Thursday, April 17, 2014

प्रहरीभित्र मौलाएको चेन अफ कमान्ड समस्या


गणेश बस्नेत
गृह मन्त्रालय र पुल्चोक काठमाडौंबाट त्यति टाढाको दूरीमा छैन, तर काठमाडौंका एसएसपी रमेश खरेल अझैसम्म मलाई भेट्न आएका छैनन् । मलाई भेट्दा आफ्नो स्वाभिमान गिर्ने महसुस गरेका होलान् सायद ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम


नेपाल प्रहरीमा चेन अफ कमान्डको कुनै समस्या छैन । प्रहरी संगठन चेन अफ कमान्डअनुसार नै चलेको छ । संगठन प्रमुखको हैसियतले भन्दा रमेश खरेल पनि चेन अफ कमान्डमै चलेका छन् । यसमा कुनै शंका नगर्नाेस् ।
आईजीपी उपेन्द्रकान्त अर्याल

फोर्समा चेन अफ कमान्ड हुन्छ, त्यसको मेन्टेन भएन भने प्रहरी बिग्रन्छ भन्ने मैले बुझेको छु, त्यसैले वामदेव गौतमज्यूलगायत कुनै पनि गृहमन्त्री भेट्न गएको छैन, जाँदा पनि जान्न, भेट्न आवश्यकता पनि छैन ।
एसएसपी रमेश खरेल
माथिका यी तीन भनाइले नेपाल प्रहरीभित्रको समस्या बुझ्न केही हदसम्म सहयोग पु¥याएको छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र काठमाडौंका एसएसपी रमेश खरेलले दिएको यी अभिव्यक्तिले मुलुकको गृहप्रशासन कसरी चलिरहेको छ भन्ने सहज अनुमान गर्न सकिन्छ । प्रहरी प्रमुख अर्याल र काठमाडौं जिल्लाको नेतृत्व गरेका एसएसपी खरेलको भनाइ गृहमन्त्री बामदेव गौतमका लागि त्यति सहज र सहयोगी पक्कै देखिँदैन । प्रहरी प्रमुख विदेश भ्रमणमा गएका बेला गृहमन्त्री गौतमले पार्टीको सशक्त भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा रमेश खरेल भेट्न आएनन् भन्ने भनाइपछि यी प्रतिक्रिया आएका हुन् । गौतमको भनाइपछि ‘हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ’ भन्ने चालको नियमलाई पनि तोडिएको अवस्था छ । बराबर होइन अधिक प्रतिक्रिया आइरहेको छ, गृहमन्त्री बामदेव गौतमका विरुद्धमा । नेपाल प्रहरीको इतिहास हेर्दा गृहमन्त्रीविरुद्ध सम्भवतः पहिलो पटक प्रहरी अधिकारीहरू सार्वजनिक रूपमा प्रतिवादमा उत्रिएका छन् । गृहमन्त्री बन्न नदिने अभियानमा लागेर प्रधानमन्त्री सुशील कोइरालासँग नै भेटेको र लबिङ गरेको आरोप लागिसकेको अवस्थामा गौतम झस्किएका थिए । तर, कसैले आक्षेप लगाउँदैमा विश्वास गरिहाल्ने अवस्था थिएन । अर्याल र खरेल मन्त्री हुन नदिने खेलमा लागेको भरपर्दाे प्रमाण गौतमसँग थिएन । त्यसैले उनी त्यसको परीक्षण गर्न चाहिरहेका थिए ।
आईजीपी अर्याल र खरेल दुवैले आफूलाई गृह मन्त्रालयको नेतृत्व गर्न नदिन प्रधानमन्त्रीदेखि कांग्रेस र एमालेकै नेतालाई भेटेरै दबाब दिएको भन्ने सूचनाको भेरिफाइ गर्न गौतमले जानाजान खरेल भेट्न आएनन् भन्ने शब्दजाल फालेको अनुमान एमाले वृतमा  थियो । उनलाई थाह थियो, त्यसपछि आउने प्रतिक्रिया र घटनाक्रमले विगतमा पाएको त्यो सूचनाको यथार्थसम्म पुग्न सकिन्छ । आफ्नो भनाइलगत्तै आएको एसएसपी खरेलको अभिव्यक्ति र विदेशबाट फर्किएपछि आईजीपी अर्यालको टिप्पणीपछि गौतम एउटा निष्कर्षमा पुगेका छन् । उनको त्यो निष्कर्ष हो, प्रहरी प्रमुख र खरेलसहितको एउटा टिम असहयोगी भूमिकामा ज्यान फालेर लागिरहेका छन् । खरेलबारे बोलेको विषयमा आपत्ति जनाउन पुगेका एमाले सभासद्सँगै गृहमन्त्री गौतमले त्यो संकेत दिइसकेका छन् । आईजीपी र एउटा एसएसपीले गृहमन्त्री चलाउन खोज्ने होइन, हैसियत हेर्न जरुरी छ, त्यसमाथि पनि मन्त्रीको शपथ लिनु अघि उनीहरूले आफ्नो पदीय मर्यादाविपरीत गएर मविरुद्ध खेलेको भूमिकाबारे जानकार छु भन्ने गौतमको टिप्पणीको अर्थ बुभ्mन अब कुनै जोतिषीलाई सोधिरहनु नपर्ला ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सुदूरपश्चिम पुगेर प्रहरीका सबै अधिकारी चेन अफ कमान्डमै रहेको उद्घोष गरे । प्रहरी प्रधान कार्यालयभित्रै देखिएको चेन अफ कमान्डको गम्भीर समस्यासँग जुधिरहेका महानिरीक्षक अर्यालले यथार्थ ढाकछोप गर्दै काठमाडौंका एसएसपी रमेश खरेलको प्रसंग उठाएर बाहिर जेसुकै चर्चा भए पनि प्रहरी संगठनभित्र चेन अफ कमान्डको समस्या नरहेको प्रस्टीकरण गरेका छन् । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एसएसपी खरेलले आफूसँग भेट्नसमेत नआएको अभिव्यक्ति दिएपछि आएका यी क्रिया र प्रतिक्रियाले आगामी दिनमा प्रहरी संगठनले भोग्नुपर्ने धेरै यथार्थलाई संकेत गरिसकेको छ ।
प्रहरीभित्र चेन अफ कमान्डमा गम्भीर समस्या रहेको विषयमा आईजीपी उपेन्द्रकान्त राम्रैसँग जानकार छन् । उनका ब्याजी डीआईजीबीच को वरिष्ठ भन्ने होडले दैनिक काममै समस्या आइरहेको छ । तर, पनि आईजीपी चेन अफ कमान्डमा कुनै समस्या छैन भन्न बाध्य छन् । चेन अफ कमान्डको समस्या बुझेकै कारण गृहमन्त्री बामदेव गौतमले एसएसपी रमेश खरेल भेट्न आएनन् भन्दै हैसियत मापन गर्न खोजे । तर, त्यसपछि जे क्रिया प्रतिक्रिया आए, त्यसले प्रहरी र गृह नेतृत्वबीच गम्भीर समस्या रहेको यथार्थ उजागर गरेको छ । यथार्थ पनि के हो भने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगै सेवा प्रवेश गरेका ब्याजी डीआईजीहरू बढुवा हुन नसक्दा बिगत लामो समयदेखि कुनै काम नगरी बसेका छन् । अनि, एआईजी हुँदाहुँदै प्रशासनतर्फको नभएको भन्दै डीआईजीलाई कार्यवाहक आईजीपीको जिम्मेवारी दिनु परिरहेको छ । चेन अफ कमान्डमा कतिसम्म समस्या छ भन्ने कुराको एउटा उदाहरण विमानस्थलमा रहेका डीआईजी यादव अधिकारी हुन् । आईजीपीबाहेक कसैको कुरा मानिन्न भन्दै उनले दिएको उर्दीबारे गृहमन्त्रीदेखि नेतासम्मलाई विमानस्थलमै कार्यरत एसएसपी रमेश फुँयालले गराएको कुरा बाहिर आएको छ । इमानदारिता र कार्यक्षमतामा शून्य रहे पनि एसएसपी फुँयाल हाल डीआईजी अधिकारीकै मातहतमा छन् । सोही कारण अधिकारीले गरेको चलखेलबारे उनी जानकार नहुने कुरै भएन । कतिपय सवालमा अधिकारीले आईजीपीकै विरुद्धमा गृह नेतृत्वलाई पोल लगाएको तथ्य पनि फुँयालले नै खोलिदिएका छन् ।
प्रहरीभित्र चेन अफ कमान्ड रहेको भए एउटा डीआईजी र एसएसपीले कसरी गृह नेतृत्वलाई आईजीपीको पोल लगाउने आँट ग¥यो ? अनि एउटा एसएसपीले कसरी फलानो हाकिम राम्रा छन्, फलानो ठीक छन् भन्ने आँट गरे ? यसको जवाफ सायद आईजीपी अर्यालसँगै पनि छैन । छ त केवल चेन अफ कमान्डमै चलेको भन्ने सुगा रटाइ मात्रै । योभन्दा बढी भए आईजीपीले तत्कालै डीआईजी अधिकारी र एसएसपी फुँयालमाथि कारबाही गर्नुपर्छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्कने क्रममा बुधबार विमानस्थलमा एसएसपी फुँयालले दिएको जवाफ सुन्नेहरूलाई पनि प्रहरीको चेन अफ कमान्ड कस्तो रहेछ भन्ने जिज्ञासा बढेको छ । ‘आईजीपीले भनेको त टेरिन्न, अरूको के कुरा, मैले मान्ने पर्ने भए गृहमन्त्रीको आदेश गराउनोस्,’ एसएसपी फुँयालले एमाले कार्यकर्तालाई दिएको यो जवाफ प्रहरीको चेन अफ कमान्डमा कतै पनि भेटिँदैन । आईजीपी अर्यालले यस्ता अधिकृतको विषयमा जानकारी भएर पनि चेन अफ कमान्डमै छ भन्नु गृहमन्त्रीले खरेल भेट्न आएनन् भन्नुजस्तै हो ।
पछिल्लो समयमा आईजीपीले जति राम्रो काम गर्न खोजे, त्यसलाई रोक्नका लागि प्रहरी अधिकारी नै लागेको यथार्थलाई सबैले बुझिसकेका छन् । त्यसैले अब संगठन प्रमुखविरुद्ध पोल लगाउने र आफ्नो स्वार्थपूर्ति गर्ने खेल पनि रोक्न जरुरी छ । यो समस्या समाधानमा तत्कालै ध्यान नदिने हो भने सबैभन्दा पहिलो सिकार आईजीपी हुनेछन् । त्यसबेला रमेश खरेलको पनि हैसियत रहनेछैन । तर, अधिकारी र फुँयाल प्रवृत्ति भने मौलाइरहनेछ । गृह मन्त्रालयको नेतृत्व गरिरहेका वामदेव गौतमको इतिहास बुझेकाहरू यतिबेला प्रहरी संगठनभित्र आइपर्ने त्यो गम्भीर समस्याको पूर्वानुमान गरिरहेका छन् । त्यसैले उनीहरू त्रसित पनि छन् । प्रहरी अधिकृत र गृहमन्त्री वामदेव गौतमबीच बढिरहेको टसलको सन्दर्भमा एउटा घटना नै काफी होला, २०५४ सालमा एमाले विभाजनताका आफ्नै निवासमा आफूनिकट नेता कार्यकर्तालाई खान दिइएको सेबई खोसेर गौतमले फालेका थिए । त्यो तीतो सत्यको सामना गरेकाहरू अब प्रहरीमा गम्भीर संकट आउने भयो भन्न थालिसकेका छन् । बामदेवको इतिहासले पनि त्यही भन्छ । एउटा कार्यक्रममा बोलेको विषयलाई सप्रसंग नबुझी आईजीपी अर्याल र एसएसपी खरेलको गरेको सार्वजनिक प्रतिवादले बामदेवलाई बुझ्नेहरू नराम्रोसँग झस्किएका छन् । चेन अफ कमान्डको माला जपेर विभागीयमन्त्रीविरुद्ध खनिने घटनाले निम्त्याउने समस्याप्रति प्रहरी नेतृत्व पनि गम्भीर बन्न सकेको देखिँदैन । यसतर्फ प्रहरी नेतृत्वले तत्कालै ध्यान दिन जरुरी छ । आईजीपीविरुद्ध गृहमन्त्रीसमक्ष दर्जनभन्दा बढी पोल पुगिसकेको छ । प्रहरी प्रधान कार्यालयभित्रै रहेका वरिष्ठ अधिकारीले दिएको त्यो सूचनाले गृहमन्त्री झस्किरहेका छन् । पछिल्लो घटनाले कतै प्रहरी नेतृत्व आफूविरुद्ध योजनाबद्ध ढंगबाट परिचालित त भएको छैन भन्ने गम्भीर द्विविधामा गृहमन्त्रीलाई पु¥याएको छ । यसलाई चिर्न जरुरी छ । गृहमन्त्रीले पनि अर्यालाई फालेर आफू नेतृत्वमा पुग्न सक्छु कि भन्ने एकाध अधिकृतको पोललाई नै प्रहरी नेतृत्व आफूविरुद्ध लागेको अर्थमा बुझ्न हुन्न । विगतमा कसले के भन्यो भन्ने आधारमा प्रहरी नेतृत्वप्रति नकारात्मक हुने काम बन्द गर्नुपर्छ । नत्र प्रहरी प्रमुख र खरेलसँगै गृहमन्त्री बामदेव गौतम पनि पासोमा पर्ने निश्चित छ ।
यतिबेला बामदेव र चर्चामा आएका प्रहरीको इतिहास हेर्ने हो भने दुवै एक–अर्काको कमजोरीप्रति जानकार छन् । गृहमन्त्री कानुन होइन, आफ्नो कुरा नमान्दा जे पनि गर्छन् भन्ने इतिहास तत्कालीन प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेललाई ३६ दिनमै फालेर ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएको घटना नै काफी छ । साथसाथै गृहमन्त्री गौतम तीन महिनाको तालिम लिएर जागिरका लागि विदेश जान लागेका निर्दाेष युवतीलाई मानव बेचविखन मुद्दा लगाएर फसाउने प्रहरीका काविल अधिकृत को हुन् भन्ने विषयमा पनि राम्रै जानकार छन् । २०५६ सालको आमनिर्वाचनमा  बुथ क्याप्चर गर्ने अधिकृतबारे पनि गौतम जानकार छन् । जुवाखालबाट पक्राउ परेका १० भाइमध्ये एकजना नातेदार परेपछि तिनलाई मध्यरातमा छाडिदिने अधिकृतबारे पनि गौतम बेखबर रहने कुरै भएन । त्यसैले उनले आपूmसँग सुझाव दिन आउनेलाई भनिसकेका छन्, प्रहरी नियमावलीमा कहाँ छ बुथक्याप्चर गर्ने प्रावधान ? अनि कहाँ छ गृहमन्त्री खराब हुन् भन्दै अभिव्यक्ति दिने छुट ? अघिल्ला गृहमन्त्रीलाई भेट्न कति पटक पुग्थे, निवासमा ? त्यसको डाटा मसँग छ ।’ उनको यो भनाइले पनि प्रहरीमा आइपर्ने संकटको संकेत गर्दछ ।
राजनधानी दैनिकमा २०७१ बैशाख  ४ मा प्रकाशित लेख

1 comment:

  1. gautam ko pucher le lekheko lekha . yesta lekh ramro kam gerne lie kahi gardaina. I am with kherel work not with gold taskar minister.

    ReplyDelete