Saturday, January 31, 2015

चोर खोज्दा भेटिए न्यायाधीश बमका हत्यारा


गणेश बस्नेत/राजधानी
काठमाडौं, १५ माघ
चोरीको सामान्य घटना अनुसन्धान गर्दा सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यारा पत्ता लागेको तथ्य फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) चोरीको घटना अनुसन्धानको क्रममा न्यायाधीश बमको हत्यारासम्म पुगेका हुन ।
‘धनुषामा चोरीको घटना निकै बढ्यो । प्रहरीले चोरी नियन्त्रणका अनुसन्धानमा निपुन जुनियर अधिकृतको नेतृत्वमा टिम नै बनायो,’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी नायव महानिरीक्षकले राजधानीसँग भने, ‘त्यही क्रममा न्यायाधीश बमको हत्यारासम्म प्रहरी पुग्न सक्यो ।’ प्रहरी स्रोतका धनुषा प्रहरीले चोरीको अभियोगमा १२ पुसमा धनुषाकै हनुमाननगरबाट पिन्टु भन्ने दीपक कर्णलाई पक्राउ ग¥यो । उनीमाथि अनुसन्धानको जिम्मेवारी प्रहरी नायव निरीक्षक (सई) गगन शाहीले पाए । कर्णसँग बयान लिई थप अनुसन्धान गर्दै जाँदा अभियुक्तले २०÷२५ स्थानमा चोरी गरेको तथ्य खुल्यो । यतिधेरै चोरीका घटनामा उनको संलग्नता देखेर प्रहरी आफै चकित बन्यो । थप अपराधमा पनि संलग्न हुन सक्ने अनुमान सई शाहीले गरे । त्यसैकारण उनले अनुसन्धानमा ‘ट्रिक’ लगाए । 
अभियुक्तसँग निकै हिमचिम बढाएर बचाउने कसम नै खाए । बयान लिँदा पनि ‘दोस्ती’को नाटक रचेर मदिरासमेत सेवन गराए । अभियुक्त निकै खुलेर बयान दिन थालेपछि सई शाहीले बचाउने भन्दै आकर्षक प्रस्ताव पनि राखिदिए । उनको प्रस्तावमा लोभिएर कर्णले एकाएक आफ्नो बिगत खोल्न थाले । प्रहरीको प्रस्तावमा लोभिएलगत्तै कर्णलाई शाहीले पहिलो प्रश्न गरे, यति धेरै ठाउँमा चोरी गरिसकेपछि पैसा त धेरै आयो होला, कहाँ–कहाँ लगानी गरियो त ?’ उनको प्रश्नमा कर्णले भने, ‘धेरैतिर दिइयो, १ लाख रुपैया चाँही बाबु थापालाई दिएँ ।’ कर्णको यो बयानपछि सई शाही एकाएक झस्किए । सर्वाेच्च अदालतका न्यायाधीश बममाथि गोली प्रहारपछि सवैभन्दा पहिला घटनास्थल पुग्ने शाही नै पहिलो प्रहरी अधिकृत थिए । त्यसबेला उनी महानगरीय प्रहरी बृत नयाँ बानेश्वरमा कार्यरत थिए ।
घटनाको प्रकृति हेरेका र सर्लाहीमा प्रहरीमाथि नै गोली प्रहार गरेको घटनाबारे जानकार शाहीले बाबु थापाको नाम कर्णले लिएपछि अन्य अपराधमा समेत अनुसन्धान अघि बढाई धनुषाका प्रहरी उपरीक्षक (एसपी) गणेश थापालाई सबिस्तार जानकारी गराए । एसपी थापाले थप अनुसन्धान गर्न निर्देशन दिएकै रात नयाँ तथ्य पत्ता लाग्यो, न्यायाधीश बमको हत्यारामध्येका एक कर्ण नै हुन । प्रहरीसँगको बयानको क्रममा कर्णले भने, ‘तपाईलाई म सामान्य चोर जस्तो लाग्ला, तर बास्तबिकता यति मात्रै होइन, हामीले सर्वाेच्च अदालतकै न्यायाधीशलाई पनि मारिसकेका छौं, ५ जना मिलेर न्यायाधीश रणबहादुर बमको हत्या ग¥यौं ।’
यही बयानलाई आधारमा १४ पुसमै धनुषा प्रहरीले झापा पुगेर करण भन्ने शिब चौधरीलाई पक्राउ ग¥यो ।
चौधरी पक्राउ परेपछि न्यायाधीश बमको हत्यामा उनीहरुको समुह संलग्न रहेको र चुरे भावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा मुख्य योजनाकार रहेको तथ्य प्रहरीले पत्ता लगायो । यो तथ्य खुलेलगत्तै धनुषा प्रहरी प्रमुख रहेका एसपी थापाले जनकपुर अञ्चल प्रहरी प्रमुख एसएसपी सुरज केसी हुँदै प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालसम्मलाई घटनाबारे जानकारी गराए । एसपी थापाले जानकारी दिएलगत्तै आइजीपी अर्यालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) भीम दाहालको नेतृत्वमा सई दिपेन्द्र अधिकारीसहितको टोली धनुषा प्रहरीसँग समन्वय गर्न पठाए ।
धनुषा प्रहरीले सर्लाहीमा १८ पुसमा नबिन भन्ने प्रेम खडका र बाबु थापालाई पक्राउ गर्दा सिआइवीबाट खटिएको टोली पनि सहभागी भयो । प्रहरी महानिरीक्षक अर्यालकै आदेशमा धनुषा प्रहरीले अभियुक्तलाई काठमाडौं पठाएको हो । त्यसलगत्तै १९ पुसमा प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरिएको थियो  ।
आइजीपी अर्याल स्वंयले यस घट्नाको सफल अनुसन्धान भएको बताउँदै नेपाल प्रहरीको घाटीमा अड्किएको काँडा निस्किएको बताएका थिए । घट्नाको सार्वजनिक गर्दै सिआइवी प्रमुख डिआइजी हेमन्त मल्लले व्यूरोले धनुषा र सर्लाही प्रहरीको सहयोगमा न्यायाधीश बमको हत्यारा पक्राउ गरेको जनाएका थिए । तर उनले अनुसन्धानको प्रस्थान बिन्दु नै धनुषा प्रहरी रहेको बिषयमा भने केही बताएका थिएनन । सर्वाेच्च अदालतका न्यायाधीश बममाथि १८ जेठ २०६९ मा ललितपुरको यूएन पार्क नजिकै पर्ने शंखमुलघाटमा गोली प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न एक अभियुक्त सञ्जय स्माइली मगर भने हाल बिदेसमा रहेका छन । 

No comments:

Post a Comment