Saturday, September 28, 2013

आइजीपी राना र ६ एआइजीको म्याद तीन महिना थप्न प्रस्ताव

काठमाडौं, 
तोकिएको मितिमै संविधानसभा निर्वाचन हुने सम्भावना बढ्दै गएपछि सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजी)को सेवा अवधि तीन महिना थप गर्न प्रक्रिया अघि बढाएको छ ।
घोषित मिति ४ मंसिरमै निर्वाचन हुने जनाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित एआईजीहरुको सेवा अवधि तीन महिना थप गर्ने प्रस्ताव गरेको हो ।
गृहले सो प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । गृहको सो प्रस्तावलाई अर्थले अहिलेसम्म सहमति दिएको छैन । अर्थका अधिकारीहरु एक महिनाभन्दा बढी थप्न नसकिने अडानमा रहेको स्रोतको दाबी छ ।
‘हामीले निर्वाचन परिणाम र सरकार गठनसहितको प्रक्रिया दृष्टिगत गरी तीन महिनाको सेवा अवधि थप गर्न प्रस्ताव गरेका हौं, अर्थले एक महिनाभन्दा बढीका लागि स्वीकृति नदेला जस्तो छ,’ गृह मन्त्रालय उच्च स्रोतले भन्यो ।
निर्वाचनको मुखैमा प्रहरी महानिरीक्षक रानासहित सात जना एआईजी ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा पर्ने भएकाले सरकारले चुनावी सुरक्षा रणनीति प्रभावित हुन नदिन सो प्रस्ताव अघि बढाएको दावी गरेको छ । निर्वाचनको मुखैमा महानिरीक्षकसहित अधिकांश एआईजी घर फर्के निर्वाचनमा असर पर्ने भन्दै विशेष परिस्थितिमा म्याद थपको प्रस्ताव गर्नु परेको गृह मन्त्रालय स्रोतले जनायो ।
गृहको प्रस्तावबारे प्रहरी प्रधान कार्यालयले केही थाहा नभएको जनाएको छ । ‘हामीलाई यस विषयमा केही जानकारी छैन, यो सरकारको विषय हो,’ प्रहरी प्रधान कार्यालयका एक बरिष्ठ अधिकारीले भने ।
गृहको प्रस्ताव कार्यान्वयन भए महानिरीक्षक रानासहित एआईजीहरु नवराज ढकाल, भीष्म प्रसाईं, दीनकरशमशेर राना, गंगा पाण्डे, पुस्कर रेग्मी र रमेशविक्रम शाहको सेवा अवधि थपिने छ । गृहको यो प्रस्ताव कार्यान्वयन नभए रानासहित सबैले २९ कात्तिकमा अनिवार्य अवकाश पाउने छन् । अर्का एआईजी विनोद सिंहले भने ३० असोजमा अनिवार्य अवकाश पाउँदैछन् । बाँकी दुई प्राविधिक एआईजी डा. रामनाथ सिंह र इन्जिनियर प्रकाशकुमार रन्जितको सेवा अवधि अझै दुई वर्ष बाँकी छ । रानापछि प्रहरी नेतृत्व लिन डीआईजीहरु पार्वती थापा, विमला थापा, उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रप्रताप शाह, विज्ञानराज शर्मा र नारायण बस्ताकोटीलगायत अग्रसर छन् । थापाद्वय ११ मंसिर २०६५ मा र अन्य २१ असोज २०६६ मा डीआईजी बनेका हुन् । थापाद्वयलाई भने विशेष पद सिर्जना गरेर डीआईजीमा बढुवा गरिएको हो ।
यद्यपि, थापाद्वय पहिलो महिला महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । विशेष पद सिर्जना गरेर बढुवा गरिएकाले उनीहरु महानिरीक्षकको दौडमै नरहेको अर्काथरी डीआईजीको जिकिर छ ।
अर्काेतर्फ, गृहको प्रस्ताव एक महिनाका लागि मात्र कार्यान्वयन भएको खण्डमा थापाद्वय महानिरीक्षकको दौडबाट बाहिरिने छन् । उनीहरु डीआईजीको पदावधिका कारण ११ मंसिरमा अनिवार्य अवकाशमा पर्ने भएका हुन् ।
त्यसपछि २०४३ को व्याजका प्रहरी निरीक्षक प्रहरी महानिरीक्षक बन्नेछन् । गृहले निर्वाचनलाई मध्यनजर राख्दै आईजी र एआईजीहरुको सेवा अवधि थप्ने गृहकार्य अघि बढाएको थाहा पाएपछि पूर्वक्षेत्र विराटनगरका डीआईजी उपेन्द्रकान्त अर्याल, मध्यपश्चिम क्षेत्र सुर्खेतका राजेन्द्रसिंह भण्डारी, पश्चिम क्षेत्र पोखराका सुरेन्द्रबहादुर शाह कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरु आईजीका लागि दौडधुप गर्न केही दिनदेखि काठमाडौंमा थिए ।


No comments:

Post a Comment