Thursday, October 29, 2015

विद्या प्रथम महिला राष्ट्रपति

काठमाडौं, ११ कात्तिक

एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित भएकी छन् । व्यवस्थापिका संसद्मा बुधबार भएको निर्वाचनमा ३ सय २७ मत प्राप्त गरी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

बुधबार साँझ बसेको संसद् बैठकमा सभामुख ओनसरी घर्ती मगरले उनले प्राप्त गरेको मत संसद्मा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत रहेकाले राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेकी थिइन् । राष्ट्रपति निर्वाचनमा भण्डारीलाई चुनौती दिएका नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले २ सय १४ मत प्राप्त गरेका छन् । सत्तारूढ गठबन्धनको साझा उम्मेदवार बनेकी भण्डारीको विजयसँगै मुलुकले पहिलो पटक महिला राष्ट्रप्रमुख पाएको छ । यो विजयसँगै भण्डारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो र मुलुककै पहिलो महिला राष्ट्रपतिको इतिहास रच्न सफल भएकी छन् ।
राष्ट्रपति निर्वाचनमा संसद्मा कुल कायम रहेको ५ सय ९७ मध्ये ५ सय ४९ मत खसेको थियो । जसमध्ये ८ मत बदर भएको छ । बदरमध्ये भण्डारीको दुई, गुरुङको चार मत रहेको छ भने दुई मतपत्र खाली रहेको थियो । संसद् सचिवालयका अनुसार भण्डारीलाई मतदान गरिएको मतपत्रमा रेजा लगाउनुपर्नेमा एक मतमा हस्ताक्षर भएको पाइएको थियो भने अर्कोमा ट्रिपल रेजा लगाइएको थियो । त्यस्तै गुरुङलाई मतदान गरिएको दुई मतपत्रमा हस्ताक्षर गरिएको, अर्काे एकमा तेस्रो धर्को लगाइएको र अर्काे मतपत्रमा हस्ताक्षर र रेजा दुवै लगाइएकाले बदर भएको हो । निर्वाचनमा नेपाली कांग्रेसका शिला खड्का, मधु शाही, एमाओवादीका सुरेन्द्र जयसवाल र भक्ति पाण्डे अनुपस्थित थिए । पाण्डे उपचारका क्रममा भारतमा रहे पनि जयसवाल भने विनाकारण अनुपस्थित रहे ।
यस्तै, संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले पनि राष्ट्रपतिको निर्वाचन बहिष्कार गरेका छन् । प्रधानमन्त्री निर्वाचनमा सहभागी भई कांग्रेस सभापति सुशील कोइरालाको पक्षमा मतदान गरेका मोर्चाका सांसदले राष्ट्रपति निर्वाचन भने बहिष्कार गरेका हुन् । बहिष्कार गर्नेमा मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, तराई मधेस सदभावना पार्टी लगायतका सांसद छन् । सद्भावना पार्टीका सांसद माधवी रानी साह भने मतदानमा सहभागी भएकी थिइन् । सभामुख ओनसरी घर्ती भने मतदान नगरी तटस्थ बसिन् ।

३३ प्रतिशत महिला सहभागिताका प्रथम अभियन्ता

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको वाम–लोकतान्त्रिक तथा महिला आन्दोलनकी चर्चित व्यक्तित्व हुन् । संविधानसभाबाट नया“ संविधान जारीपछि पहिलो, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको दोस्रो तर नेपालकै पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित हु“दै उनै भण्डारीले नया“ इतिहास रचेकी छन् ।
पछिल्लो वाम–लोकतान्त्रिक आन्दोलनमा आधाभन्दा बढी हिस्सा ओगट्ने महिला आन्दोलनकी नेतृ भण्डारी राज्यका हरेक अंग र निकाय तथा राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने अभियानको एक जुझारु अभियन्ता अर्थात् ‘सुप्रिम कमान्डर’ समेत हुन् । सोही कारण नेपालको राजनीतिमा भण्डारीलाई सर्वस्वीकार्य महिला नेतृका रूपमा लिइने गरिन्थ्यो ।
२०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित व्यवस्थापिका संसद्मा भण्डारीले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रस्ताव पारित गर्ने अभियानको अगुवाइ गरिन् । अन्तरपार्टी महिला सञ्जालको तत्कालीन संयोजकसमेत रहेकी भण्डारीले अन्तरिम संसद्मा राखेको ३३ प्रतिशत महिला सहभागिताको विशेष प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावअनुसार अन्तरिम संविधानले मात्रै होइन, संविधानसभाबाट बनेको नया“ संविधानले पनि संसद्सहित राज्यका हरेक अंग, निकाय र राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गरेको छ । हरेक क्षेत्रमा महिला–पुरुषले समान अधिकार पाउनुपर्ने माग गर्दै आएकी भण्डारी हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चत हुनुपर्छ भन्ने मान्यतामा दृढ रह“दै आएकी छन् । तिनै व्यक्तित्व भण्डारी राष्ट्रप्रमुखका रूपमा मुलुकको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली महिला आन्दोलनले महŒवपूर्ण सफलता हासिल गरेको अनुभव गरिएको छ ।
५ असार २०१८ मा भोजपुरको मानेभन्ज्याङ–२ मा पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेकी ज्येष्ठ पुत्रीका रूपमा भण्डारीको जन्म भएको हो । २४ साउन २०३९ मा तत्कालीन एमालेका महासचिव जननेता मदन भण्डारीस“ग उनको विवाह भयो । ३ जेठ २०५० मा दासढुंगामा जिप दुर्घटनामा परी मदनको रहस्यमय निधन भएपछि विरासत धान्ने गरी उनी राजनीतिमा थप क्रियाशील बनिन् । उनका दुई पुत्री छन्, उषाकिरण र डा. निशाकुसुम ।
भोजपुरकै स्थानीय बेहेरेश्वर प्राथमिक विद्यालयपछि विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट भण्डारीले एसएलसी उत्तीर्ण गरिन् । पछि भोजपुरमा अवस्थित भोजपुर क्याम्पसबाट प्रमाण पत्र तह तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट भण्डारीले स्नातक उत्तीर्ण गरेकी थिइन् ।

राजनीतिक यात्रा

१७ बर्से उमेरमा २०३५ मा भोजपुर क्याम्पसबाट तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित भएर भण्डारीले राजनीतिक जीवन सुरु गरेकी हुन् । २०३७ मा तत्कालीन अनेरास्ववियु (पाचौं) को राष्ट्रिय सम्मेलन प्रतिनिधि बनेकी भण्डारीले २०३७ मा तत्कालीन मालेको पार्टी सदस्यता प्राप्त गरिन् । २०३६ देखि २०४४ सालसम्म अनेरास्ववियुकी पूर्वाञ्चल सदस्य भएकी उनी २०३९–४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
२०४६ मा कीर्तिपुरमा सम्पन्न अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि रहेकी उनीस“ग ट्रेड युनियन आन्दोलनको समेत अनुभव छ । त्यसैक्रममा उनी २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्ट महिला विभाग प्रमुख बनिन् । २०५४ मा नेपालगन्जमा सम्पन्न नेकपा (एमाले) को छैटौं महाधिवेशनबाट भण्डारी पहिलो पटक पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् ।
त्यस्तै, उनी २०५५ पुसमा सम्पन्न अनेमसंघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भइन् । त्यसयता छैटौं अधिवेशनसम्म उनी लगातार संघकै अध्यक्षका रूपमा क्रियाशील रहेकी थिइन् । २०५९ सालमा जनकपुरमा सम्पन्न पार्टीको सातौं महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उनी २०६४ सालमा बुटवलमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भइन् । २०७१ सालमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट उनी पुनः उपाध्यक्षमा निर्वाचित भइन् । २०६०÷६२ सालमा दुई पटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी सम्हालेकी भण्डारी पुस २०६२ देखि हालसम्म नेपाल अफ्रो एसियाली जनएकता संगठनको (आप्सो) को उपाध्यक्ष रहिन् । उनी मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत हुन् ।

राजकीय जिम्मेवारी

जननेता भण्डारीको निधनपछि एमालेले विद्यालाई २०५० सालको उपनिर्वाचनमा काठमाडौं क्षेत्र नंं. १ को उम्मेदवार बनाएको थियो । सो निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर उनी चर्चामा आइन् । २०५१ सालको मध्यावधि निर्वाचनमा समेत उनी सोही क्षेत्रबाट पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै निर्वाचित भइन् । २०५४ सालमा राप्रपा चन्दका अध्यक्ष लोकेन्द्रबहादुर चन्द नेतृत्वको संयुक्त सरकारमा भण्डारीले जनसंख्या तथा वातावरण मन्त्रीका रूपमा जिम्मेवारी वहन गरिन् । २०५६ मा उनी काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी भण्डारीले २०६७ सालमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा सफल रक्षामन्त्रीका रूपमा कार्य सम्पादन गरेकी थिइन् ।
राजनीतिकै क्रममा उनले भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली, थाइल्यान्ड लगायतका मुलुकको भ्रमण गरेकी छन् । २०६१÷६२ को जनआन्दोलनका क्रममा उनी प्रहरीद्वारा ‘हाउस एरेस्ट’ हुनुका साथै हिरासतमा परेकी थिइन् ।

No comments:

Post a Comment