Sunday, April 10, 2016

जब ओलीले देखे जेलका दोस्त

संवादसँगै जेलयात्राका दुवै सहयात्री सबैको ध्यान तान्ने गरी हाँसे । जेलमा रहँदा चेस पार्टनर थिए, प्रधानमन्त्री ओली र लिम्बू । त्यसैले उनलाई पार्टी कार्यालयबाटै बिदा गर्न ओलीको मन मानेन । अनि केहीबेर पार्टी कार्यालयमा नै पर्खाएर आफूसँगै बालुवाटार लिएर गए । सरकारी निवास बालुवाटारमा हाँसिमजाकका साथ सँगै खाना खुवाएर बिदा गरे । 

गणेश बस्नेत / राजधानी

काठमाडौं, २७ चैत
‘... उभिनुअघि नै तपाईंलाई देखिरहेको थिएँ, बोल्दाबोल्दै बोलाऊँ कि जस्तो पनि लागेको थियो, सकेर भेट्छु भन्दै मन थामें,’ पञ्चायती शासनविरुद्धको लडाइँका क्रममा जेल पर्दा नौ वर्षसँगै बसेका मित्र भेटेपछि हात समाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुख खोले ।
एमाले मुख्यालय धुम्बाराहीमा नेकपा मालेका संस्थापक नेता सहिद रत्नकुमार बान्तवाको ३७औं स्मृतिसभा र उनकै स्मृतिमा उनका दोस्त एमाले महासचिव ईश्वर पोखरेलद्वारा लिखित पूर्वको रातो तारा नामक कृति विमोचन समारोह चलिरहेको थियो । कार्यक्रममा सम्बोधन गर्दैगर्दा ओलीको आँखा एकाएक दर्शकदीर्घामा रहेका एक वृद्धतिर पुग्यो । उनी थिए, ओलीसँगै जेलमा नौ वर्ष बिताएका दोस्त तथा चेस पार्टनर नारायणप्रसाद लुंखिम्बा लिम्बू । २२ वर्षपछि उनलाई देख्दा ओलीको मन थामिएन । कतिखेर मञ्चमा पुगेर उनलाई बोलाऊँजस्तै भयो ।
आँखा जुधेपछि ओलीले लिम्बूतिरै हेर्दै आफ्नो सम्बोधन सकाए । अनि मञ्चमा फर्केलगत्तै हातले इसारा गर्दै आफूतिर बोलाए, ‘नारायण–नारायण ।’ इसारालगत्तै पहेंलो कमिज र कालो पाइन्ट अनि कालै कोटको पहिरनमा रहेका लिम्बू पनि दर्शकदीर्घाबाट उठेर मन्द मुस्कानसहित मञ्चतिर गए ।
लिम्बू हाँस्दै मञ्चतिर उक्लेपछि प्रधानमन्त्री ओलीले हात समाएर प्रफुल्ल शैलीमा भने, ‘नारायण स्वास्थ्य कस्तो छ ?’ लामो समयपछि भेटिएका दुई मित्रबीच केहीबेर मञ्चमै व्यक्तिगत जीवनको सोधीखोजी भयो । दुवै पुरानो यादमा भुलिए । अनि लिम्बूले भने, ‘बिर्सनुभयो कि भन्ने लागेको थियो, टाढैबाट पो चिन्नुभयो ।’ जवाफमा ओलीले मन्द मुस्कान दिए । लिम्बू ४० वर्षअघि केन्द्रीय कारागारमा प्रधानमन्त्री ओलीसँगै जेल बसेका थिए । ‘जेलमा कस्तो दुःख थियो हगि’ प्रधानमन्त्रीसँग लिम्बूले विगत कोट्याए । हात समाएकै अवस्थामा ओलीले जवाफ फर्काए, ‘चेस खेलेर रमाइलो गर्दै त्यो दुःख पनि काट्थ्यौं हामी ।’ उनको यो भनाइले लिम्बू निकै प्रफुल्ल देखिए । अनुहारमा निकै चमक आयो । संवादसँगै जेलयात्राका दुवै सहयात्री सबैको ध्यान तान्ने गरी हाँसे । जेलमा रहँदा चेस पार्टनर थिए, प्रधानमन्त्री ओली र लिम्बू । त्यसैले उनलाई पार्टी कार्यालयबाटै बिदा गर्न ओलीको मन मानेन । अनि केहीबेर पार्टी कार्यालयमा नै पर्खाएर आफूसँगै बालुवाटार लिएर गए । सरकारी निवास बालुवाटारमा हाँसिमजाकका साथ सँगै खाना खुवाएर बिदा गरे । एमाले मुख्यालयबाट बालुवाटार जानुअघि लिम्बू सबैको घेराउमा परिसकेका थिए । प्रधानमन्त्रीले नै निकै रुचिपूर्वक कुराकानी र हाँसिमजाक गरेपछि उपस्थित सबैले जान्न चाहे । उनले जवाफ दिए, ‘हामी २०२८ देखि २०३७ सम्म जेलमा सँगै
बसेका चेस खेल्दाका साथी हौं, जेलको ।’ कसको जित हुन्थ्यो त ?’ राजधानीको प्रश्नमा कान्छी छोरी सुमनाका साथमा रहेका लिम्बूले भने, ‘म पनि रामै्र खेल्थें, कम जान्ने मान्छे त होइन, तर उहाँ नै जित्नुहुन्थ्यो, बढीजसो ।’
प्रधानमन्त्री ओली र लिम्बू नौ वर्ष सँगै जेल बसेका थिए । उनले मुलुकको प्रमुख कार्यकारी पदमा आसीन मित्रलाई आफ्नो व्यक्तिगत कुरा भने केही भनेनन् । अतीत सम्झिएर ओलीले नेपालीको शिर झुक्न दिँदैनन् भन्ने विश्वास राखे । ‘उहाँ (ओली) देशको शिर झुक्न नदिने अनि आफू पनि नझुक्ने मान्छे हो,’ लिम्बूले थपे । उनले ०४६ सालको परिवर्तनसँगै जेलबाट छुटेपछि ०५२ सालमा झापामा ओलीसँग भेटेका थिए । त्यसपछि शनिबारको भेट पहिलो हो । ओलीलाई भेट्नकै लागि उनी छोरीका साथमा एमाले मुख्यालय पुगेका थिए ।