Friday, November 6, 2015

नवभारत टाइम्सले भन्यो, भारतीय प्रधानमन्त्री थर्काउने ओली पहिलो नेपाली प्रधानमन्त्री

काठमाडौं, १८ कात्तिक

भारतीय संस्थापन निकट मानिने पत्रिका नवभारत टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्रीलाई थर्काउने नेपालका पहिलो प्रधानमन्त्रीको रूपमा चित्रित गरेको छ । नेपाल–भारतबिचको अमूल्य सम्बन्ध जोगाउनै पर्ने वकालत गर्दै नवभारत टाइम्सले सम्पादकीयमार्फत ओलीलाई भारतीय संस्थापनसमक्ष कडा रूपमा प्रस्तुत हुने नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा चित्रित गरेको हो ।
सो पत्रिकाले प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण नेपालले पहिलो पटक भारतभन्दा अर्काे मुलुकबाट इन्धन आपूर्ति गरेको किटानीसमेत गरेको छ । ‘आफ्नो प्यारो छिमेकी नेपालसित हाम्रो सम्बन्ध कहिल्यै यति खराब हुनेछ भन्ने कल्पना दुवै देशका जनताले सायदै गरेका थिए होला । सोमबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक किसिमले चेतावनी नै दिए कि, नेपालको आन्तरिक मामलामा भारतले दक्खल नगरोस् । उनले नेपालको तराई क्षेत्रमा भारतले हिंसा भड्काएको आरोपसमेत लगाए,’ सम्पादकीयमा सो पत्रिकाले भनेको छ, ‘भारतका लागि यस्तो भाषाको प्रयोग गर्ने हिम्मत आजसम्म कुनै नेपाली प्रधानमन्त्रीले गरेका थिएनन् । यति मात्र होइन, नेपालले पहिलो पटक चीनबाट तेल ल्याउन सुरु पनि ग¥यो । जबकि अहिलेसम्म भारतबाट मात्रै त्यहाँ तेल जान्थ्यो ।’
सो पत्रिकाले नेपाललाई लिएर भारत सरकार कुनै अतिरञ्जनताको सिकार त भएको छैन भन्ने प्रश्न पनि गरेको छ । ‘लाग्छ, भारतलाई आफ्नो सबैभन्दा नजिकको देश सम्झिने नेपालभित्र यसलाई लिएर भयंकर असमझदारी उत्पन्न भएको छ । यस्तो किन भयो ? यो हाम्रो विदेश नीतिका लागि ठुलो सवाल हुनुपर्छ । कतै हामी नेपाललाई लिएर कुनै अतिरञ्जनाको सिकार त भइरहेका छैनौं ?’ सम्पादकीयमा भनिएको छ ।
नेपालको नयाँ संविधानलाई लिएर भारतीय मूलका मधेसी समुदाय पछिल्लो डेढ महिनादेखि आन्दोलनमा उत्रिरहेका र गत सोमबार आन्दोलनकारी र प्रहरीको झडपमा एक भारतीयको मृत्यु भएको उल्लेख गर्दै पत्रिकाले त्यसको केही घन्टामै नेपाली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई कडा जवाफ दिएको बताएको छ ।
दुई देशका प्रधानमन्त्रीबिचको वार्ताले सम्बन्ध सुध्रियो कि थप बिग्रियो भन्ने चासो दुवै देशका जनतामा परेको पनि सो पत्रिकाले जनाएको छ । ‘दुई देशका प्रधानमन्त्रीबिच कुराकानी भएपछि स्थिति सुध्रियो कि बिग्रियो भन्ने प्रस्ट भएको छैन ।
अघिल्लो वर्ष नरेन्द्र मोदी नेपालको भ्रमणमा जाँदा दुई देशबिच सम्बन्धको नयाँ सिलसिला सुरु हुन लागेको आभास मिलेको थियो,’ पत्रिकाले भनेको छ । उसले पछिल्लो समय भारतले गरेको व्यवहारबाट नेपालीको मनमा भारतविरोधी भावना जागेको टिप्पणी पनि गरेको छ । ‘नेपालमा विनाशकारी भूकम्प आउँदा भारतले जिम्मेवार छिमेकी भएर राहत कार्य सुरु ग¥यो । तर, भारतीय मिडियाले सो राहतलाई जसरी कभरेज गरे, त्यो नेपालीहरूलाई मन परेन । देश–विदेशमा बसेका नेपालीहरूमा भारतीय मिडियाको यस्तो हर्कतप्रति कडा प्रतिक्रिया उब्जियो,’ सम्पादकीयमा भनिएको छ । संविधानको विषयमा भारतले गरेको टिप्पणी उचित नभएको पनि उसको भनाइ छ ।
‘भूकम्पपछि संविधानको विषय आयो । मधेसीसित जोडिएका विषयमा भारले आफ्नो अडान व्यक्त ग¥यो । यसको आशय आफ्नो मित्र र छिमेकीलाई सुझाव दिनु थियो तर नेपालले यसलाई आफ्नो आन्तरिक मामलामा हस्तक्षेपका रूपमा लियो,’ पत्रिकाले भनेको छ, ‘अहिले नेपालमा आमधारणा बनिरहेको छ कि, भारत सरकार पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुहरूको आपूर्तिमा रोक लगाएर नेपाललाई घुँडा टेकाउन चाहन्छ ।’ पत्रिकाले बिहार विधान सभाको चुनाव जित्न नाकाबन्दी गरेको आशंका गर्दै विदेश नीति राजनीतिक असर हुन नहुनेमा जोड दिएको छ । ‘सम्भव छ, बिहार विधान सभा चुनावलाई मध्यनजर गरेर केन्द्र सरकार मधेसीसित अत्यन्त नजिक देखिन चाहन्छ । सबैलाई थाहा छ कि, मधेसी र बिहारीबिच रोटी–बेटीको सम्बन्ध छ । तर, हामीले आफ्नो विदेश नीतिमा राजनीतिको तत्कालीन असर पर्न दिनुहुँदैन । नेपालसित हाम्रो सम्बन्ध अमूल्य छ । कुनै पनि मूल्यमा हामीले यसलाई जोगाएर राख्नुपर्छ,’ नवभारत टाइम्सको सम्पादकीयमा भनिएको छ ।

No comments:

Post a Comment