Thursday, August 11, 2016

सीमांकन फेर्ने संबिधान संशोधन अस्वीकार्य




































कसैलाई भोट हाल्न गरिएको सम्झौता एमालेले अनुमोदन गर्दैन : ओली
राजधानी समाचारदाता
काठमाडौं, २६ साउन
एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन मुलुकबिरुद्धको षड्यन्त्र भएको ठोकुवा गर्दै राष्ट्रहितबिरुद्ध काम भए कडा प्रतिवाद गर्ने उदघोष गरेका छन । सरकारबाट बाहिरिएपछि पहिलो पटक सञ्चारकर्मीसामु उपस्थित भएका निवर्तमान प्रधानमन्त्री ओलीले संबिधान संशोधनको संझौताभित्र रहेको षडयन्त्रलाई सफल हुन नदिने उदघोष गरेका हुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दर्जनौं खाली कागजमा ल्याप्चे लगाएर म्यादी प्रधानमन्त्री बनेको भन्दै ओलीले सो ल्याप्चेलाई एमालेले कदापी स्वीकार नगर्ने प्रष्ट पारे । ‘सरकार परिवर्तन नेपालबिरुद्धको षडयन्त्र हो, नेपालबिरुद्ध षडयन्त्र गर्न एमालेलाई कमजोर पार्नुपर्छ भन्ने निश्कर्षसहित यो सरकारलाई अघि बढाउने काम भएको छ,’ प्रेस चौतारी नेपालले बुधवार आयोजना गरेको अन्तर–संवादमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले भने ।
‘यो सरकारले धेरै ठाउँमा कागज गरेको छ । थमौति पनि गरेको छ । जहाँ–जहाँ ल्याप्चे लगाइएका छन, आश्वासन दिइएका छन् । ती सम्झौता अनुमोदन गर्ने काम एमालेले गर्दैन, संविधानको संशोधन कस्ले कस्लाई भोट हाल्यो भनेर होइन, औचित्यका आधारमा मात्रै हुन्छ,’ ओलीले भने । दाहाल नेतृत्वको सरकार गठनअघि कांग्रेस–माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा÷संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिको पहिलो बुँदामै सीमांकन हेरफेर गर्न संबिधानको संशोधन गर्ने उल्लेख छ । ओलीले सोही सहमतितर्फ इंगित गर्दै कसैलाई प्रधानमन्त्रीमा भोट हाल्न गरिएको संझौता एमालेले स्वीकार नगर्ने प्रष्ट पारेका हुन । ‘कस्ले कहाँ गएर के सम्झौता गर्छ, त्यो एमालेको सरकोकारको विषय होइन, कसैले कसैलाई प्रधानमन्त्री बनाउन र कसैलाई प्रधानमन्त्रीबाट हटाउनका लागि गरेको सम्झौता एमालेले अनुमोदन गर्दैन,’ ओलीको भनाई थियो ।
सीमांकन पुनरावलोकन, अंगीकृत नागरिकतालगायतका संविधान संशोधनका विषयमा कांग्रेस–माओवादीले मधेसी मोर्चासँग गरेका सम्झौता लागु गर्ने जिम्मा एमालेले नलिएको पनि ओलीले प्रष्ट पारे । ‘जसले कागज गरेका हुन् उनीहरुले नै पूरा गर्छन् । अरुले कागज गरेका कुरा पूरा गर्ने जिम्मा एमालेले लिएको छैन, तर मुलुकको हितमा हुन्छ भने सरकारबाट हट्नुपरेको प्रतिशोध एमालेले साँध्दैन, आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको कुरा आए नकारात्मक हुँदैन,’ ओलीले भने । उनले मधेसी मोर्चाले भनेकै भरमा संविधान पुनर्लेखन वा संशोधन भने नहुने प्रष्ट पारे । ‘हामी प्रतिशोध र पूर्वाग्रहको राजनीति गर्दैनौं । तर, केपी ओलीको विपक्षमा भोट हाल्नकै लागि मात्र संविधान स्वीकार गर्ने, अरुबेला बहिस्कार गरेर हिँड्नेहरुको माग पूरा गर्न एमाले बाध्य छैन,’ उनले भने ।
उनले कांग्रेस–माओवादी आफ्नो निर्णयमा हिडन नसक्ने पार्टीका रुपमा प्रमाणित भइसकेको ठोकुवा पनि गरे । ‘कांग्रेस–माओवादी क–कसको रिमोटबाट चल्छन् भन्ने एमालेलाई थाहा छ, त्यसैले अलिअलि च्यानल चेन्ज गर्दा केही फरक पर्दैन, मलाई रिमोट नै कहाँंबाट कसरी चलेको भन्ने थाहा छ, त्यसैले च्यानल परिवर्तन हुदा एमालेले छक्क मान्नु पर्दैन,’ ओलीले भने । एमाले अध्यक्ष ओलीले बर्तमान सरकारको प्रारम्भिक कार्यशैली नै आपत्तिजनक रहेको बताए । ‘मैले यो सरकारले गरेको निर्णय सुनेँ । मधेस आन्दोलनमा ज्यान गुमाएकाहरूलाई १० लाख दिने निर्णय हामीले पहिला नै गरेका हौँ । घाइतेको पनि बिलका आधारमा उपचार खर्च दिने निर्णय यसअघि नै भइसकेको छ ।
आन्दोलनमा ज्यान गुमाउनेको परिवारलाई रकम भुक्तानी भइसक्यो, अहिले आएर सरकार तमासाको निर्णय गर्छ, यो भन्दा झुट, यो भन्दा बेइमानी के हुन्छ ?’ ओलीले भने । ओलीले आफ्नो पालामै बिदेशमा समेत लगेर घाइतेको उपचार गरेको जानकारीसमेत दिए । ‘घाइतेको उपचार खर्च घाइतेलाई होइन, पार्टीलाई दिनुपर्छ भन्ने मधेसवादी दलका नेताका माग थियो । तर घाइते त पार्टी भएको होइन नि भनेर सरकारले मानेन, उनीहरुलाई नदिएर सोधmै घाइतेलाई नै दियो,’ आलीले भने, ‘तर अहिलेको सरकार त केके गर्दैछ भन्ने सुनियो, यस्तो बेइमानी त कसैले पनि गर्नुहुन्न ।’
ओलीले कांग्रेस र माओवादीबीचको गठबन्धन ‘रिमोट कन्ट्रोल’बाट चलेको भन्दै उनीहरुको हक्पी–दप्कीबाट एमाले नहच्किने नदच्किने प्रष्ट पारे । ‘कांग्रेस–माओवादी क–कसको रिमोटबाट चल्छन् भन्ने एमालेलाई थाहा छ, हामी कसैको हप्की दप्कीबाट डराउँदैनौं,’ ओलीले भने । पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले विभिन्न देशमा सिफारिस गरेका राजदूत नियुक्तिको निर्णयलाई उल्ट्याउने काम गरेर दाहाल नेतृत्वको सरकारले राजनीतिक इमानसमेत नभई संवैधानिक कानुनविपरित काम गरेको बताए । ‘राजदूतले बेठिक काम गरे भने फिर्ता बोलाउन सकिन्छ । मन परेन भने बेठिक काम गरे भन्ने आरोप पनि लगाउन सकिन्छ, तर, सुनुवाईकै क्रममा रहेका राजदूतलाई मन्त्रीपरिषद्ले जुन ढंगको निर्णय गरेको छ । यो अराजनीतिक, प्रतिशोधपूर्ण र बेठिक छ,’ उनले भने । उनले राजदूतका सन्दर्भमा माओवादी नेतृत्वको सरकारले गरेको निर्णयलाई च्यानल चेन्जको संज्ञासमेत दिए ।
उनले प्रधानमन्त्रीले सुझाव मागे बिकाश निर्माणको प्रष्ट स्रोत देखाउने चुनौतीसमेत दिए । प्रधानमन्त्रीले मुलुकलाई कसरी संवृद्ध बनाउन सकिन्छ भनेर लिखित निवेदन दिए वा सुझाव मागे स्रोत देखाइ दिन्छु, देश संवृद्ध बनाउने योजना एमालेसँग छ,’ उनले भने । ओलीले दाहाल सरकार मुलुकमा संवैधानिक र राजनीतिक रिक्तताको स्थिति सिर्जना गर्ने षडयन्त्रमा रहेको आरोपसमेत लगाए । कांग्रेस र माओवादीले संवैधानिक र राजनीतिक रिक्तताको स्थिति सिर्जना गर्न खोजेको उनको भनाई थियो । ‘माओवादी मेरो नेतृत्वकै सरकारमा रहेका विभिन्न तहका निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो,’ ओलीले भने, ‘मंसिरमा स्थानीय, वैशाखमा प्रदेशिक र अर्को मंसिरमा संसदीय निर्वाचन गर्ने कार्यतालिका बनाइएको थियो । अहिले ती सबै निर्वाचन समयमा नगरेर संवैधानानिक र राजनीतिक रिक्तताको अवस्था सिर्जना गर्ने षडयन्त्र भैरहेको छ । तर, एमाले ती षडयन्त्रलाई सफल हुन दिन्न, हाम्रो ध्यान संबिधान कार्यान्वयन र आर्थिक संमृद्धिमै छ ।’
उनले संवैधानिक र र राजनीतिक रिक्तता देशको भविष्यसँग पनि जोडिएको भन्दै त्यस्ता षडयन्त्रलाई असफल बनाउँन सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  दाहाललाइृ म्यादी प्रधानमन्त्रीको ठोकुवा गर्दै ओलीले देशलाई द्वन्द्वमा लैजाने षडयन्त्र भैरहेको आरोपसमेत लगाए । ‘देशलाई उचित दिशातिर लैजाने काम एमाले नेतृत्वको सरकारले गर्दै थियो, तर, अहिले देशलाई उचित दिशतिर भन्दा पनि द्वन्द्वमा लैजान खोजिएको छ  । देशलाई असफलतारित लैजान खोजिएको छ । यो देशका लागि पनि दूर्भाग्यपूर्ण कुरा हो,’ ओलीले भने ।
ओलीले मुलुकलाई आत्मनिर्भर बनाउने र छिमेकीसँग बिग्रिएको सम्बन्ध सुमधुर बनाउँदै नेपाललाई साँच्चीकै भुपरिवेष्ठित बनाउने काम गर्दा कांग्रेस–माओवादी अताल्लिएको आरोप लगाए । ‘छिमेकीसँग बिग्रेका सम्बन्धलाई सुमधुर बनायो, तराईको आन्दोलन समाप्त भयो, बिग्रेको सवै सम्बन्धहरु सुल्झिए । भारतमा गएर नयाँ ऐतिहासिक संझौता पनि भयो, बिशाखापटनम बन्दरगाह प्रयोग गर्ने संझौता ग¥यौं । चीनसँगको सम्बन्ध पनि त्यसैगरी बिकसित ग¥यौं । समुन्द्रसम्म पुग्ने बाटो लिनु हाम्रो अधिकार हो भन्दै हामीले चीनसँग पनि पारवहन सम्झौता ग¥यौं,’ ओलीले भने, ‘हामी आत्मनिर्भर बन्ने कुरा कसैको बिरुद्धमा छैन, तर नेपालकै ठुला दलहरु नै आत्मनिर्भर बन्नु भनेको कसैकोबिरुद्धमा हो भनेर बुझ्छन ।’
उनले आफ्नो पालामा पूर्वपश्चिम रेलमार्ग निर्माण, केरुङ–काठमाडौं, पोखरा–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग निर्माण सम्बन्धमा प्रारम्भिक सर्वे भइसकेको जानकारी दिए । ‘हामी आफै पनि आत्मनिर्भर हुन खोज्यौं, हामी आत्मनिर्भर भए कोही मित्रले नाकावन्दी लगाउँदै लगाउँदैन , हामी आफैले लगाए पनि भोकै पर्दैनौं, यसैका लागि मेरो सरकारले काम ग¥यो, त्यही काम केहीलाई मन परेन र सरकार परिवर्तन भयो ।’
हाइलाइट
यो सरकारले धेरै ठाउँमा कागज गरेको छ । थमौति पनि गरेको छ । जहाँ–जहाँ ल्याप्चे लगाइएका छन, आश्वासन दिइएका छन् । ती सम्झौता अनुमोदन गर्ने काम एमालेले गर्दैन, संविधानको संशोधन कस्ले कस्लाई भोट हाल्यो भनेर होइन, औचित्यका आधारमा मात्रै हुन्छ

१. माघ १९ पछिको जस्तै खतरा
माघ १९ पछि शेरबहादुर देउवालाई पनि मुद्दा लगाइएको थियो । मुद्दा–मामिला राजनीतिक उद्देश्यका लागि प्रयोग–दुरुपयोग गरिने विषय होइनन् र त्यसरी दुरुपयोग हुनुहुँदैन । तर, म त्यस्तै विभिन्न लक्षणहरू देखिरहेको छु । नेताहरूको तेजोबध गर्ने काम हुनसक्छ । मुद्दा लाग्ने काम केही गरेका छैनौँ, तर कसैको चाकडी गर्न पनि त्यो काम हुनसक्छ भनेको हुँ । शाही आयोगले पनि त्यस्तो काम गरेकै थियो । उचित दिशातिर लैजानेभन्दा देशलाई द्वन्द्वतिर, वैमनश्यतिर, अस्थिरतातिर, असफलतातिर धकेल्न खोजिँदै छ । त्यसप्रति हामी नेपाली सजग हुनुपर्छ । एमाले जिम्मेवार प्रतिपक्षका रूपमा रहन्छ । संविधान कार्यान्वयन, समृद्धि र नेपालको स्वाभिमान माथि उठाउने काममा क्रियाशील हुन्छ । सरकारको सकारात्मक काममा साथ हुन्छ । तर, यस्ता काम हुने सम्भावना कम देख्दै छु ।
२. संवैधानिक रिक्तताको षड्यन्त्र 
मंसिरमा स्थानीय तहको निर्वाचन नहुने निश्चित भइसक्यो । फेरि स्थानीय तह मिल्दै मिल्दैन भन्न थालिएको छ । देशलाई संवैधानिक, राजनीतिक रिक्तताको स्थितिमा पु¥याउने आभाष पाइरहेका छौँ । त्यो रिक्तताको नियति देशले भोग्नुपर्ने हुँदा हामी सबै सजग हुनुपर्छ । एमालेले त्यो स्थितिमा मुलुकलाई पु¥याउन दिँदैन । ०७४ माघ ७ गतेभित्र तीनैवटा चुनाव भएन भने देश सर्वोच्च जनप्रतिनिधि निकाय संसदविहीन अवस्थामा पुग्नेछ । न्यायाधीशलाई ल्याएर चुनाव गराइएको स्थिति भोगिसकेका छौँ । फेरि देशलाई त्यतै लैजान खोजेको देखिन थालेको छ ।
३. औचित्यविना संविधान संशोधन हुँदैन 
एमाले प्रतिशोध र पूर्वाग्रह राखेर राजनीति गर्दैन, कसैको लोभ र त्रासमा पनि पर्दैन । देश र जनताको हितमा बलिदान दिन तयार छ, त्यसमा दायाँ–बायाँ गर्दैन । तर, संविधान संशोधन भनेको के हो ? कस्तो पुनर्लेखन खोजेको हो ? के चाहिएको हो ? बुझिसकेका छैनौँ, बुझ्छौँ । कसैले संशोधन हुनसक्छ भनेर कुनै वेला भन्यो भन्दैमा हुँदैन, त्यसको औचित्य चाहिन्छ ।
४. एक माघले जाडो जाने होइन 
राजदूतको सुनुवाइ फिर्ता गर्ने अनुचित, अवैधानिक, अराजनीतिक हर्कत भयो । बरु, सरकारले नियुक्तिपछि फिर्ता बोलाउन सक्थ्यो, आरोप लगाएर बोलाउन सक्थ्यो । कानुनमा सुनुवाइ हुँदाहुँदै फिर्ता गर्न सकिने कुरा लेखिएकै छैन । सरकारले पत्र लेखेकै होइन, तर त्यसै पत्र लेखिएको हो भनियो । संसदीय सुनुवाइ समितिले पनि अपवित्र साँठगाँठमा निर्णय ग¥यो । तर, केही छैन । एक माघले जाडो जाँदैन, मैले पहिल्यै पनि भनिसकेको छु ।
५. सरकार परिवर्तन नेपालविरुद्धको षड्यन्त्र 
सरकार परिवर्तन नेपालविरुद्ध षड्यन्त्र हो । भीष्मपितामहलाई शय्यामा सुताएपछि लडाउन सजिलो भएको थियो । त्यही सोचेरै होला षड्यन्त्र भएको । तर, अहिले भीष्मपितामह यति मजबुद छ कि शय्यामा सुत्न मान्दै मान्दैन । जबसम्म केपी अध्यक्ष रहन्छ, उसलाई नढाली, तेजोबध नगरी एमालेलाई कमजोर पार्न सकिन्न । अनेक प्रकारका गम्भीर षड्यन्त्र विभिन्न ठाउँमा भएका छन् । तर, हामी कसैले लगाइदिएको लिस्नो चढेर यहाँ आइपुगेका होइनौँ । संघर्षको मैदानबाट आएका हौँ ।
६. धेरैतिर औँठाछाप ठोकेको म्यादी सरकार 
मेरो नेतृत्वको सरकारलाई म्यादी सरकार बनाउन खोजियो । अहिलेको त लिखित रूपमै कागज गरिसकेको म्यादी सरकार हो । यति मितिमा ल्याएर बुझाउँला भनेर दायाँ–बायाँ औँठाछाप गरेको सरकार हो । यसले धेरैवटा कागजमा धेरै ठाउँमा औँठाछाप ठोकेको छ । रिमोट कहाँबाट चल्छ भन्नेसमेत थाहा भएको, टिभीको च्यानल फेरिए जसरी चल्छ ।
७. काँध चढेपछि प्रचण्डले थाहा पाए 
प्रधानमन्त्री निर्वाचित हुने दिन प्रचण्डले आफूले ठूलो समाजसेवा गरेकोजस्तो कुरा गर्नुभो, ‘मैले माधवजी, झलनाथजी, केपीजीलाई प्रधानमन्त्री बनाइदिएँ ।’ मानिलिऊँ उहाँको ८१ सिट भनेको यस्तोे कि चार सयभन्दा पनि अलि बढी हो जस्तो ! उहाँलाई कसैले बनाएकै छैन, आफैँ बन्नुभा’छ, उहाँको बन्नुचाहिँ हक हो, अरू बन्दाचाहिँ सहकार्य गर्दा पनि नमिले जस्तो ! ०६४ पछि कसले बनाएको थियो ? प्रधानमन्त्री के हो भन्ने थाहा पाएको त काँधमा चढाएर एमालेले नै कुर्चीमा लगेर राखिदिएपछि होला नि ! त्यो बिर्सिएर मैले त समाजसेवा नै गरेको थिएँ जस्तो सोच्ने ? पोहोर–परार एमालेले, यसपटक कांग्रेसले बनाएको होइन ?
८. मधेसी पार्टीलाई कि घाइतेको अप्रेसन गर्नुपर्ने ?
मधेस आन्दोलनका ४५ मृतक परिवारलाई १० लाखका दरले रकम दिने निर्णयपछि रकम भुक्तानी पनि भइसकेको हो । तर, अहिले मृतक परिवारलाई १० लाख भनेर तमासाको निर्णय किन ? योभन्दा झुट र बेइमानी अरू के हुन्छ ? विदेशमा समेत पठाएर घाइतेको उपचार गराइएको छ । बिलअनुसार उपचार खर्च भुक्तानी दिइएकै हो । तर, उहाँहरूको माग घाइतेको पैसा पार्टीलाई दिनुपर्छ भन्ने थियो । पार्टी त घाइते होइन, व्यक्ति भएको होला । पार्टीको अप्रेसन गर्नुपर्ने, मलमपट्टी लगाउनुपर्ने, ब्यान्डेज बान्नुपर्ने त होइन होला । त्यसैले सरकारले व्यक्तिलाई दियो ।
९. केपी ओलीले कुचो र नाङ्लो लग्यो ? 
प्रचार त अचम्मै लाग्दो छ । टिएन प्रधान र रमेश प्रधानको शृंखला नै आएको थियो पहिले । पत्रकारिता र बौद्धिकता नामको कलंक र लज्जास्पद त्योभन्दा अरू केही हुन्छ ? कुलदीप नयरको फोटो छापेर, मै हुँ टिएन प्रधान भनेर नेपाली जनतालाई कतिसम्म झुटको खेती गरियो ? अहिले हुँदाहुँदै यसपल्ट बालुवाटार निवासको फोटो भनेर कहाँको भान्साको फोटो छापियो ? फोटै हाल्नका लागि इमान त चाहिन्छ नि ? केही नपाएपछि केपी ओलीले कुचो लिएर, नाङ्लो लिएर गएछ रे । यति तल्लोस्तरमा ओर्लिनु त हदै हो । खाता, रेकर्ड हेरेर जिम्मा लगाएर छोडेको थिएँ । ठाउँ कतै नभेटिएपछि बदनाम सुरु गरियो ।
१०. माधव नेपालको जिब्रो किन समात्नु ? 
माधव नेपालले संसद्मा गरेको सम्बोधनबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘तपाईंहरूले ‘टङ स्लिप’ भएको हो भन्ने कुरा सुनिसक्नुभो । बोल्नेले नै ‘स्लिप’ भो भनेपछि फेरि किन टङ समाउने ? सानोतिनो कुरामा अल्झिने मेरो बानी छैन ।’ अविश्वास प्रस्तावको छलफलका क्रममा एमाले नेता नेपालले पार्टीभित्र ओलीले गुट चलाएको आरोप लगाएका थिए ।