Sunday, March 23, 2014

दोलखालीको सेवामा सिंंगटी अस्पताल

दोलखा जिल्लाको उत्तरी भेग भूगोलको हिसाबले दुर्गम मानिन्छ । कतिपय सुविधासम्पन्न स्थानमा त गतिलो अस्पताल सेवा नपुगिरहेको अवस्थामा दुर्गमको के कुरा । यही कुरालाई ध्यानमा राखेर त्यस भेगका २२ भन्दा बढी गाविसका जनतालाई पायक पर्ने गरी लामिडाँडा गाविसको सिंगटीमा अस्पताल सञ्चालनमा आएको छ ।
अस्पताल भवनका लागि भारतीय दूतावासले दुई करोड उनासी लाख छपन्न हजार तीन सय तीन रुपैयाँ आर्थिक अनुदान सहयोग गरेको छ । अहिले त्यही सहयोग रकमबाट पाँचओटा भवन बनेका छन् भने १० शøयाको अस्पताल स्थापना भएको छ । यसै वर्षको ७ फागुनदेखि सञ्चालनमा आएको यस अस्पतालमा पाँचओटा अस्पताल भवन निर्माण भएका छन् भने एक्स–रे, ईसीजी, अल्ट्रासाउन्ड मेसिनलगायत ल्याब उपकरण र बेडका सामानहरू उपलब्ध छन् ।
बहिरंग तथा आकस्मिक, प्रसूति सेवा, प्याथोलोजी सेवा, एक्स–रे, अल्ट्रासाउन्ड आदि सेवा अस्पतालमा
उपलब्ध छ । यस अस्पतालमा दुईजना एमबीबीएस डाक्टर, स्टाफ नर्स, अनमी र स्वास्थ्य सहायकहरू कार्यरत छन् । अस्पताललाई गैरनाफामूलक रूपले सामुदायिक अस्पतालका रूपमा सञ्चालन गर्न दोलखा जिल्ला विकास समितिको स्वामित्वमा सञ्चालन गरिने व्यवस्था छ । हाल अस्पताल व्यवस्थापन समितिसँग सम्झौता गरी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाबहिल, काठमाडौंले अस्तपताल सञ्चालन गरिरहेको छ । दोलखा–१ का सभासद् पार्वत गुरुङ सिंगटी अस्पताल उत्तरी क्षेत्रका बासिन्दाका लागि वरदान भएको बताउँछन् ।
सुरुमा बिरामीहरूबाट उठेको रकमले मात्र सञ्चालन खर्च नपुग्ने हुँदा जिविस दोलखा, सम्बन्धित गाविस, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी तथा अरू संघ÷संस्थाले सहयोग दिँदै आएका छन् । नेपाल सरकारबाट पनि अनुदान सहयोग वार्षिक रूपले दिनुपर्ने व्यवस्थापन समितिका अध्यक्ष आत्मकृष्ण श्रेष्ठको भनाइ छ । यो अस्पतालबाट दोलखा जिल्लाका उत्तरी भेगका ८० हजार जनताले सेवा पाउने छन् । अस्पतालका लागि आवश्यक जग्गा शिशिरघारी वन उपभोक्ता समितिले निःशुल्क प्रदान गरेको छ भने प्रवेश मार्ग, खानेपानीको व्यवस्था जिविसको अनुदानबाट निर्माण भएको छ र नेपाल विद्युत् प्राधिकरणले बिजुली लाइन निर्माण गरिदिएको छ । अस्पतालमा टेलिफोन तथा इन्टरनेट सेवा पनि उपलब्ध छ । सिंगटी अस्पतालमा उपचार हुन नसकेको बिरामीहरूलाई हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चाबहिलमा सहुलियत दरमा सेवा दिइने जानकारी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालका कार्यकारी निर्देशक डा. गुप्तबहादुर श्रेष्ठले दिए ।

No comments:

Post a Comment