Friday, October 2, 2015

नेपालको संविधानका विशेषता

ऐतिहासिक संविधानसभाबाट असोज ३ मा नयाँ संविधान जारी भएको छ । संविधानसभाबाट आफ्नो संविधान आफै बनाउने नेपाली जनताको सात दशक पुरानो सपना साकार भएको छ । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीताजस्ता ऐतिहासिक जनआन्दोलन र शान्ति प्रक्रियासँग जोडिएर आएका मुद्दाहरू संस्थागत भएका छन् । नेपालको संविधान, २०७२ को घोषणासँगै जनतामा निहित सार्वभौमसत्ता व्यवहारमै स्थापित भएको छ । नेपालका प्रमुख दलहरूको एकता र सहकार्यको परिणामस्वरुप संविधान सभाबाट जनताको संविधान जारी गर्न सम्भव भएको छ । यस संविधानका प्रमुख विशेषता यसप्रकार रहेका छन् 

१) संविधान निर्माणको प्रक्रिया
प्रक्रियाका दृष्टिकोणले संविधानसभाले जारी गरेका विश्वका अन्य ४२ ओटा देशका संविधानको तुलनामा नेपालको संविधान समावेशी र अधिकतम् स्वीकार्य बन्नपुगेको छ । नेपालको संविधानसभाको बनोट आफैंमा अन्यन्त सहभागितामूलक र समावेशी रहेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले अहिलेसम्म गठन भएका संविधानसभामा नेपालको संविधानसभा सबैभन्दा ज्यादा सहभागितामूलक र समावेशी रहेको बताएका थिए । संविधानसभाको कुल सदस्य संख्याको ८५ प्रतिशतले संविधानको पक्षमा मतदान गरेका थिए । संविधान निर्माणको प्रक्रियामा ९१ प्रतिशत सभासद्को सहभागिता रहेको थियो । संविधानको अभिलेख दस्तावेजमा ९१ प्रतिशतभन्दा बढी सभासद्हरूले विधिवत् रूपमा हस्ताक्षर गरेका छन् । जबकि भारतको संविधान जारी गर्दाको समयमा यति स्वीकार्य हुनसकेको थिएन । सो संविधानका पक्षमा ६७ प्रतिशत सभासद्हरूको मात्र समर्थन रहेको थियो ।
२) विषयवस्तुका दृष्टिकोणबाट
विषयवस्तुका दृष्टिकोणले नेपालका विगतका सबै संविधानभन्दा वर्तमान संविधान प्रगतिशील र जनअधिकारमुखी रहेको छ । मौलिक हक र कर्तव्य अन्तर्गतका ३२ ओटा धारामा ती अधिकारहरू समावेश गरिएका छन् । राज्यका निर्देशक सिद्धान्तमा पनि जनअधिकारलाई अधिकतम् रूपमा सम्बोधन गरिएको छ । यतिसम्म कि राज्यका निर्देशक सिद्धान्तहरू कार्यान्वयनमा आए÷नआएको संसदले पुनरावलोकन गर्नसक्ने संबैधानिक व्यवस्था गरिएको छ । जनअधिकार कम भए कि भन्ने कुराभन्दा प्राप्त अधिकार प्रयोग गर्नसक्ने राष्ट्रिय सामथ्र्य जुटाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा मुख्य विषय बन्न पुगेको छ । नेपालको संविधानको तुलनामा विश्वका अन्य लोकतान्त्रिक संविधानमा जनताका हक तथा अधिकारहरूको कमै सम्बोधन भएको पाइन्छ ।
३) गतिशील र परिवर्तनकामी संविधान
चरित्रका हिसाबले यो संविधानलाई विश्वकै गतिशील, जनपक्षीय र प्रगतिशील संविधान बन्न पुगेको छ । यस संविधानमा असंशोधनीय विषय ज्यादै सीमित छन् । भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल नहुने गरी अन्य सबै संवैधानिक प्रावधानहरू संघीय संसदको दुई तिहाइबाट संशोधन गर्न सकिने उदार व्यवस्था संविधानले गरेको छ । संविधानले नेपाली समाजको विकासको स्पष्ट मार्गचित्र प्रदान गरेको छ । यसले सामाजिक न्याय र समावेशितालाई अधिकतम् अंगीकार गरेको छ । समाजवादमा जाने स्पष्ट लक्ष्य किटान गरेको छ । यस अर्थमा यो संविधान एक्काइसौं शताब्दीको जनताको संविधान बन्नपुगेको छ ।
४) समावेशी र सहभागितामूलक
संविधान समावेशी र सहभागितामूलक छ । समानुपातिक समावेशिताको सिद्धान्तका आधारमा सामाजिक न्यायको हक प्रत्याभूत गरिएको छ । संसारकै महिलामैत्री संविधानको कोटिमा यो संविधान पर्दछ । यसले ३३ प्रतिशत संघीय र प्रादेशिक सभामा र ४० प्रतिशत स्थानीय निकायमा महिला सहभागितालाई सुनिश्चित गरेको छ । जबकि भारतमा अहिले पनि ११ प्रतिशत मात्र रहेको छ । दलित समुदायका लागि उच्चकोटिका अधिकार सुनिश्चित गरेको छ । महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू सीमान्तकृत र अल्पसंख्यक समुदायका हकहितको संरक्षणका लागि संविधानले संवैधानिक आयोगको प्रबन्ध गरेको छ ।
५) लोकतन्त्रका आधारभूत मूल्य र मान्यता
लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको दृष्टिकोणबाट पनि संविधान उत्कृष्ट रहेको छ । जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्णतः प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष न्याय प्रणाली र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहेर संविधानको निर्माण गरिएको छ । तर, संसारका कुनै पनि संविधान पूर्ण र सबैले चाहेको कुरा समावेश हुन सम्भव नै छैन । त्यसैले भनिन्छ, संविधान जारी त हुन्छ तर कहिल्यै पूर्ण हँुदैन । कतिपय कुरा कानुनमा व्यवस्था गर्न सकिने हुन्छन् । यस मर्मलाई आत्मसात् गर्दै प्रमुख राजनीतिक दलहरूले संविधानको कार्यान्वयनको क्रममा देखिने कमजोरी, नयाँ आवश्यकता, समय र सन्दर्भअनुसार संविधान संशोधनको प्रक्रियाबाट संशोधन गर्न सकिने विश्वास जनसमक्ष दिलाउँदै आएका छन् । यसर्थः नेपाली समाजको मौलिक विशेषता र विशिष्ठतामा आधारित भएर बनेको यस संविधानलाई कार्यान्वयनमा जान दिएर जनअपेक्षाअनुरूप भविष्यमा सुधार गर्दैजाने नीति लिनु उपयुक्त हुनेछ । यस संविधानका सन्दर्भमा पछिल्लो समयमा चलेका बहस र विवादका विषयहरूसँग सम्बन्धित भ्रम र यथार्थताको तुलनात्मक विश्लेषण यहाँ प्रस्तुत गरिएको छ ः
(ख) नागरिकतासम्बन्धी व्यवस्था
संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित रहने छैन भन्ने स्पष्ट मान्यता छ । धारा १२ मा महिला आन्दोलनको लामो समयदेखिको मुद्दालाई सम्बोधन गर्दै बाबु वा आमाको नामबाट निजका सन्तानले नागरिकता प्राप्त गर्नसक्ने अधिकारको प्रत्याभूति गरेको छ । धारा ११(६) मा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले संघीय कानुनबमोजिम अंगीकृत नागरिकता पाउने उल्लेख छ । यो व्यवस्था अन्तरिम संविधानको धारा ८ को (६) को प्रावधानको निरन्तरता हो । यसरी नै अन्तरिम संविधानमा वंशजको आधारमा नागरिक भएका बाबु वा आमाका सन्तानले अंगीकृृत नागरिकता पाउने व्यवस्था भएकामा हालको संविधानको धारा ११(३) मा त्यस्ता व्यक्तिले वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ । धारा ११(७) मा विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मेको सन्तानले आमाका नाममा अंगीकृत नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ । जबकि हाम्रोभन्दा निकै ठुलो भूगोल र जनसंख्या भएको छिमेकी राष्ट्र भारतमा नागरिकतासम्बन्धी प्रावधानहरू यहाँको भन्दा कडा रहेका छन् । भारतीय संविधानबमोजिम बनेको नागरिकतासम्बन्धी ऐन– १९५५ बमोजिम भारतीय पुरुषसँग विवाह गरेको पाँच वर्ष भारतमा बस्ने र आफ्नो देशको नागरिकता त्याग्ने महिलाले मात्र भारतीय अंगीकृत नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ । भारतीय नागरिकतासम्बन्धी कानुनले भारतमा जन्मिएका विदेशीहरूमध्ये पाकिस्तान र कमनवेल्थ कन्ट्रीका नागरिकहरूलाई मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ । बाँकी देशको हकमा संसद्ले कानुन बनाउन सक्ने मात्र भनेको छ । राष्ट्रपति, प्रधानमन्त्री र अन्य सम्बैधानिक अंगका प्रमुखहरूमा वंशजका आधारमा नागरिकता प्राप्त हुने व्यक्तिलाई मात्र दिनसक्ने व्यवस्था विश्वमा प्रचलित व्यवस्था नै हो । भारतमा सोनियाँ गान्धीलाई प्रधानमन्त्री हुनबाट रोक्ने सन्दर्भमा सत्तारूढ भारतीय जनता पार्टीले सञ्चालन गरेको बहस यस परिप्रेक्षमा महŒवपूर्ण छ । अमेरिकाको संविधानमा समेत राष्ट्रपतिको उम्मेद्वार हुनका लागि अमेरिकामा जन्मिएको र निश्चित अवधिसम्म अमेरिकामा बसेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
(ग) निर्वाचन क्षेत्र निर्धारण
संविधानको धारा २८६(५) बमोजिम प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानेको छ । प्रत्येक जिल्लाबाट न्यूनतम प्रतिनिधित्व सुनिश्चित हुनेगरी निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र क्षेत्र बिचको अनुपात यथासम्भव समान हुने गरी निर्धाण गर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाअनुसार प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये करिब ८० ओटा निर्वाचन क्षेत्र तराई–मधेसले पाउने अवस्था छ । यसैगरी राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट धारा ८६(२) बमोजिम तिन महिला, एक दलित र एक अपागंता भएका व्यक्ति वा पिछडिएको क्षेत्रको व्यक्तिसहित आठजनाको प्रतिनिधित्व गराउने व्यवस्था छ । यो व्यवस्था सम्भवतः संसारमै हामीले मात्र अवलम्बन गरेको मौलिक व्यवस्था हो । हाम्रो संविधानको धारा २८६ (१२) बमोजिम निर्वाचन क्षेत्र प्रत्येक २० वर्षमा पुनरावलोकन हुने व्यवस्था गरिएको छ । निर्वाचन क्षेत्रलाई सन्तुलित विकासको आधारका रूपमा समेत अघि बढाउने हो भने यस प्रकारको व्यवस्था उचित नै मान्नुपर्दछ ।
निर्वाचन क्षेत्र निर्धारणको सन्दर्भमा हामीले गरेको संवैधानिक व्यवस्था र भारतमा अलम्बन गरिएको कानुनी व्यवस्था हुबहु मिल्दोजुल्दो छ । भारतले पनि जनसंख्या र भूगोलका आधारमा लोकसभाका निर्वाचन क्षेत्र निर्धारण गर्ने सिद्धान्त अवलम्बन गरेको छ । प्रत्येक राज्य र केन्द्रशासित क्षेत्रका लागि न्यूनतम् १ संख्या सुनिश्चित गरिएको छ । यसअन्तर्गत संघ शासित क्षेत्र लक्षद्वीप, अण्डमान निकोवार द्वीप समूह, दादर और नागर हबेली, दमन और द्वीप ४७ हजारदेखि ३ लाख ५० हजारसम्मका लोकसभाका निर्वाचन क्षेत्र रहेका छन् । जबकि जनघनत्व ज्यादा भएका प्रदेशका निर्वाचन क्षेत्रमा त्यो अनुपात २२ लाखभन्दा माथि रहेको छ । प्रदेशअन्तर्गत पनि निर्वाचन क्षेत्रमा विविधता रहेको छ । जम्मु कास्मिर राज्यअन्तर्गतको लद्दाख निर्वाचन क्षेत्रको जनसंख्या १ लाख ५० हजारको हाराहारीमा रहेको छ । पुनरावलोकनका सन्दर्भमा समेत भारतको अनुभव रोचक छ । सुरुमा भारतले प्रत्येक जनगणनापश्चात् कानुन बनाएर पुनरावलोकन गर्ने व्यवस्था अवलम्बन गरेको थियो । त्यो व्यवस्था अभ्यासमा जान नसकेपछि सन् २००२ मा त्यसमा संशोधन गरियो । यतिबेला भारतमा २५ वर्षपछि सन् २०२६ मा मात्र पुनरावलोकन हुने व्यवस्था गरिएको छ ।
(घ) समानुपातिक प्रतिनिधित्व र समावेशीकरण
नेपालको संविधानले समानुपातिक प्रणालीसहितको मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको छ । संघीय प्रतिनिधि सभामा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ । समानुपातिकतर्फ जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था छ । जसअनुसार संघीय संसदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित छ । प्रमुख पदहरू जस्तैः राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुखजस्ता पदहरूमा दुईमध्ये एक महिला हुनुपर्ने बाध्यकारी र प्रगतिशील व्यवस्था गरिएको छ । स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट समान प्रतिनिधित्व हुनेगरी पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ । जसमा महिला तिनजना, दलित एक ना, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट एकजनासहित आठजनाको प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।
प्रत्येक जाति र समुदायको भाषा, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण र विकासका लागि आयोगको व्यवस्था गरिएको छ । महिला आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, थारू आयोग र समावेशी आयोगको व्यवस्था गरिएको छ । लामो लोकतान्त्रिक अभ्यास गरेको छिमेकी राष्ट्र भारतको लोकसभामा महिला सहभागिता ११.२३ प्रतिशत मात्रै रहेको छ । सन् १९९६ मा देवेगौडा सरकारले भारतमा ३० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न विधेयक प्रस्तुत गरेकोमा त्यो अहिलेसम्म पनि पारित हुनसकेको छैन । भारतमा अल्पसंख्यकहरूको संरक्षण गर्न दुईओटा स्थायी र एउटा आवधिक प्रकृतिको संवैधानिक आयोगको व्यवस्था गरेको छ । भारतको संविधानको धारा ३३८ मा National commission for schedule cast / National commission for schedule tribe आवश्यकता अनुसार National commission for other backward class गठन गर्न सकिने व्यवस्था गरेको छ । आरक्षणको व्यवस्थाअनुरुप लोकसभामा अनुसूचित जातिका ८४ अनुसूचित जनजाति ४७ सदस्य निर्वाचित हुनेगरी निर्वाचन क्षेत्र आरक्षित गरिएको छ । यो लोकसभाको कुल सदस्य संख्या ५४३ को २४ प्रतिशत मात्र हो । जबकि हाम्रो प्रतिनिधिसभामा समावेशीको अनुपात ४५ प्रतिशत रहेको छ ।
(ङ) मौलिक हक र राज्यको निर्देशक सिद्धान्तको विशेषता
मौलिक हक तथा कर्तव्य र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी भागमा विभिन्न क्षेत्रका जनताका आकांक्षाहरूलाई अधिकतम् रूपमा सम्बोधन गर्ने काम भएको छ । धारा १८ मा आदिवासी, मधेसी, मुस्लिम र दलितलगायतका सीमान्तकृत वर्गलाई विशेष कानुन बनाएर अधिकार प्रत्यायोजन गर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाले निजामति, प्रहरी, विश्वविद्यालय र सरकारी सेवाहरूमा आरक्षणसहित समावेशी अधिकार पाउने सुनिश्चितता प्रदान गरेको छ । अपराध पीडितको नयाँ हक राखिएको छ, जसमा क्षतिपूर्तिको व्यवस्थासमेत गरिएको छ । धारा २५ मा पहिलो पटक नेपालले प्रगतिशील करलाई स्वीकार गरेको छ । रोजगारी, स्वास्थ्य, खाद्य सम्प्रभुता, आवास, उपभोक्ताका अधिकारजस्ता नयाँ पुस्ताका अधिकारहरू समावेश गरिएको छ । धारा ४२ मा महिला, दलित, मधेसीलगायत १८ ओटा जातीय, सामाजिक तथा वर्र्गीय क्लस्टरहरू निर्माण गरिएको छ । जसले विशेष संरक्षण र प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ । धारा ४७ ले मौलिक हकअनुरूपका तिन वर्षभित्र कानून बनाउने व्यवस्था गरेको छ । धारा ४२ ले सामाजिक न्यायको हकलाई मौलिक हकमा राख्दै १८ वटा वर्ग, समुदायको राज्यको हरेक निकायमा समावेशी सिद्धान्तका आधारमा सहभागिताको हक हुने ग्यारेन्टी गरेको छ । राज्यको निर्देशक सिद्धान्तको धारा ५१ (ञ) मा पनि सोहीबमोजिम व्यवस्था गरिएको छ । धारा ५३ मा राज्यका निर्देशक सिद्धान्तअनुरूप भए गरेका कामको वार्षिक प्रतिवेदन संसद्मा पेस गरिने बाध्यात्मक व्यवस्था गरिएको छ । निर्देशक सिद्धान्तमा उल्लिखित नीतिहरूको कार्यान्वयन भएनभएको सम्बन्धमा अनुगमन र मूल्यांकन गर्न संसद्मा अलग्गै समिति रहने व्यवस्था गरिएको छ । मौलिक हक र राज्यको निर्देशक सिद्धान्तअन्तर्गतको भागमा विभिन्न वर्ग र समुदायका अधिकारलाई यति विस्तृत रूपमा उल्लेख गरिनेमा सम्भवतः नेपालको संविधान नमुना नै रहेको हुनुपर्छ ।

Saturday, September 19, 2015

संविधानमा हस्ताक्षर गर्ने सभासद् संख्या ५ सय ३७

मतदानमा अनुपस्थित सभासद्ले पनि गरे हस्ताक्षर

संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान प्रमाणिकरण गरेका छन । संविधानसभा सदस्यको हस्ताक्षरपछि प्रमुख दलका शीर्ष नेतालाई साँक्षी राखी सभा ध्यक्ष नेम्वाङ्ले शुक्रवार (१ असोज) अपरान्ह सवा तिन बजे नेपालको संविधान प्रमाणिकरण गरेका हुन् ।









संविधानसभा नियमावली बमोजिम सभाध्यक्षले संविधानसभाबाट पारित भएको संविधान प्रमाणिकरण गरेका हुन् । संविधानसभा भनव नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म सभासदले संविधानमा हस्ताक्षर गरेका थिए । सभासदको हस्ताक्षर सकिएलगत्तै सभाध्यक्ष नेम्वाङले प्रमाणिकरण गरेका हुन् । सभाध्यक्षले प्रमाणिकरण गरेपछि निकै बेरसम्म तालीले स्वागत गरिएको थियो । प्रमाणिकरणको समयमा प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै उल्लेख्य मात्रामा सभासदहरू उपस्थित थिए । नेपाली कागजमा तयार पारिएको संविधानको ५ प्रतिमा सभासदले हस्ताक्षर गरेका थिए भने पाँचै प्रतिमा सभाध्यक्षले प्रमाणिकरण गरेका हुन ।
संबिधानसभामा हाल कायम रहेको कुल ५९८ सभासदमध्ये ५३७ सभासद्ले हस्ताक्षर गरेको संविधानसभा सचिवालयले जनाएको छ । संविधान  पारित गर्दा अनुपस्थित भएका र विपक्षमा मतदान गरेको राप्रपा नेपालले पनि हस्ताक्षर गरेको छ । संबिधानमा मतदानमा अनुपस्थित रहेकी एमाले सभासद राज्यलक्ष्मी गोल्छा, मधेस समता पार्टी नेपालका मेघराज नेपाली, बहुजन पार्टीका विश्वेश्द्र पासवान, नेपाल राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले हस्ताक्षर गरेका छन । पासवान र नेपाली अस्पतालबाट संबिधानमा हस्ताक्षर गर्न सहयोगीको साथमा आइपुगेका थिए । उनीहरूले संविधान पारित गर्ने क्रममा भएको मत विभाजनमा भने भाग लिएका थिएनन् । सभासदको हस्ताक्षर र सभाध्यक्षको प्रमाणिकरण गरेको संबिधानको पाच वटै प्रतिमा राष्ट्रपति डा. रामबरण यादवले हस्ताक्षर गरेपछि संविधान प्रारम्भ भएको घोषणा हुनेछ । त्यसपछि पाँच प्रतिमध्ये एक÷एक प्रतिका दरले संविधानसभा सचिवालय, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा अभिलेख राखिने छ ।
संबिधानमा हस्ताक्षरको सुरुवात हुँदा र अन्त्यपछि फोटो सेसन चलेको थियो । शीर्ष नेतासहित सभासदहरूले सँगै फोटो खिचाएका थिए । हस्ताक्षर गर्न संविधानसभा  भवन पुगेका सबै सभासदबिच चलेको फोटो सेसनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हातले इसारा गर्दै बिचमा बोलाएका थिए । ओलीको इसारापछि काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाको देव्रेतर्फ उभिएका सभाध्यक्ष नेम्वाङ मुस्कुराउँदै बिचमा आएर उभिएका थिए ।
संबिधानमा हस्ताक्षर गरेपछि सभासदहरुले निकै खुसियालीको दिन रहेको प्रतिक्रिया दिएका छन । संबिधानमा पहिलो हस्ताक्षर गर्ने सभासद रामेश्वर फूयालले आफ्नो जीवनकै अबिश्मरणीय दिन भनेका छन । सभासदहरु पशुपति चौलागाई, पार्वत गुरुङ, आनन्द पोखरेल, जनार्दन खतिवडा, गंगालाल तुलाधर, दिपक कार्की, रेवतीरमण भण्डारी, रामहरि खतिवडाले पनि जीवनकै खुसीको क्षण र ऐतिहासिक दिनको संज्ञा दिए । ‘संबिधान पारित भएको दिन अशिस्मरणीय रह्यो, संबिधानमा हस्ताक्षर गर्दाको क्षण त्यो भन्दा पनि अबिश्मरणीय र ऐतिहासिक रह्यो,’ सभासद पार्वत गुरुङले भने । सभासद जनार्दन खतिवडा पनि यो क्षणलाई शब्दमा बर्णण गर्न नसक्ने बताए । ‘यति धेरै खुसीको क्षणलाई शब्दमा बर्णन गर्न सकिदैन,’ रसुवाबाट निर्वाचित सभासद खतिवडाको भनाई थियो ।
संविधानको प्रमाणिकरणको काम सम्पन्न भएलगत्तै संविधानसभा सचिवालयले आइतबार ५ बजे हुने राष्ट्रिय समारोहमा आमन्त्रण गर्न बाँकीसबैलाई शनिबार आमन्त्रण गर्ने बताएको छ । संविधानसभा भवनभित्रको परिसरमा २ हजार ६ सय भन्दा बढीलाईभित्र प्रवेश गराउने तयारी गरिएको सचिवालयले जनाएको छ । राष्ट्रिय समारोहलाई भब्य बनाउनका लागि सचिवालयलाई प्रमुख दलका शीर्ष नेताले सभाध्यक्षमार्फत विभिन्न सुझावहरू दिएका छन् । ती सुझावलाई सचिवालयले कार्यान्वयन गर्दै अघि बढेको छ ।

Sunday, August 23, 2015

तोडिदै गुण्डाराजको चक्रब्यूँह

उपत्यकालाई अपराधमुक्त शहर बनाउने प्रहरी अठोट

काठमाडौं, ५ भदौ

उपत्यकालाई अपराधमुक्त शहर बनाउने स्पष्ट खाकासहित अघि बढेको महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाराजको चक्रब्यूँह तोडने अभियान तीब्र बनाएको छ । पहिलो पटक चेतावनीसहित पक्राउ गर्ने योजना बनाएको प्रहरीले राजनीतिक आडमा समाजमा आतंक फैलाउने जो कोही गुण्डालाई नछाडने गरी अभियान अघि बढाएको हो ।
राजधानीमा असुली धन्दा चर्काएका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टरसँगै महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाराजबिरुद्धको अभियान तीब्र बनेको संकेत दिएको छ । एक महिना लामो अनुसन्धानपछि घैंटेलाई पक्राउ गर्न निस्किएको प्रहरीमाथि नै गोली प्रहार गर्दाको प्रतिकारमा बिहीवार घैैंटे मारिएका थिए । घैंटेको अपराधमा पिसिएका निर्दाेष जनताको आवाजलाई माथि उठन नदिन गुण्डाकै बचाउमा उत्रिएका एकाध कांग्रेस नेताले प्रहरीप्रति औला ठड्याए पनि एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको महानगरीय अपराध महाशाखाका कामयावी प्रहरी गुण्डाराजको चक्रब्युँह तोडेरै छाडने अठोटमा छ । यस क्रममा महाशाखाले मोष्टवान्टेड सूचीमा रहेका गुण्डाहरू काठमाडौं बाहिर जानसक्ने भन्दै कडा निगरानी थालेको छ ।
कुमार घैंटे मारिएपछि राजधानीलगायत देशका मुख्य शहरमा गुण्डाराज चलाउदै आएका समाज बिरोधी तत्वहरू देश छोडेर भाग्ने तयारी गरेकाले पनि प्रहरीले थप निगरानी बढाएको छ । केही समय बिदेशमा लुक्ने, फर्केर पुनः अपराध धन्दा अघि बढाउने गरेको कारण प्रहरीले यस पटक सवै गुण्डाको सूची तयार पारी सुधार्ने वा जेल पठाउने अभियान चलाएको हो । आफूलाई दादा देखाउन प्रहरीमाथि आइलागे भने घैंटेको जस्तै अवस्था पु¥याउने गरी योजना बनेको एक प्रहरी अधिकारी बताउँछन । ‘अव नसुध्रिने गुण्डा नाइकेमाथि प्रहरी निर्ममतापुर्वक प्रस्तुत हुन्छ,’ ती अधिकृतले भने ।
हाम्रो अभियान कसैले पनि समाजमा आतंक नमच्चाओस भन्ने हो, 
जसले अपराधकर्म गर्छ, उसले त्यसको प्रतिफल भोग्छ
सर्वेन्द्र खनाल, एसएसपी 
बिभिन्न पेशा, ब्यवसायमा रहेका ब्यक्तिलाई तर्साएर आफ्नो धन्दा चलाउदै आएका गुण्डाहरू प्रहरीले खोजी गरिरहेको जानकारी पाएपछि नेपाल छोड्ने तयारी गरेका छन । सोही कारण प्हरीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलसहित नेपाल बाहिरिने मुलुकभरका मुख्य नाकामा निगरानी बढाएको छ । राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्दै आएका गुण्डाहरू समेत घैंटेको घटनापछि आफुलाई असुरक्षित महशुस गरी देशै छोड्ने तयारी गरिरहेकोले भाग्नसक्ने संभावित नाकामा निगरानी थालिएको अपराध महाशाखाले जनाएको छ । प्रहरीले कुमार घैटेलगायत अन्य गुण्डा नाइकेका व्यावसायिक साझेदारहरुमाथि पनि अनुसन्धान गर्ने भएको छ । देशभर उनीसँग सँगतमा रहेका गुण्डा र व्यावसायिक साझेदारहरूको बारेमा निगरानी र अनुसन्धान थालेपछि अन्य गुण्डासमेत देशै छाडेर हिड्नसक्ने भन्दै उच्च निगरानी बढाइएको हो ।
महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल अपराधमा संलग्न गुण्डा नाइकेको कनेक्सनमा रहेका गुण्डाहरू पनि निगरानीमा रहेको बताउँछन । त्यसो त धादिङका गुण्डा नाइके दिनेश अधिकारी (चरी) र कुमार घैटेको इन्काउण्टरपछि राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्दै आएकाहरू समेत आफ्नो अनुकुल नभएको निश्कर्ष निकाली भाग्ने तयारीमा रहेका हुन । चरीका सहयोगीहरु कोही विदेश गइसकेको र कोही यही  ‘साइलेन्स’ बसेको प्रहरीको निष्कर्ष छ ।
‘प्रहरीले जुनसुकै पार्टीको संरक्षणमा रहेको भएपनि समाजमा आतंक मच्चाउने गुण्डाहरू पालैपालो इन्काउन्टर गर्ने रणनीति बनाएपछि उनीहरू पलायन हुने अवस्थामा पुगेका हुन,’ महाशाखाका एक प्रहरी अधिकृत भन्छन । गुण्डाहरूको सम्वन्ध नेतासंग मात्र होइन, प्रहरीका उच्च अधिकारीसम्म पनि रहेको छ । घैटेको ईन्काउन्टरपछि उनीसंग सम्वन्ध भएका प्रहरी पनि झस्कन थालेका छन । केही प्रहरीका उच्च अधिकृतहरूले घंैटेलाई ब्यापारिक साझेदार बनाएर मिटर ब्याजमा पैसा लगानी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
गुण्डागर्दीको आडमा घैंटेले देशैभरका ठुला ठेक्का लिएको र सो ठेक्कामा नेपाली कांग्रेस निकट केही नेता र प्रहरी उच्च अधिकारीको समेत हिस्सा रहेको पनि खुल्न थालेको छ । समान्य परिवारमा जन्मिएका घैंटेले गुण्डागर्दीकै आडमा ४० करोड भन्दा बढी सम्पति जोडेको प्रहरीको प्रारम्भिक अनुमान छ । त्यसो त गुण्डागर्दी गर्ने ब्यक्ति प्रहरी ईन्काउन्टरमा मारिदा नेताहरूले प्रहरीलाई तथानाम आरोप लगाएर उसको बचाउ गर्न खोजे सर्वत्र आलोचना मात्र होईन, घैटेको बचाउ गर्ने नेतालाई समेत पक्राउ गरेर कारवाही गर्नुपर्ने माग उठेको छ । घंैटेको ईन्काउन्टरपछि कांग्रेस सभासद जगदिशनरसिंह केसी, धनराज गुरुङ र भीमसेनदास प्रधानले चर्को रुपमा सरकार र प्रहरीको बिरोध गरेपछि सर्वसाधारणले उनीहरुलाई नै कारवाहीको दायरामा ल्याउन माग गरेका हुन । एक बर्ष अघि चरी मारिदा पनि धादिङका एमाले नेताहरूले प्रहरीको चर्को आलोचना गर्दै छानविन हुनुपर्ने कुरा उठाएका थिए । ‘समाजमा आतंक मच्चाउनेहरूको पक्षमा केही मानिस हुनु नौलो होईन, जसलाई गुण्डाहरूले राम्रोसंग पालेका हुन्छन, घैंटे काण्डपछि उसको समर्थनमा जुन अभिब्यक्ति आएका छन, त्यो त्यसैको परिणाम हो,’  महाशाखा प्रमुख एसएसपी खनालले भने, ‘हाम्रो अभियान भनेको कसैले पनि आतंक नमच्चाओस भन्ने हो, जसले अपराधकर्म गर्छ, उसले त्यसको प्रतिफल भोग्छ ।’
३० करोड असुली
प्रहरी अधिकारीका अनुसार घैंटेले झण्डै ३० करोड अवैध रकम गजुरमूखी निमाण सेवाको नामबाट असुली सकेका छन । पैसाकै आडमा उनी अनुसन्धानमा खटिएका केही प्रहरी उच्च अधिकारीलाई मिलाई सम्पत्ति शुद्धिकरणबाट उम्कन सफल भएका थिए ।  कुनै समय चरीलाई आपराधिक क्रियाकलापतर्फ उन्मुख गराउने घंैटेले प्रयोग गर्ने गजुरमूखी कम्पनी कांग्रेस नेता जगदीश्वर नरसिंह केसी, उनकी श्रीमती, सामाखुसीका शान्ताराम महर्जन, हेटौडाका सन्तोष श्रेष्ठलगायत ७ जनाको नाममा भएपनि पर्दा पछाडिबाट खेल्ने घंैटे नै भएको प्रहरीले दावी गरेको छ ।
यस्तै बबइ सिंचाई आयोजनाका प्रमुख महेश्वर नरसिंह केसीस“ग मिलेर जगदीश र घैंटेले झन्डै ९ करोडको ठेक्का हात पारेपछि घैंटेलाई राम्रो राजनीतिक संरक्षण मिलेको स्रोतको दावी छ । त्यसैगरी तराईको धनुषा, महोत्तरी खण्डको रेलमार्गको काममा घैंटेले ६० करोडको टेन्डर हात पार्न लागेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै पशुपति क्याम्पसको भवन निर्माणमा पनि घैंटेको जोडबलमा सो कम्पनीले टेन्डर हात पारेको थियो ।


Sunday, February 15, 2015

बिवाह मण्डपबाटै बेहुला भागेपछि...

आफैले मन पराएर जीवन साथी बनाउन लागेकी बेहुली छाडेर बेहुला नै मन्डपबाटै भाग्यो भन्दा पत्याउन निकै गह्रो पर्छ । तर शनिवार काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा यस्तै अपत्यारिलो घटना भएको छ ।
तामझामका साथ आएका झापाका एक युवक आधा बिवाह सकिएपछि मण्डपबाटै भागेका छन । कुनै कारण नै नबताई बेहुला भागेपछि बेहुली पक्षधर भने मर्माहत बन्न पुगेका छन । झापा कुमरखोद स्थायी घर भएका नेत्रप्रसाद काफ्ले शनिवार दिउसो पागलको नाटक गरी बिवाह मन्डपबाट भागेका हुन । उनी बेहुला बनेर झापा बुधबारे स्थायी घर भई हाल गुहेश्वरी बस्दै आएकी खतिवडा थरकी युवतीलाई बेहुली बनाएर आफ्नो धर भित्र्याउन राम मन्दिर आएका थिए । विवाहका लागि सबै सामाग्री तयार पारी जन्तीसहित बेहुली लिन राम मन्दिर पुगेका बेहुला काफ्ले एक्कासी पागलको नाटक गरी मण्डप छाडेर हिडेका हुन । ‘पागल भएको नाटक गरी उनी विवाह मण्डपबाट एक्कासी बेहुला (काफ्ले) भागे,’ घटनाका प्रत्यक्षदर्सीले राजधानीसँग भने । बेहुला मण्डप छाडेर हिडेपछि बेहुलीका आफन्त न्याय माग्दै प्रहरी कार्यालय पुगेका छन् ।
स्थानीय प्रत्यक्षदर्सीका अनुसार तामझामसाथ मन्दिर प्रवेश गरेका बेहुला काफ्लेको केटी पक्षले स्वागत सत्कार पनि राम्रै गरेका थिए । तर के कुरामा चित्त बुझेन कुन्नी ? उनी त विवाह आधी सकिना लाग्दा पागलको जस्तो नाटक गर्न थाले ।  त्यति मात्र होइन, विवाह मण्डप नै छाडेर हिडेपछि बेहुली पक्षका आफन्तहरु समस्यामा परेका हुन । मन्दिरमा बेहुलाले गर्ने कर्म गरिरहेकै बेला उनी एक्कासी पागल भएको नाटक गर्न पुगे । अभिनय गरिरहेका बेहुला मण्डप नै छाडेर हिडेपछि जन्ती र केटी पक्षका आफन्तहरु अलमल भएका थिए ।  बेहुला काफ्ले मण्डप छाडेपछि आफन्तहरुले उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगेका थिए । तर अस्पतालले काफ्लेमा कुनै रोग देखा नपरेको बताएको छ । उनलाई कुनै रोग नलागेको भन्दै अस्पतालले पठाएपछि बेहुली पक्षका आफन्तहरुले महानगरीय प्रहरी वृत्त गौशलामा उजुरी दिएका छन् ।
गौशला वृत्तका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार शनिवार साँझ बेहुलाले मण्डप छाडि हिडेको उजुरी परेको थियो । प्रहरीले साँझ दुवै पक्षलाई छलफलका लागि बोलाएको भएपनि बेहुलाले किन मण्डप छाडेको भन्नेबारे केही खुलेको छैन । काफ्लेले पनि प्रहरीसँगको छलफलमा केही बताएका छैनन । बेहुली पक्षले आफूहरुको सबै सामानको नोक्सानप्सँगै आफ्नो अपमानसमेत भएको तथा खर्च गराउने मात्र मनशाय देखिएको भन्दै कडा कारवाहीको माग गरेका छन् । ‘स्वास्थ्यमा समस्या भएको भए पनि आजलाई विवाह गर्न सकिदैन भन्ने जानकारी दिएको भए हामी मान्ने थियौं, यो त हामीलाई अपमान गरेर खर्च गराउने नियत देखिएको छ’, बेहुली पक्षले प्रहरीमा दिएको उजुरीमा भनिएको छ । प्रहरी निरीक्षक ओलीका अनुसार बेहुलामा स्वास्थ्य समस्या नभएकाले अस्पतालबाट डिस्चार्ज गरी उनलाई प्रहरीमा ल्याइएको हो । ‘आज (शनिवार) छलफलका लागि प्रयाप्त समय भएन, भोली (आइतवार) पुनः छलफल गर्ने गरी आफन्तको जिम्मा लगाएर दुवै पक्षलाई पठाइएको छ,’ ओलीले भने । प्रहरीसँगको छलफलमा बेहुली पक्षले काफ्ले फेरी बेहुला भएर आफूहरु कहा आउन नसक्ने जनाउदै समाजिक प्रतिष्ठा र आफ्नो संस्कृतिको समेत ख्याल गर्नुपर्ने भएकाले उनलाई कडा कारवाहीको माग गरेका छन् । तर बेहुला भने केही नबोली चुप लागेर बस्ने गरेको प्रहरीको भनाई छ ।
२ फागुन,२०७१

Tuesday, February 10, 2015

संविधानमा छाड्नै नसकिने पाँच आधार

एमाले अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतसहित अन्तर्राष्ट्रिय समुदाय वर्तमान सरकार र सत्तारूढ दलले अघि बढाएको कदमकै पक्षमा उभिएको प्रस्ट पारेका छन्। एकीकृत नेकपा माओवादीसहित विपक्षी मोर्चाले अन्तर्राष्ट्रिय समुदायको सुझावलाई समेत बेवास्ता गरी संविधान निर्माण प्रक्रिया अघि बढाइएको आरोप लगाइरहेका बेला ओलीले भारतसहित सबै अन्तर्राष्ट्रिय समुदायले आफूहरूले अघि बढाएको कदमलाई नै साथ दिइरहेको प्रस्ट पारेका हुन्।
ओलीस“गको भेटमा नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूले संविधान निर्माणका सन्दर्भमा बढी चासो व्यक्त गर्दै आएका छन्। आफूसँगको भेटवार्तामा अन्तर्राष्ट्रिय समुदायले संविधान निर्माणका सन्दर्भमा सरकार र सत्तारूढ दलहरूले अघि बढाएको कदमको खुलेर समर्थन गरेको जनाउ ओलीले दिएका हुन्। कांग्रेस र एमाले लोकतन्त्रको पक्षमा दृढताका साथ उभिएका कारण छिमेकी मुलुक भारत त आफूहरूको विरुद्धमा जानै नसक्ने आधारसमेत ओलीले प्रस्तुत गरे। ‘भारत सदैव नेपाली जनता र नेपालको राष्ट्रिय हितको पक्षमा उभिन्छ,’ सोमबार आयोजना गरिएको दैनिक पत्रिका र केही अनलाइन सम्पादकहरूसँगको अनौपचारिक छलफलमा अध्यक्ष ओलीले भने।
राणाशाहीविरुद्ध आन्दोलन अघि बढाउँदादेखि नै लोकतान्त्रिक पक्षमा अन्तर्राष्ट्रिय समुदाय रहेको र अहिले पनि लोकतान्त्रिक बाटोमा हिँडेका कारण सत्तामा रहेका दलहरूसँग भारतको सम्बन्ध सुमधुर रहेको भन्दै ओलीले कसैले चाहेर पनि त्यो सम्बन्ध बिगार्न नसक्ने ठोकुवा गरे। ‘नेपाल र भारतका बीचमा सम्बन्ध बिगार्न यस जमानामा कसैले सक्छ भन्ने म पत्याउँदै पत्याउँदिनँ। कोही–कोहीले बिगारेरै छाड्छु भनेरै लाग्यो भने पनि सक्दैन,’ ओलीले भने, ‘हाम्रो सम्बन्ध कूटनीतिक छ, आर्थिक छ, सामाजिक छ, सांस्कृतिक छ, ऐतिहासिक छ, प्राकृतिक छ, त्योभन्दा अगाडि नेचुरल छ, यसलाई बिगार्न सम्भव नै छैन।’
नेपाल र भारतबीचको यस्तो नेचुरल (प्राकृतिक) सम्बन्ध रहेकाले कसै–कसैले फाइदा लिन खोज्नु स्वाभाविक भएको पनि उनले प्रस्ट पारे। ‘सम्बन्ध बिगार्न नै सम्भव छैन भने बिग्रने त कुरै भएन। अब कसले कति आफ्नो हितमा प्रयोग गर्न सक्छु भन्ने कुरा बल गर्छ मान्छेले, अलि–अलि व्यक्तिगत हितमा प्रयोग पनि गर्लान् तर भारत नेपालको आधारभूत राष्ट्रिय हित, जनहित, लोकतन्त्रमा प्रतिकूल असर नपर्ने गरी मात्रै चल्छ भन्ने कुरा थाहा पाउनुपर्छ, भारत त्यसरी नै चल्छ।’
भारतले नेपालको हित र यहाँको जनताको आवाजलाई सदैव साथ दिएको भन्दै ओलीले त्यसलाई बिगार्ने सपना नदेख्न सबैलाई आग्रहसमेत गरे।
‘भारत यो देश, यस देशको सार्वभौमसत्ताको सम्मानलाई ध्यानमा राखेर यस देशसँगको सम्बन्ध नबिग्रने गरी, यसको अहित नहुने गरी मात्रै कसैसँगको सम्बन्ध अघि बढाउँछ,’ ओलीले भने, ‘अब डिप्लोमेसीमा अप्रिय कुरा त गर्दैन होला । भेट्नासाथ उसले पाखुरा किन खैचिनुप¥यो र ? त्यसकारण मिठै कुरा गरेर पठाइदिन्छ ।’
ओलीले भारत सरकार, भारतीय जनताको बौद्धिक समुदाय, भारतीय प्रेस, भारतीय राजनीतिक पार्टीमा नेपाल–भारत सम्बन्धबारे राम्ररी बुझ्ने सामथ्र्य रहेकाले अनावश्यक भ्रम पाल्न जरुरी नभएको पनि बताए ।
संविधान निर्माणका सवालमा आफूहरूले अघि बढाएको मान्यता र प्रक्रियाबाट अन्य अन्तर्राष्ट्रिय समुदायको भ्रम पनि अब हटेको ओलीले प्रस्ट पारे । ‘नेपालको अहिलेको सरकारप्रति, सरकारमा रहेका पार्टीहरूप्रति, सरकारमा रहेका पार्टीहरूले अगाडि बढाएका कदमहरूप्रति अन्तर्राष्ट्रिय समुदायको अत्यन्तै सकारात्मक दृष्टिकोण छ,’ ओलीले भने । कसैले पनि भ्रम पार्न नसकून् भनेर राजदूतहरूलाई बेला–बेलामा बोलाएर सरकार र सत्तारूढ दलले ब्रिफिङ गरेको जानकारी उनले दिए ।
‘किन बोलाइयो एम्बेस्डर (राजदूत) भन्ने कुराको हकमा हामीले कहिले–कहिले परिस्थितिबारे जानकारी दिनुपर्छ । यथार्थ अवस्था बताउनुपर्छ ।
विभिन्न मान्छेले दिग्भ्रमित बनाएको हुन सक्छ । राजदूत भनेको अर्काे देशबाट आएको र अर्काे भाषा बोल्ने मान्छे हो । यहाँ उनको भाषा राम्रै बोल्न जान्नेले अर्कै कुरा भनेको पनि हुन सक्छ । यस्तो बेला भ्रम नपरोस् भनेर हामीले बिफ्रिङ गर्नुपर्छ,’ ओलीले भने, ‘हाम्रो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले गरेको ब्रिफिङ कसैले समर्थन गरेनन् भनेर वा समर्थन प्राप्तिका लागि होइन, हामीलाई प्राप्त समर्थन कतै केही धरमर नहोस् भन्नका लागि हो ।’ अध्यक्ष ओलीले भारतसँग एमाले र आफ्नो पनि सुमधुर सम्बन्ध रहेको प्रस्ट पारे । ‘एमालेसँग सम्बन्ध बिग्रियो भन्छन् कोही–कोही, त्यस्तो भ्रममा नपर्दा हुन्छ, भारतसँगको हाम्रो सम्बन्ध राम्रो छ । सधैं राम्रै रहन्छ,’ ओलीको भनाइ थियो ।

संविधानमा छाड्नै नसकिने पाँच आधार

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा पाँचओटा आधार छाड्नै नसकिने प्रस्ट पारे । ‘पहिलो– हिंसातर्फ देशलाई नधकेल्ने, शान्तितर्फ देशलाई लैजाने संविधान हुनुपर्छ । दोस्रो– तानाशाहीतर्फ देशलाई नधकेल्ने, लोकतन्त्रतर्फ देशलाई अगाडि लैजाने संविधान हुनुपर्छ । तेस्रो– असमानता र विभेदतर्फ धकेल्ने होइन, सामाजिक न्याय र समानतासहितको समतामूलक समाज निर्माण गर्ने संविधान हुनुपर्छ,’ ओलीले भने, ‘चौथो– देशलाई विद्वेष, कलह, विखण्डनतर्फ होइन, राष्ट्रिय एकता कायम गर्ने संविधान र पाँचौं– पछौटेपन, गरिबी हटाएर जनतालाई समृद्धितर्फ लैजाने संविधान हुनुपर्छ ।’ ओलीले यी पाँच आधार भएको संविधान निर्माण गर्ने कुरा कसैको विरोधमा नभई मुलुकको हितमा भएको प्रस्ट पारे ।

एमाओवादीलाई क्रस गरिन्न

ओलीले आफूहरू सहमतिबाटै संविधान जारी गर्ने प्रयासमा रहेको प्रस्ट पार्दै एमाओवादीलगायतका विपक्षी दलले लगाएको आरोप अस्वीकार गरे । ‘संविधान निर्माणमा हामी सहमतीय प्रक्रियामा छैनौं भन्ने आरोप बिल्कुलै गलत हो, हामी सहमतीय प्रक्रियाबाटै जान चाहन्छौं, एउटा मात्रै दलको हैसियत दुई तिहाइ नभएपछि सहमतिमा संविधान जारी गर्नेभन्दा अर्काे बिकल्प छैन,’ ओलीले भने । उनले संविधान निर्माणमा एमाओवादीलाई क्रस गर्नै नचाहेको प्रस्ट पारे ।
‘एमाओवादीलाई संविधान निर्माणमा सहमत गराउने प्रयासमा छौं, त्यसैले क्रस गरेर जान बिल्कुलै चाहन्नौं, क्रस गर्न पनि सकिँदैन,’ ओलीले भने । उनले आफूहरू सत्ता र शक्तिभन्दा पूर्ण सत्यमा विश्वास गर्ने भएकाले संविधानमा सत्य मात्र स्थापित गर्न चाहिरहेको प्रस्ट पारे ।

पहाड र तराई साथसाथ

एमाले अध्यक्ष ओलीले संघीयतामा जाँदा टिकाउ हुने गरी सकेसम्म थोरै प्रदेश होस् भन्ने आफूहरूको चाहना रहेको बताए । उनले प्रदेश निर्माणको नाममा पहाडबाट तराईलाई छुट्ट्याउनै पर्ने तर्कमा भने सहमति हुनै नसक्ने घोषणा गरे । ‘सिंगै तराईलाई पहाडबाट अलग गराउनुपर्छ भन्ने कुरा नेपालको हितमा छैन, यस्तो अनुचित कुरा हामी स्वीकार गर्दैनौं,’ ओलीले भने, ‘पहाड र तराईलाई एक ठाउँमा रहनै नदिने लामो योजना, पुरानो योजनाको अर्थ हामी बुझ्छौं, कतिपयले किन उपनिवेश भनेका छन् भन्ने कुरा पनि बुझिएको छ, त्यो अन्जानमा भनेको होइन, जानी–जानी भनिएको हो, यसप्रति सबै नेपाली सजग र सतर्क हुनुपर्छ ।’

धर्मनिरपेक्षता सबै धर्मप्रतिको सद्भाव

ओलीले मुलुकमा मानिएको सबै धर्मप्रतिको सद्भाव कायम गर्न धर्मनिरपेक्षता भनिएको पनि प्रस्ट पारे । ‘राज्यले सबै धर्मप्रति सद्भाव राख्छ भनिएको हो, सबै धर्म समान हो, भेद्भाव गरिन्न भनिएको हो, कसैले कसैको धर्म बलजफ्ती परिवर्तन गर्न पाइँदैन भनिएको हो,’ ओलीले भने, ‘यसको अर्थ परापूर्वकालदेखि स्वतः विकसित सभ्यताको विरोध र गरिबीको फाइदा उठाएर अरू धर्म जबर्जस्ती थोपर्ने कुरा होइन, नेपाल कसैको कल्चरल मैदान बन्न सक्दैन ।’
चश्मा र टोपीको गिभ एन्ड टेक 
एमाओवादी र मधेसी मोर्चासाग छलफल बन्द भइरहेको बेला अहिले सत्तापक्षलाई गिभ एन्ड टेक गरेर अघि बढ्न सुझाव आइरहेका छन् । ओलीसमक्ष त्यस्ता सुझाव नआउने कुरै भएन । यसबारेमा छेउमै बसेका दुई पत्रकारलाई देखाउादै ओलीले भने– मैले कुन्दनजी (अर्याल) को टोपी र चश्मा खोसेर लिएा । अनि उहााले आफ्नो सामान फिर्ता माग्नुभयो । मैले दिन मानिना । अनि नारायणजी (वाग्ले) अघि सरेर के को झगडा गरिरहेको ? गिभ एन्ड टेक गर न भन्नुहुन्छ ? केमा गिभ एन्ड टेक गर्नुहुन्छ कुन्दनजी–टोपीमा कि चश्मामा ?’ ओलीले मुलुकको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, साम्प्रदायिक सद्भाव र जातीय एकतामा कुनै हालतमा सम्झौता नहुने दोहोर्‍याए । 
नक्कली र सक्कली आमा 
पछिल्लो दिनमा एमाओवादी र मधेसी मोर्चाले गत ०६९ जेठ २ गते दलहरुका बीचमा भएको सहमतिलाई आधार बनाउन माग गरिरहेका छन् । त्यतिबेला एमाओवादी ठूलो दल भएको बेला गरिएको सहमति अहिले मान्न कांग्रेस–एमाले तयार छैनन् । शक्ति सन्तुलनमा आएको परिवर्तन र त्यही कारण आम मनोविज्ञानमा देखिएको फेरबदलका कारण अहिले पुराना ‘गलत कुरा मान्न आफूहरु तयार नरहेको’ ओलीले स्पष्ट पारे । विगतमा भएका अनुचित सहमतिहरु मान्नैपर्ने बाध्यता नरहेको भन्दै ओलीले दुई आमाको झगडाको कथा सुनाए । दुई जना महिलाले एउटा बच्चा आफ्नो सन्तान भएको दावी गरे । मुद्दा न्यायाधीशकोमा गयो । दुबैको दावी सशक्त थियो । न्यायाधीशले फैसला गर्न सकेन । अनि उसले एउटा उपाय निकाल्यो र भन्यो– ‘अब यो बच्चा आधा आधा गर्ने र तपाईंहरुले त्यही आधा आधा लिएर जाने ।’ एक महिलाले तुरुन्तै भनिन्– ‘श्रीमान्, मलाई आधा नै भए पनि मेरो छोरो चाहिन्छ । ठीक छ ।’ तर, तुरुन्तै अर्की महिलाले भनिन्– ‘श्रीमान्, यो छोरालाई आधा आधा नगरियोस् । यो बच्चा त्यसैलाई दिइयोस् । मेरो बच्चा होइन, त्यसैको बच्चा हो ।’ ‘विगतमा हामीले त्यसैगरी बच्चा दिनुपरेको थियो’– ओलीले भने– ‘कम्तीमा बच्चा त बााच्न पाउाछ, उसैको छोरो भए पनि जीवन त रहन्छ भनेर हामीले पनि कतिपय अनुचित सम्झौतामा हस्ताक्षर गरेका थियौं ।’ 
 छ दार्शनिक र एक माझीको नियति 
एमाओवादीले भन्दैमा जनता सडकमा नआउने र फेरि उसले भन्दैमा जनयुद्ध नहुने भन्दै ओलीले ठीक बेलामा जनताले ठीक जवाफ दिने गरेको सम्झाए । ‘सबै जनताले पढेका छैनन्, लेख्न जान्दैनन्, दर्शन बुझेका छैनन्’– ओलीले भने– ‘तर निर्णय गर्ने बेलामा जनताले सही निर्णय गर्छन् ।’ अघिल्लो संविधानसभामा भएको गल्ती जनताले आफैं पछिल्लो निर्वाचनबाट सच्चाएको भन्दै ओलीले त्यसलाई ‘जन करेक्सन’ को संज्ञा दिए । ओलीले ६ जना दार्शनिक र एकजना माझीको कथा यसरी सुनाए– छ जना दार्शनिक एउटा डुंगा चढेर समुद्र पार गर्दै रहेछन् । एउटा दार्शनिकले सोधेछ– ‘ए, माझी तिमीले दर्शनका बारेमा सुनेका छौ ?’ माझीले अहिलेसम्म त्यस्तो शब्दै सुनेको थिइना हजुर भनेछ । अनि अर्काले अन्तरिक्षका बारेमा सुनेका छौ ? भनेर सोध्दा पनि माझीले केही थाहा छैन भनेछ । सोधेका कुनै कुरा नजानेपछि सबैले भनेछन्, तिमीलाई केही थाहा रहेनछ, तिम्रो आधा जीवन बेकार रहेछ । विस्तारै आाधी आउन थालेछ । अनि डुंगा टल्पलायो । माझीले सोधेछ, तपाईंहरुलाई पौडी खेल्न त आउाछ होला नि ? सबैले एक स्वरले भने, आउादैन । त्यसपछि माझीले जवाफ दिएछ– तपाईंहरुको पूरै जीवन बेकार रहेछ । माझीले जस्तै जनताले पनि ठीक बेलामा ठीक जवाफ दिने गरेको उनले बताए । 
कपाल काट्न सिक्नु कमाराका टाउकामा 
अध्यक्ष ओलीले अहिले नेपालमा विदेशी शक्तिबाट विभिन्न खालका प्रयोगहरु भइरहेको भन्दै रोष व्यक्त गरे । युरोपतिर प्रयोग भएको समावेशीताको यहाा गलत ब्याख्या भएको पनि उनले बताए । उनले नेपालीमा पुरानो भनाइ रहेको भन्दै भने– ‘कपाल काट्न सिक्नु, कमाराको टाउकामा भने जस्तै भएको छ । कपाल विग्रे पनि कमाराकै बिग्रिन्छ, काटिए उसैको काटिन्छ । राम्ररी सिकेपछि मात्रै मालिकको कपाल काट्ने । अहिले नेपालमा त्यस्तै प्रयोग गर्न खोजिएको छ, गिनीपिग बनाउन खोजिएको छ ।’ 

Saturday, January 31, 2015

चोर खोज्दा भेटिए न्यायाधीश बमका हत्यारा


गणेश बस्नेत/राजधानी
काठमाडौं, १५ माघ
चोरीको सामान्य घटना अनुसन्धान गर्दा सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यारा पत्ता लागेको तथ्य फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) चोरीको घटना अनुसन्धानको क्रममा न्यायाधीश बमको हत्यारासम्म पुगेका हुन ।
‘धनुषामा चोरीको घटना निकै बढ्यो । प्रहरीले चोरी नियन्त्रणका अनुसन्धानमा निपुन जुनियर अधिकृतको नेतृत्वमा टिम नै बनायो,’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी नायव महानिरीक्षकले राजधानीसँग भने, ‘त्यही क्रममा न्यायाधीश बमको हत्यारासम्म प्रहरी पुग्न सक्यो ।’ प्रहरी स्रोतका धनुषा प्रहरीले चोरीको अभियोगमा १२ पुसमा धनुषाकै हनुमाननगरबाट पिन्टु भन्ने दीपक कर्णलाई पक्राउ ग¥यो । उनीमाथि अनुसन्धानको जिम्मेवारी प्रहरी नायव निरीक्षक (सई) गगन शाहीले पाए । कर्णसँग बयान लिई थप अनुसन्धान गर्दै जाँदा अभियुक्तले २०÷२५ स्थानमा चोरी गरेको तथ्य खुल्यो । यतिधेरै चोरीका घटनामा उनको संलग्नता देखेर प्रहरी आफै चकित बन्यो । थप अपराधमा पनि संलग्न हुन सक्ने अनुमान सई शाहीले गरे । त्यसैकारण उनले अनुसन्धानमा ‘ट्रिक’ लगाए । 
अभियुक्तसँग निकै हिमचिम बढाएर बचाउने कसम नै खाए । बयान लिँदा पनि ‘दोस्ती’को नाटक रचेर मदिरासमेत सेवन गराए । अभियुक्त निकै खुलेर बयान दिन थालेपछि सई शाहीले बचाउने भन्दै आकर्षक प्रस्ताव पनि राखिदिए । उनको प्रस्तावमा लोभिएर कर्णले एकाएक आफ्नो बिगत खोल्न थाले । प्रहरीको प्रस्तावमा लोभिएलगत्तै कर्णलाई शाहीले पहिलो प्रश्न गरे, यति धेरै ठाउँमा चोरी गरिसकेपछि पैसा त धेरै आयो होला, कहाँ–कहाँ लगानी गरियो त ?’ उनको प्रश्नमा कर्णले भने, ‘धेरैतिर दिइयो, १ लाख रुपैया चाँही बाबु थापालाई दिएँ ।’ कर्णको यो बयानपछि सई शाही एकाएक झस्किए । सर्वाेच्च अदालतका न्यायाधीश बममाथि गोली प्रहारपछि सवैभन्दा पहिला घटनास्थल पुग्ने शाही नै पहिलो प्रहरी अधिकृत थिए । त्यसबेला उनी महानगरीय प्रहरी बृत नयाँ बानेश्वरमा कार्यरत थिए ।
घटनाको प्रकृति हेरेका र सर्लाहीमा प्रहरीमाथि नै गोली प्रहार गरेको घटनाबारे जानकार शाहीले बाबु थापाको नाम कर्णले लिएपछि अन्य अपराधमा समेत अनुसन्धान अघि बढाई धनुषाका प्रहरी उपरीक्षक (एसपी) गणेश थापालाई सबिस्तार जानकारी गराए । एसपी थापाले थप अनुसन्धान गर्न निर्देशन दिएकै रात नयाँ तथ्य पत्ता लाग्यो, न्यायाधीश बमको हत्यारामध्येका एक कर्ण नै हुन । प्रहरीसँगको बयानको क्रममा कर्णले भने, ‘तपाईलाई म सामान्य चोर जस्तो लाग्ला, तर बास्तबिकता यति मात्रै होइन, हामीले सर्वाेच्च अदालतकै न्यायाधीशलाई पनि मारिसकेका छौं, ५ जना मिलेर न्यायाधीश रणबहादुर बमको हत्या ग¥यौं ।’
यही बयानलाई आधारमा १४ पुसमै धनुषा प्रहरीले झापा पुगेर करण भन्ने शिब चौधरीलाई पक्राउ ग¥यो ।
चौधरी पक्राउ परेपछि न्यायाधीश बमको हत्यामा उनीहरुको समुह संलग्न रहेको र चुरे भावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा मुख्य योजनाकार रहेको तथ्य प्रहरीले पत्ता लगायो । यो तथ्य खुलेलगत्तै धनुषा प्रहरी प्रमुख रहेका एसपी थापाले जनकपुर अञ्चल प्रहरी प्रमुख एसएसपी सुरज केसी हुँदै प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालसम्मलाई घटनाबारे जानकारी गराए । एसपी थापाले जानकारी दिएलगत्तै आइजीपी अर्यालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) भीम दाहालको नेतृत्वमा सई दिपेन्द्र अधिकारीसहितको टोली धनुषा प्रहरीसँग समन्वय गर्न पठाए ।
धनुषा प्रहरीले सर्लाहीमा १८ पुसमा नबिन भन्ने प्रेम खडका र बाबु थापालाई पक्राउ गर्दा सिआइवीबाट खटिएको टोली पनि सहभागी भयो । प्रहरी महानिरीक्षक अर्यालकै आदेशमा धनुषा प्रहरीले अभियुक्तलाई काठमाडौं पठाएको हो । त्यसलगत्तै १९ पुसमा प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरिएको थियो  ।
आइजीपी अर्याल स्वंयले यस घट्नाको सफल अनुसन्धान भएको बताउँदै नेपाल प्रहरीको घाटीमा अड्किएको काँडा निस्किएको बताएका थिए । घट्नाको सार्वजनिक गर्दै सिआइवी प्रमुख डिआइजी हेमन्त मल्लले व्यूरोले धनुषा र सर्लाही प्रहरीको सहयोगमा न्यायाधीश बमको हत्यारा पक्राउ गरेको जनाएका थिए । तर उनले अनुसन्धानको प्रस्थान बिन्दु नै धनुषा प्रहरी रहेको बिषयमा भने केही बताएका थिएनन । सर्वाेच्च अदालतका न्यायाधीश बममाथि १८ जेठ २०६९ मा ललितपुरको यूएन पार्क नजिकै पर्ने शंखमुलघाटमा गोली प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न एक अभियुक्त सञ्जय स्माइली मगर भने हाल बिदेसमा रहेका छन ।