Monday, September 30, 2013

एमालेले दियो ६३ क्षेत्रका उम्मेदवारलाई टिकट


राजधानी , काठमाडौं, १३ असोज नेकपा एमालेले दुर्गम, हिमाली र पहाडी र सुदूरपश्चिममा पर्ने ३३ जिल्लाका ६३ क्षेत्रमा उम्मेदवार तय गरी टिकट वितरण गरेको छ । शीर्ष नेताहरूसहित अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि रणनीतिक रूपमा एमालेले दुर्गम र पहाडी भेगमा पर्ने ६३ क्षेत्रका उम्मेदवारलाई आइतबार टिकट दिएर कार्यक्षेत्र पठाएको हो ।
लगातार जारी स्थायी समिति बैठकले ती क्षेत्रका उम्मेदवारलाई आइतबार टिकट नै वितरण गरी कार्यक्षेत्र पठाएको छ । जसमध्ये स्थायी समितिमा रहेका नेताहरूमा उपाध्यक्ष वामदेव गौतम दुई क्षेत्र बर्दिया–१ र प्युठान–१ तथा सचिव शंकर पोखरेल दाङ–४ बाट उम्मेदवार बन्ने भएका छन् । केन्द्रीय सदस्यहरू भीम रावल अछाम–१, कर्ण थापा बाजुरा–१ र उर्वादत्त पन्त कञ्चनपुर–४ बाट उम्मेदवार बन्ने टुंगो लागेको छ । उच्च स्रोतका अनुसार गोकर्ण रिसोर्टमा जारी दुई दिनको आवासीय बैठकले अधिकांश क्षेत्रको उम्मेदवारको टुंगो लगाइसकेको छ ।
‘अब प्रत्यक्षतर्फ समस्या देखिएका १०–१२ क्षेत्रका उम्मेदवार मात्रै टुंगो लगाउन बाँकी छ,’ उच्च स्रोतले भन्यो, ‘सोमबारसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको टुंगो लागिसक्नेछ ।’ नेताहरूले व्यापक विरोध बढेपछि अघिल्लो पटक संविधानसभा निर्वाचनमा जित्ने र हार्ने निकटम प्रतिद्वन्द्वी सबैलाई टिकट दिने नयाँ मापदण्ड परिवर्तन गरी उम्मेदवारबारे धमाधम निर्णय गरेका हुन् । टुंगिएका उम्मेदवारलाई नेताहरूले बोलाएरै टिकट दिएर पठाएका छन् । उपलब्ध नभएका उम्मेदवारहरूको हकमा भने अञ्चल इन्चार्जहरूले टिकट लिएर राखेको एक नेताले बताए ।
जसअनुसार राप्ती अञ्चलको दाङको पाँच निर्वाचन क्षेत्रमध्ये १ मा रेवतीरमण शर्मा, २ मा शान्ता चौधरी, ३ मा लक्ष्मण आचार्य र ५ मा उत्तरकुमार वलीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यस्तै, रोल्पा–१ मानबहादुर बाठा र २ मा कुमार दसांैदी, रुकुम–१ मा खेममान खड्का, २ मा ठगेन्द्रप्रकाश पुरीलाई उम्मेदवार बनाइएको छ । प्युठान–२ मा हिराचन्द्र केसी, सल्यान–१ मा गुलावजंग शाह र २ मा प्रकाश ज्वाला उठाउने निर्णय भएको छ । त्यस्तै, कर्णालीको कालिकोटमा कुर्मराज शाही, जुम्लामा पदम रोकाया, हुम्लामा दलबहादुर रावल, डोल्पामा धनबहादुर बुढा र मुगुमा गोपाल बमले टिकट लिएर कार्यक्षेत्र फर्किसकेका छन् ।
यस्तै, भेरीको दैलेख–१ मा अमरबहादुर थापा, २ मा लक्ष्मीप्रसाद पोखरेल, जाजरकोट–१ मा डम्बरबहादुर सिंह, २ मा कृष्णबहादुर बीसी, सुर्खेत–१ मा कमला शर्मा, २ मा यामलाल कँडेल र ३ मा नवराज रावतले टिकट लिइसकेका छन् । बाँके–१ मा देवराज भार, २ मा दिनेशचन्द्र यादव, ३ मा पदम धिताल र ४ मा दलबहादुर सुनुवार, बर्दिया–१ मा वामदेव गौतम, २ मा पूर्ण शर्मालाई टिकट दिइएको छ । त्यस्तै, ३ मा विष्णु चौधरी, ४ मा लोटन थारूलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, महाकालीको कञ्चनपुर–१ मा लालबहादुर विक, २ मा तारा लामा तामाङ, ३ मा नरबहादुर धामी र ४ मा केन्द्रीय सदस्य उर्वादत्त पन्तलाई उम्मेदवार बनाइएको छ । 
दार्चुलामा गणेशसिंह ठगुन्ना, डडेलधुरामा डा.तारा जोशी, बैतडी–१ मा दामोदर भण्डारी, २ मा महादेव भट्ट तथा सेतीको अछाम–१ मा पूर्वगृहमन्त्रीसमेत रहेका भीम रावल र २ मा भरत सावदलाई उम्मेदवार बनाइएको छ । डोटी–१ मा नारद मलासी र २ मा प्रेम आले, बझाङ–१ मा मानप्रसाद खत्री र २ मा एलबी रावल र बाजुरामा केन्द्रीय सदस्य कर्ण थापालाई उम्मेदवार बनाइएको छ । कैलालीमा भने उम्मेदवारको टुंगो लागे पनि टिकट वितरण नगरिएको स्रोतले जनाएको छ । त्यस्तै, पूर्वी पहाडी जिल्ला सगरमाथाको खोटाङ–१ मा पीके राई र २ मा विशाल भट्टराई, भोजपुर–१ मा कृपाशुर शेर्पा र २ मा शेरधन राई, सोलुखम्बुमा आङङिमा लामालाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, कोसीको संखुवासभा–१ मा हेमराज घिमिरे र २ मा राजेन्द्र गौतम, तेह्रथुममा भवानी खापुङ, मेचीको ताप्लेजुङ–१ मा भुपेन्द्र थेवे, २ मा डम्बरध्वज तुम्बाहम्फे, पाँचथर–१ मा गणेश चाङमाङ, २ मा डम्बरसिंह सम्बाहम्फेलाई टिकट दिइएको छ । दुर्गम, पहाड र हिमाली क्षेत्रको टिकट वितरण गरी उम्मेदवारलाई कार्यक्षेत्र पठाइएको छ, लगभग सबै निर्वाचन क्षेत्रको उम्मेदवारी टुंगो लागिसकेको छ,’ उम्मेदवारलाई टिकट दिएर पठाउने जिम्मेवारी पाएका नेता अग्नि खरेलले भने ।

No comments:

Post a Comment