Friday, October 25, 2013

एमाओवादीमा ‘परिवार मोह’ टिकटमा शीर्ष नेताकै आफन्तको हालीमुहाली

आगामी ४ मंसिरको संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार तय गर्दा एमाओवादीमा एकै परिवारका सदस्य उल्लेख्य मात्रामा हावी भएका छन् । दुवैतर्फका उम्मेदवारको सूची सार्वजनिक भएसँगै एमाओवादीमा परिवार मोह हावी भएको देखिएको हो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि प्रभावशाली मानिएका र पहुँचमा रहेका नेतासम्मले आङ्खना नातागोतालाई टिकट दिलाउन सफल देखिएका छन् । प्रत्यक्षमा टिकट नपाएका र समानुपातिकको आशा गरेर बसेका कतिपय नेता तथा कार्यकर्ता समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची हेरेपछि निराश बनेका छन् । समानुपातिक सूचीमा पनि एमाओवादीले प्रत्यक्षतर्फ उम्मेदवार बनेका र नेताकै आफन्तलाई बढी प्राथमिकतामा पारेको छ ।
प्रत्यक्ष तथा समानुपातिकमा उम्मेदवार बनाउँदा एमाओवादीका शीर्ष नेताका परिवारहरूले बढी प्राथमिकता पाएका हुन् । अध्यक्ष दाहालको परिवारबाट मात्रै चारजना प्रत्यक्षमा उम्मेदवार बनेका छन् । दाहाल काठमाडौं–१० र सिराहा–५, छोरी रेणु दाहाल काठमाडौं–१ र ‘बुहारी’ बिना मगर कञ्चनपुर–१ बाट प्रत्यक्षतर्फका उम्मेदवार छन् । दाहालका भाइ नारायण दाहाल पनि चितवन–३ बाट प्रत्यक्षतर्फकै उम्मेदवार छन् ।
नेता डा. बाबुराम भट्टराई गोरखा–१ र रूपन्देही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने पत्नी हिसिला यमी काठमाडौं–७ बाट प्रत्यक्ष उम्मेदवार छन् ।
नेता पोष्टबहादुर बोगटी नुवाकोट–३ बाट प्रत्यक्षमा उम्मेदवार छन् भने उनका ज्वाइँ निर्मल आचार्य दाङ–३ बाट प्रत्यक्षमै उम्मेदवार छन् । अर्का नेता वर्षमान पुन मोरङ–९ र पत्नी ओनसरी घर्ती रोल्पा–२ बाट उम्मेदवार छन् । शक्ति बस्नेतका पनि पतिपत्नी नै प्रत्यक्षतर्फकै उम्मेदवार छन् । बस्नेत जाजरकोट–१ र पत्नी सत्या पहाडी डोल्पाबाट प्रत्यक्षमा
उठेका हुन् ।
आफ्ना आफन्तलाई टिकट वितरण गराउनमा अर्का नेता जनार्दन शर्मा पनि पछाडि छैनन् । उनी आफू रुकुम–२ बाट प्रत्यक्षमा उम्मेदवार छन् भने बहिनी नारायणी शर्मालाई दाङ–१ बाट टिकट दिलाएका छन् । सल्यान–२ का प्रत्यक्षतर्फका उम्मेदवार भीमप्रकाश शर्मा पनि उनकै नातेदार हुन् । त्यस्तै, देवेन्द्र पराजुली लमजुङ–१ र पत्नी कल्पना धमला धादिङ–२ बाट उम्मेदवार छन् ।
समानुपातिक र प्रत्यक्ष दुवैतर्फ टिकट पाउने ‘भाग्यमानी’ श्रीमान्श्रीमती पनि एमाओवादीमा उल्लेख्य मात्रामा छन् । सिन्धुपाल्चोक–१ का प्रत्यक्षतर्फका उम्मेदवार सरल सहयात्रीका पत्नी समिता कार्कीले समानुपातिकतर्फ टिकट पाएकी छन् । लीलामणि पोखरेल
काठमाडौं–२ का प्रत्यक्ष उम्मेदवार छन् भने पत्नी शशी श्रेष्ठ समानुपातिक, देवेन्द्र पौडेल काठमाडौं–९ का प्रत्यक्ष उम्मेदवार छन् भने पत्नी बलावती शर्मा समानुपातिक, कृष्णध्वज खड्का प्युठान–२ बाट प्रत्यक्षका उम्मेदवार छन् भने पत्नी रेखा शर्मा समानुपातिकबाट उम्मेदवार बनेकी छन् । यस्तै, गणेशमान पुन रुकुम–१ बाट प्रत्यक्षमा उम्मेदवार छन् भने पत्नी कमला रोक्का समानुपातिकमा उम्मेदवार बनेकी छन् ।
समानुपातिकमा परेका सुरदबहादुर स्याङ्तान र मकवानपुर–४ बाट प्रत्यक्षमा उठेका सोनामसिंह स्याङ्तान दाजुभाइ हुन् । समानुपातिकमा परेकी राधिका तामाङ भने स्याङ्तान बन्धुका बुहारी हुन् ।
त्यस्तै, देवी खड्का समानुपातिकमा उम्मेदवार बनेकी छन् भने उनका भाइ विशाल खड्का दोलखा–१ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन् । एमाओवादीले उम्मेदवारी छनोट गर्दा बाबुछोरी दुवैलाई समानुपातिक उम्मेदवार बनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र काठमाडौं–१० अन्तर्गत कीर्तिपुरका स्थानीय नेता दिलीप महर्जन र छोरी रूपा महर्जन श्रेष्ठ दुवैलाई समानुपातिकमा राखिएको हो ।
यसअघि रूपालाई एमाओवादीले काठमाडौं–९ बाट प्रत्यक्षमा उम्मेदवार बनाउन चाहे पनि नेवाः राज्य समितिका संयोजकसमेत रहेका नेता देवेन्द्र पौडेललाई उम्मेदवार बनाउन अन्तिम समयमा समानुपातिकमा समेट्ने सर्तमा
मनाइएको थियो ।
खामबाहेक सबै लडाकू कमान्डर उम्मेदवार
समानुपातिक उम्मेदवार तय गर्दा एमाओवादीले पूर्वलडाकूलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । प्रत्यक्षतर्फ पूर्वलडाकू प्रमुख नन्दकिशोर पुनदेखि डेपुटी कमान्डर चन्द्रकाश खनाल, डिभिजन कमान्डर महेन्द्रबहादुर शाहीसम्मलाई उठाएको उसले समानुपातिकतर्फ लडाकूका तत्कालीन डिभिजन कमान्डरहरू सुकबहादुर रोक्का, धनबहादुर मास्की, सन्तु दराई, तेजबहादुर ओलीलाई उठाएको छ । डिभिजन कमान्डर रहेकै कालीबहादुर खाम एकजना मात्र समानुपातिक तथा प्रत्यक्षमा परेका छैनन् । खाम प्रहरीको मोस्ट वान्टेड सूचीमै रहेका कारण उम्मेदवार बन्नबाट वञ्चित भएका हुन् । े
युद्धकालमै नेपाली सेनाको जागिर छोडेर माओवादी लडाकू बन्न पुगेका अञ्जनकुमार तिमल्सिनादेखि लडाकूभित्रकी ब्रिगेड कमान्डर बनेकी एक मात्र महिला कमला नहर्कीसम्म समानुपातिक उम्मेदवार छन् । एमाओवादीले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) रवीन्द्रप्रताप शाहलाई पनि समानुपातिकको सूचीमा राखेको छ । पदमा रहँदा सहयोग गरेको कारण शाहलाई समानुपातिकमा राखिएको बताइएको छ ।
त्यस्तै, नेकपा–माओवादी छोडेर एमाओवादीमा नै फर्किएका महेन्द्र पासवान, हरिलाल ज्ञवाली, रवीन्द्र पट्टेल एमालेबाट प्रवेश गरेका लक्की शेर्पा, विमषमलाल अधिकारी दनुवार, जेबी टुहुरे, मोहम्मद जकिर हुसेन, ल्याक्र्याल लामा, टासी स्याङ्बो गुरुङसेनीसम्मलाई एमाओवादीले उम्मेदवार बनाएको छ । तराईका क्षेत्रबाट उसले सलिममिया अन्सारीकी छोरी उषाकिरण अन्सारीदेखि अधिकांश नवप्रवेशीहरूलाई समानुपातिकमा समेटेको छ ।













No comments:

Post a Comment