Saturday, July 27, 2013

बीपी–पुष्पलाल र एमाओवादी निर्णय


 गणेश बस्नेत
यो साता नेपाली राजनीतिमा ठीक विपरीतका घटना भए । पहिलो घटना नेपालको राजनीतिमा लामो समयसम्म दूरगामी प्रभाव पार्ने शिखरपुरुषद्वय बीपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको चर्चा भयो । दोस्रो अघिल्लो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एकीकृत नेकपा माओवादीले एकै व्यक्तिमा सबै अधिकार केन्द्रित ग¥यो ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको र नयाँ संविधान निर्माणका लागि संविधानसभाको दोस्रो चुनाव हुन १ सय २० दिन बाँकी रहँदा एमाओवादीले लोकतन्त्रका सबै मूल्य मान्यतालाई तिलाञ्जली दिएर अनि हेटौंडा महाधिवेशनबाट पारित विधानलाई च्यातेर अध्यक्षमा मात्रै अधिकार सुम्पियो । यस घटनाले नेपाली राजनीतिको आगामी यात्रा अझै डरलाग्दो हुने प्रस्टै संकेत गरेको छ । बीपी र पुष्पलालको बाटोमा अघि बढ्ने सिंगै देशको संकल्पमा एमाओवादीको यो निर्णय तगारो बनेर आएको छ । मुलुक र जनताका लागि आजीवन संघर्ष गर्ने नेपाली राजनीतिका दुई हस्ती बीपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको मूल्यांकन हुनु स्वाभाविक हो ।
जन्मजयन्तीको अवसर पारेर नेपाली वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन आफ्नो जीवन नै दाउमा राख्ने बीपी र पुष्पलालको विचारका कारण अनुयायीहरूले दुवै नेताको योगदानलाई न्वारानदेखिको स्मरण शक्ति लगाएर सम्झिए पनि । नेतादेखि कार्यकर्तासम्मले सदैव उनीहरूले देखाएको बाटोमा हिँडने संकल्प पनि गरे । मुलुक गम्भीर संक्रमणकालमा रहेको र समस्याको निकास पाउन नसकी रहेको अवस्थामा बीपी र पुष्पलालले अघि सारेका विचारको अनुशरण गर्ने संकल्प जति स्वागतयोग्य छ, व्यवहारमा कार्यान्वयन हुन नसक्नु त्यत्तिकै दुःखद् पाटो हो । मुलुक र जनताका समस्या समाधानका लागि सदैव हिँड्न तयार भएका यी दुई महानायकको विचार अनुशरण भएको हुँदो हो त, मुलुकले अहिले यस्तो अवस्थाको सामना गर्नुपर्ने थिएन ।
राष्ट्र, राष्ट्रियतासहित समाजको प्रजातान्त्रीकरण, रूपान्तरण र समानताको विषयमा बीपी र पुष्पलालका समान धारणा थिए । ती विषयलाई नेपालका कम्युनिस्ट र कांग्रेस दुवैले आत्मसात् गर्न सकेको भए विगतमा जातीय संघीयताको नाममा मुलुकमा गृहयुद्धको पूर्वाभाष हुने थिएन । न त भविष्यमा नै यसबाट कुनै समस्या आउने थियो । तर, अहिलेसम्म ती काम हुनसकेका छैनन् । कम्युनिस्टको नाम भँजाउने एमाओवादी नेताहरू त संस्थापक नेता पुष्पलालले अवलम्बन गरेकोभन्दा ठीक विपरीत बाटो हिँडिरहेका छन् । कांग्रेस पनि प्रजातान्त्रिक समाजवादभन्दा व्यवहारमा कोसौं टाढा खुला र बजारमुखी अर्थतन्त्रमा पुगिसकेको छ ।
लोकतान्त्रिक आन्दोलनका अगुवा दलको रूपमा स्थापित नेपाली कांग्रेस र नेकपा एमालेले पनि लोकलाई देखाउनका लागि मात्रै बीपी र पुष्पलालको नाम जपेको देखिन्छ । वर्षमा एक दिन सम्झिएपछि पार्टीले अवलम्बन गरेको विचारलाई अनेक बहानामा भ्रष्टीकरण गर्नेजस्ता गम्भीर अपराधबाट मुक्ति पाइन्छ भन्ने सोच देखियो, दुवै दलका नेतृत्वमा । मुलुकको सामाजिक रूपान्तरण र समृद्धिका लागि दुवै नेताले अघि बढाएको लक्षलाई व्यवहारमा कार्यान्वयन गर्ने अठोट साँचो रूपमा आउनै सकेन । बीपीको प्रजातान्त्रिक समाजवादबाट कोसौं टाढा पुगिसकेको कांग्रेसले केन्द्रीय कार्यालयको तर्फबाट उनको सम्मान र सम्झनामा औपचारिक कार्यक्रमसमेत गरेन । एमालेले पनि पुष्पलाललाई त्यस्तै व्यवहार ग¥यो ।
पुष्पलाल स्मृति प्रतिष्ठानको नाममा खडा भएको सामाजिक संस्थाले कीर्तिपुरको चम्पादेवी पुगेर औपचारिकता निभायो । त्यसैमा एमाले नेतागणले पुष्पलाल सम्झिए । केन्द्रीय कार्यालय बल्खुमा त उनको सम्झनासमेत गरेको पाइएन । कांग्रेस र एमाले दुवैले स्वर्गवासी नेताको जीवन र योगदानबारे केन्द्रीय कार्यालयमा कार्यक्रम गर्नु खासै आवश्यकता ठानेको देखिएन, यस पटक । बीपी र पुष्पलालको स्मरण गरिरहँदा गाउँका झुपडीसम्म अधिकार पु¥याउने अभियानलाई जोकोहीले सम्झन्छन् । अधिकार सहरमा होइन, गाउँमा भन्ने उनीहरूको अठोटलाई उनले नै स्थापना गरेको दल र अन्य राजनीतिक पार्टीले कत्ति पनि अनुशरण गरे ? त्यो इतिहासले देखाइसकेको छ । बीपी र पुष्पलालले नेतृत्व गरेका पार्टीकै प्रमुख नेताले आफ्ना गलत व्यवहारमा सुधार गर्ने र साँचो अर्थमा मुलुकलाई सही निकास दिएर संक्रमणबाट मुक्ति दिलाउने उद्घोष गरेको आभाष कसैलाई हुन सकिरहेको छैन । यस अर्थमा बीपी र पुष्पलाल दुवैको साँचो अर्थमा यस पटक पनि सम्मान हुन सकेन भन्दा कसैको विमती नहोला । इतिहास पुरुषको फगत नाम जप्ने काम मात्रै भयो यस वर्ष पनि । भाषणमा उनीहरूले अघि बढाएको विचारअनुसार अघि बढिरहेको झूटो दाबी पेस गरियो ।
विभिन्न थरीका नाटक पनि मञ्चन भए । दुवै राजनेताको जन्मजयन्ती परेकाले उनीहरूको विचारलाई सदैव अनुशरण गर्ने वाचा गर्न नेता चुक्ने कुरै भएन । तथापि, दुवै दलका नेताहरूमा नेपाली राजनीतिका यी नेतालाई वर्षमा एक पटक सम्झना गरेर मात्र पुग्दैन भन्ने सामान्य हेक्कासमेत भएन । उनीहरूको सोचअनुसार मुलुक र पार्टीलाई अघि बढाउने कामतर्फ पनि खासै चासो देखाइएन । बीपी र पुष्पलालले स्थापना गरेको कांग्रेस र एमाले यस अर्थमा चुके भन्न कुनै कन्जुस्याइँ गरिरहनु पर्दैन । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको विचारलाई अनुशरण गर्ने कसम खाइरहेको बेला यही साता एउटा कम्युनिस्ट नामधारी पार्टीले कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त र विचारभन्दा ठीक विपरीतको बाटो लियो ।
एउटै कम्युनिस्ट केन्द्र बनाएर जनतालाई अधिकार दिने हौवा मच्चाएको एमाओवादीले मुलुक गम्भीर संक्रमणमा रहेको र नयाँ संविधान निर्माणको बहसमा सबैभन्दा जटिल बनेको संघीयता र अधिकारको विकेन्द्रकरणको जनचाहनालाई निस्तेज पार्दै जबर्जस्त केन्द्रीयता लाद्ने अभियानको नेतृत्व ग¥यो । तलसम्म अधिकार पु¥याउनका लागि जनयुद्ध लडेको झूटो दावा गरिरहेको विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल एक्लैलाई पार्टीको सबै अधिकार सुम्पियो, विस्तारित बैठकबाट । त्यो पनि महाधिवेशनले निर्वाचित गरेको संरचना समाप्त पारेर ।
अधिकारलाई गाउँबस्तीको झुपडीमा पु¥याउनुपर्छ भन्ने उत्कृष्ट विचारको पक्षपोषण भइरहेका र तिनै विचारका नेतृत्वकर्ता बीपी र पुष्पलालकै स्मृति दिवसको अवसर पारेर एमाओवादीले अधिकारको विकेन्द्रीकरण होइन, केन्द्रीकृत हुनुपर्छ भन्ने पश्चगामी विचारमा आफूलाई स्थापित ग¥यो । एक्काइसौं शताब्दीमा पनि एउटै व्यक्ति सर्वशक्तिमान हुन्छ र उसकै एकाधिकार हुनुपर्छ भन्ने अधिनायकवादी कार्यनीति बनायो । उसको यही मान्यताअनुसार अघि बढ्ने हो भने अब नेपालमा सिंहदरवारबाहेक कसैलाई पनि अधिकार चाँहिदैन । उसको जोर चले शीतल निवासमा पुग्ने ब्यक्तिबाहेक अरूले अधिकारको कुरा गर्नु अब अपराध हुनेछ । पार्टी विधानले सबैभन्दा शक्तिशाली बनाएको महाधिवेशनको निर्णय खारेज गरेर एक व्यक्तिमा एकाधिकार स्थापित गर्ने एमाओवादीको यो निर्णयले नेपाली कम्युनिस्ट आन्दोलनकै हुर्मत लियो । विश्व कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने योजनासहित अवलम्बन गरेको प्रचण्डपथको असली रूप यही निर्णयबाट बाहिर आएको छ ।
एमाओवादीको यही निर्णयबाट किन संविधान बनेन ? विघटित संविधानसभामा उसले किन कार्यकारी राष्ट्रपति रहने शासन प्रणालीको कुरा ग¥यो ? संघीयताको नाम भजाएर किन मारकाट मच्चाउन चाह्यो ? यी सबै कुराको प्रस्ट जवाफ पाइएको छ । साथसाथै युद्धकालदेखि शान्ति प्रक्रिया हुँदै अहिलेसम्मको उसको कथित क्रान्तिकारी, संघीयतावादी, जनहित जस्ता सबै मुखुण्डोको पनि पर्दाफास भएको छ । उसको यस निर्णयलाई संघीयता र स्थानीय निकायलाई अधिकार दिने विषयसँग दाँजेर हेरे अब कोही पनि प्रचण्डपथको भ्रमजालमा फस्ने छैनन् । पार्टीमा केन्द्रीकरण र एकाधिकारको नीति अपनाउने दल संघीयतावादी हुनै सक्दैन ।
त्यो दलले ग्रामीण जनतालाई अधिकार दिन्छ भन्ने भ्रम कसैले पनि पाल्न हुँदैन । कसैमा त्यो भ्रम छ भने केवल सुन्दर सपना मात्रै हो । यो साता नेपाली राजनीतिका यी दुई प्रवृत्ति निकै चर्चामा रहनु स्वाभाविकै हो । बीपी र पुष्पलाल, जसले गाउँ बस्तीहरूमा अधिकार पु¥याउने अभियानको नेतृत्व गरे, सिंगो जीवन तिनैका अधिकार स्थापित गर्न लागे । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका लागि जीवनका सारा सपना दाउमा राखे । त्यसैले उनीहरूको सम्झना हुनु स्वाभाविक नै हो । यी दुई महान् हस्तीलाई सदियौंसम्म नेपाली जनताले सम्झिरहनेछन् । दुई महानायक बीपी र पुष्पलालकै जन्मजयन्तीको अवसर पारेर एमाओवादीले गरेको यो निर्णय संयोग मात्रै मान्न सकिँदैन । गाउँमा अधिकार दिने उनीहरूको विचारलाई समाप्त पार्ने अभियानमा जुटेको उद्घोषका रूपमा लिन सकिन्छ । यतिबेला मुलुक नयाँ निर्वाचनको बाटोमा छ । त्यही निर्वाचनबाट नयाँ संविधान निर्माण गरी कमजोर राष्ट्रियतालाई बलियो बनाउने काम हुनुपर्छ । तर, अहिले पुष्पलालकै दल दर्जनौं चिरामा विभाजित छ । एउटा कम्युनिस्ट पार्टी एमाओवादी पुष्पलालका सबै मूल्य, मान्यता र आदर्शबाट च्यूत भई अधिनायकवादको यात्रामा छ ।
अर्काे दल एमालेले पनि पुष्पलालको आदर्शलाई दह्रोसँग समाउन सकिरहेको छैन । आन्तरिक कलहमा फसेर राष्ट्रियताको मुद्दामा कमजोर बन्न थालेको छ । बीपीको दल, कांग्रेसले पनि नाम जप्नेबाहेक सबै कुरा त्यागिसकेको छ । गिरिजाप्रसाद कोइरालाले बीपीकै विरासतमा लामो समयसम्म राज गरे । बीपीकै नाम भजाएर झन्डै दुई दशक राजनीतिको शीर्ष स्थान जमाए पनि उनकै सरकारको पालामा खुला बजार अर्थतन्त्रमा प्रवेश गरेर प्रजातान्त्रिक समाजवादको धज्जी उडाइयो । कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद यतिबेला एउटा अमूर्त चित्रकलाजस्तो भएको छ, जसले जसरी अथ्र्याए पनि हुने ।
राष्ट्रियता कमजोर हुँदा बचाउन सबै मिल्नुपर्छ भन्ने उनको विचारलाई सबै कांग्रेसजन मिलेर धुजा–धुजा पारिसकेका छन् । विश्व दुई ध्रुवमा विभाजित भएको बेला उत्तर र दक्षिणका छुट्टाछुट्टै दार्शनिक अवधारणाबीच बीपी र पुष्पलालको राष्ट्र र राष्ट्रियतालाई केन्द्रबिन्दुमा राखेर विचार, दर्शन र योगदानको प्रादुर्भाव भएको कसैले बिर्सन मिल्दैन । आज राष्ट्रियता र मुलुकको सार्वभौमसत्ता नै जोखिममा परेको बेला बीपी र पुष्पलालको विचार अझै सान्दर्भिक छ । यसलाई एमाओवादी र माओवादीबाट सिरोपर होला भन्ने कल्पना नगरी कांग्रेस र एमाले नेतृत्वले दह्रोसँग समाउन जरुरी छ । यसो हुन नसके केवल बीपी र पुष्पलालको माला जपेर मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता जोगाउन सम्भव हुँदैन ।

No comments:

Post a Comment