Friday, November 6, 2015

आमा राष्ट्रपति बन्दा छोरी दुःखी

धेरैको चासो छ, नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने चामत्कारिक नेता मदनकुमार भण्डारीका छोरीहरू के गरिरहेका होलान् ? अझ मदनपत्नी विद्यादेवी भण्डारी देशको सर्वाेच्च तह राष्ट्रपतिमा निर्वाचित भई अर्काे इतिहास रचेका बेला यो जिज्ञासा झनै बढेको छ ।

विश्व राजनीतिक इतिहासमा र भारत, नेपालको राजनीतिमा पनि प्रायः विशिष्ट, लोकप्रिय र चर्चित नेताका सन्तान राजनीतिमा सक्रिय रहँदै आएका छन् । मदन भण्डारी, जो नेपाली कम्युनिस्ट आन्दोलनका नेता मात्र थिएनन्, नेपाली भूगोल र चेतना सुहाउँदो जनताको बहुदलीय जनवादका प्रणेता पनि थिए, उनका सन्तानबारे जिज्ञासा रहनु अन्यथा पनि होइन । के गर्दै छन् त मदन भण्डारीका छोरीहरू ? ‘म अध्ययन र सामाजिक कार्यमा क्रियाशील छु’, जेठी छोरी उषाकिरण भण्डारी भन्छिन्, ‘बहिनी (निशाकुसुम) भर्खरै भारतबाट एमबीबीएस सकेर आएकी छन्, सायद चिकित्सा क्षेत्रमै काम गर्लिन् ।’ उषा केही वर्षअघि भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेर फर्किएकी हुन् । पत्रकारिता र आमसञ्चारकी विद्यार्थीसमेत रहेकी उषाले आफ्नो स्वभाव पत्रकारिता गर्ने नभएको महसुस गरिन् र राजनीति शास्त्र पढिन् । ‘तर, राजनीति पनि मेरो रुचि होइन रहेछ,’ उषा भन्छिन्, ‘मेरो स्वभाव धेरैसँग घुलमिल हुन सक्ने खालको छैन ।’
उनले राजनीति गर्ने आफ्नो सोच नभएको पनि प्रस्ट पारिन् । पारिवारिक रूपमा राजनीतिक परिवार भएका कारण राजनीतिप्रति रुचि र चासो हुनु स्वाभाविक भएको बताउँदै उषाले सक्रिय राजनीति भने नगर्ने खुलाइन् । बरु, समाज सेवा र अध्ययनमा आफ्नो रुचि बढिरहेको बताउँछिन् उनी । उषा अहिले श्रमिकसम्बद्ध संघ÷संस्थामा क्रियाशील छन् । तल्लो वर्ग मानिने मजदुर वर्गको हित नहुन्जेल देशको विकास सम्भव नहुने उनको बुझाइ छ । ‘केही समय श्रमिकबारे अध्ययन गर्छु, उनीहरूका समस्या र ती समस्या निराकरणका विषयमा पहल गर्छु,’ उनी भन्छिन् । आफ्नी आमाको इच्छा पनि छोरीहरूले जे काम गर्न चाहन्छन्, त्यसमा अब्बल होऊन् भन्ने नै रहेको उषाको भनाइ छ । ‘हामीप्रति ममीको कुनै प्रकारको आग्रह छैन,’ उषा भन्छिन्, ‘तर, जे गरे पनि नेपालभित्रै गरौं भन्ने उहाँको भनाइ छ ।’
लोकप्रिय नेताका सन्तानले राज्यबाट फाइदा लिइरहेका बेला बहालवाला राष्ट्रपतिका छोरीहरूचाहिँ के गर्लान् ? ‘यस्तो गर्नुपर्छ भनेर हामीले जानेकै छैनौं,’ उषा भन्छिन्, ‘हामीमा आत्मविश्वास छ, आफैं केही गर्न र बाँच्न सक्छौं ।’ आफ्ना बुबाआमाले जीवनभर समय, श्रम र पसिना लगानी गरेर आर्जन गरेको प्रतिष्ठालाई कायम राख्न आफूहरू निकै सचेत रहेको उनी बताउँछिन् । आफूलाई जन्म दिने आमा राष्ट्रपतिमा निर्वाचित भएपछि उनलाई खुसी नलाग्ने कुरै भएन । तर, उनी दुःखी पनि बनिन्, कारण आमाको सक्रिय राजनीतिक जीवन समाप्त भएको छ । संविधानले बाँधेको सीमाभित्र मात्र रहनुपर्ने बाध्यता छ, राष्ट्रपतिलाई । आफूखुसी हिँडडुल गर्न र अभिव्यक्ति दिन पाउन्नन् राष्ट्रपतिले । एक प्रकारले पदमा रहुन्जेल परिवारका सदस्यसँगको सामीप्यमा पनि अवरोध हुन्छ नै । ‘तर पनि खुसी छौं, ममी र त्यसमा पनि एक सबल महिलाले राष्ट्रप्रमुखको जिम्मेवारी पाउनुभएको छ,’ उषा भन्छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी निकै संवेदनशील, विवेकी र व्यावहारिक भएको उषाको भनाइ छ । घरकी असल र कुशल अभिभावक भएकाले राष्ट्रको अभिभावकका रूपमा पनि उनको भूमिका त्यस्तै हुने विश्वास छ उषालाई । ‘ममी सानै हुँदा हजुरबुबाको निधन भएकाले घरकी जेठी छोरीका रूपमा हजुरआमापछिको जिम्मेवारी ममीकै काँधमा आएको थियो,’ उषा भन्छिन्, ‘विवाहपछि पनि बुबा भूमिगत राजनीतिमा सक्रिय भएकाले ममीले नै घरव्यवहार हेर्नुपथ्र्यो ।’
आफ्ना कुरा प्रस्टसँग राख्ने स्वभाव आमामा रहेको उनी बताउँछिन् । ‘ढाँट्न, छल्न, कुरा बनाएर बोल्न ममीलाई आउँदैन,’ उनी भन्छिन्, ‘अन्याय र अत्याचार भएको सहन सक्नुहुन्न ।’ उषाका अनुसार आवश्यकताभन्दा बढी नबोल्ने, आफ्नो दुःख अरूलाई नभन्ने र आइपरेको काम जिम्मेवारीपूर्वक सम्पन्न गर्ने विद्याका स्वभाव हुन् ।
सानै छँदा गाउँघरमा गरिब र कामदारलाई हेला गरेको, हेपेको र गाली गरेको देखेपछि विद्या भण्डारीमा विद्रोह जन्मिएको उनले आमाबाट सुनेकी हुन् । विद्याका काका काठमाडौंमा पढेर गाउँ फर्किएपछि काकाबाट कम्युनिस्टबारे जान्नेसुन्ने अवसर पाएपछि उनी कम्युनिस्टतर्फ आकर्षित भएकी हुन् रे । ‘पछि बुझ्ने भएपछि पार्टीका सदस्य, नेताहरूसँगको सरसंगत र अध्ययनले परिपक्व बनाएको हो,’ उषाले भनिन्, ‘पछि त पार्टीको जिम्मेवार कार्यकर्ता नै बन्नुभयो ।’
मदन भण्डारीसँग भेट भएपछि विद्यामा अझ बढी सक्रियता रह्यो । भूमिगत कार्यकर्ता, नेतासँगको सामीप्य र आफ्नै श्रीमान्लाई राजनीतिमा सहयोग गर्नुपर्ने बाध्यता अनि पारिवारिक व्यवहारको संयोजन निकै चुनौतीपूर्ण थियो विद्याका लागि । ‘त्यसलाई पनि कुशतापूर्वक समाधान गर्नुभयो ममीले, उषाको भनाइ छ, ममीको सबैभन्दा ठुलो शक्ति नै धैर्य र आत्मविश्वास हो ।’ आफ्नी आमा उत्तिकै विवेकी पनि भएको उषा बताउँछिन् ।
राष्ट्रको अभिभावकको भूमिकामा रहँदा पनि कहिलेकाहीँ विवेकको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तो बेलाका लागि पनि उनमा क्षमता भएको उषाको बुझाइ छ । ‘उहाँको भूमिका संविधानले नै तोकिदिएको छ । यद्यपि, कतिपय अवस्थामा विवेकको प्रयोग गर्नुपर्ने हुन सक्छ,’ उनी भन्छिन्, ‘तर, यस्तो बेलामा विज्ञ र सल्लाहकारको उचित र आवश्यक सल्लाह लिनुहुनेछ भन्ने लाग्छ ।’
ममीको अघोषित सल्लाहकारका रूपमा उनको भूमिकाबारे जिज्ञासामा भनिन्, ‘आवश्यकताअनुसार र उहाँ (राष्ट्रपति) ले चाहेका बखत मैले जानेबुझेसम्म सहयोग गर्नेछु ।’ धेरैजसो नेतृत्व खराब सल्लाहकारका कारण असफल र आलोचित बनेका सम्झँदै उषाले आफ्नी आमालाई निकै सोचविचार गरेर मात्र सल्लाहकार नियुक्त गर्न सुझाव दिइन् । ‘सल्लाहकार असल र विज्ञ भएन भने नेतृत्व स्वतः असफल हुन्छ,’ उनी भन्छिन्, ‘हरेक क्षेत्रका सल्लाहकार छनोट गर्दा होसियार बन्नुपर्ने हुन्छ ।’ राष्ट्रको अभिभावकीय भूमिकामा रहिसकेपछि व्यक्तिगत, पार्टीगत र अन्य प्रकारका स्वार्थहरूबाट माथि उठ्नुपर्ने हुँदा राष्ट्रप्रमुखका रूपमा आफ्नी आमाले निर्वाह गर्ने भूमिका विवादरहित हुने विश्वास उनले व्यक्त गरेकी छन् ।
जिम्मेवारीमा पुगेपछि धेरैले धेरैथरीका आलोचना गर्ने र असफल बनाउने प्रयत्न गर्ने हुँदा अत्यन्तै सचेततापूर्वक काम गर्नुपर्ने सल्लाह छ उषाको । केही समयअघि आमा मन्त्री बन्दा हजुरआमाको विषयलाई लिएर मिडियाले समेत नियोजित रुपमा बदनाम गर्ने प्रयत्न गरेको गुनासो गर्छिन् उनी । ‘हजुरआमा समाजसेवी हुनुहुन्छ, उहाँ अझै क्रियाशील जीवन बिताइरहनुभएको छ’, उनी भन्छिन्, ‘ममी जब मन्त्री बन्नुभयो, तोडमोडपूर्ण समाचार आयो । यस्ता कुराहरूप्रति निकै सचेत बन्नुपर्नेछ ।’
२२ वर्षअघि जननेता मदन भण्डारीको सवारी दुर्घटनामा परी भएको मृत्यु अझै रहस्यमय छ । नेकपा एमालेले आफ्ना नेताको हत्या गरिएको दाबी गर्दै आएको छ । तर, पटकपटक सत्तामा पुगे पनि उक्त घटनाबारे छानबिन गर्ने गहन रुचि भने देखाएको छैन । यसपटक संयोग नै भन्नुपर्छ, तात्कालीन मदन–आश्रितको दुर्घटनाबारे छानबिन गर्न गठित समितिका संयोजक केपी शर्मा ओली प्रधानमन्त्री र मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएका छन् । अब त पक्कै यथार्थ पत्ता लाग्नेछ भन्ने धेरैको आशा छ । ‘अवश्य पनि यस विषयमा काम हुन्छ भन्ने विश्वास छ,’ उषा भन्छिन्, ‘अहिले अत्यन्तै जटिल र संक्रमणका बेलामा यस्तो संयोग परेको छ तर यस विषयमा केही प्रयास हुन्छ भन्ने लागेको छ ।’

राजधानीकर्मी घनेन्द्र ओझाले तयार पारेको सामग्री २०७२ कात्तिक २१ गते प्रकाशित भएको

No comments:

Post a Comment