Friday, November 6, 2015

यस्तो छ नाकाबन्दी सामनाको योजना

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकले गरेको नाकाबन्दी युद्धभन्दा पनि अमानवीय रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको टोलीसँग शुक्रबार कुराकानी गर्दै प्रधानमन्त्रीले सो भनाइ राखेका हुन् ।
‘दुई पक्षबिच युद्ध हुँदा पनि जित्नेले हार्नेलाई जेलमा खाना खुवाएर राख्ने चलन हुन्छ । यो शास्त्रको नियम हो,’ प्रधानमन्त्रीले भने, ‘तर, अहिले हामीलाई छिमेकीले नै घाँटी अँठ्याउने काम गरेका छन् ।’ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतको नाम नलिई छिमेकीले अघोषित नाकाबन्दी गर्दा नेपालीको जनजीवन निकै कष्टकर भएको प्रस्ट पारे ।
नेपालीको चुलो बल्न छाडेको भन्दै प्रधानमन्त्री ओलीले छिमेकीको अघोषित नाकाबन्दीले शिक्षा क्षेत्र तहसनहस भएको बताए । असल छिमेकीका कारण औषधिको समेत अभाव हुँदै गएकोमा उनले चिन्ता जनाए । मधेस आन्दोलनका कारण समृद्धि र सामाजिक विकास ओझेल परेको दृष्टान्त प्रस्तुत गर्दै प्रधानमन्त्रीले भने, ‘पछाडि परेकालाई अगाडि ल्याउने काम गरेका छौं । तराई र पहाडमा कुनै भेदभाव गरिएको छैन । तराईमा विभेद छ त त्यहाँको सामन्ती व्यवस्थाले विभेद गरेको हो । त्यसको कारण खोज्नुपर्छ ।’ कास्की र महोत्तरीको शैक्षिक स्तर उल्लेख गर्दै ओलीले प्रश्न गरे, ‘आज महोत्तरीको भन्दा कास्कीको शैक्षिक स्तर माथि छ । के सर्लाही वा महोत्तरीमा स्कुल नभएर हो र ? बिल्कुलै होइन ।’
संवादबाटै मधेस आन्दोलनको समस्या समाधान हुने भन्दै प्रधानमन्त्री ओलीले सरकारी वार्ताटोली संयोजक जेनेभा सम्मेलनमा जानुपरेकाले केही दिन वार्ता रोकिएको जानकारी दिँदै भने, ‘वार्ता हुन्छ, हामी वार्ताबाटै समस्या समाधान गर्न सक्छौं ।’ नेपालले कसैका विरुद्ध केही नगरेको उनको भनाइ थियो । ‘नेपाल सबै देशको मित्र हो । सबैसँग मैत्रीभाव राख्न चाहन्छौं । हामीले आफ्ना निम्ति अत्यन्तै लोकप्रिय पद्धतिबाट धाराधारा, दफादफामा छलफल गरेर संविधान जारी ग¥यौं । यो आफ्ना लागि गरेका हौं, कसैका विरुद्ध होइन,’ उनले भने ।
छिमेकीले नेपालको संविधानलाई लिएर औंला ठड्याइरहेको प्रसंगमा उनले भने, ‘हामी बहस गर्न तयार छौं, कहाँनेर कमजोर छ हाम्रो संविधान ?’
नेपाली जनतालाई असुविधा हुने गरी कोही आयातित विचार लिएर आउँछ भने उसका अगाडि सरेर भन्न आफूहरू बाध्य हुने उनको भनाइ थियो । मुलुकमा देखिएको समस्या समाधान गर्न सरकार चिन्तित र संवेदनशील भएको भन्दै नेपालीको राष्ट्रवादको प्रधानमन्त्रीले खुलेर प्रशंसा गरे । मधेस आन्दोलनकै कारण अहिले तराई क्षेत्रमा उद्योगधन्दा बन्द भएकोमा भने प्रधानमन्त्री निकै चिन्तित देखिए ।
अहिले मधेसका किसानले आफ्नो बारीमा फलेको गेलभेडा बारीमै कुहाउनुपरेको र दूध बाटैमा पोख्नुपरेको यथार्थबारे आफू जानकार रहेको पनि उनले खुलाए ।
पारीबाट ग्याँस, डिजेल, पेट्रोल नआएकै कारण जनकपुरका किसानले पोखरीमा पालेको माछा झिकेर बेच्न नपाएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘छिमेकीले गोलभेडा, माछा, भन्टा, घिरौंला पठाएका छन् तर ग्याँस पठाएका छैनन् ।’ वैशाखमा आएको विनाशकारी भूकम्पले थिलथिलो बनाएको नेपाली जनतालाई अघोषित नाकाबन्दीले झन् बढी पीडा थपेको उनको भनाइ थियो । ‘हामीले प्राकृतिक विपत्ति भोग्यौं, भूकम्पले ठुलो क्षति पु¥यायो, आहत बनायो । पुनर्निर्माणका लागि उठ्न खोजिरहेका थियौं, यहीबेला नाकाबन्दी भयो,’ प्रधानमन्त्रीले भने ।
आफू स्वतन्त्र, निर्बाध, मर्यादित र सुरक्षित प्रेसको पक्षमा रहेको भन्दै ओलीले स्वातन्त्रताको नाममा प्रेस अराजक हुन नहुने धारणा राखे । पत्रकार पनि राष्ट्र र समाजप्रति जिम्मेवार हुनुपर्ने भन्दै उनले भने, ‘पत्रकारको काम जागिर मात्रै त होइन होला नि, पहिलो कुरा देश हो भन्ने सम्झनुपर्छ ।

विकल्पहीनभित्र विकल्पको खोजी

नेपालीको राष्ट्रवादको प्रशंसा गरेका ओलीले विकल्पहीन अवस्थामै विकल्पको खोजी गरेर अगाडि बढ्नुपर्ने बताए । ‘नेपालीहरू देशभक्त छन् । आफ्नो देश आफैं बनाउने सामथ्र्य राख्छन् । सारा प्रतिकूलता झेलेर अगाडि बढ्ने जिम्मा मेरो भयो । तपार्इंहरू मलाई साथ दिनोस् ।’

एक वर्षभित्र कायापलट

एक वर्षभित्र मुलुकलाई कायापलट गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । छिमेकीतिर इसारा गर्दै उनले भने, ‘नेपाल र नेपालीको आँखा खुलेन भनेर छिमेकीहरूले हाम्रो आँखा च्यातेर देखाइदिए । अब हाम्रो ढाँचामा परिवर्तन आउँछ ।’ काठमाडौंमा फेरि ट्रली बस सञ्चालन हुने जानकारी दिँदै ओलीले एक वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त गर्ने योजना सुनाए । ‘म दिनमा १८ घन्टा काम गर्छु । दैनिक १८ घन्टाको व्यस्तता उपलब्धिमूलक कामका लागि हुनेछ,’ उनले भने ।
ग्याँस र पेट्रोलको खपत कम गर्न सोलार बत्ती जडान, ब्याट्रीबाट चल्ने ट्याक्सीलाई प्रोत्साहन गरिने उनको भनाइ थियो । साथै, आगामी दिनमा बिजुलीको उपयोग बढ्ने पनि बताए ।

No comments:

Post a Comment