Thursday, December 18, 2014

एसएसपीको अनुगमनमा डीएसपी

एसएसपीको अनुगमनमा डीएसपी

जवानका लागि स्नातक पासको आवेदन

काठमाडौं, २ पुस
नेपाल प्रहरीको भर्ना छनोटका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै अनुगमन टोली खटाएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भर्नामा अनियमितता हुन नदिनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुगमन टोली खटाएको हो ।
रिक्त प्रहरी जवान पदमा आवेदन दिएका युवायुवतीको बाधापार तथा शारीरिक तन्दुरुस्ती परीक्षाका लागि प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई अनुगमनका लागि खटाएको हो । आइतबारदेखि सुरु भर्ना छनोटमा प्रधान कार्यालयको प्रतिनिधित्व गर्दै उनीहरूले अनुगमन गर्नेछन् । प्रहरी महानिरीक्षकबाट विशेष अधिकार दिएर अनुगमनका लागि खटाइएको हो ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रमुख रहेको पाँचओटै तालिम केन्द्रमा विशेष अधिकार दिएर केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको प्रधान कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार एसएसपी मिलन बस्नेत प्रमुख रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा डीएसपी परशुराम तिवारी र एसएसपी रमेश खरेल प्रमुख रहेको मध्य क्षेत्र तालिम केन्द्र भरतपुरमा प्रवीणलाल श्रेष्ठलाई खटाइएको छ ।
यस्तै, एसएसपी योगेश्वर रोमखामी प्रमुख रहेको बुटवल तालिम केन्द्रमा डीएसपी अर्ज‘न श्रेष्ठ, एसएसपी श्याम खत्री प्रमुख रहेको नेपालगन्ज तालिम केन्द्रमा रामबहादुर केसी र एसएसपी शरद चन्द प्रमुख रहेको दिपायल तालिम केन्द्रमा डीएसपी हरिहरनाथ योगी खटिएका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव जोशीका अनुसार प्रधान कार्यालयबाट खटिएका डीएसपीहरू आइतबारदेखि नै तालिम केन्द्रमा पुगिसकेका छन् । प्रहरी जवानका लागि १ हजार १ सय १२ जनाको मागका लागि देशभरबाट ३७ हजार युवायुवतीले आवेदन दिएका छन् । कुल आवेदकमध्ये ५६.७९ प्रतिशत प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका, ७.४५ प्रतिशत प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेका व्यक्तिहरूले जवानमा आवेदन दिएका छन् भने स्नातक तह उत्तीर्ण गरेका ०.०२ प्रतिशत युवाहरूले पनि जवानका लागि आवदेन दिएको नेपाल प्रहरीले जनाएको छ ।
त्यसैगरी, ८ कक्षा पास गरेका ३५.७४ प्रतिशत रहेका छन् । प्रहरी नियमावलीअनुसार प्रहरी जवान पदका लागि न्यूनतम योग्यता ८ कक्षा पास गरेको हुनुपर्नेछ ।
सो पदमा प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पूर्ति गर्न गत २४ असोजमा सूचना प्रकाशन गरिएकोमा पाँचओटै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरूमा गरी ३७ हजार ५ सय १३ जनाको दरखास्त परेको थियो । सोअनुसार पाँचै क्षेत्रीय तालिम केन्द्रमा आइतबारबाट दरखास्तउपर छनोट प्रक्रिया सुरु भएको छ । कुल दरखास्तमध्ये पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा ७ हजार ७ सय २३, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा ९ हजार ४ सय ४६, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा ६ हजार ३ सय ५, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्जमा ९ हजार ३ सय ७२ र सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा ४ हजार ६ सय ६७ जनाको दरखास्त परेको हो । नेपाल प्रहरीले खुलातर्फ ६ सय, अमर÷अशक्त प्रहरी परिवारतर्फ २२, महिलातर्फ ९८, आदिवासी जनजातितर्फ १ सय ५६, मधेसीतर्फ १ सय ३८, दलिततर्फ ७३ र पिछडिएको क्षेत्रतर्फ २५ जनाको छुट्टाछुट्टै कोटा निर्धारण गरी कुल १ हजार १ सय १२ पदका लागि दरखास्त आह्वान गरेको थियो ।

छनोट परीक्षाअन्तर्गत प्रारम्भिक स्वास्थ्य परीक्षण÷शारीरिक तन्दुरुस्ती

(बाधापार) परीक्षा, स्वास्थ्य परीक्षण परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा लिइने र हरेक चरणको परीक्षा समाप्तिपछि नतिजा प्रकाशन गरी उत्तीर्ण उम्मेदवारलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइनेछ । नेपाल प्रहरीप्रति आकर्षण बढेकै कारण शैक्षिक योग्यता बढी भएका युवाहरूले आवेदन दिएको प्रहरी प्रवक्ता डीआईजी जोशीले बताए । ‘यसले प्रहरीमा साधारण लेखपढ गर्नेहरूको संख्या क्रमशः घट्दै छ भन्ने पुष्टि हुन्छ,’ डीआईजी जोशीले राजधानीसँग भने ।

No comments:

Post a Comment