Thursday, October 8, 2015

एमालेले थाल्यो सरकार गठन पहल


प्रधानमन्त्रीमा सहयोग माग्दै चार बदे प्रस्ताव

काठमाडौं, २१ असोज
नेकपा एमालेले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि औपचारिक पहल थालेको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले दिएको एक साताको समय सकिएकै दिन एमालेले अध्यक्ष ओली नेतृत्वको सरकार गठनका लागि दलहरूसँगको वार्तालाई तीव्रता दिएका हो ।
एमालेले बिहीबार प्रमुख तिन दललाई चारबुँदे पत्र बुझाउँदै पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न औपचारिक आग्रहसमेत गरेको छ । एमाले नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापासँग भेट गरी ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्न औपचारिक प्रस्ताव गरेका हुन् । एमालेले राप्रपा नेपालका अध्यक्ष थापालाई भेट गरी सरकार गठनको पहल थालेको थियो । एमाले नेताहरूले थापापछि प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरी औपचारिक प्रस्ताव राखेका हुन् ।
एमालेले लिखित रूपमै सहयोगको आग्रह गरी चारबुँदे पत्रसमेत बुझाएको छ । सो पत्र व्यवस्थापिका संसद्मा रहेका सबै दल र स्वतन्त्र सभासद्लाई समेत दिने एमाले सचिवालय सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले दिएको चारबुँदे प्रस्तावको पहिलो बुँदामा संविधान निर्माणमा खेलेको भूमिकाका लागि बधाई र धन्यवाद दिइएको छ । यस्तै, दोस्रो बुँदामा अबको चार मिसन उल्लेख गरी आफ्नो धारणा प्रस्ट पारिएको छ । जसमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, भूकम्पपछिको पुनर्निर्माण, जनतालाई नयाँ संविधान आएको अनुभूत हुने गरी विकास र आर्थिक समृद्धि उल्लेख छन् । तेस्रो बुँदामा संविधानको धारा २९२ को उपधारा २ अनुसार बहुमतीय प्रक्रियाभित्रै रहेर सहमतीय सरकार गठनमा जोड दिइएको छ ।
चौथो बुँदामा प्रधानमन्त्रीका लागि आÏनो पार्टीका उम्मेदवार अध्यक्ष ओलीलाई समर्थन गर्न आग्रह गरिएको छ । एमालेले कांग्रेसलाई भने सुशील कोइराला नेतृत्वको सरकार गठनको बेला दुई दलबिच भएको सातबुँदे सहमति र १६ बुँदे समझदारी गर्दाको भद्र सहमति स्मरण गराउँदै समर्थन मागेको छ । कांग्रेस केन्द्रीय समिति बैठक चलिरहँदा बिहीबार बालुवाटार पुगेर एमाले नेताहरूले प्रधानमन्त्री कोइरालासँग छलफल गरेका हुन् । एमाले नेताहरूले कोइरालालाई समर्थन माग्दै पत्र पनि दिएका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रमुख दलबिच भएको भद्र सहमति सम्झाउँदै कोइरालासँग समर्थन मागेका थिए ।
‘पहिले पनि सहमतिकै आधारमा सरकार बनेको हो । अहिले मुलुक विषम परिस्थितिमा रहेकाले फेरि मुख्य दलबिच सहमतिकै आधारमा सरकार बनाऔं,’ कोइरालासँग ओलीको भनाइ थियो, ‘पार्टीले मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएकाले समर्थन खोजेको हुँ ।’ जवाफमा कोइरालाले आफू सहमतिकै पक्षमा रहेकाले बैठकबाट निर्णय लिने बताएका छन् । ‘मैले भन्ने कुरा तपाईंलाई हिजै (बिहीबार) भनिसकेको छु, मिलेरै जाने हो, सरकार गठनकै विषयमा पार्टीको बैठक केन्द्रित रहेकाले केन्द्रीय समितिले त्यसबारे निर्णय लिनेछ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटवार्तामा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले राजधानीसँग भने ।
एमाओवादीले भने एमाले नेतृत्वमा सरकार गठनका लागि सघाउने वचन दिएको छ । सहमतिका आधारमा सरकार गठन हुनुपर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहालले १६ बुँदे सहमतिबाट दायाँबायाँ नहुने प्रतिबद्धता जनाएको उनका स्वकीय सचिव चुँडामणि खड्काले जानकारी दिए । उनले यस विषयमा आज (शुक्रबार) बस्ने स्थायी समितिको बैठकबाट आधिकारिक निर्णय गर्ने बताए । ‘राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौं, १६ बुँदे सहमतिप्रति प्रतिबद्ध छौं, त्यो सहमति गर्दाको भद्र सहमतिबाट दायाँबायाँ हुन्न, ढुक्क हुनोस्,’ खड्काका अनुसार एमाले टोलीसँग एमाओवादी अध्यक्ष दाहालको भनाइ थियो ।
संसद्को चौथो ठुलो दल राप्रपा नेपाल पनि एमाले नेतृत्वले सरकार गठनमा सकारात्मक देखिएको छ । राप्रपा नेपालका अध्यक्ष थापाले १२ बुँदेदेखि संविधान जारी गर्दासम्म सहयात्रा गरेका प्रमुख तिन दलको सरकार बनोस् भन्ने चाहना रहेको भन्दै आÏनो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने चाहना रहेको बताएका थिए । तिन दलबिच सहमति नभएको अवस्थामा भने कसलाई समर्थन गर्ने भन्ने विषयमा आज (शुक्रबार) बस्ने केन्द्रीय समिति बैठकबाट निर्णय हुने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यद्यपि, कांग्रेस प्रतिपक्षमा रहने अवस्थामा राप्रपा नेपालले सरकार बनाउन एमालेलाई सघाउने संकेत भने गरेको छ । राप्रपा नेपालसँग २५ सभासद् छन् । एमालेले यसअघि नै पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ । व्यवस्थापिका–संसद्मा ५ सय ९८ सदस्य छन् । त्यसमध्ये एमाओवादी छाडेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिइसकेका छन् । प्रधानमन्त्री निर्वाचित हुन २ सय ९९ मत चाहिन्छ ।
एमालेले सकेसम्म कांग्रेसको समर्थनमा सहमतिकै सरकार गठन गर्ने, त्यो सम्भव नभए एमाओवादी लगायतका दललाई साथमा लिएर सरकार बनाउने प्रयास गरिरहेको छ । कांग्रेसले समर्थन नजनाउँदा पनि पार्टी अध्यक्ष ओलीको पक्षमा ३ सय १५ मत रहने एमालेको मूल्यांकन छ ।
तेस्रो ठुलो दल एमाओवादीले एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति दलहरूबिच भएको सार्वजनिक रूपमा नै बताइसकेकाले सो अवस्था देखिएको हो । संसद्मा एमालेको १ सय ८४ र एमाओवादीको ८४ सिट छ । तर, सभामुख सुवास नेम्वाङले मतदान गर्न नपाउने र भट्टराईले राजीनामा दिएका कारण दुवै दललाई एक÷एक मत घाटा लाग्नेछ । अधिकांश साना दल अहिले ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा उभिएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको सर्वदलीय बैठकमा नै उनीहरूले ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा राखेका थिए । सद्भावनाका चार सांसदले राजीनामा दिए पनि स्वीकृत भने भएको छैन । यस्तै, भट्टराईको राजीनामा पनि स्वीकृत गरिएको छैन ।

एमालेको चार मिसन

संविधानको प्रभावकारी कार्यान्वयन
राष्ट्रिय हित र स्वाभिमानको रक्षा
भूकम्पपछिको पुनर्निर्माण
विकास र आर्थिक समृद्धि

No comments:

Post a Comment