Friday, September 27, 2013

ज्यानमुद्दाका दोषी नै एमाओवादीका उम्मेदवार



रामकृष्ण अधिकारी/राजधानी 
काठमाडौं, १० असोज एकीकृत नेकपा माओवादीले सर्वा
च्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका बिघटित संबिधानसभाका सदस्य बालकृष्ण ढुंगेललाई ओखलढुंगा–२ बाट पुनः प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीवार बसेको शीर्ष नेतासहितको उम्मेदवार छनोट समिति बैठकले निर्वाचन कानून बिपरित ढुंगेललाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बिहीबार बसेको एमाओवादी नेताहरूको बैठकले सर्वाेच्च अदालले दोषी हत्यामा दोषी गहर गरेपनि पूर्वसभासद् ढुंगेललाई प्रत्यक्षबाटै उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाओवादीले हत्याका अभियोगमा आफ्ना नेतालाई सिध्याउने षड्यन्त्र गरेकाले त्यसलाई सामना गर्नका लागि पनि ढुंगेललाई नै उम्मेदवार बनाउने निर्णय एकमतले गरेको जनाएको छ ।
यसअघिको निर्वाचनमा ढुंगेल सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । ओखलढुंगा–२ मै प्रत्यक्ष उम्मेदवारका लागि आकांक्षी मजदुर नेता बाबुुराम गौतमलाई भने अध्यक्ष दाहालले समानुपातिक उम्मेदवार बनाउने आश्वासन दिएका छन् । ‘पार्टीविरुद्ध षड्यन्त्र भइरहेकाले सो क्षेत्रमा बालकृष्णलाई नै उम्मेदवार बनाउने पार्टीले एकमतले निर्णय गरेको छ, तपाईं समानुपातिकमा बस्नुहोस् भनेर अध्यक्षले मलाई भन्नुभयो,’ दाहालसँगको भेटपछि गौतमले राजधानीसँग भने । सर्वोच्च अदालतले ढुंगेललाई ज्यान मारेको अभियोगमा १९ पुस २०६६ मा सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरू तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालाको इजलासले ओखलढुंगास्थित तारबारी गाविसका भुवन भन्ने उज्वनकुमार श्रेष्ठलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
तर, सो फैसला अझै कार्यान्वयन हुन सकेको छैन । १० असार २०५५ मा श्रेष्ठलाई गोली प्रहार गरेर हत्या गरेको अभियोगमा ढुंगेललाई ओखलढुंगा जिल्ला अदालतले ११ असार २०६३ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसलालाई पुनरावेदन अदालतले उल्टाएपछि उनी तत्कालीन नेकपा माओवादीको तर्फबाट ओखलढुंगा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार भई विजयी भएका थिए । तर, पुनरावेदन अदालतको फैसलाविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेपछि सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो ।
फैसला कार्यान्वयन नहुँदै एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले उनलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो । सो सिफारिस कार्यान्वयनलाई हाल सर्वोच्चले रोकेर राखेको छ । एमाओवादीले सिफारिश गरेका ढुंगेल निर्वाचन कानूनअनुसार उम्मेदवार बन्न पाउँदैनन । निर्वाचन कानूनमा अन्तिम अदालतबाट फौजदारी अभियोगमा दोषी ठहर भएका कुनैपनि ब्यक्ति सजाय भुक्तान गरेको ६ बर्षसम्म उम्मेदवार बन्न नपाउने ब्यवस्था छ । पार्टी शीर्षनेताको उम्मेदवारी तय गरेर पनि गोप्य राखिरहेको एकीकृत नेकपा माओवादीले आङ्खना उम्मेदवारको घोषणा दुई चरणमा गर्ने भएको छ ।
पहिलो चरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत सर्वसहमति जुटेका उम्मेदवारहरू घोषणा गर्ने र दोस्रो चरणमा विवादित क्षेत्रका सम्भावित आकांक्षीका बीचमा सहमति जुटाएर उम्मेदवार घोषणा गर्ने तयारी गरेको हो । पहिलो चरणमा शुक्रबार अध्यक्ष दाहाललगायतका शीर्ष नेताहरूको उम्मेदवारी घोषणा गर्ने अन्तिम तयारी एमाओवादीले गरेको छ । पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बिहीबार पाँच घन्टाभन्दा लामो समयसम्म बसेको कार्यालय टिम र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले मधेसका ६० निर्वाचन क्षेत्र र केही विवादित क्षेत्रबाहेक अन्य सबैजसो क्षेत्रको उम्मेदवारको छनोट सकाएको छ ।
‘मधेसका निर्वाचन क्षेत्रमा बाहेक अन्यत्रतिरका धेरैजसो क्षेत्रका उम्मेदवारको छनोट सकिएको छ,’ उम्मेदवार छनोट समिति सदस्यसमेत रहेका एमाओवादी नेता शक्ति बस्नेतले राजधानीसँग भने, ‘एकसरो फिनिसिङ गर्ने काम भएको छ, शुक्रबारसम्ममा पहिलो चरणमा केही उम्मेदवारको घोषणा हुनेछ ।’ बिहीबारको छलफलमा अध्यक्ष दाहालले कार्यालयका तर्फबाट उम्मेदवार चयनका क्रममा भइरहेका गतिविधिका विषयमा सहभागी नेताहरूलाई संक्षिप्तमा ब्रिफिङ गरेपछि नेताहरूले आकांक्षी नेताका नाममा छलफल चलाइएको अर्का छनोट समितिका सदस्य प्रभु साहले जानकारी दिए ।
उनले निर्विवाद रहेका ठाउँमा छनोट प्रक्रिया सकिएको र आकांक्षी बढी देखिएका क्षेत्रमा भने कार्यालयले निर्णय गरेर टुंग्याउने बताए । काठमाडौं उपत्यकाका प्रायः सबै निर्वाचन क्षेत्र, ओखलढुंगालगायतका जिल्लाका निर्वाचन क्षेत्रमा पनि एमाओवादीले उम्मेदवारको टुंगो लगाइसकेको जनाएको छ । एमाओवादीले काठमाडौं–१ बाट रेणु दाहाल, २ बाट लीलामणि पोखरेल, ३ बाट गणेश रेग्मी, ४ बाट नन्दकिशोर पुन, ५ बाट महेन्द्र श्रेष्ठ, ६ बाट हिमाल शर्मा, ७ बाट हिसिला यमी, ८ बाट मुक्ति प्रधान, ९ बाट देबेन्द्र पौडेल र १० बाट अध्यक्ष दाहाललाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।
ललितपुर–१ बाट हरि दाहाल, २ बाट दिनेश महर्जन र ३ बाट सरोज डंगोल, भक्तपुर–१ बाट सानु सिलवाल र २ बाट डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । उम्मेदवार छनोटका लागि दिनभर लाजिम्पाटमा जारी बैठक स्थगित गरेर साँझपख पार्टी कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष दाहाललाई भेटेका काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार गणेश रेग्मीले काठमाडौं उपत्यकाका विषयमा उम्मेदवारको टुंगो लागेको अध्यक्षले आफूलाई जानकारी गराएको राजधानीलाई बताए । उम्मेदवार चयनका लागि एमाओवादीलाई सबैभन्दा अप्ठ्यारो मधेसको सिराहा क्षेत्र नम्बर–५ र धनुषा–१ बन्न पुगेको छ ।
सिराहा–५ मा बुधबार मात्रै नेकपा–माओवादीबाट प्रवेश गरेका महेन्द्र पासवानले दाबी गरेका छन् भने धनुषा–१ मा एमाले छाडेर प्रवेश गरेका रामचन्द्र झा र एमाओवादीका मधेसका पुराना नेता श्रवण यादव ‘जीवन’ ले दाबी गरिरहेका छन् । पासवान यसअघिको निर्वाचनमा पनि सिराहा–५ बाट निर्वाचित भएका थिए । उनले बिहीबार नै अध्यक्ष दाहाललाई भेटी सो क्षेत्रमा आफूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् । उम्मेदवार छनोट समितिका सदस्य वर्षमान पुनले पार्टीले नयाँ र पुराना कोही कसैलाई पनि भेदभाव नगरी राम्रा र जित्ने आधार भएकालाई उम्मेदवार बनाउने बताए ।
उनले ७५ प्रतिशतभन्दा बढी क्षेत्रका उम्मेदवारका विषयमा टुंगो लागिसकेकाले शुक्रबार साँझसम्ममा आधाभन्दा बढी निर्वाचन क्षेत्रका उम्मेदवार घोषणा गरिने बताए । ‘हामीले ७५ प्रतिशत काम सकेका छौं, भोलि (शुक्रबार) सम्ममा आधाभन्दा बढी निर्वाचन क्षेत्रको उम्मेदवार घोषणा गर्ने तयारी भएको छ,’ पुनले राजधानीसँग भने ।
बुधबार मात्रै एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौं–१० र धनुषा–६, नेता बाबुराम भट्टराईलाई गोरखा–१ र रूपन्देही–६, नारायणकाजी श्रेष्ठलाई बारा–६, पोष्टबहादुर बोगटीलाई नुवाकोट–३, कृष्णबहादुर महरालाई रोल्पा–१, वर्षमान पुनलाई झापा–७ र मोरङ–२, टोपबहादुर रायमाझीलाई अर्घाखाँची–१ मा उम्मेदवारी बनाउने निर्णय गरेको थियो ।

No comments:

Post a Comment