Saturday, September 19, 2015

संविधानमा हस्ताक्षर गर्ने सभासद् संख्या ५ सय ३७

मतदानमा अनुपस्थित सभासद्ले पनि गरे हस्ताक्षर

संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान प्रमाणिकरण गरेका छन । संविधानसभा सदस्यको हस्ताक्षरपछि प्रमुख दलका शीर्ष नेतालाई साँक्षी राखी सभा ध्यक्ष नेम्वाङ्ले शुक्रवार (१ असोज) अपरान्ह सवा तिन बजे नेपालको संविधान प्रमाणिकरण गरेका हुन् ।









संविधानसभा नियमावली बमोजिम सभाध्यक्षले संविधानसभाबाट पारित भएको संविधान प्रमाणिकरण गरेका हुन् । संविधानसभा भनव नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म सभासदले संविधानमा हस्ताक्षर गरेका थिए । सभासदको हस्ताक्षर सकिएलगत्तै सभाध्यक्ष नेम्वाङले प्रमाणिकरण गरेका हुन् । सभाध्यक्षले प्रमाणिकरण गरेपछि निकै बेरसम्म तालीले स्वागत गरिएको थियो । प्रमाणिकरणको समयमा प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै उल्लेख्य मात्रामा सभासदहरू उपस्थित थिए । नेपाली कागजमा तयार पारिएको संविधानको ५ प्रतिमा सभासदले हस्ताक्षर गरेका थिए भने पाँचै प्रतिमा सभाध्यक्षले प्रमाणिकरण गरेका हुन ।
संबिधानसभामा हाल कायम रहेको कुल ५९८ सभासदमध्ये ५३७ सभासद्ले हस्ताक्षर गरेको संविधानसभा सचिवालयले जनाएको छ । संविधान  पारित गर्दा अनुपस्थित भएका र विपक्षमा मतदान गरेको राप्रपा नेपालले पनि हस्ताक्षर गरेको छ । संबिधानमा मतदानमा अनुपस्थित रहेकी एमाले सभासद राज्यलक्ष्मी गोल्छा, मधेस समता पार्टी नेपालका मेघराज नेपाली, बहुजन पार्टीका विश्वेश्द्र पासवान, नेपाल राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले हस्ताक्षर गरेका छन । पासवान र नेपाली अस्पतालबाट संबिधानमा हस्ताक्षर गर्न सहयोगीको साथमा आइपुगेका थिए । उनीहरूले संविधान पारित गर्ने क्रममा भएको मत विभाजनमा भने भाग लिएका थिएनन् । सभासदको हस्ताक्षर र सभाध्यक्षको प्रमाणिकरण गरेको संबिधानको पाच वटै प्रतिमा राष्ट्रपति डा. रामबरण यादवले हस्ताक्षर गरेपछि संविधान प्रारम्भ भएको घोषणा हुनेछ । त्यसपछि पाँच प्रतिमध्ये एक÷एक प्रतिका दरले संविधानसभा सचिवालय, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा अभिलेख राखिने छ ।
संबिधानमा हस्ताक्षरको सुरुवात हुँदा र अन्त्यपछि फोटो सेसन चलेको थियो । शीर्ष नेतासहित सभासदहरूले सँगै फोटो खिचाएका थिए । हस्ताक्षर गर्न संविधानसभा  भवन पुगेका सबै सभासदबिच चलेको फोटो सेसनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हातले इसारा गर्दै बिचमा बोलाएका थिए । ओलीको इसारापछि काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाको देव्रेतर्फ उभिएका सभाध्यक्ष नेम्वाङ मुस्कुराउँदै बिचमा आएर उभिएका थिए ।
संबिधानमा हस्ताक्षर गरेपछि सभासदहरुले निकै खुसियालीको दिन रहेको प्रतिक्रिया दिएका छन । संबिधानमा पहिलो हस्ताक्षर गर्ने सभासद रामेश्वर फूयालले आफ्नो जीवनकै अबिश्मरणीय दिन भनेका छन । सभासदहरु पशुपति चौलागाई, पार्वत गुरुङ, आनन्द पोखरेल, जनार्दन खतिवडा, गंगालाल तुलाधर, दिपक कार्की, रेवतीरमण भण्डारी, रामहरि खतिवडाले पनि जीवनकै खुसीको क्षण र ऐतिहासिक दिनको संज्ञा दिए । ‘संबिधान पारित भएको दिन अशिस्मरणीय रह्यो, संबिधानमा हस्ताक्षर गर्दाको क्षण त्यो भन्दा पनि अबिश्मरणीय र ऐतिहासिक रह्यो,’ सभासद पार्वत गुरुङले भने । सभासद जनार्दन खतिवडा पनि यो क्षणलाई शब्दमा बर्णण गर्न नसक्ने बताए । ‘यति धेरै खुसीको क्षणलाई शब्दमा बर्णन गर्न सकिदैन,’ रसुवाबाट निर्वाचित सभासद खतिवडाको भनाई थियो ।
संविधानको प्रमाणिकरणको काम सम्पन्न भएलगत्तै संविधानसभा सचिवालयले आइतबार ५ बजे हुने राष्ट्रिय समारोहमा आमन्त्रण गर्न बाँकीसबैलाई शनिबार आमन्त्रण गर्ने बताएको छ । संविधानसभा भवनभित्रको परिसरमा २ हजार ६ सय भन्दा बढीलाईभित्र प्रवेश गराउने तयारी गरिएको सचिवालयले जनाएको छ । राष्ट्रिय समारोहलाई भब्य बनाउनका लागि सचिवालयलाई प्रमुख दलका शीर्ष नेताले सभाध्यक्षमार्फत विभिन्न सुझावहरू दिएका छन् । ती सुझावलाई सचिवालयले कार्यान्वयन गर्दै अघि बढेको छ ।