Saturday, August 17, 2013

घुस रकमसहित समातिए बिमानस्थल भन्सारका दुई अधिकृत

काठमाडौं, १ भदौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा महिनाभर अवैध रूपमा उठाइएको रकम शुक्रबार बेलुकी हाकिमदेखि पियनसम्मका सबैले दामासाही रूपमा बाँडे । रकम बाँडफाँटपछि निजी साधन नहुने सार्वजनिक सवारी चढेर घरतर्फ लागे । कार्यालयले उपलब्ध गराइएको सवारीसाधन हुने आफ्नो भागमा परेको रुपैयाँ लिएर कार्यालयबाट निस्किए ।
अघिल्ला महिनाजस्तै मोटो रकम हात पारेर भाग्यमानी कर्मचारी बेलैमा घर पुगे । तर, दुई अधिकृत भने रकम बाँडफाँटको सिकार बने । बेलुकी ५ बजेर ४० मिनेटको समयमा सरकारी गाडीभित्रै दामासाही भागमा परेको अवैध रकमसहित उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।
घूस बाँडफाँटको रकम घर पु¥याउन नपाई पक्राउ परेर हिरासतको बासमा पुग्नेमा शाखा अधिकृतद्वय मिनर्भा अधिकारी र शान्तराज रेग्मी रहेका छन् । उनीहरूलाई विशेष सुराकीका आधारमा अख्तियारको टोलीले बाँडफाँट गरेको रकमसहित सरकारी सवारीसाधनबाटै पक्राउ गरेको हो । अख्तियारले उनीहरूलाई घूस लिएर बाँडेको रकमसहित पक्राउ गरी हिरासतमा पठाएको छ ।
‘मुलुकको सबैभन्दा प्रभावकारी मानिने सो कार्यालयले भन्सार छुटाउने व्यापारी र सम्बन्धित मालधनीले बुझाएको घूस दामासाहीले बाँड्दा रहेछन्,’ कर्मचारी पक्राउपछि भन्सार कार्यालयभित्र हुने अनियमितता उल्लेख गर्दै अख्तियारका एक उच्च अधिकारीले राजधानीसँग भने, ‘पक्राउ परेका कर्मचारीको प्रारम्भिक बयानबाट अनियमिततामा माथिल्लै तहसम्मका कर्मचारीको संलग्नता देखिएको छ ।’
छापामा सहभागी सदस्यका अनुसार पक्राउ परेका दुवैले प्रमुख भन्सार अधिकृतसहित सबैले दामासहीले बाँडेको भन्दै आफूहरूलाई मात्र किन समातेको भन्दै आक्रोश पोखेका थिए । विमानस्थल भन्सार कार्यालयमा हाल किशोरजंग कार्की प्रमुख छन् । विमानस्थल स्रोतका अनुसार शुक्रबार साउन महिनाभर उठेको झन्डै ५४ लाख रुपैयाँ बाँडफाँट भएको थियो । सो रकम भन्सार छली गर्ने व्यापारी र कम मूल्यांकन गरी टेबुल मुनिबाट रकम लिई उठाइएको हो ।
‘हामीभन्दा २० गुणा ज्यादा लिनेलाई छाडेर किन हामीलाई मात्र बलिको बोका बनाउने काम भयो भन्दै उनीहरू कराइरहेका थिए, उनीहरूले विमानस्थल भन्सार प्रमुखको नाम पनि पटकपटक लिएका थिए,’ छापामा सहभागी ती सुरक्षाकर्मीले राजधानीसँग भने । शुक्रबार पनि ६ बजेसम्म प्रमुख कार्कीसहित अन्य व्यक्तिसमेत हुने भन्दै अख्तियार टोली केही ढिला पुग्दा अन्य अधिकारी भने दामासाहीले बाँडिएको रकम लिई घर जान सफल भएका हुन् ।
अख्तियारले भने हालसम्म औपचारिक रूपमा कुनकुन तहका कर्मचारीले अवैध रकम बाँडफाँट गरेका हुन् भन्ने यकिन भइनसकेको बताएको छ ।
अघिल्ला महिनाको बाँडफाँटमा चित्त नबुझैका कर्मचारीकै सुराकीका आधारमा शुक्रबार भन्सार कार्यालयमा छापा मार्न पुगेको अख्तियारको प्रहरीसहितको टोलीले दुई अधिकृतको खल्ती र गाडीमा लुकाएर राखेको अवस्थामा नगद रकम बरामद गरी नियन्त्रणमा लिएको हो । अख्तियार टोलीले उनीहरूलाई ‘शरिर खानतलासी गर्दा अधिकारीको ब्यागबाट २२ हजार ५ सय र खुट्टाले थिचेर लुकाएको अवस्थामा ३९ हजारसहित ६१ हजार ५ सय र रेग्मीको खल्तीबाट ७९ हजार ५ सय रुपैयाँ बरामद गरिएकोे हो,’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले राजधानीसँग भने ।
प्रसाद घिमिरेका अनुसार उनीहरूले प्रयोग गरेको मोबाइलसमेत बरामद गरी दुवैलाई अख्तियारको हिरासतमा राखिएको छ ।
बरामद भएको रकम पनि महिनाभरि उठाएको रकम बाँडफाँटबाट प्राप्त भएको अख्तियारले दाबी गरेको छ । घर जान लागेका कर्मचारीको खल्तीमा यति धेरै रकम हुने कुरै हँुदैन, फेरि हाम्रो अनुसन्धानले पनि रकम शुक्रबार ५ बजेको हाराहारीमै बाँडफाँट भएको देखाएको छ,’ प्रवक्ता
सापकोटा भन्छन् ।
यसअघि पनि विमानस्थल भन्सार कार्यालयमा अनियमितता हुने गरेको प्रशस्त उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ ।
शुक्रबार छापा मार्दा अख्तियारले विमानस्थल प्रहरीलाई समेत कुनै जानकारी दिएको थिएन । सूचना लिक हुने आशंकामा अख्तियारले सोझै छापा
मारेको हो ।
‘अख्तियारको टोली विमानस्थल भन्सार आएको जानकारी पाएँ, तर मेरो भेट भएन, हामीलाई सहयोग पनि मागिएन,’ विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोपाल भण्डारीले राजधानीसँग भने, ‘अख्तियारको काममा हामीले चासो राख्ने कुरा पनि भएन ।’

No comments:

Post a Comment