ईश्वर पोखरेल
यतिबेला मुलुकमा एमालेको आसन्न नवौं महाधिवेशनको चर्चा छ । त्यसैले भइरहेको बहसको यथार्थबीच विगतको समीक्षा र वर्तमानमा एमालेको विश्लेषणका बारेमा जान्न÷बुझ्न खोज्नु स्वाभाविक हो । हामीले बितेका वर्षहरूमा राम्रा कामहरू गरेका छौं, साथै केही नराम्रा कामहरू पनि हामीबाट भएका छन् । बितेका वर्षहरूमा हामीले थुप्रै चुनौतीमाथि विजय प्राप्त गरेका छौं, केही–केही कुरामा हामीलाई हार्नु पनि परेको छ । थुप्रै उपलब्धि भएका छन्, केही गुमाउनु पनि परेको छ, हामीले । बितेका वर्षमा हामीलाई जनताले प्रशंसा पनि गरेका छन्, कतिपय सवालमा हाम्रो आलोचना पनि भएको छ । यसकारण विगतको समीक्षा गर्दा हामीले पाएका उपलब्धि र प्रशंसाहरू प्रेरणा बन्नुपर्छ, हामीले भोग्नुपरेको पराजय र आलोचनाहरू शिक्षा बन्नुपर्छ । यी दुवै कुराप्रति ध्यान पुग्नुपर्छ । अनि मात्रै हामी नयाँ ढंगबाट अघि बढ्न सक्नेछौं ।
महाधिवेशनको प्रसंग चलिरहेको बेला अधिकांश साथीहरूको एउटै चाहना छ, ‘आगामी जेठमा हुने एमालेको नवौं महाधिवेशन एकताको महाधिवेशन बन्न सकोस् ।’ यो कुरालाई नेतृत्वमा बस्ने हामी सबैले मनन गरेका छौं । हामीले योग्यतापूर्वक काम गर्दाखेरी सफलता प्राप्त गरेको अनुभव हामीसँगै छ, योग्यता प्रदर्शन गर्न नसक्दाको चोटको पीडा अनुभूति पनि साथै छ । त्यही अनुभवका आधारमा आगामी महाधिवेशनमा हामी एकताबद्ध भएर निस्कनेछौं । एकताबद्ध होस् भन्ने जनताको चाहना र भावनालाई मनन गरेरै हामी एकताबद्ध भएर अघि बढ्नेछौं ।
यसबीच एकता कसरी हुन्छ भन्ने मूल प्रश्न सबैका सामु रहेको छ । हामीले विचारमा लोकतान्त्रीकरणको कुरा ग¥यौं, त्यसलाई आत्मसात् ग¥यौं । सांगठनिक जीवनमा लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन चाह्यौं र त्यसअनुरूप नै अभ्यास ग¥यौं पनि । यसै आधारमा हामीले हाम्रो आङ्खना व्यवहारलाई थप समृद्ध बनाउँदै पनि छौं । हाम्रो अभ्यास देखरे दुनियाँ चकित भए, धेरैले अनुसरणसमेत गरे । हाम्रो यो अभ्यास निरन्तर जारी रहन्छ । विचारमा लोकतान्त्रीकरण सँगसँगै सांगठनिक जीवनमा पनि लोकतान्त्रीकरणलाई अघि बढाउँछौं, यसलाई अझै समुन्नत बनाउँदै लैजाने हाम्रो संकल्प छ । यो हाम्रो एक–दुई नेताको मात्र नभई सिंगो पार्टीको सर्वसम्मत नीति हो, साझा प्रतिबद्धता पनि हो । त्यसैले नेतृत्वमा रहने कुरा पनि लोकतान्त्रिक अभ्यासको बाटोमा अगाडि जाने संकल्प–उद्घोषको अभिव्यक्ति हो ।
एमालेभित्र सुखद संयोग के छ भने नेतृत्वमा रहने प्रायः सबै नेताहरू एकै उमेर समूहका हुनुहुन्छ । लगभग एकैै किसिमका अनुभव, एकै किसिमका त्याग, बलिदान र योगदानहरू छन् । यो हाम्रो नेतृत्वको सबल पक्ष पनि हो । दुई नेता, झलनाथ खनाल र माधव नेपालले ३० वर्ष नेतृत्व गर्नुभयो । अब हिजो योग्यतापूर्वक नेतृत्व गर्ने आदरणीय नेताहरूबाट पुनः नेतृत्वका लागि दाबी हुँदैन भन्ने विश्वास आमकार्यकर्ताले गरेका छन् । बाँकी नेतृत्वपंक्तिमा रहेका उपाध्यक्षद्वय वामदेव गौतम, विद्या भण्डारी र म महासचिवले नेतृत्वमा दाबी गरिरहेका छैनौं । अरू साथीहरूको पनि त्यस्तो दाबी सुनिएको छैन । त्यसो हुँदा नवौं महाधिवेशनमा एमालेको नेतृत्व सर्वसम्मतका साथ हुन्छ । कहीँ–कतै विवाद हुँदैन । एकताबद्ध भएर नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न हुन्छ । यही नै एमालेको वास्तविकता हो, उचित बाटो पनि यही नै हो । केही बहस हुँदैमा यसमा कसैले शंका नगर्दा हुन्छ । सर्वसम्मत नेतृत्वको सवाल र एकताबद्ध महाधिवेशनको सवालमा, अब शंका गरिरहनुपर्ने आवश्यकता छैन ।
विचारमा छलफल गर्दै आपूmलाई समुन्नत बनाउँदै आएको पार्टी हो, एमाले । एमालेमा विचार छलफल नामको केही चिज छैन भन्नेजस्ता कुरा ठीक होइनन् । सिद्धान्तको छलफल गर्न रुचाउने पार्टी एमाले हो । ‘एमालेमा विचार नामको केही चिजै थिएन, विचारको अनुसन्धान गर्नुपर्छ’ भन्नेजस्ता तर्कहरू पनि आएका छन् । तर, त्यो सत्य होइन, एमाले आङ्खनो विचारको जगमा उभिएर, त्यसबाट निर्देशित भएर यो ठाउँमा आएको पार्टी हो । यसको अर्थ एमालेको विचारमा छलफल गर्नुपर्दैन भन्ने होइन । विचारमा जरुर पनि छलफल हुन्छ । यो अहिलेको छलफल हाम्रो विचारलाई थप समृद्ध बनाउनका लागि नै हो । ‘हिजो विचार थिएन, विचार शून्यमा रहेको थियो, सिद्धान्तविहीन थियो, अब सिद्धान्तको खोजी गर्नुपर्छ’ भन्छन् भने त्यो एमालेलाई नबुझ्नेहरूको तर्क मात्र हो । अहिलेको परिवर्तित सन्दर्भमा हाम्रो विचारलाई थप समृद्ध बनाउनुपर्छ । हामीले लिएको जुन विचार हो, हिजो जे व्याख्या–विश्लेषण ग¥यौं, अहिले त्यो पर्याप्त नहुन सक्छ । यसको अर्थ हामीले हाम्रो विचारलाई थप समृद्ध बनाउने संकल्प गर्नुपर्छ । अहिले हामीले लिएका विचारहरूलाई थप समृद्ध बनाउने उद्देश्यबाट अभिप्रेरित भएर छलफल भइरहेको छ । फेरि एमालेजस्तो पार्टीको महाधिवेशन बा–आमाको ‘चौरासी पूजा’ गरेजस्तो एक पटक मात्रै गर्ने कर्मकाण्ड होइन । यो नियमित प्रक्रिया हो । यसमा एमालेले सापेक्षित हिसाबले अधिकतम छलफल गरेर अघि बढ्छ । चुनौतीहरूलाई आजको चेतनाको आधारमा सम्बोधन गर्ने प्रयास हामी गर्छाैं ।
महाधिवेशनको बहस चलिरहँदा केही मुद्दाहरू छन् जसका बारेमा भ्रमहरू पनि देखिएका छन् । जनताको बहुदलीय जनवादलाई ‘कमा’ र ‘फुलस्टप’ पनि बदल्नु हुँदैन भन्ने कमजोर बुद्धि र मानसिकता भएका मानिस एमालेमा छैनन् । एमालेले जनताको बहुदलीय जनवादलाई एउटा ‘वैज्ञानिक विचार’ मान्छ, र ‘गतिमा नै यसको जीवन हुन्छ’ भन्ने विश्वास राख्दछ । त्यो भनेको परिवर्तित सन्दर्भमा जबज अद्यावधिक हुँदै जानुपर्छ, समृद्ध बन्दै जानुपर्छ । समृद्ध विचारले मात्रै परिवर्तित सन्दर्भमा जटिलतम बन्दै गएको हाम्रो जीवनलाई बाटो देखाउन सक्छ । तर, कोही–कोही ‘जबज’लाई ‘पुनरावलोकन’ गर्नुपर्छ भनिरहेका छन् । योचाहिँ गलत सोच र विचार हो । जबजको पुनरावलोकन होइन, जबजका आधारमा हामीले गरेका अभ्यासलाई फर्केर हेर्नुपर्छ । हामीले ‘जबज’लाई सही तरिकाले प्रयोग ग¥यौं कि गरेनौं भन्नेबारे चाहिँ छलफल हुन सक्छ । जबजको अभ्यास गर्दाको समीक्षा हुन सक्छ । हामीले जबजका आधारमा पार्टी निर्माण ठीक ग¥यौं कि गरेनौं ? सरकार ठीक ढंगले चलायौं कि चलाएनौं ? हामीले प्रगतिशील परिवर्तनका मुद्दाहरूलाई ठीक ढंगले अघि बढायौं कि बढाएनौं ? वा अघि बढाउने प्रयत्न ग¥यौं कि गरेनौं ? पार्टीभित्र योग्यता र क्षमताका आधारमा श्रेष्ठता कायम गर्ने कुरालाई ठीकसित स्थापित ग¥यौं कि गरेनौं ? समीक्षा यी विषयमा हुन सक्छ । जबजको ‘पुनरावलोकन’ भन्नु भन्दा यसको अभ्यासको समीक्षामा हुन सक्छ । यसप्रति सबै सचेत बन्नैपर्छ । कालातीत बनेका कुराहरूले एमालेको वर्तमान जीवनलाई बाटो देखाउन सक्दैनन् ।
माक्र्स र एंगेल्सले निष्कर्ष निकालेका थिए, ‘जहाँ विकसित पँुजीवाद हुन्छ, त्यहाँ समाजवादी क्रान्ति सफल हुन्छ ।’ त्यो भनिरहँदा फ्रान्स, बेलायत र जर्मनीको दृष्टान्त दिएका थिए । दुनियाँभरका कम्युनिस्टले त्यो कुरालाई सिद्धान्तका रूपमा स्वीकार गरे । तर, जब पहिलो विश्वयुद्धको सेरोफेरोमा ती देशहरू होइन, रुसमा क्रान्तिको सम्भावना प्रबल बनेर आयो, त्यसबेला केही माक्र्सवादी पण्डितहरूले भने, ‘माक्र्स र एंगेल्सले विकसित पुँजीवादमा मात्रै क्रान्ति हुन्छ भनेका थिए, यहाँ त सामन्ती सैन्य साम्राज्यवादी मुलुकमा पो क्रान्ति हुन थाल्यो † त्यसैले अब माक्र्सवाद असफल भयो ।’ लेनिनले त्यसको जवाफ दिनुभयो, ‘माक्र्सवाद जड विचार होइन, गतिशील वैज्ञानिक विचार हो । पुँजीवादले एकाधिकार स्वरूप ग्रहण गरेपछि, साम्राज्यवादमा पतन भएपछि, साम्राज्यवादी शोषण, उत्पीडनका साङलाहरू चुँडाउने जहाँको ताकत बलशाली हुन्छ त्यही क्रान्ति हुन्छ ।’ लेनिनको यो विश्लेषणपछि त्यस्ता माक्र्सवादको मीमांसा लेख्न उद्यत माक्र्सवादी पण्डितहरू चुप लागेका थिए ।
हामीले हाम्रो विचार जबजलाई पनि गतिमा बुझ्नुपर्छ । एमालेका बारेमा छलफल गरिरहँदा शान्त तलाउको सानो डुंगामा तैरिएर आएको पार्टी होइन, एमाले । चुनौतीको टाउकोमा टेकेर एमालेहरू यहाँसम्म आइपुगेका छौं । त्यसैले नवांै महाधिवेशनले झनै एकताबद्ध बनाउने विश्वास गर्न सकिन्छ । सबैको चाहना पनि त्यही छ, यतिबेला ।
(पोखरेल एमाले महासचिव हुन् ।)
No comments:
Post a Comment