Saturday, August 24, 2013

वैदेशिक रोजगार र अध्यागमनका थप ३५ कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम स्वीकृति प्रकरणमा संलग्न वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका थप ३५ कर्मचारीलाई पक्राउ गरेको छ ।
नक्कली कागजातका आधारमा श्रम स्वीकृति दिएको पाइएपछि अख्तियारले शुक्रबार ती कर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वैदेशिक रोजगार विभागका शाखा अधिकृत र अध्यागमनका वरिष्ठ अध्यागमन सहायकसहितका कर्मचारी छन् । वैदेशिक रोजगारका लागि जाने व्यक्तिलाई बदनियतपूर्वक अन्तिम श्रम स्वीकृति दिएको भन्दै अख्तियारले शुक्रबार वैदेशिक रोजगार विभागका शाखा अधिकृत अजिता शर्मा, निर्मला पौडेल, मञ्जु शर्मा सुवेदी, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कु“वर, कम्प्युटर अधिकृत हीराध्वज कार्की, नासुहरू शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्र कुमार अधिकारी, खरिदारहरू माधव भट्टराई, केशव बन्जारा, भाषा अनुवादक रज उल्लाह, कम्प्युटर अपरेटरहरू सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा, कार्यालय सहयोगी यशोदा थापा मगरसहित १७ जनालाई पक्राउ गरेको छ । यस्तै, सो कार्यमा संलग्न देखिएका अध्यागमन विभागका वरिष्ठ अध्यागमन सहायकहरू सञ्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी, चिरञ्जीवी अधिकारी, शाखा अधिकृतहरू भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर विक, रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई, लेखा अधिकृत बाबुहरि पन्थी, नासुहरू रामकुमार ओझा, जयबहादुर सिंह, लीलारमण पोखरेलसहित १८ जनालाई आयोगले पक्राउ गरी हिरासतमा राखेको हो । प्रारम्भिक अनुसन्धानमै दोषी देखिएकाले थप अनुसन्धान गर्न हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।
वैदेशिक रोजगार विभागका कर्माचारीले वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजत प्राप्त कम्पनीले पेस गरेको झूटा व्यहोराका कागजातलाई गैरकानुनी लाभ लिई गलत विवरणका कागजातलाई आधार बनाई कम्प्युटर प्रवृष्टि गर्ने, भाषा अनुवाद गर्ने, ठीक छ भनी फाइल पेस गर्ने र स्वीकृत गर्ने काम गरी रोजगारीमा जाने ७७ जना नेपाली नागरिकलाई इजाजत दिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ । त्यसमध्ये ३४ जना भने यसअघि नै रोजगारीमा गइसकेको जनाइएको छ । साथै, झूटा विवरणमा श्रम स्वीकृति दिने काम कारबाहीको सक्कल फाइल नै कार्यालयबाट बेपत्ता पारेको पनि अनुसन्धानबाट देखिएपछि सो कार्यमा संलग्नलाई आयोगले कारबाही अघि बढाएको हो ।
गत मंगलबार सोही अभियोगमा विभागका निर्देशक रमेशप्रसाद मैनालीसहित शाखा अधिकृत दीपकप्रसाद खतिवडा, नासु चन्द्रहरि लुइँटेल, कम्प्युटर अपरेटरद्वय पप्पुकुमार शाह र रामप्रसाद पोखरेल तथा अनुवादक बैतुल्ला मक्सुदलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइसकेको छ । उनीहरूलाई थप १५ दिन अनुसन्धानका लागि म्याद थप गरिएको जनाइएको छ ।
यसैगरी, अख्तियारको विशेष टोलीले वैदेशिक रोजगारीमा जानेसँग घूस लिएको अभियोगमा पक्राउ परेका अध्यागमनका अधिकृतद्वय देवर्षि सापकोटा र विश्वराज खरेल, नासुद्वय प्रदीपप्रसाद लामिछाने र विश्वराज खरेल तथा  कार्यालय सहायक जयनारायण नापितलाई १० दिन म्याद थप गरिएको छ । अख्तियारको हिरासतमा ठाउँ नभएपछि शुक्रबार पक्राउ परेका अध्यागमनका कर्मचारीलाइ नेपाल प्रहरीको १ नम्बर गण नक्साल र विभागका कर्मचारीलाई २ नम्बर गण महाराजगन्ज पठाइएको अख्तियारले जनाएको छ । वैदेशिक रोजगारबाट फर्किएका उपेन्द्र साहनी र वीरेन्द्र मण्डलबाट जनही १५ हजार रुपैयाँ घूस लिएको भिडियो टेपका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो ।
यादवसहितलाई १० दिन म्याद थप
विशेष अदालतले ट्रान्सफर्मर खरिदमा घोटाला गरी भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० कर्मचारीलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियारलाई अनुमति दिएको छ । गत मंगलबार पक्राउ परेका उनीहरूलाइ विशेष अदालतले शुक्रबार ४ भदौबाट लागू हुने गरी १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । सोही दिन पक्राउ परेका अध्यागमन कार्यालयका कर्मचारीलाई पनि १० दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न स्वीकृति दिएको छ । वैदेशिक रोजगार विभागका निर्देशकसहित मंगलबार नै पक्राउ परेकालाई भने १५ दिनको म्याद दिइएको विशेष अदालतले जनाएको छ ।

No comments:

Post a Comment