Friday, November 22, 2013

जनमतको कदर गर

जनताको अभूतपूर्व सहभागितासहित शान्तिपूर्ण र स्वच्छ ढंगले निर्वाचन सम्पन्न भई मतगणनाका केही परिणाम सार्वजनिक भएपछि एकीकृत नेकपा माओवादीले हठात् मतगणना अस्वीकार गरेको छ । अघिल्लो संविधानसभाको सबैभन्दा ठूलो दल हुनुको नाता र दोस्रो संविधानसभाका लागि महŒवपूर्ण पहलकदमी लिएको दल भावावेशमा आएर मतगणना प्रक्रियाबाट मात्र बाहिरिएको छैन, संविधानसभामा सहभागिता नजनाउने धम्की दिइरहेको छ । जिम्मेवार र अरूभन्दा परिवर्तनको पक्षधर दाबी गर्ने दलबाटै भएको यो अप्रत्यासित र अदूरदर्शी निर्णयबाट सिंगो देश अत्यन्तै बेखुसी मात्र होइन आक्रोशित बनेको यथार्थ अब लुकाइरहनुपर्दैन । मतगणना प्रारम्भ हुँदासम्म सम्पूर्ण प्रक्रियामा सहमति जनाएको एमाओवादीले परिणाममा पछि पर्न थालेपछि तिरष्कारको बाटो समातेको छ । यो जनताको भावनाभन्दा शतप्रतिशत विपरीत कार्य हो । परिणाम अस्वीकार गरिरहँदा एमाओवादीले के भुल्न हँदैन भने पहिलो संविधानसभालाई निरन्तरता दिने कुरा चलिरहँदा तात्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नै एकतर्फी रूपमा दोस्रो संविधानसभा निर्वाचनको घोषणा गरेका थिए । उसकै बलमा दलहरू दोस्रो संविधानसभाका लागि तयारी भएर सरकार गठनको कसरत भइरहँदा उसैले हेटांैडा अधिवेशनमार्फत शक्तिपृथकीकरणको बेवास्ता गर्दै वहालवाला प्रधानन्यायाधीशलाई अघि सारेपछि स्वतन्त्र निर्वाचनको नाममा खिलराज रेग्मीलाई सत्ता सुम्पिनुपरेको पनि यथार्थ हो ।
त्यति मात्र नभएर निर्वाचनको माहोल बनाउन र यसको अपरिहार्यता पुष्टि गर्न देश दौडाहा र जनता जागरण पनि एमाओवादीले गरेको हो । योभन्दा रोचक पक्ष सबैभन्दा बढी संविधानसभाको पक्षमा भाषण र वकालत पनि एमाओवादीले नै गरेको हो । निर्वाचन सम्पन्न भएकै दिन एमाओवादी अध्यक्षले नै वक्तव्यमार्फत निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भएको भनेर जनता र निर्वाचन प्रक्रियामा सहभागीलाई बधाई पनि दिएकै हो ।
यतिसम्म गरेको दललाई कुन कारण प¥यो जसले सबै प्रक्रियामा चित्त दुखाउनुपरेको छ रु प्रश्न गम्भीर बनेको छ । जनमतलाई अस्वीकार गर्नु अधिनायकवाद हो । र, घोर अप्रजातान्त्रिक कार्य हो । एमाओवादी जत्तिको जिम्मेवार दलले यस्तो कार्य गरेको पटक्कै सुहाउने कुरा होइन । एमाओवादीले मतपेटिका संकलनका क्रममा साटफेर भएको, आफ्ना प्रतिनिधिको मोटरसाइकलको हावा खुस्काइएको, खसेको भन्दा बढी मत बुथमा देखिएकोजस्ता तर्क अघि सारेको छ । यदि सत्य त्यो हो भने त्यस्ता ठाउँमा प्रश्न उठाएर अन्य स्थानमा सहभागिता कायम राख्न सकिन्थ्यो ।
यसो नगरी आफ्ना प्रतिनिधिलाई गणना प्रक्रियाबाट सबै ठाउँमा अलग बनाउने, समग्र निर्वाचन प्रक्रियाको पुनरावलोकन गर्नेजस्ता तर्क उठाउनु कुन सिद्धान्त, प्रक्रिया र नजिरका आधारमा जायज मान्ने रु यसको जवाफ भविष्यमा एमाओवादीलाई दिन हम्मे पर्नेछ । प्रारम्भिक परिणाम नकारात्मक आएका भरमा संविधानसभामै सहभागी हुन्न भन्नु जनताले उसलाई दिएको मतको अपमान भन्दा केही होइन । जितको संघारमा रहेका नेताले जनमतको कदर गर्दै प्रमाणपत्र बुझ्न जानुपर्छ । र भन्नुपर्छ, धाँधलीका बीच पनि हामी जनमतलाई अपमान गर्दैनौं ।
किनभने एमाओवादीले दाबी गरेको भन्दा अन्य ठाउँमा पनि उसलाई मतदाताले प्रष्ट विश्वासका साथ मत दिएका छन् । ती जनतालाई दिने जवाफ एमाओवादीको बनिबनाउ अवश्य छैन होला । जनमत स्विकार्नु लोकतन्त्रमा विश्वास गर्ने पार्टीको महानता हो । यो महानता गुमेको खण्डमा फेरि जनताकहाँ जाने एजेन्डा समाप्त हुनेतर्फ एमाओवादी सचेत बन्नै पर्छ । तसर्थ, अब निर्वाचनको बाँकी प्रक्रियामा सामेल भई जनमतलाई स्वीकार गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा सहयोगी र निर्णायक भूमिका खेल्न एमाओवादी पछि पर्नुहुन्न । अन्यथा जनताले फेरि तिरष्कार गरे भने अस्तित्वको खोजीमा वर्षौसम्म संघर्ष गर्नुपर्ने दिन आउन बेर छैन ।
राजधानी दैनिकबाट

No comments:

Post a Comment