Saturday, May 10, 2014

चाकडीमै बित्यो १३ डीआईजीको ६ महिना





गणेश बस्नेत,टपेन्द्र कार्की/काठमाडौं
नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले बढुवाको दिन कुरेर बसेको ६ महिना बित्नै लागेको छ । बढुवा नहुँदा प्रहरी महानिरीक्षक
(आईजीपी) उपेन्द्रकान्त अर्यालका ब्याजी रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रधानमन्त्रीदेखि गृहमन्त्री र सत्तारूढ दलका नेताको चाकडी गरेर दिन बिताउन बाध्य छन् ।
आईजीपीमा अर्याल बढुवा भएदेखि नै सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी खाली छ । चुनावी सरकारले गत १ मंसिरबाट लागू हुने गरी अर्याललाई आईजीपीमा नियुक्त गरेको थियो । उनले काम सम्हालेको ६ महिना बित्न लागेको छ । तर, अहिलेसम्म प्रहरीको दोस्रो ठूलो दर्जा एआईजीमा एकजना पनि बढुवा हुन सकेका छैनन् । त्यसैको परिणाम आईजीपी अर्यालकै ब्याजी रहेका सबै डीआईजी अब त बढुवा होला कि भन्दै विगत ६ महिनादेखि दिन गन्दै बसिरहेका हुन् ।
बढुवामा अर्यालका ब्याजी रहेको डीआईजीहरू राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदार साउद, रमेशशेखर बज्राचार्य, विज्ञानराज शर्मा, गणेशराज राई, वीरेन्द्रबाबु श्रेष्ठ, यादव अधिकारी, परशुराम खत्री, प्रतापसिंह थापा, विश्वराज शाही र सुशीलवरसिंह थापा प्रतिस्पर्धी छन् ।
आईजीपीको सहयोगी बनेर नीति निर्माणमा जुट्दै जनतालाई अनुभूति हुने गरी प्रहरीको पहँुच विस्तार गर्न लाग्नुपर्ने यी अधिकृतहरूले ६ महिनाको समय त्यत्तिकै खेर फालेका छन् ।
विगतमा आफूलाई निकै क्षमतावान् प्रमाणित गरिसकेको भए पनि सरकारले बढुवामा बेवास्ता गर्दा उनीहरूको मनोबल निकै तल पुगेको छ । तर, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र गृहमन्त्री भने बढुवाभन्दा उनीहरूलाई सकेसम्म डीआईजीबाटै घर पठाउने भित्री योजना बनाइरहेको स्रोतले बतायो । सरकारको यो कार्यशैली प्रहरी प्रधान कार्यालयसम्म पुगिसकेको छ ।
त्यसैले, हरेक दिनजसो आईजीपी अर्याललाई बढुवाका लागि दबाब दिन्छन् । प्रहरी प्रधान कार्यालयभित्र खुम्चिएर बसेका एआईजीका आकांक्षी डीआईजीहरूले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमदेखि सत्तारूढ दलका प्रभावशाली नेतालाई भेटेरै बढुवा गर्न दबाब दिइरहेका छन् । तर, ६ महिनासम्म परिणाम शून्यमै सीमित भएको छ । बढुवाको लाइनमा रहेका डीआईजीकै शब्दमा भन्दा शान्ति सुरक्षाको सबैभन्दा महŒवपूर्ण भूमिकामा रहेको र जनतासँग सबैभन्दा बढी जोडिएको प्रहरी संगठनको मनोबल गिराउन यी सब काम भइरहेका छन् ।
चुनावी सरकारदेखि जननिर्वाचित सरकार दुवैले प्रहरी संगठनमाथि अन्याय नै गरेको छ । त्यसैले, एआईजीको सबै दरबन्दी खाली हुँदा पनि ६ महिनासम्म बढुवा नगरी मनोबल गिराउने काम भइरहेको छ ।  ‘आफ्नै ब्याजी आईजीपीमा बढुवा भएको ६ महिना बित्न लाग्यो, तर आफू भने अझै बढुवा हुन सकिएको छैन, बढुवा गर्ने छाँटकाँट पनि देखिँदैन,’ एक डीआईजी भन्छन्, ‘चुनावी सरकारले अब बढुवा भइहाल्छ भन्दै तीन महिना झुलाएर राख्यो, त्यसपछि जननिर्वाचित सरकार बनेको पनि तीन महिना पुग्न लागेको छ, तर अझै एआईजीमा बढुवा गर्ने छाँटकाँट देखिँदैन, चुनावी सरकारजस्तै यो सरकारले पनि हामीलाई झुलाएरै राखेको छ ।’
प्रहरी प्रधान कार्यालयमा रहेका ती डीआईजीकै शब्दमा भन्ने हो भने बढुवा नहुँदा प्रहरीको चेन अफ कमान्डमा निकै असर परिसकेको छ । आईजीपीबाहेक अरूले आदेश दिने वा काम लगाउने अवस्था नै छैन । एउटै विभागमा तीनजनासम्म प्रतिस्पर्धी डीआईजी रहेको र अन्य विभागमा पनि प्रतिस्पर्धी नै रहेकाले आदेश दिने अवस्था छैन । ‘कसले भनेको मान्ने ? सबै एउटै ब्याजीका छन्, एउटाको आदेश अर्काेले मान्दै मान्दैनन्,’ अर्का डीआईजी भन्छन्, ‘सरकारले हामीलाई मार हान्दा प्रहरी संगठन नै सबैभन्दा ठूलो मारमा परेको छ ।’ प्रहरी संगठनमा फैलँदै गएको यही रोगले कार्यसम्पादनमा पनि निकै ठूलो गिरावट आइसकेको छ । ‘६ महिनादेखि आज बढुवा होला कि भोलि भन्दै नेताको दैलो चहार्न लगाएपछि कसरी हुन्छ त राम्रो काम ?’ एक प्रहरी अधिकृत भन्छन् । आईजीपी अर्यालले यो विषयमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, गृह सचिव सूर्य सिलवाल, तत्कालीन गृह सचिव जनार्दन नेपालदेखि सत्तारूढ दलका सबैजसो नेतालाई बढुवाका लागि पटकपटक हारगुहार गरिसकेका छन् । तर, सरकारमा रहेका जिम्मेवार व्यक्ति भने प्रहरी उच्च अधिकारीलाई आफ्नो चाकडी गराउने अभियानमा अझै रहेका छन् । ‘राम्रो काम गरौं भन्दा दिमाग नै नजाने रहेछ, यो ६ महिना सरकारमा रहेका व्यक्ति, गृहका अधिकारी र नेताको चाकडीमै बितेको छ,’ प्रतिस्पर्धी एक डीआईजीले राजधानीसँग भने ‘बढुवामा पर्नु छ, कामभन्दा चाकडी नै खोज्दा रहेछन्, मन नमान्दा पनि धाउनै पर्ने रहेछ ।’
गृह मन्त्रालयकै केही अधिकारी भने गृहमन्त्री गौतम र आईजीपी अर्यालको टसलका कारण एआईजी बढुवामा ढिलाइ भइरहेको बताउँछन् । ‘आईजीपीलाई असफल बनाउन एआईजीको बढुवालाई थाती राखिएको हो,’ गृहका एक अधिकारीले भने, ‘बढुवा नगर्दा सबै आकांक्षी आईजीपीविरुद्ध जान्छन् भन्ने गृह नेतृत्वको बुझाइ छ, त्यसैले एक सातामै गर्ने भनिएको बढुवा तीन महिनासम्म हुन नसकेको हो ।’ स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम आईजीपी उपेन्द्रकान्त अर्याललाई तर्साउन एआईजीको बढुवामा बाधक बन्न थालेका छन् । पदभार ग्रहणपछि एक साताभित्रै एआईजीको बढुवा गर्ने प्रतिबद्धता जनाएका गृहमन्त्री गौतमले आईजीपीबाट आफूअनुकुलको सिफारिस नआउने देखेपछि बढुवामै ढिलाइ गरिरहेका हुन् । गृहमन्त्री र आईजीपीबीचको टसलले पनि एआईजीको बढुवा हुन नसकेको कतिपय प्रहरी अधिकृतको बुझाइ छ । अघिल्लो सरकारले नियमावली परिवर्तन गरी बढुवा गर्न लाग्दा कांग्रेस र एमालेकै नेताहरूले रोकेका थिए ।

No comments:

Post a Comment