Friday, November 6, 2015

मन्त्रिपरिषद् विस्तार, तिन उपप्रधानमन्त्रीसहित सात मन्त्री थपिए

काठमाडौं, १९ कात्तिक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार तिन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्ति गरी प्रधानमन्त्री ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिई बिहीबारबाटै पदभार ग्रहण गरेका छन् । एमालेबाट उपप्रधानमन्त्रीमा उपाध्यक्ष भीमबहादुर रावलसहित पाँच मन्त्री थपिएका छन् भने नेकपा मालेका महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । तेस्रो चरणको विस्तारस“गै एमालेबाट आठ, एमाओवादीबाट सात तथा अन्य पार्टीसहित मन्त्रिपरिषद्मा मन्त्रीहरूको संख्या २८ र राज्यमन्त्रीको संख्या दुई पुगेको छ ।
एमालेबाट थपिएका मन्त्रीहरूमध्ये उपप्रधानमन्त्री रावललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, अर्थमन्त्रीमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सूचना प्रविधिमन्त्रीमा शेरधन राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा आनन्दप्रसाद पोखरेल नियुक्त भएका छन् । मन्त्रीमा शपथ लिएकी शान्ता मानवीलाई भने कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । यसअघि नै शपथ लिएका सत्यनारायण मण्डललाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । मानवीलाई भने श्रम मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । श्रममन्त्रीमा सिफारिस गरिएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री बन्न अस्वीकार गरेकी छन् । उनले आफू दुई पटक मन्त्री बनिसकेको भन्दै नयाँ अनुहारलाई मन्त्री बनाउन भन्दै अस्वीकार गरेकी हुन् ।
त्यस्तै, उपप्रधानमन्त्रीमा नियुक्त माले महासचिव मैनालीलाई महिला बालबालिका तथा समाज कल्याण तथा जनमोर्चा अध्यक्ष केसीलाई गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उपप्रधानमन्त्री नियुक्त रावल एमालेका प्रभावशाली नेता हुन् ।
अछामको भागेश्वर गाविस–१ अर्थात् हालको साँफेबगर नगरपालिका–९ मा जन्मिएका रावल २०५१ सालमा पर्यटन राज्यमन्त्री बनेका थिए भने उनले २०५६ सालमा पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनीसँग कुशलतापूर्वक गृह मन्त्रालय सम्हालेको अनुभवसमेत छ । गत संविधानसभा निर्वाचनमा उनी अछाम–१ विजयी रावल राजनीतिक शास्त्रमा स्नातकोत्तरमा त्रिभुवन विश्वविद्यालय टपर हुन् । उनी हाल विद्यावारिधि (पीएचडी) गर्ने अन्तिम तयारीमा छन् ।
यस्तै, झापा आन्दोलनताका प्रधानमन्त्री ओलीका समकालीन तथा तत्कालीन मालेकै महासचिव मैनाली उपप्रधानमन्त्री बनेका छन् । कुनैबेला मैनाली महासचिव रह“दा ओली सोही कमिटीका सदस्य थिए । तिन पटक सभासद्मा निर्वाचित मैनाली २०५१ सालमा तत्कालीन मनमोहन अधिकारी नेतृत्वको नौमहिने सरकारमा पहिलो पटक वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए ।
त्यस्तै, अर्का उपप्रधानमन्त्री केसीले नेतृत्व गरेको राजमो पहिलो पटक सरकारमा सहभागी भएको छ । बहुदलीय व्यवस्थापछि सरकारलाई समर्थन गरे पनि पार्टी नीतिका कारण विपक्षीमा रह“दै आएको राजमो पहिलो पटक सरकारमा सहभागी भएको हो । वरिष्ठ वामपन्थी नेता केसी प्रधानमन्त्री ओलीसहित समकालीन नेताहरूले पनि सम्मान गर्ने व्यक्तित्व भएका नेता हुन् । उनी २०५१ सालयता निरन्तर बागलुङबाट सभासद् छन् ।
त्यस्तै, अर्थमन्त्री पौडेल यसअघि रक्षामन्त्री भएका थिए । पहिलो पटक अर्थ मन्त्रालय सम्हालेका पौडेल एमालेमा दोस्रो तहभित्र निकै प्रभावशाली नेता हुन् । उनी पछिल्लो संविधानसभा निर्वाचनमा रूपन्देही–4 बाट एमाओवादीका तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई पराजित गर्दै निर्वाचित भएका थिए । काममा लगनशील र समन्वयमा निकै अग्रभागमा रहने पौडेल सरल र मृदुभाषी नेता हुन् । जनताको पीरमर्का बुझ्ने नेताका रूपमा पनि पौडेललाई लिने गरिएको छ । जुन जिम्मेवारी दिए पनि सहज रूपमा निर्वाह गर्दै राष्ट्रको विकासमा लगाउन सक्ने क्षमता पौडेलमा रहेको छ । त्यस्तै, सूचना प्रविधिमन्त्री राई पछिल्लो संविधानसभामा भोजपुर–१ बाट निर्वाचित भएका थिए । संसद्मा सुशासन तथा अनुगमन समितिका सभापति रहेका राई नया“ अनुहारका रूपमा मन्त्रीमा नियुक्त भएका छन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोखरेल दोलखा–२ बाट निर्वाचित सभासद् हुन् । दोलखा एमालेको अग्र भागमा रहेका नेता पोखरेल २०५६ तथा २०७० सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । दोलखाली जनताबिच निकै लोकप्रिय रहेका नेता पोखरेलले कृषि विज्ञानमा बीएस्सी गरेका छन् । कानुनमा स्नातक तथा ग्रामीण विकासमा स्नातकोत्तर पोखरेल कृषि, जलस्रोत र पर्यटन क्षेत्रमा राम्रो दखल राख्ने प्रतिभाशाली नेता हुन् । केन्द्रीय कमिटीमा नरहे पनि उनी पार्टीभित्र वैचारिक रूपमा स्पष्ट र अध्ययनशील नेताका रूपमा परिचित थिए । उनी पनि पहिलो पटक मन्त्री बनेका हुन् । त्यस्तै, विना विभागीय मन्त्री मानवी लामो समय महिला आन्दोलनमा व्यतीत गरेकी संघर्षशील नेतृ हुन् । अर्घखा“चीकी मानवी दलित मुक्ति आन्दोलनको नेतृत्वमा लामो समय काम गरेर अनुभवले खारिएकी पुराना नेतृभित्र पर्छिन् ।
प्रधानमन्त्री ओलीले यसैगरी विनाविभागीय मन्त्री रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्का विनाविभागीय मन्त्री विश्वेन्द्र पासवानलाई विज्ञान तथा बातावरण, रामकुमार सुब्बालाई भूमि सुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई स्वास्थ्य तथा जनसंख्या र मेघराज नेपाली निषादलाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री ओलीले राप्रपा नेपाल, राप्रपा तथा अन्य साना दलको तर्फबाट पनि सहभागी गराएर छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् । मन्त्रिपरिषद् विस्तारअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालस“ग परामर्श गरेका थिए । स्थायी समितिले नेताहरूस“गको परामर्शका आधारमा मन्त्री नियुक्त गर्ने निर्णयअनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

No comments:

Post a Comment