Friday, November 22, 2013

एमाओवादीको विचलन

एमाओवादीको विचलन
दोस्रो संविधानसभाको चुनाव छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएर मत परिणाम आउने क्रममा छ। यो निर्वाचन २०४६ को पहिलो जनआन्दोलनपछि सम्पन्न भएका निर्वाचनहरु मध्ये सम्भवतः सबैभन्दा शान्तिपूर्ण र धाँधलीरहित हो। पहिलोपटक फोटोसहितको नामावली संकलन र मतदाता परिचयपत्रका कारण पनि धाँधलीको गुञ्जायस यो निर्वाचनमा कम थियो।
निर्वाचनको पूर्ण परिणाम आएको छैन। तथापि मतदाताले कुनकुन पार्टी रुचाए भन्ने प्रस्टै देखिएको छ। दोस्रो संविधानसभाको निर्वाचनको परिणामहरु आउदै जाँदा पहिलो संविधानसभाको सबैभन्दा ठूलो पार्टी एमाओवादीमा हतास र गम्भीर विचलन देखिएको छ। बुधबार मध्यरात सम्ममा मतदाताहरुले देशभरिबाट नै एमाओवादीलाई भारी मतले अस्वीकृत गरेका संकेत आउन थालेपछि उक्त पार्टीले हठात मतगणना रोक्न माग गर्‍यो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित उपत्यकाबाट उठेका पार्टीका सबै उम्मेदवारहरु मतगणनामा तेस्रो स्थानमा धकेलिन थालेपछि मत गन्ने प्रक्रिया रोक्ने माग आउनु एउटा संयोगमात्र थिएन।
आज बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईले निर्वाचनमा धाँधली भएको निर्लज्ज आरोप लगाए। यो आरोप हजारौं घरेलु तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले चुनाव धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको भनी दिएको स्वीकृतिसँग मेल खाँदैन। स्वयम् एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो फेसबुक वालमा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा नेपाली जनतालाई दिएको बधाईसँग पनि मेल खाँदैन। एमाओवादीले चुनावलाई धाँधलीपूर्ण मात्र करार दिएको छैन, यसको सिंगो पुनरावलोकन नभए संविधानसभा बाहिरै बस्ने धम्की पनि दिएको छ।
नेपाली समाजले माओवादीको असफल ुजनयुद्धुको व्यवस्थापन गर्ने क्रममा यहाँसम्म आइपुग्दा धेरै दुःख बेहोरेको छ। एउटा उग्रवामपन्थी पार्टीलाई हिंसाबाट शान्तिमा, अधिनायकवादबाट लोकतान्त्रिक बाटोमा ल्याउँदाको मूल्य ठानेर नेपाली नागरिकहरुले त्यो दुःख उठाएका हुन्। दुर्भाग्य, एमाओवादीमा न्यूनतम राजनीतिक आचरण र थोरै पनि लोकतान्त्रिक निष्ठाको विकास भएको देखिएन। मतदाताको मत स्पष्ट प्रकट हुन थालेपछि कुन लोकतान्त्रिक पार्टीले मतगणना रोक्ने माग गर्छ रु एमाओवादीले आफूलाई भोट नदिने नागरिकहरुको मतको सम्मान त गरेन नै, आफूलाई मत दिने मतदाताको लाज पनि बचाएन। एमाओवादी पार्टी नागरिकहरुको अभिमत अनुसार चल्ने एउटा लोकतान्त्रिक पार्टीमा रुपान्तरित भइसक्यो भनेर पैरवी गर्ने उसका शुभेच्छुकहरुको शिर पनि निहुराइदियो।
आफ्नो मागको सुनुवाइ नभए संविधानसभामा नफर्किने बचकना निर्णय सुनाएर एमाओवादी कुन राजनीतिक बाटो हिँड्न खोजेको होरु आफूले ‘जन्माएकोु संविधानसभाको आफूलाई मात्र माया भएको दाबी गरेर नथाक्ने एमाओवादी त्यही संस्थालाई कहिले दरबारको पटाङ्गिनी त कहिले चौबाटोमा बेवारिसे छोड्न बारम्बार तयार देखिएको छ। संविधानसभा राजनीतिक दाउपेचका क्रममा उब्जेको एउटा फगत माग थियो र यसको एमाओवादीलाई खासै मोह छैन भन्ने स्पष्ट भएको छ।
एमाओवादीले के बुझ्नु आवश्यक छ भने संविधानसभा अब नेपालीको एजेण्डा भइसक्यो। एमाओवादीबाटै फुटेर गएको वैद्य समूहले हानेको पेट्रोलबम र त्रासलाई चिरेर नेपालीहरुले दोस्रो संविधानसभा चुनेका छन्। विडम्वनापूर्ण संयोग हो, चोइटिएको माओवादीले संविधानसभाको चुनाव अस्वीकार गरेर आफ्नो नैतिक बल गुमायो, एमाओवादी चुनावको परिणामलाई अस्वीकार गरेर गुमाउँदै छ। जीवनको खतरा मोलेर संविधानसभाको चुनावमा नागरिकहरुले ऐतिहासिक रुपमा भोट खसाल्नुको अर्थ हो, उनीहरुले यो संक्रमणको अन्त्य चाहेका छन्। नयाँ संविधान चाहेका छन्।
एमाओवादीको धम्कीले न त मतगणना रोकिन्छ, न त संविधान निर्माण प्रक्रिया नै। एमाओवादीसँग यो बचकना निर्णय फिर्ता गर्ने र नागरिकहरुको मतको सम्मान गर्ने समय अझै घर्किसकेको छैन। लोकतन्त्रमा एकपटकको हारले पार्टीको जीवन सकिन्न। यो बाटो छोडेर उ आत्मघाती बाटो हिँड्यो भने एमाओवादीको पतन कसैले रोक्न सक्ने छैन। हाम्रो आग्रह र शुभेच्छा छ– एमाओवादी पार्टीले विचलित नभई लोकतान्त्रिक बाटोमै हिँड्ने साहस र अठोट बटुलोस्।
सेतोपाटीबाट

No comments:

Post a Comment