Friday, November 22, 2013

जनताको फैसलामाथि धावा

गणेश बस्नेत
एक पटक असफल भए पनि मंसिर ४ गतेको संविधानसभाको दोस्रो निर्वाचनमा जनताको उल्लेख्य सहभागिता देखिएको छ । छिमेकी मित्रराष्ट्र भारत, चीनलगायत सवै अन्तराष्ट्रिय समुदायले निर्वाचनमा देखिएको जनसहभागिता र शान्तिपुर्ण निर्वाचनप्रति नेपाली जनतालाई बधाई दिएका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले पनि नेपाली जनतालाई बधाई दिइसकेका छन् । निश्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण निर्वाचनले ल्याएको परिणामलाई पनि अन्तराष्ट्रिय समुदायले स्वागत नै गरेको छ । नेकपा–माओवादीको बन्दबीच जनताको निकै उत्साहपुर्ण सहभागिताबीच सम्पन्न निर्वाचनको प्रारम्भिक परिणाम आउने क्रम पनि जारी छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
दुवै दलबीच को पहिलो हुने भन्नेमा होड चलेको देखिन्छ परिणामले । एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति शुशिल कोइरालाले निर्वाचनअघि घोषणा गरेकोजस्तै सवैभन्दा ठुलो दल बन्ने होडमा उनीहरू रहेको देखिन्छ परिणामले । यतिबेलासम्म मतगणना भइरहेको अधिकांश स्थानमा एमाले र कांग्रेसकै उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । अघिल्लो संबिधानसभा निर्वाचनमा पहिलो दल बनेको एकीकृत नेकपा माओवादी यस पटक निकै कमजोर अवस्थामा पुगेको छ । अहिलेसम्मको परिणाम हेर्दा मुलुकमा कांग्रेस र एमालेको दुई तिहाई आउने प्रष्टै संकेत मिलेको छ ।
प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि मत आएमा दुई तिहाई भन्दा बढी स्थान दुई दलले ल्याउने अवस्था देखिन्छ । निर्वाचनको परिणामले अघिल्लो संबिधानसभा निर्वाचनमा निकै कमजोर बनेका एमाले र कांग्रेसले यस पटक आफ्नो अवस्था निकै मजबुत बनाएको मान्न सकिन्छ । यो परिणामले नयाँ लोकतान्त्रिक संबिधान निर्माण हुने आम नागरिकमा बिश्वास पलाएको छ । पाँच बर्षको मुल्यांकनपछि जनताले यीनै एमाले र कांग्रेसलाई नै लोकतान्त्रिक संबिधानसहितको समृद्ध नयाँ नेपाल निर्माणको जिम्मा दिएका छन ।
यस पटकको परिणामबाट जनताले चर्को क्रान्तिकारी नाराका पछाडि होइन, मुलुक जोगाउने दललाई रोजेको देखिन्छ । साथसाथै सवैको पहिचान भेटिने र जातीय द्वन्द्ध मेटिने संघीयताको पक्षमा पनि स्पष्ट फैसला दिएका छन जनताले । निर्वाचन परिणाम हेर्दा संघीयताको नाममा मुलुकलाई चिराचिरा पार्ने र जात जातबीच झगडा चर्काएर दुर्घटनामा पु¥याउने षड्यन्त्रलाई पनि चिर्न जनता सफल भएको मान्न सकिन्छ ।
अघिल्लो पटक कांग्रेस र एमालेको योगफल जोड्दासमेत बढी संख्यामा बिजयी बनेको एमाओवादीलाई यस पटकको निर्वाचन परिणामले निकै ठूलो धक्का दिएको छ । यस निर्वाचनमा आफैले आफैलाई राष्ट्रकै नेता घोषणा गर्दै सडकमा कुर्लिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत लज्जास्पद हारको सामना गर्न बाध्य भएका छन । त्यसैको परिणाम एमाओवादीले निर्वाचन सम्पन्न भएको दिन मुलुकभर निश्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण निर्वाचन भएको घोषणा गर्ने एमाओवादीले हार स्वीकार गर्नुको साटो जनताको फैसला अस्वीकार गर्ने धम्की दिएको छ ।
चुनाव सकिएको दिन जनताको फैसलालाई सलाम गर्ने एमाओवादी अध्यक्ष दाहालले नै देशभरी नै हारको अवस्था देखेपछि एकाएक मतदान पेटिका साटियो भनेर नाटक गर्दै निर्वाचन परिणाम अस्वीकार गर्ने घोषणा गरेका छन । काठमाडौं–१० मा पराजित भएको नतिजा सार्वजनिक भएलगत्तै उनले पत्रकार सम्मेलन गरेर यस्तो धम्की दिएका हुन । त्यत्ति मात्रै नभएर संबिधानसभामा सामेल नै नहुने अत्यन्तै आपत्तिजनक र निन्दनीय चेतावनी एमाओवादी नेतृत्वले दिन पुगेको छ । जनमतलाई अस्वीकार गर्ने एमाओवादीको यो शैली र ब्यवहारको जतिसुकै निन्दा र भत्र्सना गरे पनि कम हुन्छ ।
उस्को धम्कीपछि कतै हारको कारण एमाओवादीका नेताहरू यति विचलित भएका त होइनन भन्ने गम्भीर प्रश्न खडा भएको छ । साथसाथै जनताको फैसलालाई नमान्ने अधिनायकवादी सोच र ब्यवहार पनि छताछुल्ल भएको छ । अघिल्लो पटकको संबिधानसभामा सवैभन्दा ठुलो दल बनेर दुई दुई पटक सरकारको नेतृत्व गरिसकेको दलले चुनावमा हारेपछि संबिधानसभा नै बहिस्कार गर्ने भन्दै धम्की दिनु र जसरी भएपनि आफुहरूलाई जितेको घोषणा गरिदिनु पर्ने बार्गेनिङ गर्नु जनतामाथि गरिएको अक्षम्य अपराध हो । यस्तो अपराध एमाओवादीले बिगतमा पनि गरेकै थियो ।
त्यसैको सजाय यो निर्वाचनमा पाएको हो । तर उस्ले अझै पनि सुध्रने कोशिस गरेको पाइएन । सत्यलाई ढाकछोप गर्न सकिदैन । निकै तितो पनि हुन्छ । अघिल्लो संबिधानसभा एमाओवादीकै कारण बिघटन भएको हो । आफ्नो सरकार जोगाउनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै तत्कालिन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले संबिधानसभा नै बिघटन गर्न सिफारिश गरेका हुन । सत्ताका लागि संबिधानसभाकै बली चढाउने काम गरेकै कारण निर्वाचनमा एमाओवादीलाई जनताले सजाय दिएका हुन ।
संबिधानसभा बिघटन गराउने, मिलेर बसेका नेपाली जनता लडाउने अनि अकुत सम्पत्ति कमाएर आफू सामन्त बन्ने बाटोमा लागेकै कारण निर्वाचनमा एमाओवादीले सजाय पाएको हो । यसलाई सहर्ष स्वीकार गर्नुको साटो धम्की दिएर जनताको अभिमतलाई अपमान गर्नु राजनीतिक दलको लागि शोभनीय बिषय होइन । यो शैलीलाइृ एमाओवादी नेतृत्वले तत्कालै जनतासँग माफी मागेर सच्याउन जरुरी छ ।
बिगत ५ बर्षसम्म जनतामाथि बेइमानीको चमत्कार गरेकै कारण जनताले एमाओवादी र त्यस्का प्रमुख नेता पुष्पकमल दाहाललाई चमत्कारिक रूपमै सजाय दिएका हुन् । तिमीले धेरै ढाँट्यौं, धेरै झुक्यायौं, धेरै बेइमानी ग¥यौं, तिम्रो ९९ अपराधलाई माफी दिइएको थियो, तर सुध्रिनुका साटो सय अपराध गर्न पुग्यौं भन्दै प्रचण्डलाई जनताले पराजयको कोर्रा बर्साइ दिएका हुन । काठमाडौं–१० मा प्रचण्डको लज्जास्पद पराजय जनताले दिएको त्यही सजायको परिणाम हो । तर एमाओवादीले अहिले हार स्वीकार्न नसकेर दिउसै रात पार्ने निन्दनीय अभिब्यक्ति दिएको छ ।
एमाओवादीलाई नै मतदान गर्ने आम नेपाली जनतालाई समेत अपमानित गरेको छ, जनमतलाई अस्वीकार गर्ने धम्की दिएर । यस्तो धम्की दिनुको साटो जनताको फैसलालाई स्वीकार गर्छांै भन्दै बिगतमा एमाले र कांग्रेसको जस्तै ब्यवहार प्रदर्शन गर्न सकेको भए जनतामा केही सकारात्मक प्रभाव पर्ने थियो । तर एमाओवादी नेतृत्वमा त्यत्ति सानो सभ्य शैली पनि देखिएन । अघिल्लो चुनावमा जनतालाई भोट हाल्नै नदिएर पहिलो बनेको एमाओवादीले यसपटक त्यो काम गर्न सकेन । त्यसैले उस्को अवस्था दयनीय बन्यो । तर उस्ले जनतामाथि नै प्रश्न उठाएर निर्णय मान्दिन भन्दै अधिनायकवादको बाटो लिएको देखिन्छ ।
काठमाडौं ५ मा पराजय भएलगत्तै उमाले महासचिव इश्वर पोखरेलले बिजयी कांग्रेस नेता नरहरि आचार्यलाई बधाई दिए । तर दाहालले पराजय लगत्तै संबिधानसभामै सहभागी नहुने घोषणा गरे । लोकतान्त्रिक संस्कार अबलम्बन गर्न नसकेको कारण दाहाल विचलित देखिए । तर पाखरेलले आफ्नो पार्टीको नीति र आफ्नै लोकतान्त्रिक संस्कार देखाए ।
अव एमाओवादीका नेताहरूले आफ्नो शैली र ब्यवहार दुवैमा परिवर्तन नगरेसम्म मुलुकमा फेरि अगाडि आउने बाटो देखिदैन । त्यसकारण हारको पीडाले आवेगमा आएर बिवेक गुमाउने काम एमाओवादी नेतृत्वले नगरोस् भन्ने कामना मात्र गर्न सकिन्छ ।

No comments:

Post a Comment