Monday, October 12, 2015

ओली प्रधानमन्त्री

ओली ३३८, कोइराला २४९, संविधानसभा छाडेका सबै दल मतदानमा सहभागी

गणेश बस्नेत, ईश्वरी सुवेदी /राजधानी
काठमाडौं, २४ असोज
नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसद्मा आइतबार भएको मतदानमा कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गर्दै ओली मुलुकको ३८औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका हुन् ।
व्यवस्थापिका संसद्मा आइतबार भएको निर्वाचनमा खसेका कुल ५८७ मध्ये ३३८ मत प्राप्त गर्दै ओली विजयी भएका हुन् । ओलीलाई चुनौती दिँदै प्रधानमन्त्रीको उम्मेदवार बनेका कांग्रेस सभापति कोइरालाले भने २४९ मतमा प्राप्त गरे । आफैं प्रस्तावक बसी २०७१ माघमा प्रधानमन्त्रीमा निर्वाचित गराएका कोइरालासँगै प्रतिस्पर्धा गरी विजयी हुने ओली संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री हुन् । मतदानमा ओलीले प्राप्त गरेको मत व्यवस्थापिका संसद्मा कायम रहेको कुल ५९७ को स्पष्ट बहुमत भएका कारण सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका थिए । प्रधानमन्त्री निर्वाचित हुन २९९ मत आवश्यक पर्छ । संसद्मा कुल कायम रहेको सदस्य संख्या ५९७ छ । त्यसमध्ये ५८७ जनाले मतदानमा भाग लिएका थिए । जसमा ओलीको पक्षमा ३३८ मत खसेको थियो ।
प्रधानमन्त्री निर्वाचनको मतदानमा ओलीको पक्षमा एमालेका १८२, एमाओवादीका ८३, राप्रपा नेपालका २५ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४ सभासद्ले मतदान गरेका थिए । यस्तै, राप्रपाका १२, नेकपा मालेका ५, नेमकिपाका ४, राष्ट्रिय जनमुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चाका ३, नेकपा संयुक्तका ३, नेपाल परिवार दलका २, मधेस समता पार्टीका १, नेपाः राष्ट्रिय पार्टीका १, बहुजन शक्ति पार्टीका १ सभासद्ले मतदान गरेका हुन् । व्यवस्थापिका संसद्मा एमालेका १८४ सभासद् रहे पनि सभामुख सुवासचन्द्र नेम्वाङले मतदान गर्न नपाउने र अर्की सभासद् राज्यलक्ष्मी गोल्छा अनुपस्थित रहेपछि १८२ मत मात्रै खसेको हो ।
यसैगरी, कोइरालाको पक्षमा कांग्रेस २०४ सहित संघीय समाजवादी फोरम नेपालका १५, तमलोपाका ११, सद्भावना पार्टीका ५, तराई मधेस सद्भावना पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका १, खम्बुवान राष्ट्रिय मोर्चाका १, नेपाली जनता दलका १, फोरम गणतान्त्रिक १, संघीय सद्भावना पार्टीका १, जनजागरण पार्टीका १, मधेस समता पार्टीका १ र स्वतन्त्रका २ सभासद्ले मतदान गरेका थिए । कांग्रेसकै प्रदीप गिरीलगायत ३ सभासद् संसद् बैठकमा सहभागी भए पनि मतदान गर्न भने पाएनन् । अन्तिम समयमा बैठक कक्षभित्र नरहेका कारण गिरीसहित बद्री पाण्डे र जीवन परियारले मतदान गर्न नपाएका हुन् ।
कोइरालालाई मतदान गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना र तराई मधेस सद्भावना पार्टी संविधान अस्वीकार गर्दै संविधानसभा बहिष्कार गरी हिँडेका दल हुन् । यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र संघीय सद्भावना पार्टी पनि संविधानमा असहमति जनाई संविधानसभा छाडेर आन्दोलनमा लागेका थिए । आइतबारको प्रधानमन्त्री निर्वाचनमा सहभागी भएसँगै ती सबै दलले नेपालको संविधान स्वीकार गरेका छन् । नयाँ संविधानअनुसार भएको प्रधानमन्त्री निर्वाचनमा सहभागी भई संविधान कार्यान्वयनमा उनीहरू पनि सहभागी भएका हुन् । प्रधानमन्त्री निर्वाचनमा फोरम लोकतान्त्रिकबाहेक अन्य सबै दलले कोइरालालाई मतदान गरेका थिए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले भने केपी ओलीलाई नै मतदान गरेको हो । प्रधानमन्त्री निर्वाचनमा थरुहट तराई पार्टी नेपालले बहिष्कार गरेको थियो भने कांग्रेस र एमालेसहित गरी १२ सांसद मतदानमा अनुपस्थित थिए ।
ओलीको प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित १३ दल रहेका थिए । तर, प्रधानमन्त्रीको मनोनयन पत्रमा ओलीका समर्थक रहेका खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राई, नेपाली जनता दलका हरिचरण शाह, दलित जनजाति पार्टीकी यशोदाकुमारी लामा, अखण्ड नेपालका कुमार खड्का र स्वतन्त्र सभासद् अतहर कमाल मुसलमानले भने सुशील कोइरालाको पक्षमा मतदान गरेका थिए । यस्तै, कोइरालाको प्रस्तावकमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा रामचन्द्र पौडेल रहेका थिए । उनीहरूले लोकतन्त्रलाई व्यवहारमा उतार्न चुनावी प्रतिस्पर्धामा उत्रनुपरेको बताएका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले सबै दललाई मिलाएर एकता र सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आफूलाई मतदान गर्ने दल र सभासद्का साथै विपक्षमा मतदान गर्ने दल र सभासद्लाई समेत सहमतिका साथ अघि बढाउँदै मुलुकमा राष्ट्रिय एकता कायम गर्ने दिशामा अघि बढ्ने जानकारी दिए । ‘संविधानको सफल कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र हाल देखिएका विभिन्न क्षेत्रको असन्तुष्टि र सीमामा रहेको अवरोध हटाई मुलुकलाई सहज रूपमा अघि बढाउने र आर्थिक समृद्धि तर्फको यात्रालाई अघि बढाउनेतर्फ प्रतिबद्ध छु,’ प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीको भनाइ थियो । उनले नेपाली कांग्रेसलाई समेत साथमै लिएर अघि बढ्ने जानकारी दिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली संसद् भवन नयाँ बानेश्वरबाट सिधै धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेका थिए । पार्टीका नेता–कार्यकर्तासँग खुसी साट्न उनी पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।

No comments:

Post a Comment