यक्तिहरूले तराइमा पहाड छुवाउनै नहुने कुरा गरिरहेको भन्दै ओलीले आम तराइवासी नागरिकको चाहना त्यसो नभएको स्पष्ट पारे ।
राजनितीमा सहमतिको प्रयाश पहिलो भएपनि सहमति सम्भव नभएमा प्रकृयावाटै सबै कुरा हुने भन्दै संविधान जारी गर्दा पनि कसैलाइ कुर्न नसकिने ओलीको भनाई थियो । ‘संविधान निर्माणमा कोही छुट्यो भने कुर्न सकिदैन,’ ओलीले भने । ओलीले मुलुकलाई फेरि हिंसातर्फको यात्रामा लाने गरी कुनै सहमति नहुने अडान पनि राखे । 

Thursday, December 18, 2014

एसएसपीको अनुगमनमा डीएसपी

एसएसपीको अनुगमनमा डीएसपी

जवानका लागि स्नातक पासको आवेदन

काठमाडौं, २ पुस
नेपाल प्रहरीको भर्ना छनोटका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै अनुगमन टोली खटाएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भर्नामा अनियमितता हुन नदिनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुगमन टोली खटाएको हो ।
रिक्त प्रहरी जवान पदमा आवेदन दिएका युवायुवतीको बाधापार तथा शारीरिक तन्दुरुस्ती परीक्षाका लागि प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई अनुगमनका लागि खटाएको हो । आइतबारदेखि सुरु भर्ना छनोटमा प्रधान कार्यालयको प्रतिनिधित्व गर्दै उनीहरूले अनुगमन गर्नेछन् । प्रहरी महानिरीक्षकबाट विशेष अधिकार दिएर अनुगमनका लागि खटाइएको हो ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रमुख रहेको पाँचओटै तालिम केन्द्रमा विशेष अधिकार दिएर केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको प्रधान कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार एसएसपी मिलन बस्नेत प्रमुख रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा डीएसपी परशुराम तिवारी र एसएसपी रमेश खरेल प्रमुख रहेको मध्य क्षेत्र तालिम केन्द्र भरतपुरमा प्रवीणलाल श्रेष्ठलाई खटाइएको छ ।
यस्तै, एसएसपी योगेश्वर रोमखामी प्रमुख रहेको बुटवल तालिम केन्द्रमा डीएसपी अर्ज‘न श्रेष्ठ, एसएसपी श्याम खत्री प्रमुख रहेको नेपालगन्ज तालिम केन्द्रमा रामबहादुर केसी र एसएसपी शरद चन्द प्रमुख रहेको दिपायल तालिम केन्द्रमा डीएसपी हरिहरनाथ योगी खटिएका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव जोशीका अनुसार प्रधान कार्यालयबाट खटिएका डीएसपीहरू आइतबारदेखि नै तालिम केन्द्रमा पुगिसकेका छन् । प्रहरी जवानका लागि १ हजार १ सय १२ जनाको मागका लागि देशभरबाट ३७ हजार युवायुवतीले आवेदन दिएका छन् । कुल आवेदकमध्ये ५६.७९ प्रतिशत प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका, ७.४५ प्रतिशत प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेका व्यक्तिहरूले जवानमा आवेदन दिएका छन् भने स्नातक तह उत्तीर्ण गरेका ०.०२ प्रतिशत युवाहरूले पनि जवानका लागि आवदेन दिएको नेपाल प्रहरीले जनाएको छ ।
त्यसैगरी, ८ कक्षा पास गरेका ३५.७४ प्रतिशत रहेका छन् । प्रहरी नियमावलीअनुसार प्रहरी जवान पदका लागि न्यूनतम योग्यता ८ कक्षा पास गरेको हुनुपर्नेछ ।
सो पदमा प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पूर्ति गर्न गत २४ असोजमा सूचना प्रकाशन गरिएकोमा पाँचओटै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरूमा गरी ३७ हजार ५ सय १३ जनाको दरखास्त परेको थियो । सोअनुसार पाँचै क्षेत्रीय तालिम केन्द्रमा आइतबारबाट दरखास्तउपर छनोट प्रक्रिया सुरु भएको छ । कुल दरखास्तमध्ये पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा ७ हजार ७ सय २३, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा ९ हजार ४ सय ४६, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा ६ हजार ३ सय ५, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्जमा ९ हजार ३ सय ७२ र सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा ४ हजार ६ सय ६७ जनाको दरखास्त परेको हो । नेपाल प्रहरीले खुलातर्फ ६ सय, अमर÷अशक्त प्रहरी परिवारतर्फ २२, महिलातर्फ ९८, आदिवासी जनजातितर्फ १ सय ५६, मधेसीतर्फ १ सय ३८, दलिततर्फ ७३ र पिछडिएको क्षेत्रतर्फ २५ जनाको छुट्टाछुट्टै कोटा निर्धारण गरी कुल १ हजार १ सय १२ पदका लागि दरखास्त आह्वान गरेको थियो ।

छनोट परीक्षाअन्तर्गत प्रारम्भिक स्वास्थ्य परीक्षण÷शारीरिक तन्दुरुस्ती

(बाधापार) परीक्षा, स्वास्थ्य परीक्षण परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा लिइने र हरेक चरणको परीक्षा समाप्तिपछि नतिजा प्रकाशन गरी उत्तीर्ण उम्मेदवारलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइनेछ । नेपाल प्रहरीप्रति आकर्षण बढेकै कारण शैक्षिक योग्यता बढी भएका युवाहरूले आवेदन दिएको प्रहरी प्रवक्ता डीआईजी जोशीले बताए । ‘यसले प्रहरीमा साधारण लेखपढ गर्नेहरूको संख्या क्रमशः घट्दै छ भन्ने पुष्टि हुन्छ,’ डीआईजी जोशीले राजधानीसँग भने ।