Monday, October 12, 2015

झापा विद्रोहदेखि सिंहदरबारसम्म

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको ३८औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसद् आइतबार सम्पन्न निर्वाचनमा ३३८ मत प्राप्त गरी ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

ओली नेपाली वाम पार्टीहरूका भने छैटौं प्रधानमन्त्री हुन् । ११ फागुन २००८ मा तेह्रथुममा पिता मोहनप्रसाद ओली र माता मधु ओलीका ज्येष्ठ पुत्रका रूपमा जन्मिएका ओलीले १५ वर्षको कलिलो उमेरबाटै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका थिए । २०२३ सालमा माक्र्सवादी अध्ययन दलमा आबद्ध भएका ओलीले दुई वर्षपछि २०२५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व गरे ।
बाल्यकालदेखि नै तीक्ष्ण क्षमताका धनी ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरी उपसचिवको जिम्मेवारी सम्हाले । टुटफुट र एकीकरण कम्युनिस्ट आन्दोलनको नियति नै हो । पूर्व कोसी प्रान्तीय कमिटीसँग पार्टीको एकीकरण र फुटपछि ओलीले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा जिम्मेवारी वहन गरे । सानैदेखि अन्दोलनको नेतृत्व गर्ने क्षमता राख्ने ओलीलाई त्यस क्रममा मार्ने पटक पटक प्रयास भएको थियो ।

जेलमै मार्ने प्रयास

नेपाली कम्युनिस्ट आन्दोलन र झापा सशस्त्र संघर्ष आन्दोलनको पर्यायजस्तै हो । वर्ग शत्रु खत्तम अभियानका क्रममा उठेको सशस्त्र संघर्षको झापा आन्दोलनको विकसित मूल प्रवाह आजको एमाले हो । ओली सशस्त्र होइन, सुरुदेखि नै शान्तिपूर्ण आन्दोलनको पक्षपाती थिए । तर, पार्टी निर्णयलाई शिरोधार्य गर्दै उनी वर्ग शत्रु खत्तम गर्ने सशस्त्र आन्दोलनमा होमिए । त्यही आन्दोलनमा बालबाल बचेका र निरन्तर कठोर १४ बर्से जेल जीवन व्यतीत गरेका झापा आन्दोलनका तिनै अभियन्ता ओली एमाले संसदीय दलका नेता, एमाले अध्यक्ष हु“दै आज मुलुकको प्रधानमन्त्री बनेका हुन् ।
गरिब किसानका पक्ष लिएर सामन्तविरोधी संघर्षमा लाग्दा १६ फागुन २०२७ मा पहिलो पटक झापाबाट गिरफ्तार भएका ओली २०३० सालसम्म पटकपटक गरी १० पटक प्रहरी हिरासतमा परेका थिए । २३ असोज २०३० मा गिरफ्तारीमा परेपछि भने ओलीले लगातार १४ वर्ष जेल जीवन बिताउन बाध्य हुनुप¥यो । गिरफ्तारलगत्तै उनलाई रौतहटको गौर जेल हुँदै वीरगन्ज थाना वीरगन्जमा राखियो । ओलीलाई ८ मंसिरमा काठमाडौंको भद्रगोल जेल हुँदै ११ मंसिरमा सेन्ट्रल जेल गोलघर चलान गरियो । त्यसक्रममा पञ्चायती निरंकुश सत्ताले ओलीलाई मार्ने षड्यन्त्र गरेको थियो ।
‘मलाई गाडीमा राखिएको थियो, सँगै गोली हान्ने हतियारधारीहरू पनि थिए र मारेपछि खाल्डो खन्न र पुर्न कोदाला–कोदाली पनि साथमै थिए, अकारण नै मलाई मार्न लागिएको कुरा मेरो मनमा त्यसबेला खेलेको थियो,’ ओलीले जेल सार्ने क्रममा त्यसबेलाको घटना स्मरण गर्दै भन्ने गरेका छन्, ‘तर, एक प्रहरी जवानको स्नेहपूर्वकको इसाराले मात्रै म बाँचेको हुँ ।’ १४ वर्षको जेल यात्रा कहिले नक्खु, कहिले पोखरा, स्याङ्जा र हनुमानढोका हुँदै बित्यो उनको । १२ माघ २०४३ मा पुन ः भद्रगोल जेल चलान भएका ओली ११ असार २०४४ मा रिहा भएका थिए । १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रको कुपछि ओली घरमै नजरबन्दमा परेका थिए ।

कष्टपूर्ण बाल्यकाल

डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यजीवन झापाको सुरुंगामा बित्यो । उनी ४÷५ वर्षको हुँदा नै पिता मोहनप्रसाद सुरुंगा झरे । सानै उमेरमा माता गुमाएका ओलीको पालनपोषण हजुरआमा राममाया र पिताले गरे । झापा बसाइँ सरेलगत्तै जग्गाजमिन कन्काई नदीले बगाइदिएपछि परिवार एक प्रकारले सुकुमबासी जस्तै बनेका थिए । किशोरावस्थासम्म साथी रामनाथ दाहालको घरमा बसेर अध्ययन गरेका ओली त्यहीँबाट विद्यालय जाने÷आउने गर्थे । रामनाथको घरमा काम गरेर १० कक्षासम्म विद्यालयको औपचारिक शिक्षा लिएका ओली उनीबाटै प्रभावित भएर कम्युनिस्ट बने । तर, पछि दाहाललाई पञ्चायती शासकले सुखानी जंगलमा नृशंस हत्या गरेपछि उनीमा झन् बढी विद्रोहको चेत जागृत हुँदै गएको थियो ।

युवा अध्यक्ष हु“दै पार्टी अध्यक्ष

लामो समय जेल जीवन बिताएका ओली जेलमुक्त भएपछि २ पुस २०४४ मा तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटी सदस्य बने । त्यसपछि २०४६ मा लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी वहन गरे । लगत्तै १ जेठ २०४७ मा पार्टीको युवा भ्रातृ संगठन तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्षमा निर्वाचित भए । २०४९ सालदेखि असार २०७१ सम्म लगातार पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित भएका ओली १९ देखि १ साउन २०७१ सम्म सम्पन्न पार्टीको नवौं महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाटै पार्टी अध्यक्षमा निर्वाचित भए । त्यसअघि २१ माघ २०७० मा सम्पन्न संसदीय दलको निर्वाचनमा पनि ओली प्रतिस्पर्धाबाटै दलका नेतामा निर्वाचित भएका थिए ।
ओलीले संसदीय दलको नेतामा पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका थिए भने नवौं महाधिवेशनमा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा विजयी बनेका हुन् । प्रधानमन्त्रीको निर्वाचनमा पनि उनले पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई पराजित गरी नयाँ इतिहास रचेका छन् ।

राजकीय जिम्मेवारी

२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा–६ बाट पहिलो पटक प्रतिनिधि सभा सदस्यमा ओली निर्वाचित भएका थिए । २०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित ओली १४ मंसिर २०५१ मा नेपालकै पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बने । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय नौ महिने सरकारलाई सफल बनाउन ओली एउटा महŒवपूर्ण सारथि थिए । गृहमन्त्रीका रूपमा त्यसबेला ओलीले निर्वाह गरेको भूमिका अहिले पनि स्मरणरयोग्य छ । गृहमन्त्रीका रूपमा ओलीसँग कसैको तुलनासमेत हुने गरेको छैन । २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा–२ र ६ बाट प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित ओली संसदीय दलको उपनेतामा निर्वाचित भएका थिए । २०६२÷६३ को जनआन्दोलनको सफलतापछि बनेको तत्कालीन सरकारमा ओलीले उपप्रधान तथा परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गरेका थिए । २०७० मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा ओली झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रिय एकता र सामाजिक सद्भावका अभियन्ता

उग्रवामपन्थता र उग्रदक्षिणपन्थताको कडा आलोचनासहित शान्तिपूर्ण रूपान्तरणको पक्षमा लामो समयदेखि अविचलित अडान राख्दै आएका ओली दोस्रो संविधानसभापछि राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा दृढ रहे । ओलीको वैचारिक स्पष्टता सहितको त्यही अडान नयाँ संविधान जारी गर्न ‘वरदान’ साबित भयो । आमनेपालीले ओलीकै कारण संविधान आएको अनुभूति गरेका छन् । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपालजस्तो विशाल दुई छिमेकीका बिचमा अवस्थित नेपालमा राज्य पुनःसंरचनाको आधार जातीय र साम्प्रदायिक हुनुहुन्न, आर्थिक हिसाबले प्रदेशको संख्या बढी हुनुहुन्न भन्ने ओलीको सुरुदेखिकै अडानलाई अन्ततः संविधानले संस्थागत गरेको छ ।
तराईलाई अलग गर्नुपर्ने मागसहित तराईमा आन्दोलनका नाममा नाकाबन्दी जारी रहँदा पनि ओली प्रदेश सीमांकन हेरफेर गरेर मधेस केन्द्रित दलका माग सम्बोधन गर्न नसकिने अविचलित अडानमै छन् । मुलुकको हितका सामु सौदाबाजी हुन सक्दैन भन्ने अडानमा सतिसालझैं खडा भएका ओली विपक्षीलाई आफ्नो विचारमा सहमत गराउन माहिर नेता मानिन्छन् ।

No comments:

Post a Comment