Saturday, July 27, 2013

घुस लिँदालिँदै समातिए थानकोटका डीएसपी

काठमाडौं, १२ साउन
महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी तेजेन्द्र पौडेल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार साँझ कलंकी चोकबाट पैसासहित पक्राउ गरेको हो । थानकोट वृत्तमै इन्चार्ज रही गत साता मात्र डीएसपीमा बढुवा भएका पौडेलले व्यापारीबाट जथाभावी असुली गर्न थालेपछि अख्तियारले एक सातादेखि विशेष निगरानी राखेको थियो ।

शुक्रबार साँझ डीएसपी पौडेल नेपाल कवाडी संघका अध्यक्ष पञ्चलाल लामासँग घुस रकम लिन कलंकी पुगेका थिए । डीएसपी पौडेलले लामासँगको बार्गेनिङ गरेको रकम जम्मा पारी अख्तियारबाट खटिएको प्रहरीसहितको विशेष टोलीले कलंकीनजिकै आउन लगाएको थियो । सोही क्रममा उनी पैसा लिन लागेपछि पक्राउ परेका हुन् ।

लामो समयदेखि थानकोटमा रहेका उनी बढुवासहित पदस्थापनसमेत भइसकेको अवस्थामा तोकिएको ठाउँमा नगई व्यापारीलाई धम्क्याएर रकम असुली गरिरहेका थिए । उनले कवाडी संघका अध्यक्ष लामासँग विगत लामो समयदेखि रकमको बार्गेनिङ गर्दै आएका थिए । डीएस्पीमा बढुवा भएपछि मध्यरातमा समेत रकम माग्न थालेपछि उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले एक सातापछि शुक्रबार साँझ घुस लिइरहेकै अवस्थामा पक्राउ गरेको हो । तीन दिनअघि मात्र पौडेलले रक्सीको नसामा मध्यरातमा फोन गरी रकम नदिए जे पनि गर्न सक्ने धम्की दिएपछि कवाडी संघले अख्तियारमा उजुरी गरेको थियो । उनको धम्की सहन नसकेपछि अख्तियार पुगेका संघका अध्यक्षले शुक्रबार पैसा दिने बताएका थिए । सोही आधारमा पैसा लिन स्कुटर चढेर तामाङ भेट्न पुगेका पौडेलले १ लाख रुपैयाँ मागेपछि अख्तियारकै परामर्शमा लामाले रकम बोकेर गएका थिए ।

चारओटा गोजी भएको ज्याकेटमा रकम लगे पनि ३५ हजार दिने क्रममै अख्तियारको टोलीले डीएसपी पौडेललाई पक्राउ गरेको हो । अख्तियारले उनलाई हिरासतमा लिएर कारबाही अघि बढाएको जनाएको छ । उपत्यका बाहिरिने कवाडी सामान बोकेका ट्रकसँग अवैध रकम उठाएको अभियोगमा संघका अध्यक्ष लामालाई समेत यसअघि पौडेलले नै पक्राउ गरी सार्वजनिक मुद्दा लगाएका थिए । आपूmले मागेको पैसा नदिनेलाई फसाउँदै आएका पौडेलविरुद्ध यसअघि दर्जनौं उजुरी परे पनि कुनै कारबाही भएको थिएन । सोही कारण लामाले यस पटक प्रहरी नेतृत्वलाई जानकारी नदिई अख्तियारमा उजुरी गरेका थिए । अवैध रकम उठाएको अभियोगमा मुद्दा चलाइएका लामा केही साताअघि मात्र छुटेका हुन् ।

उनी छुटेलगत्तै पौडेलले थानकोटबाट बाहिरिने सबै कवाडीको गाडी तोकेर रकम बार्गेनिङ गर्दै आएका थिए । व्यवसायीलाई निकै सताउने गरेपछि कवाडी संघले उनीविरुद्ध अख्तियारमा किटानी उजुरी गरेपछि विशेष टोली खटाइएको अख्तियारले बताएको छ । प्रहरी हिरासतवाट छुटेलगत्तै लामालाई दैनिक फोन गरेर डीएसपी पौडेलले रकम नदिए फसाउने धम्की दिने र अन्य व्यवसायीलाई पनि सताउने गरेको अख्तियारको भनाइ छ । घुस लिँदालिँदै पक्राउ परेका पौडेल गत ६ साउनमा प्रहरी निरीक्षक ९इन्सपेक्टर० बाट डीएस्पीमा बढुवा भएका हुन् । बढुवापछि उनलाई भरतपुर तालिम केन्द्रमा पदस्थापन गरिएको थियो । तर, पदस्थापन भएको ठाउँमा जानुअघि त्यसयता उनले व्यापारीसँग रकम असुली अभियान नै चलाएको अख्तियारको भनाइ छ । उनले १८ साउन, २०५८ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीको सेवा सुरु गरेका थिए ।

प्रहरी महानिरीक्षकको विशेष रुचिमा रहेका पौडेललाई काठमाडांैको निकै आकर्षक मानिने थानकोटमा लामो समयसम्म इन्चार्जका रूपमा राखिएको थियो । पौडेलले यसअघि पनि मागेको रकम नदिने कुनै पनि कवाडीका गाडीलाई थानकोट नाकाबाट बाहिरिन नदिने गरेका थिए । पछिल्लो पटक त कवाडीका सामान बाहिर पठाउन नै नदिने चेतावनीसहित पौडेलले संघका अन्य पदाधिकारीसँग समेत रकम मागेको अख्तियारले जनाएको छ । उनको असुली निकै बढेपछि अन्य व्यापारीले समेत अख्तियारमा उजुरी हालेका थिए ।

No comments:

Post a Comment