Friday, April 18, 2014

यो जिन्दगी फेरि थपिएको छ

केपी ओली
डेढ महिनाको अन्तरालको उपचारपछि स्वदेश फर्किएको छु । यस पटक सामान्य बिरामी, रोग सानो तर दुःखचाहिँ धेरै नै दियो । कीटाणु पत्ता लगाउन गाह्रो भयो । छालामा संक्रमण गर्ने एउटा मामुली कमजोर ब्याक्टेरिया पत्ता लगाउन पनि बहुतै गाह्रो हुँदो रहेछ । जेहोस्, डाइग्नोसिसबाट पत्ता लागेपछि उपचार गरेर पूर्ण स्वस्थ भएर स्वदेश फर्किएको छु ।
यसबीचमा मेरो स्वास्थ्यलाई लिएर सुस्वास्थ्यको कामना गर्ने, उपचारमा सहयोग पु¥याउने, स्वदेश, विदेशमा रहेका सबै संघ÷संस्था र सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । प्रधानमन्त्रीले पटक–पटक फोनमा कुराकानी गरेर मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो, उपप्रधानमन्त्री बामदेव गौतम आफैं दिल्ली जानुभयो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवालीलगायतका थुप्र्रै नेता साथीहरूले भेटेरै स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । आवश्यकता पर्दा थप उपचार गराउन सकिने जानकारी पनि भेटेरै गराउनुभयो ।
मैले उपचारका क्रममा धेरै शुभकामना, शुभेच्छा प्राप्त गरें, जसले गर्दा उपचारमासमेत कठिनाइ भएन । म्याक्स अस्पतालमा डा. अनन्तकुमार नेतृत्वमा रहेको चिकित्सकको ‘टिम’ले धेरै मेहनतका साथ उपचार गर्नुभयो र म फर्किएर आएँ । यस अवसरमा उपचारमा संलग्न चिकित्सक, सरकार, पार्टी नेताहरू, सञ्चारकर्मी मित्रहरू, समर्थक, शुभेच्छुक सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
मैले धेरै पटक जीवनको अन्तिम घडी हो कि भन्ने बेहोरेको छु । यस पटक पनि अन्तिम घडी हो कि भन्ने त मलाई लागेन । तर, आममानिसमा त्यस्तो प्रभाव परेछ । जे होस्, यो जिन्दगी फेरि थपिएको छ । फर्किएको यो जीवन नेपाल राष्ट्र, नेपाली जनता र मानवजातिको सर्वोत्तम हितका निम्ति प्रयोग गर्नेछु । मेरो निजी जिन्दगी हुँदैन, यसलाई मैले राष्ट्रको, जनताको जीवनका रूपमा लिएको हुँदा त्यसैगरी खर्च गर्नेछु । बिरामी हुँदाहुँदै पनि एउटा राजनीतिक प्राणी भएको हुनाले साथीहरूले धेरै चिन्ता नगर्नुस्, विचारमा केन्द्रित नहुनुस्, चिन्तामुक्त भएर उपचारमा ध्यान दिनुस् भन्नेजस्ता थुप्रै सुझाव दिनुभयो । तर, उपचारमा ध्यान दिँदादिँदै पनि मैले नेपाली समाजको चिन्तै नगर्ने भन्ने कुरा थिएन । मेरो स्वास्थ्यलाभका निम्ति पनि नेपाली समाज र पछिल्लो परिस्थितिबारे सूचना र जानकारी लिन जरुरी थियो । त्यसकारण अस्पतालको बिस्तारा(बेड)मा हुँदा पनि र बाहिर रहँदा आजसम्म पनि मैले जानकारी लिने कोसिस गरें । सामान्य अवस्थामा देशभित्रै रहेर जे जानकारी लिएर भूमिका खेल्न सकिन्छ, त्यस्तो सकिने कुरा त भएन । तर, जानकारी लिनु पनि महŒवपूर्ण नै थियो ।
हामी संक्रमणकालीन अवस्थामा छौं । संविधान नबनिसकेकाले केही मतभेद छन्, फरक–फरक उद्देश्य छन्, भिन्नताहरू पनि होलान् । यी सबै हेर्दा परिस्थिति अलि जटिलै छ भन्ने पनि थाहा छ । यी सबै कारणले देशको राजनीतिलाई जुन तीव्रता दिनुपथ्र्यो, दिन नसकिएको मलाई पनि महसुस भएको छ । म फर्किसकेको छु, त्यसैले तीव्रता दिने प्रयासका लागि आफूलाई केन्द्रित गर्नेछु । मैले नेतृत्व गरेको संसदीय दलले उद्देश्यअनुसार तीव्रता लिनेछ । म सहभागी रहेको पार्टीमा पनि साथीहरूसँग मिलेर आफ्नो भूमिकालाई तीव्रता दिने प्रयास गर्नेछु ।
हामीले एक वर्षभित्र संविधान जारी गर्ने भनेका छौं । सभामुखले गरेको रुलिङअनुसार अर्थात् ८ माघबाट संविधानसभाको गणना हुने भनिएको छ, त्यस अवधिभित्रै हामीले नयाँ संविधान जारी गर्नुपर्छ । जनताको अपेक्षा र हाम्रो प्रतिबद्धतालाई पूरा गरेर जनताको विश्वास तलमाथि पर्न दिनुहुँदैन भन्ने मलाई लाग्छ । सबैले त्यतातर्फ ध्यान दिनुपर्छ ।
अहिलेको सरकारका दुईओटा प्रमुख काम छन् । संविधान निर्माण गर्ने काममा आफूलाई संयोजनकारी रूपमा प्रस्तुत गर्ने । अर्को, शान्ति, सुरक्षासहित सुशासन कानुनी राजको प्रत्याभूति दिलाउने । बजेटको तर्जुमा तदनुरूप गर्नुपर्छ, सरकारलाई लोकतान्त्रिक ढंगले सञ्चालन गर्दै विकासको गतिलाई तीव्रता दिनुपर्छ । अहिलेको संविधानसभा, त हुँदै हो, त्यसभित्र व्यवस्थापिका पनि भएकाले संविधानको कुरा गरिरहँदा संविधान निर्माण प्रमुख अभिभारा हो र सँगसँगै
व्यवस्थापिका संसद्ले निर्वाह गर्ने भूमिका पनि खेल्नुपर्ने जरुरी छ । त्यस पाटोमा सरकार निर्माण गर्ने, सञ्चालन गर्ने पनि भएकाले यसमा पनि ध्यान दिएर अघि बढ्नुपर्छ ।
हाम्रो पार्टीको महाधिवेशन २४ जेठबाट सुरु हुँदै छ । त्यस मितिमै सम्पन्न हुनेछ । अहिले नै भन्दा तपाईंहरूले विश्वास नगर्नुहोला तर यथार्थ भन्नैपर्छ । हामी एकताका साथ महाधिवेशनलाई लिएर जानेछौं, महाधिवेशन एकताबद्ध भएरै जानेछ । एमाले जस्तो विशाल पार्टीमा बहस हुन्छन् नै तर त्यसलाई हामी एकताबद्ध रूपमा अघि बढाउँछौं । म सबैलाई ढुक्क रहन अनुरोध गर्दछु । यत्रो इतिहास, धेरै ठूलो कार्यकर्तापंक्ति भएको यति ठूलो पार्टीमा अलिअलि छलफल हुनु स्वाभाविक छ । अन्तिममा हामी यी सबै कुरालाई समुचित ढंगले टुंग्याएर सहमतिका साथ नेतृत्व चुन्दै पार्टीलाई अघि बढाउनेछौं । यसमा कुनै शंका नगर्न म आग्रह पनि गर्छु ।
अर्को कुरा, ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धतता लगभग असफल भइसक्यो । हामीले के कुरामा ध्यान दिनुपर्छ भने एक वर्षभित्र संविधान जारी गर्छौं भनेकाले त्यस अवधिभित्रै संविधान जारी गर्नुपर्छ । तर, एक वर्ष भनेको म्यादको अन्तिमतिर, अर्थात् ८ माघको अन्तिमतिर, माघको पहिलो हप्तातिर मात्रै संविधान जारी गर्छौं भने कात्तिक, मंसिरको पहिलो हप्तातिरै स्थानीय निकायको निर्वाचन गर्न सकिन्छ । यदि निर्वाचन भएको ४ मंसिर आसपासमै संविधान जारी गर्न सक्यौं भने त्यसलगत्तै स्थानीय निकायको चुनाव गर्ने गरी तयारी गर्न पनि सक्छौं । तर, यदि पुसको अन्तिम या माघको पहिलो सातातिर संविधान जारी गर्छौं भने त्यसअघि स्थानीय निकाय निर्वाचन गर्नु नपर्ने कुनै कारण छैन । मंसिर पहिलो हप्तातिर गाविस र नगरपालिकाको चुनाव ग¥यौं भने जिविसको चुनावमा मौसमको असर पर्दैन । पहिले पनि हामीले जिविसको निर्वाचन साउन ४ मा गरेका थियौं ।
अहिले पनि मुलुक संक्रमणको अवस्थामा छ । द्वन्द्वकालका घटनालाई सहजताका साथ व्यवस्थापन गर्ने र सबै पक्षलाई समेट्नका लागि विशेष पहल हुनुपर्छ । यसमा दुईओटा कुरामा ध्यान दिनुपर्छ । द्वन्द्वका क्रममा भएका घटनाहरूमा जघन्य मानवताविरुद्धका अपराधबाहेक अरू सहमतिमा क्षम्य हुन सक्छन् । तर, कुनै पार्टी विशेषबाट भएको गम्भीर जघन्य अपराध, फौजदारी कानुन आकर्षित हुने, द्वन्द्व नभएको वा द्वन्द्वकालका द्वन्द्वका सिरानी हालिएका अदालती कारबाहीका विषय हुन्छन् । यो ठूलो कुरा होइन, हामी छलफलबाटै निष्कर्षमा पुग्न सक्छौं ।
(स्वास्थ्य उपचारपछि फर्किएका एमाले संसदीय दलका नेता ओलीले बुधबार अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्त विचार)  

No comments:

Post a Comment