Wednesday, January 21, 2015

जब बाबुरामले गरे इसारा..ओलीको छातीमा बज्रियो एकाएक माइक

बाबुराम भट्टराईले केपी ओलीतिर आक्रमण गर्न इसारा गरेपछि उहाँ (ओली) को छातीमा माइक प्रहार भयो, उहाँलाई रोक्न खोज्दा सभासद् ऋषि पोखरेल पनि घाइते भए, त्यसपछि विद्या भण्डारी र झलनाथ खनालमाथि पनि आक्रमण भयो



जब संविधानसभा बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति गठनका लागि प्रस्ताव गर्न कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठको नाम उच्चारण गरे, एकीकृत नेकपा माओवादी र मधेसवादी दलका सभासद् एकाएक आक्रमणमा उत्रिए । सभाध्यक्ष नेम्वाङलाई रोस्ट्रममै चढेर आक्रमण गर्न एमाओवादी सभासद् उद्दत रहे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता डा। बाबुराम भट्टराईले नेतृत्व गरेको सभासद्को नाराजुलुस सोमबार मध्यराति एकाएक आक्रमणकारी दस्तामा परिणत भयो । सभाध्यक्षमाथि तीन पटकसम्म आक्रमण गरियो । जुत्ता हानियो, माइक बजारियो । सबैको ध्यान त्यसतर्फ गइरहेका बेला एक्कासि कांग्रेस सभासद् रामहरि खतिवडामाथि माइक प्रहार भयो । खतिवडामाथि आक्रमण गर्ने सभासद् थिए, एमाओवादीका उमेश यादव ।

सप्तरी–३ बाट निर्वाचित यादवले प्रहार गरेको माइक ओखलढुंगा–२ का सभासद् खतिवडाले समातेर आफ्नो नियन्त्रणमा लिनासाथ संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका एमाओवादी नेता डा। बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीतिर आँखा सन्काए । अध्यक्ष पुष्पकमल दाहालको साथमै रहेका भट्टराईले ओलीतिर आँखा सन्काएलगत्तै यादवले अर्को माइक निकालेर ओलीको छातीमा प्रहार गरे । बैठकमा संवाद समितिको प्रतिवेदनमाथि उठाएको प्रश्नको जवाफ दिने क्रममा निकै आक्रोशित मुद्रामा महाभारत कथाको पाँच गाउँ मागेको कुरा गरी तराईका पाँच जिल्ला चाहिने भन्दै ओलीविरुद्ध खनिएका भट्टराईले देख्ने गरी नै ओलीतर्फ इसारा गरेका थिए ।

‘सुरुमा मलाई हाने, पहिलो माइक ममाथि प्रहार हुँदा समातेर राखें, त्यसलगत्तै बाबुराम भट्टराईले केपी ओलीतिर आक्रमण गर्न इसारा गरेपछि ओली
को छातीमा माइक प्रहार भयो, उहाँलाई रोक्न खोज्दा सभासद् ऋषि पोखरेल पनि घाइते भए, त्यसपछि विद्या भण्डारी र झलनाथ खनालमाथि पनि आक्रमण भयो,’ सभासद् खतिवडाले राजधानीसँग भने ।

‘केपी ओली, झलनाथ खनाल र विद्या भण्डारीमाथि आक्रमण भएको देखेर जोगाउन आउँदा पोखरेल घाइेत भएका हुन् ।

एमाओवादी आक्रमणमा परेका एमाले अध्यक्ष ओलीको छातीमा गहिरो दाग लागेको छ भने वरिष्ठ नेता खनाल र उपाध्यक्ष भण्डारीलाई चोट लागेको हो ।’ सभासद् खतिवडाका अनुसार यसरी नेताहरूलाई ताकी–ताकी आक्रमण गर्ने र सभाध्यक्षमाथि आक्रमण गर्ने सबै एमाओवादी सभासद् थिए ।

त्यसमध्ये उमेश यादवले एमाले नेतामाथि आक्रमण गरेका थिए भने शिवकुमार मण्डल, दलजित श्रीपाइली, अशोक यादव, अमनलाल मोदीलगायतका आधा दर्जन सभासद् कुर्सी तोडफोड र आक्रमणको मोर्चामा खटिएका थिए । उनीहरूकै आक्रमणबाट प्रधानमन्त्री सुशील कोइरालासमेत घाइते भए । आक्रमणबाट प्रधानमन्त्री कोइरालाको टाउकोमा टुटुल्को उठेको छ ।

यद्यपि, कोइरालामाथि आक्रमण गर्ने सभासद्को पहिचान भने हुन सकेको छैन । लुकेर हानेका कारण पहिचान हुन नसकेको हो । आक्रमण गर्न भने एमाओवादी नेता भट्टराईले नै निर्देशन दिइरहेको कांग्रेस–एमाले सभासद्को भनाइ छ ।

‘कुर्सी तोडफोड गर्ने र नेताहरूमाथि आक्रमण गर्ने काममा एमाओवादी अध्यक्ष दाहाल र नेता भट्टराईले प्रत्यक्ष निगरानी र निर्देशन गरिरहेका थिए,’ सभासद् खतिवडाले भने । एमाले सभासद्हरूले भने आफ्नै नेतामाथि आक्रमण हुँदा पनि नेतृत्वले चुप बस्न भनेकाले कुनै प्रतिवाद नगरेको जनाएका छन् ।

‘जे गरे पनि कुर्सीबाट नउठ्न निर्देशन थियो, त्यसैले एमाओवादीको बर्बरतालाई चुप लागेर सहेर बस्नुको विकल्प थिएन,’ एमाले सभासद् विनोद श्रेष्ठले भने । एमाओवादी केन्द्रीय सदस्य गोपाल किराँतीले पार्टीको केन्द्रीय योजनाअनुसार नै एमाले अध्यक्ष ओलीमाथि आक्रमण गरिएको तथ्य खुलासा गरेका छन् ।

‘एमाओवादीको केन्द्रीय योजनाअनुसार हाम्रो पार्टीको अध्यक्षमाथि आक्रमण भएको जानकारी पाएका छौं, यो जंगली र बर्बरतापूर्ण आक्रमणको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ,’ संविधानसभामा एमाओवादी वितण्डाबारे छलफल गर्न मंगलबार संविधानसभा भवनमै बसेको एमाले स्थायी समिति बैठकपछि सचिव प्रदीप ज्ञवालीले भने ।

उनले सहमतिका लागि प्रयत्नरत नेताहरूमाथि आक्रमण गरेर एमाओवादीले आफ्नो असली चरित्र प्रदर्शन गरेको टिप्पणीसमेत गरे । एमाओवादी आक्रमणबाट पार्टी आफ्नो अडानमा अलिकति पनि विचलित नहुने घोषणा पनि ज्ञवालीले गरे ।
राजधानी दैनिकमा २०७१ माघ ७ गते प्रकाशित समाचार

No comments:

Post a Comment