Monday, February 22, 2016

‘छि न्युज पत्रकार’ को राजीनामा पत्र

देशमा भड्किरहेको साम्प्रदायिक सद्भाव, कुण्ठित गरिएको वाक् स्वतन्त्रता र कन्हैया कुमारजस्ता युवाको गिरफ्तारीलाई मिडियाले मलजल गरेको भन्दै भारतीय न्युज च्यानल जी न्युजका पत्रकार विश्वदीपकले लामो पत्र लेखेर  राजीनामा गरेका छन् । प्रस्तुत छ, उनको पत्रको सम्पादित अंश :

 
प्रिय जी न्युज, एक वर्ष, चार महिना र चार दिनपछि अब तिमीबाट अलग हुने समय आएको छ । यद्यपि, मैले यो सबै पहिल्यै गर्नुपर्ने थियो । त्यसैले अहिले पनि यो गरिनँ भने आफूले आफैँलाई माफ गर्न सक्नेछैन । अगाडि म जे भन्न लागिरहेको छु, त्यो कुनै भावावेश, रिस वा सनकको नतिजा होइन । यो त एक सूचिन्तित बयान हो । म पत्रकार हुनुका साथसाथै यही देशको एक नागरिक पनि हुँ, जसको नाममा अन्ध ‘राष्ट्रवाद’को विष फैलाइँदै छ र यो देशलाई गृहयुद्धतिर धकेलिँदै छ । मेरो नागरिक दायित्व र पेसागत जिम्मेवारीले यो विष फैलनबाट रोक भनेर मलाई झकझकाउने गर्छ । मलाई थाहा छ, मेरो यो कोसिस डुंगा चढेर समुद्र पार गर्नुजस्तो हो । तैपनि, सुरुवात भने गर्न चाहन्छु । यही सोचका कारण जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमारको बहानामा सुरु गरिएको अन्ध राष्ट्रवादी अभियान र त्यसलाई बढाउनमा हाम्रो भूमिकाको विरोधमा म आफ्नो पदबाट राजीनामा दिइरहेको छु । यसलाई कुनै वैयक्तिक द्वेषविना नै स्विकारियोस् भन्ने म चाहन्छु । मे २०१४ पछि जब श्री नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने, त्यतिवेलादेखि धेरथोर देशका हरेक न्युज रुममा साम्प्रदायीकरण भएको छ । तर, हाम्रो स्थिति अझै भयावह छ । यस्तो कठोर शब्द प्रयोग गर्नुपरेकोमा म माफी चाहन्छु । तर, यसबाहेक मसित यसलाई सम्बोधन गर्ने अर्को शब्द पनि छैन । आखिर यस्तो किन हुन्छ ? हरेक समाचारलाई किन ‘मोदी एंगल’सित जोडेर लेखाइन्छ ? हामी पत्रकार नै हौँ भन्नेमा पनि मलाई शंका लाग्न थालेको छ । हामी पत्रकार नभई सरकारका प्रवक्ता हौँ, या ‘सुपारी किलर’ हौँ । मोदी हाम्रो देशका प्रधानमन्त्री हुन् । मेरा प्रधानमन्त्री पनि उनै हुन् । तर, एक पत्रकार भएका नाताले यति ज्यादा मोदीभक्ति अब पचाउन मुस्किल भयो । मेरो अहंले मेरैविरुद्ध विद्रोह गर्न थालेको छ । म आफू बिरामी भएको छु कि जस्तो लाग्न थालेको छ । हरेक समाचारको पछाडि कुनै न कुनै एजेन्डा, हरेक समाचार प्रसारणको पछाडि मोदी सरकारलाई महान् बताउने कोसिस, हरेक बहसको पछाडि मोदीका विरोधीहरूलाई ‘गोली’ प्रहार गर्ने प्रयास किन भइरहेको छ ? आक्रमण, युद्धभन्दा तल्लो तहका शब्द त हामीले छनोट गर्नै भुलिसकेका छौँ । यो सब के हो ? कहिलेकाहीँ त आफैँ पागल त भइसकिनँ, शंकै लाग्छ । आखिर हामीलाई यति धेरै दीनहीन, अनैतिक र पतीत किन बनाइँदै छ ? देशको सर्वोच्च मिडिया संस्थानबाट अध्ययन पूरा गरेर आजतकदेखि लिएर बिबिसीजस्ता प्रतिष्ठित संस्थाहरूमा काम गरिसकेपछि यतिखेर मलाई ‘छि न्युज पत्रकार’ भन्न थालिएको छ । सायद यति प्रतिष्ठित संस्थासित आबद्ध भएर पत्रकारिता गर्नुको पुँजी यही होला । त्यसैले मेरो इमानको धज्जी उडिसकेको छ । यसको जिम्मेवारी कसले लिन्छ ? दलित स्कलर रोहित वेमुलाको आत्महत्याको मुद्दामा पनि यस्तै भयो । पहिले हामीले उनलाई दलित स्कलर लेख्यौँ । पछि दलित छात्र लेख्न थाल्यौँ । यदि हामीले समाचारचाहिँ ठीक लेखेका हुन्थ्यौँ भने यसलाई पनि ठीकै छ भन्न सकिँदो हो । रोहित वेमुलालाई आत्महत्या गर्न बाध्य पार्ने घटनाको पछाडि अखिल भारतीय विद्यार्थी परिषद्का नेता र भाजपाका बंडारु दत्तात्रेयको भूमिका गम्भीरतम प्रश्नहरूको घेरामा छन् । तर, एउटा मिडिया हाउसका तर्फबाट हाम्रो काम भने सो मुद्दालाई कमजोर बनाउने र उनीहरूलाई जोगाउने भूमिका निर्वाह गर्नु थियो । मलाई सम्झना छ, जब असहिष्णुताको मुद्दामा उदयप्रकाशसहित देशका सबैजसो भाषाका परिचित लेखकहरूले अकादमी पुरस्कार फिर्ता गर्न सुरु गरे, हामीले उनीहरूमाथि नै अनेक प्रश्न बर्साउन सुरु गर्‍यौँ । यदि उदयप्रकाशको मात्र कुरा गर्ने हो भने पनि लाखौँ पाठक उनलाई पढ्छन् । हामी जुन भाषा बोल्छौँ, जुन भाषामा रोजगार गर्छौं, सोही भाषाका सान हुन् उनी । उनका सिर्जनाहरूमा हाम्रो जीवन, हाम्रो सपना र संघर्षका कथाव्यथा झल्किन्छन् । त्यति हुँदाहुँदै पनि हामी उनको कदमलाई प्रायोजित सिद्ध गर्न लागिपर्‍यौँ । त्यो सब गर्नुपर्दा कम्ती पीडा भएको थिएन, तैपनि त्यो सब सहनै पर्‍यो । कन्हैयासमेत जेएनयुका कैयौँ विद्यार्थीलाई हामीले मानिसहरूको नजरमा ‘देशद्रोही’ बनाइदियौँ । यदि भोलि यिनीहरूमध्ये कसैको हत्या भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? हामीले त कसैको हत्या गराउने र केही परिवारलाई बर्बाद गर्ने अवस्था सिर्जना गरेका मात्र छैनौँ, अपितु दंगा फैलाउने र गृहयुद्धको समेत सम्भावना जन्माइदिएका छौँ । यो कहाँको देशप्रेम हो ? आखिर यो कुनचाहिँ पत्रकारिता हो ? के हामी भाजपा या आरएसएसको मुखपत्र हौँ ? उनीहरूले जे बोल्छन्, जे भन्छन्, त्यही लेख्नुपर्ने हो हामीले ? जुन भिडियोमा ‘पाकिस्तान जिन्दावाद’ भन्ने नारा छँदै थिएन, त्यसलाई हामीले जनतामा उन्माद फैलाउने उद्देश्यले बारम्बार प्रसारण गर्‍यौँ । अँध्यारोमा आइरहेको अस्पष्ट आवाजलाई हामीले कन्हैया र उनका साथीहरूकै आवाज हो भनेर कसरी स्विकार्‍यौँ ? ‘भारतीय कोर्ट जिन्दावाद’ भन्ने नाराको पूर्वाग्रहका आधारमा हामीले ‘पाकिस्तान जिन्दावाद’ सुन्यौँ । र, सरकारको पक्षमा काम गर्दै केही मानिसका करिअर, उनीहरूको विश्वास तथा परिवारको बर्बादीको संघारमा पुर्‍याउने काम जानाजान गरियो । हामीले एजेन्सीहरूलाई जाँच गर्न दिने र त्यसको नतिजासम्म कुर्ने धैर्य पनि देखाउन चाहेनौँ । मानिसहरू उमर खालिदकी बहिनीलाई बलात्कार गर्ने र उनीमाथि एसिड आक्रमण गर्ने धम्की दिइरहेका छन् । उनलाई गद्दारकी बहिनी भनिरहेका छन् । एकछिन सोच्नुहोस् त, यदि यस्तै भयो भने के त्यसको जिम्मेवार हामी नै होइनौँ ? कन्हैयाले एकपटक होइन, हजारौँ पटक भनेका छन्, उनी देशविरोधी नाराको समर्थन गर्दैनन् । तर, उनको आवाज कसैले सुनेको छैन । किनकि, हामीले नै यो भ्रम फैलाएका थियौँ कि कन्हैया राष्ट्रघाती थिए । के हामीले ध्यानपूर्वक उनको घर हेरेका छौँ ? त्यसमा उनको घर होइन, त्यो यस देशको गरिब किसान र आमजनताको विवशताको दर्दनाक प्रतीक जस्तो लाग्छ । हामी उनको राजनीतिसित असहमत हुन सक्छौँ । उनको विचार उग्र पनि हुन सक्छ । तर, त्यत्तिकै भरमा उनी देशद्रोही कसरी हुन सक्छन् ? अदालतको काम हामी कसरी गर्न सक्छौँ ? दिल्ली प्रहरीले आफ्नो एफआइआरमा जी न्युजको सन्दर्भ दिने के संयोग मात्र हो ? दिल्ली प्रहरीसित हाम्रो साँठगाँठ छ भन्ने गरिन्छ । अब भन्नुहोस्, हामीले मानिसलाई के जवाफ दिने ? यहाँनेर यो भन्नु पनि मलाई आवश्यक लागिरहेको छ कि यदि एउटा मिडिया हाउसलाई आफ्ना दक्षिणपन्थी सोच र रुचि प्रकट गर्ने तथा त्यसको बयान गर्ने अधिकार छ भने एक आमव्यक्ति हुनुको नाताले आफ्नो राजनीतिक विचार व्यक्त गर्ने हाम्रो पनि अधिकार पक्कै हुन्छ । पत्रकार हुनुको नाताले तटस्थता देखाउनु मेरो पेसागत धर्म र जिम्मेवारी हो । आखिर जेएनयु र त्यहाँका विद्यार्थीसँग हम्रो दुश्मनी के छ ? मेरो मान्यता छ– आधुनिक जीवनका मूल्य, लोकतन्त्र, विविधता र विरोधी विचारका बीचमा सहअस्तित्वको सबैभन्दा सुन्दर बगैँचा छ भने त्यो जेएनयु हो । त्यसैलाई हामीले देशद्रोहको अड्डा बनायौँ भने बाँकी हामीसँग के रहन्छ ? 
सादर सप्रेम 
विश्वदीपक 
जनताका रिपोर्टर डटकमबाट 

Saturday, February 20, 2016

तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओलीकोभारत भ्रमण

 जस्ले नेपाली जनताको शीर उचो पारेको छ
























भारतीय बिदेम न्त्रालयसहित बिभिन्न एजेन्सीबाट प्राप्त भएका तस्बिर हुन ।